कुलतमा लागेका किशोरलाई सुधार्ने कि बिहे गरिदिने ?

किशोरहरू यौन हिंस्रक बन्दा उनीहरूलाई सही मार्गमा ल्याउने हो, विवाह गरिदिने होइन । किशोर–युवाहरूलाई हिंस्रक हुनबाट बचाउन बृहत् यौनिक शिक्षा दिऔं ।

फाल्गुन ६, २०८१

अमृता अनमोल

To reform or marry the teenager who is in trouble?

‘छोरा बिग्रियो अब बिहे गरिदिनुपर्‍यो,’ हामी सानो छँदा धेरै अभिभावकका मुखबाट सुनिन्थ्यो । बाआमा कुलतमा लागेको आफ्नो छोराको सुधारमा लाग्दैनथे । हतारहतार कुलघरकी सोझी छोरी खोजेर बिहे गरिदिन्थे । बिहेपछि पनि छोरा सुध्रिँदैनथ्यो । तर, अभिभावकहरू छोराको कुलत देख्दैनथे ।

उल्टै तैले छोरा बिगारिस् भनेर सारा दोष बुहारीमाथि लगाउँथे । बुहारीलाई कुट्थे, तर्साउँथे र अनेक लाञ्छना लगाउँथे । बिचरा बुहारीले जीवनभर कुलतमा लागेको पति र उसका परिवारको दोहोरो हिंसा चुपचाप सहनुपर्थ्यो ।

समय फेरियो । देशमा व्यवस्था फेरियो । ऐन/कानुन परिमार्जन भए । तर, छोराको कुलत र विवाहप्रतिको सामाजिक मानसिकता अझै फेरिएको छैन । छोरा बिग्रिए विवाह गरिदिनुपर्छ भन्ने मानसिकता गाउँका सोझासिधा अभिभावकमा मात्र होइन । अहिले देश बनाउने अभिभावकमा पनि देखिएको छ । किनकि, बाआमा बिग्रिएको छोरा सुधार्न विवाह गर्न तम्सिएसरह जनप्रतिनिधि नै प्रस्तुत भएका छन् । त्यो पनि संघीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिका पदाधिकारी सदस्यहरू । उनीहरू भन्छन्, ‘विवाहको उमेर बढी हुँदा धेरै किशोरहरूलाई जबरजस्ती करणीका मुद्दा लागे । बाल सुधारगृहहरू जबरजस्ती करणीका मुद्दा लागेका किशोरले भरिए । यसबाट बचाउने उपाय विवाहको उमेर घटाउनु हो ।’

समितिअन्तर्गतको उपसमितिले लुम्बिनी, सुदूरपश्चिम र मधेश प्रदेशमा बाल सुधारगृहको स्थलगत गरेको अध्ययन र छलफल गरेको थियो । नागरिकसँग छलफल गरेको थियो । त्यसमा स्थानीयले विवाहको उमेर २० बाट १८ वा १६ मा झार्न सुझाव दिएको हवला दिएका छन् । यसो गरेमा धेरै किशोर जबरजस्ती करणी र यौन हिंसाका मामलामा जेल नजाने उनीहरूको तर्क छ । समितिले तिनै सुझाव समेटेर विवाहको उमेर घटाउन संसद्मा प्रतिवेदन बुझाउँदै छ । 

पंक्तिकार निर्भय र निःसंकोच भन्छु, ‘सांसदज्यू तपाईंहरूको विवाहप्रतिको धारणा गलत छ । पहिला त्यसलाई बदल्नुस् ।’ विवाहपछि यौनसम्बन्ध हुनु स्वाभाविक हो । तर, विवाह यौनसम्बन्धका लागि मात्र गरिने कुरा होइन । जबरजस्ती करणीका घटना ढिलो विवाह भएका कारण हुँदैनन् । आपराधिक मानसिकता भएका कारण हुन्छन् । त्यसैले सरकारले विवाहको उमेर घटाउने होइन । किशोर–युवामा बढेको आपराधिक मानसिकता घटाउन अभियान चलाउनुपर्छ । उनीहरूमा भएको आपराधिक मनोवृत्ति र उन्माद पोख्न किशोरीलाई विवाहको बन्धनमा फसाउनु हुँदैन । यसो गरियो भने सांसदहरू पनि आपराधिक गतिविधिलाई प्रश्रय दिने मतियार हुनेछन् । सरकार कुलतमा लागेका किशोर–युवा सुधार, बिहेको उमेर नघटाऊ ।

सांसदबाट आएको विवाहको उमेर घटाउने कुराका समर्थनमा केही बुज्रुकहरूले सामाजिक सञ्जाल र मिडियामा आफ्ना धारणा राखेका देखिन्छन् । नागरिकता बन्ने उमेर १६ वर्ष, मतदाता बन्न पाउने उमेर १८ छ भने विवाहको उमेर किन २० ? उनीहरूलाई सम्झाउनु छ, ‘नागरिकता पाउनु, मतदाता बन्नु र विवाह गर्नु फरक विषय हुन् ।’ विवाह दुई व्यक्तिबीच समाज, धर्म र कानुनी रूपमा स्थापित सम्बन्ध हो । जुन सम्बन्धले प्रेम र विश्वाससँगै पारिवारिक दायित्व र उत्तरदायित्व निभाउनुपर्छ । यस्तो उत्तरदायित्व निभाउन छोरीहरू परिपक्व बन्नुपर्छ ।

नेपालमा महिलाको १८ र पुरुषको २० वर्ष रहेको विवाहको उमेर हद २०७५ भदौ १ गतेदेखि २० वर्ष पुर्‍याइएको हो । मुलुकी अपराध संहिता २०७४ अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी विवाह गर्न वा गराउन हुँदैन । यसो गरेमा विवाह गर्ने गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म सजाय हुन्छ । २० वर्ष नपुगी गरेको विवाह जुनसुकै रीतअनुसार गरिएको भए पनि बदर हुन्छ । महिलाको स्वास्थ्य, विद्यालय तहको शिक्षा र परिपक्वतालाई आधार मान्दा २० वर्ष उचित हुने भएकैले त्यसबेला बृहत् अध्ययन र बहसपछि २० वर्ष कायम गरिएको हो । तर, अहिले स्थलगत अध्ययनका नाममा हचुवाका भरमा विवाहको उमेर घटाउने प्रतिवेदन बनाइएको छ ।

विश्व स्वास्थ्य संगठनअनुसार, २० वर्षअघि महिलाको शरीर आमा बन्न योग्य भएको हुँदैन । यसैले नेपालमा पनि बिहेबारी बीस वर्षपारि भनेर स्वास्थ्य अभियान चलाएको थुप्रै वर्ष भयो । नेपालमा विवाहको उमेर १८ भए पनि सन्तान २० वर्षपछि नै जन्माउन स्वास्थ्य परामर्श दिइन्थ्यो । विवाहपछि बच्चा जन्मनु स्वाभाविक हो । छिटो विवाह गर्दा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्छ । सन्तान जन्माउँदा मृत्युको जोखिम उस्तै छ । बाल विवाह कम हुँदै जाँदा नेपालमा बालमृत्यु घट्दै गएको छ । यसैले सन्तान जन्माउने आमा शारीरिक, मानसिक र आर्थिक रूपमा परिपक्व छिन् कि छैनन् । यसको मापन र किशोरीको अवस्था नहेरी विवाह गर्नु हुँदैन ।

कानुनले वर्जित गरे पनि अझै हाम्रो समाजमा बाल विवाह छ । राष्ट्रिय जनगणना २०७८ अनुसार हाल १० देखि १७ वर्ष उमेर समूहका ४६ लाख ६३ हजार ८ सय ७३ जना छन् । उनीहरूमध्ये एक लाख ९२ हजार १ सय ४ जनाले १८ वर्ष नपुग्दै विवाह गरेका छन् । त्यसमध्ये बालिका वा किशोरी एक लाख ५६ हजार ७ सय ३१ जना छन् । बालक वा किशोर ३५ हजार ३ सय ७३ छन् । बाल विवाह रोक्न सरकारले सचेतनाका कार्यक्रम चलाउनुपर्छ । अभिभावकहरूलाई विवाहको उमेर सम्झाउनुपर्छ । किशोरकिशोरीलाई मायाप्रेम बसे पनि वयस्क नहुँदासम्म शारीरिक सम्बन्ध राख्न र विवाह गर्नु हुँदैन भनेर सम्झाउनुपर्छ । विवाह गरिसकेका किशोरकिशोरी भए पनि सम्झाएर अभिभावको जिम्मा लगाउनुपर्छ । जबरजस्ती बालबालिकाको विवाह गरिदिने अभिभावकलाई कानुनी दायरामा ल्याउनुपर्छ ।

समाजमा पछिल्लो समय ढिला विवाह गर्ने प्रचलन बढिरहेको छ । युवायुवती शिक्षादीक्षा सकेर आफ्नो खुट्टामा उभिएपछि पनि उनीहरू विवाहबारे हतार गर्दैनन् । आफूलाई मानसिक रूपमा तयार पार्न थाल्छन् । यस्तो बेलामा सरकार र संसद् विपरीत दिशामा जानु हुँदैन । किशोरहरू यौन हिंस्रक बन्दा उनीहरूलाई सही मार्गमा ल्याउने हो, विवाह गरिदिने होइन । किशोर–युवाहरूलाई हिंस्रक हुनबाट बचाउन बृहत् यौनिक शिक्षा दिऔं । उमेरअनुसार शरीर र मनमा हुने यौन कौतुहलताका बारेमा बुझाऔं । आफ्नो शरीर, यौन तथा प्रजनन स्वास्थ्यप्रति सचेत हुन र सही निर्णय लिन सिकाऔं । सहपाठी र सहकर्मी केटी साथीप्रति समभाव राख्न सिकाऔं । तर, किशोर–युवालाई अपराधबाट जोगाउन भन्दै किशोरीलाई विवाहको बन्धनमा नधकेलौं ।

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully