कुन बाटो समात्ने ?

सफलता कुनै हिंस्रक विजय होइन, अरूलाई लुटेर आर्जन गरिने अहंकार होइन । सफलता त कुनै आविष्कार हो, कुनै गीत हो, कुनै भावना हो, कुनै सरल मुस्कान हो । आफ्ना इच्छाहरूको खम्बा उभ्याएर, त्यसमाथि अरूको खुसीको झन्डा फहराउन सक्ने आँट हो ।

फाल्गुन ५, २०८१

केपी शर्मा ओली

Which way to take?

प्रिय छोराछोरी,हरेक मानिस जीवनमा सफलता चाहन्छ । तर सफलता भनेको के हो ? सफलता मिल्छ कसरी ? सफलताको परिभाषा र त्यो पुग्ने बाटो- यी २ प्रश्नहरू सधैंजसो झुन्डिरहन्छन् उत्तर खोज्दै, तर कहिल्यै सम्पूर्ण रूपमा भेटिँदैनन् । आज म यो लेखमा यसैका बारेमा चर्चा गर्छु । 

वास्तवमै भन्ने हो भने सफलता एउटा धारणा हो । कुनै अपराधीलाई सोध त, ऊ भन्छ- उसले निर्धक्क हत्या गर्‍यो, त्यसलाई ऊ सफलता ठान्छ । हत्या गरेर उम्किनु, त्यो त झन् ठूलो सफलता उसका लागि । त्यसैले त कतिपय व्यक्ति आपराधिक काममा आफूलाई ज्यालामा बिकाउँछन्, आफ्नो मूल्य तोक्छन् । निर्दोष अनि देश र समाजका लागि बाँच्नैपर्ने मानिसको समेत निर्मम हत्या गरिदिन्छन् ।

डाँकाको समूहमा डकैती गर्न सक्नु नै सफल हुनु हो । उनीहरूका निम्ति लुटमार मच्चाउनु र आतंक फैलाउनु नै सफलता हो । उनीहरू केही पैसाको तुलनामा मानिसको जीवनलाई तुच्छ ठान्छन् । यो अघि भनिएजस्तो भाडाको अपराधीजस्तो अजीव जीव अलिक होइन । यो अरूको स्वार्थका लागि काम गर्दैन, बिलकुल आफ्नो फाइदाका लागि काम गर्छ । त्यो फाइदा जोखिमपूर्ण पनि हुन्छ । त्यसैले कुनै जोखिम नआओस् भनेर सदैव ठूला अपराध गर्न उद्यत हुन्छ । डकैत गरेको स्थलबाट नगद, जिन्सी सरसामान सुरक्षित लिएर हिँड्न पाउँदा उसले आफूलाई सफल ठान्छ । 

एउटा पाकेटमारले यत्नपूर्वक पाकेट मार्न पाउँदा आफूलाई सफल ठान्छ । उसले एयरपोर्टतिर सँगै बसेको यात्री शौचालयतिर पस्यो भने उस्तै उस्तै देखिने ब्याग वा सुटकेस साटेर लुसुक्क हिँड्नुलाई सफलता ठान्ला । किनभने उसको झोलामा त केही पनि हुँदैन ।

खाली हुन्छ वा झुत्रामुत्रा, थोत्रा कपडा कोचेको हुन्छ । तर साँच्चैको यात्रीको ब्यागेजमा धेरै चिज हुन्छ । त्यसरी सुटकेस साटेर हिँड्नुलाई आफ्नो चतुर्‍याइँ र चोरीकलालाई सफलता मानिदिन्छ ऊ । कुनै अपराधीले बलात्कार गर्नुजस्तो अधमपना, राक्षसी क्रियाकलापलाई समेत आफ्नो सफलता ठान्छ । 

समाजमा अरूको ईर्ष्याले जलेर, अरूलाई गालीगलौज गरेर, झूटा आरोप वा लाञ्छना लगाएर, भ्रम फिँजाएर, मानमर्दन गरेर अलिअलि मानिस भ्रममा परे वा आफ्नो गिरोहका मानिसले त्यसलाई बोकेर हिँडे वा त्यसको कुटिल चाललाई साथ दिए भने पनि ठूलो सफलता ठान्नेको जमात छ । 

कुनै बलियाबाङ्गो निर्धालाई कुटपिट गर्न पाउनुलाई आफ्नो सफलता ठान्छ । कोही कमजोर छिमेकीको साँधसीमा मिच्न पायो भने पनि सफलता ठान्छ । तर त्यो सफलता होइन, घटिया क्रियाकलाप हो । आज ऊ धनी छ भने पनि उसका सन्तान भोलि निकम्मा भएर गरिबीको बाटोतिर लाग्न पनि सक्छन् ।

गलत शिक्षाले उन्नति दिँदैन । बलियो र ठूलो देशले सानो र कमजोर देशमाथि आफ्नो अहंकार तुष्टिका लागि दुःख दिन पाउनु वा अमैत्रीपूर्ण व्यवहार गर्न सक्नुलाई सफलता ठान्छ । अरूको देशमा बमबारी गरेर हजुरबा हजुरआमा, आमाबुबा, कलिला नानीहरू, गर्भमै मारेर भयातुर र त्रसित बनाएर कब्जा गरेर आफ्नो प्रभाव जमाउनुलाई सफलता ठान्छ । मानवताको बाटो छाडियो भने सफलता ठान्छ । तर ती वास्तविक सफलता होइनन् । 

प्रिय छोराछोरी,

समाजमा अर्काथरी मानिस पनि हुन्छन् । तिनले जीवनमा वास्तविक सफलता पाएका छन् । त्यो सफलताले आफ्नो स्वार्थका लागि समाजलाई रुवाएर होइन खुसी दिएको छ । अरूका अधिकार डकैती गरेर वा अनधिकृत लाभ लिएको होइन, संसारलाई नै सुविधा दिएको छ ।

कुनै अन्वेषणकर्ताले लामो अध्ययन, खोज र अनुसन्धानपछि नयाँ प्रविधिको विकास गर्छ । त्यसले सिंगो मानवजातिकै निम्ति उत्पादन र उत्पादकत्व बढाउँछ । मानवजातिकै कामलाई सहज र सरल बनाउँछ । जस्तै– जसले लुगा धुने मेसिन बनायो, त्यसले महिलाको दुःख सर्लक्कै हटाइदियो । त्यो धेरै ठूलो सफलता हो । त्यसले न कसैलाई होच्याउँछ, न त कसैलाई अपमानित गर्छ, न कसैको मानवअधिकार नै खोस्छ ।

उसको खुदैको आविष्कार पनि अर्थपूर्ण हुन्छ । अरूलाई पनि सहुलियत र सुविधा पुग्छ । वास्तवमा विज्ञान र प्रविधिको क्षेत्रमा खोज र अनुसन्धानबाट प्राप्त उपलब्धि दुरुपयोग भएन भने सिंगो मानवजातिकै सम्पत्ति सावित हुन्छ । 

सफलता त्यो हो, जसलाई सदुपयोग गरिन्छ, दुरुपयोग गरिँदैन । आफ्ना लागि मात्र बनाइँदैन, अरूका लागि पनि बनाइन्छ । अरूको सेवामा लगाइन्छ । कसैको कुभलो चिताइँदैन । त्यो पूरा गरेपछि अनुसन्धानकर्ता खुसी हुन्छ । जस्तै– मेरी र पियरे क्युरी रेडियम पत्ता लगाउँदा खुसी भए । 

कति दिन लगाएर हातले सिउने कपडा एकैछिनमा मेसिनमा सरर्र खिटिने भयो । कैंची नहुँदो हो त थानको कपडा च्यात्ने कसरी ? हातले च्यात्दा त टेढोमेढो जान सक्थ्यो । त्यो च्यात्नलाई कैंचीको आविष्कार भयो । कतै केही नबिगारीकन सरसर काटिदिने भयो ।

कैंचीको आविष्कारले कत्रो भिन्नता आयो दुनियाँमा । त्यो कैंचीले काट्ने र सियोले धागोलाई कसरी राखेर सिएर लुगा निकाल्ने भनेर कत्रो अध्ययन अनुसन्धान भयो होला ? त्यो सानो आविष्कार त पक्कै होइन । आज मानिस कहाँ हो कहाँ पुग्दा पनि त्यही प्रविधि त प्रयोग गर्दै छ, लुगा सिउन होस् वा जुत्ता । त्यो आविष्कार सबैका लागि हो । वास्तवमा त्यो मानवजातिलाई सभ्यतातिर पुर्‍याउने उपलब्धि हो । यी साँच्चैको खोजी हो । साँच्चैको सफलता हो । 

सौन्दर्यको अनुभूति वा बोध आफैंमा विशिष्ट छ । सिद्धान्त र शास्त्रको व्याख्या र विश्लेषण पनि खोज अनुसन्धानकै उपलब्धि हो । मानिसले चिटिक्क परेको फूलमाला बनाउन कसरी जानेको ? त्यो मानिसको गलामा लगाउँदा सुन्दर हुन्छ भन्ने अनुभूति कसरी गर्न सकेको । मैले पहिले पनि भनेको छु– एउटा गाई वा भैंसीलाई दिने हो भने त्यो माला च्यातेर खाइदिन्छ । फूलको बोट भेटायो भने जरामुरा नै खाइदिन्छ । किनभने उसमा सौन्दर्यबोध हुँदैन । तर त्यो बोध मानिसमा छ । 

हामी आन्तरिक सौन्दर्यको कुरा गर्छौं । हामी बाह्य सौन्दर्यको कुरा गर्छौं । हामी आध्यात्मिक सौन्दर्यको कुरा गर्छौं । हामी भौतिक सौन्दर्यको कुरा गर्छौं । ‘पर्सेप्सन अफ ब्युटी’को कुरा गर्छौं । यो आफैंमा एउटा अध्ययनको विषय हो । त्यसलाई सुव्यवस्थित गरेपछि मात्र यसका शाखा उपशाखाका कुरा आउँछन् । 

आखिर के हो त सौन्दर्य ? एउटा फूललाई माटोको गमलामा सजाउनु कति सुन्दर विचार हो । मानिसले माटोको गमला बनाउन कसरी सिक्यो होला ? माटो पकाएपछि भाँडा बलियो बन्छ भन्ने कसरी थाहा पायो होला ? अनेक प्रयोग गरिसकेपछि त्यो पत्ता लाग्यो होला । पहिले माटो पानीले भिजायो, मुछ्यो, त्यसलाई आकार दिएर पकायो । 

हाम्रो तराईतिर दुई तलासम्मका माटेघर हुन्छन् । प्रायः एक तलाका हुन्छन् । कुनै फर्मामा काँचो माटोमाथि माटो खाँदेर पर्खाल उभिन्छ । पर्खालको बीचमा झ्याल राख्छन् । भुइँचालो जाँदा पनि त्यो पर्खाल भत्किँदैन । त्यो माटेघर चर्किंदैन, फुट्दैन । किनभने माटो कपडा वा जुटको बोराको रेसामा भित्रभित्रै जेलिएको हुन्छ । 

पहाडमा पनि हामीले यसैगरी जुट काटेर माटो बनाउने हो भने घर चर्किन पाउँदैन । हावा हुन्डरीले सिंगै पर्खाल लडाउला तर भाँचिँदैन । त्यो प्रविधि कसले आविष्कार गर्‍यो ? कसरी आविष्कार भयो ? त्यो कत्रो सफलता हो । पछिपछि इँटाको विकास भयो । सेरामिकका पारदर्शी भाँडा बने । आज संसारमा सबभन्दा बढी चलेका भाँडाहरू माटोकै छन् । यिनीहरूको भित्री तहसम्म कुनै किटाणु वा ब्याक्टेरिया छैन । सेरामिकका भाँडालाई १ हजारदेखि १६ सय डिग्री सेल्सियससम्मको तापक्रममा पकाइएको हुन्छ । यो सिंगो मानवजातिकै निम्ति सार्थक सफलता हो । सकारात्मक सफलता हो । यो बिलकुलै समाजका लागि हुन्छ । 

प्रिय छोराछोरी,

मैले युवाहरूलाई धेरैपल्ट भनेको छु– गलत संगतमा नफस । संगत गर्नुभन्दा पहिले छुट्याऊ– सही छ कि गलत ? पहिले मान्छे चिन । गलत छ भन्ने कतै संकेत देखियो भने संगत छाड । 

कुनै पनि मान्छेले ‘ड्रगिस्ट’ बन्छु भनेर सोच्दैन । तर उसलाई फसाएर ‘ड्रगिस्ट’ बनाइन्छ । कलिला बालबालिकालाई ‘ड्रगिस्ट’ बनाउन सजिलो हुन्छ । लागूऔषध कारोबारीहरूले पैसा कमाउनकै लागि उनीहरूलाई फसाउँछन् । बालबालिकाको जिन्दगी बर्बाद पारेर पैसा कमाउनुलाई उनीहरू सफलता ठान्छन् । यो उसको सफलता होइन, यो कुकर्म हो, दुष्कर्म हो । फेला परेको दिन उनीहरू कारबाहीको भागी हुन्छन् । तिनीहरूको पैसा यस्ता कुकर्मबाट कमाइएको हो थाहा हुने भन्नेबित्तिकै कानुनको साङ्लामा बाँधिन पुग्छन् । तसर्थ, त्यो सफलता होइन । 

तिमीहरूको सफलता त्यस्ताको संगतबाट जोगिनु र सफल जीवनको यात्रा अघि बढाउनु हो । जहिले पनि आफूलाई गलत काम र आलस्यबाट जोगाउनु, सही विचार गर्नु अनि सही काम गर्नु नै सफलता प्राप्तिको कडी हो । इमानदार भएर पढ्यो विद्यार्थी, सफल हुन्छ । इमानदार भएर खेल्यो खेलाडी, सफल हुन्छ । गलत बाटो हिँडेन भने, मनमा जे आयो, त्यो गरेन भने । सावधानी, इमानदारी र सजगताका साथ निरन्तर लागिरहे सफलता हातमै आउँछ ।

हामी मानिस हौं । हामीसँग चेतना छ । भन्न त हामी सचेत, अर्धसचेत र सुषुप्त अवस्था भन्छौं । तर साधारणतया हामीसँग अप्रशोधित र प्रशोधित खालका विचार हुन्छन् । कच्चा विचारलाई प्रशोधन गर्ने काम मस्तिष्कले गर्छ । हामी सामाजिक प्राणी भएकाले धान कुटेर, चामल पकाएर भात खान्छौं । अरू जीवले त धानको बोटै खाइदिन्छन । मकै पनि काँचै खाइदिन्छन् । हामी मकै पोलेर, पकाएर खान्छौं । तसर्थ हामी मनमा आएका कच्चा वा प्राकृतिक विचारका आधारमा चल्दैनौं । मस्तिष्कले सोचेर अगाडि बढ्छौं । त्यसो गर्दा हामी गल्ती गर्नबाट जोगिन्छौं र सफलता प्राप्त गर्छौं ।

सफल हुनका लागि इमानदारी र अथक प्रयास चाहिन्छ । अप्रशोधित हिसाबले मनमा जे आयो, त्यही गरेर होइन, त्यो उचित छ कि छैन, मस्तिष्कलाई सोधेर जे जवाफ आउँछ, त्यस अनुसार चल्नुपर्छ । हामी गलत संगतबाट जोगिएनौं भने भयानक दुर्घटना हुन सक्छ । जिन्दगी नारकीयमात्र होइन, चरम असफल हुन सक्छ । त्यसकारण गलत संगतमा नजानु श्रेयष्कर हुन्छ । इमानदारी, परिश्रम, आत्मविश्वास, अठोट र संकल्पले मानिसलाई सफलता मिल्छ । 

सिंगो मानवजाति, देश र समाज नजोडिएको वैयक्तिक सफलता स्वार्थी सफलता हो । त्यो सफलता अर्थपूर्ण हुँदैन । सफलता त्यतिबेला मात्र अर्थपूर्ण हुन्छ, जतिबेला त्यसले अरूको पनि सेवा गर्छ, प्रभाव पार्छ, ज्ञान दिन्छ । जस्तै– तिमीले कसैलाई गालीगलौज गरेर भिडियो बनायौं भने, त्यो अरूसम्म पनि पुग्न त पुग्ला । तर त्यसले तिमी बनाउनेको आफ्नै दिमागसमेत बिगारिदिन्छ । तर एउटा सुन्दर गीति–रचनालाई वाद्यवादनमा ताल मिलाएर, सुमधुर स्वरले गाएर भिडियो बनाउ त, त्यसले हेर्ने दर्शकलाई मात्र होइन तिमीलाई पनि आनन्द मिल्छ । मनै सफा र कञ्चन हुन्छ । भारी मन हल्का हुन्छ । थकान घटेर मन चंगा हुन्छ । अनिँदो छ भने झपक्क निद्रा लाग्छ । 

त्यसकारण हामीले साँचो सफलता झूटो सफलताको भेद छुट्याउनुपर्छ । सकारात्मक सफलतालाई मात्रै सफलता भन्नुपर्छ । समाजका लागि समेत काम लाग्ने सफलतालाई मात्रै सफलता ठान्नुपर्छ । अरूलाई पीडा नदिने, अरूलाई नोक्सान नपुर्‍याउने सफलतालाई नै सफलता मान्नुपर्छ । मनमा जे आयो, त्यही दुष्कर्म गर्नु सफलता कदापि होइ । 

कसैले बन्दुक समाएर आफूलाई विजेता ठान्छ, कसैले अरूको रगत बगाएर आफ्नो शिरमा ताज सजाउँछ । कसैले झूट बोलेर, कसैले अरूलाई हराएर, कसैले लुटेर, कसैले धम्क्याएर- आफूलाई सफल मान्छ । 

साँचै, के यही हो त सफलता ?

तर हेर, अर्कातिर कोही छ, जो दिनरात एउटै खोजमा हराइरहेछ । उसले काँचो माटोलाई पकाएर भाँडा बनाउँछ, उसले समुद्रभित्र पसेर नयाँ तत्त्व निकाल्छ, ऊ सित्तैमा विद्यालय चलाउँछ, ऊ औषधि खोज्छ, ऊ विज्ञान र चेतनाको उचाइमा पुग्छ । उसले आफ्नै लागि मात्रै होइन, सबैका लागि काम गर्छ । 

के यही होइन त सफलता ?

सफलता कुनै हिंस्रक विजय होइन, अरूलाई लुटेर आर्जन गरिने अहंकार होइन । सफलता त कुनै आविष्कार हो, कुनै गीत हो, कुनै भावना हो, कुनै सरल मुस्कान हो । सफलता भनेको मानिसले माटोको गमलामा फूल फुलाउन जानेकोो क्षण हो । सफलता भनेको आफ्ना इच्छाहरूको खम्बा उभ्याएर, त्यसमाथि अरूको खुसीको झन्डा फहराउन सक्ने आँट हो ।

सत्य यही हो- सफलता अरूलाई हराएर होइन, अरूसँग मिलेर बनाइने एउटा सुन्दर चित्र हो । सफलता त्यहाँ छ, जहाँ कुनै आँखामा आँसु छैन, कुनै सपनाले क्षतविक्षत हुनुपरेको छैन । जहाँ मन हलुका छ, जहाँ चित्त उज्यालो छ ।

प्रिय छोराछोरी, 

तिमी आफैं निर्णय गर- तिमी कुन बाटो समात्ने ?

केपी शर्मा ओली केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष हुन् ।

Link copied successfully