लोकप्रियतावादको नेपाली अवतार

अप्रमाणित र सस्ता कुरा गरेर मानिसको ध्यानाकर्षण गर्नु लोकप्रियतावादीहरूको मुख्य विशेषता हो

फाल्गुन १, २०८१

विष्णु रिजाल

Nepali incarnation of populism

अहिले जोडतोडका साथ ‘देशमा केही पनि भएन’ भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ । अहिलेसम्म भएका विकास र परिवर्तनहरूचाहिँ स्वतः भएका हुन्, केही पनि होइनन् र हुन नसकेका कामहरू मात्रै प्रमुख हुन् भन्ने गरी अवस्थाको चित्रण गर्ने गरिएको छ ।

पक्कै पनि चाहे जति काम हुन सकेका छैनन्, हिजो हामीले प्रजातन्त्र प्राप्त गर्दा भर्खर स्वतन्त्रता प्राप्त गरेका देशहरू विकास र समृद्धिमा आज हामीलाई छाडेर धेरै अघि पुगिसकेका छन् । तर, नेपालमा यसबीचमा केही पनि भएन भन्नुचाहिँ आफ्नै विगत, सकारात्मक प्रयास र मातृभूमिमाथि बेइमानी हुन्छ ।

अझ विशेषगरी, दुई–चारवटा योजनाहरू देखाएर ‘प्रजातन्त्र–गणतन्त्र आएपछि राम्रो काम हुन सकेन, बरु हिजो राजाका पालामा कामहरू भएका थिए’ भन्ने गरिन्छ । हिजो केही पनि काम नभएका बेलामा भएका एकाध काम पनि स्वतः देखिने नै भए । त्रिभुवन विमानस्थल नबन्दासम्म नेपालमा एउटा पनि विमानस्थल थिएन, पूर्व–पश्चिम राजमार्ग नबनुन्जेलसम्म बाटो नै थिएन, पोखरा, हेटौंडाजस्ता ठाउँ पनि सडकबाट जोडिएका थिएनन् ।

त्यसैले त्यसबेला जेजति काम भए, ती स्वतः कोसेढुंगा भए । तर, आज तिनको तुलनामा धेरै काम भएका छन् । जनताको औसत आयु बढेको छ, साक्षरता दर र शिक्षामा पहुँच उल्लेखनीय छ, सञ्चार सञ्जालको अभूतपूर्व फैलावट छ, सडक सञ्जाल गाउँगाउँसम्म फैलिएको छ, प्रतिव्यक्ति आय बढेको छ, नागरिकको स्वास्थ्य सेवामा पहुँच बढेको छ, व्यवसाय प्रवर्द्धन राम्रो छ, उत्पादन र रोजगारीका अवसरहरूमा बढोत्तरी भएको छ ।

प्रायः सबैजसो क्षेत्रमा हिजोभन्दा आज प्रगति भएको छ । आँकडा राखेर कुरा गर्दा पनि कुनै पनि क्षेत्रमा हिजोभन्दा कम प्रगति भएको छैन, हुने कुरै हुन्न । फरक के छ भने हिजो बन्द समाज थियो, शासकहरूका भित्री कुरामा नागरिकको पहुँच थिएन, प्रश्न गर्न मनाही थियो र उनीहरूको राम्रो अवतार मात्र बाहिर ल्याइन्थ्यो । आज खुल्ला समाज छ, हरेकको भण्डाफोरमा समाज रमाउँछ । त्यही भएर हिजोको राम्रै राम्रो र आजको नराम्रै नराम्रो चित्रित गर्न सजिलो भएको छ । 

समाजमा निराशा र कुण्ठा छरेर आक्रोश पैदा गराउने कोसिस दुई कोणबाट भइरहेको छ ः पहिलो, गणतान्त्रिक व्यवस्थाविरोधी राजावादीहरूबाट र दोस्रो, राजनीतिमा अस्थिरता सिर्जना गरेर आफ्नो रोटी सेकाउने उद्देश्य बोकेका लोकप्रियतावादीहरूबाट । उल्टो गंगा बगाउन सकिन्छ भन्ने राजावादीहरूलाई नै भित्री विश्वास नभए पनि उनीहरू मरिसकेको राजतन्त्रको पुच्छर समातेर राजनीतिको वैतरणी तर्न सकिन्छ कि भन्ने भ्रममा छन् ।

त्यसका लागि आजको व्यवस्था र नेतालाई बदनाम गर्दा मात्र वातावरण बन्छ कि भन्ने उनीहरूलाई लागिरहेको छ । त्यही भएर कतै बस दुर्घटना भयो भने पनि ‘देख्यौ, हामीले भनेका थियौँ नि– गणतन्त्रमा यस्तै हुन्छ भनेर’ भन्न हतार गरिहाल्छन् । जन्मका आधारमा शासक बन्ने, त्यस्तो शासक सन्की भए पनि, आफ्नै परिवारलाई सखाप पार्ने भए पनि नागरिकले मानिदिनुपर्ने मान्यता सार्वभौम नागरिकबाट आउनु आफैंमा पश्चगामी र पछौटे चिन्तनबाहेक केही होइन ।

विकसित देशका आलंकारिक राजा/रानी हाम्रा लागि बिल्कुल प्रासंगिक छैनन् भन्ने जान्दाजान्दै ‘राजतन्त्र भएका मुलुकमा विकास भएको छ’ भन्ने गरिन्छ । एउटा कुरा पक्का के छ भने, कथंकदाचित संघीय लोकतान्त्रिक गणतन्त्र असफल भएछ भने अरू अर्को कुनै अतिवादी विकल्प जन्मिएला, आर्यघाटमा अन्त्येष्टि भइसकेको राजतन्त्र फर्केर आउँछ भन्नु मरिसकेका आमा–बुबा तपस्या गरेर जीवित हुन्छन् भनेजस्तै मात्र हो । त्यसैले विगतको मात्र महिमामण्डन गर्ने र वर्तमानलाई विद्रुपीकरण गर्ने प्रयासको कुनै प्रयोजन छैन ।

‘देशमा केही पनि भएन’ भन्ने भाष्य सिर्जना गर्दा त्यसको लाभ अन्ततः लोकप्रियतावादी (पपुलिस्ट) हरूलाई हुन्छ । अहिलेसम्म प्राप्त उपलब्धि केही पनि होइनन्, हिजो राम्रो थियो, आज केही पनि भएन भन्ने संकथनले न लोकतन्त्रलाई बलियो बनाउँछ, न त देशलाई नै ।

यसबाट जनतामा चरम निराशा पैदा हुँदै जाँदा उनीहरूको राजनीतिक विवेक अलमलमा पर्छ र त्यसको लाभ युक्रेनमा हास्यकलाकार तथा टेलिभिजन प्रस्तोता भ्लादिमिर जेलेन्स्कीले उठाएजस्तै कुनै चटके, सस्ता कुरा गर्ने, अरूलाई गाली मात्र गर्ने, आफ्नै कुनै निश्चित सिद्धान्त नभएको र सबै कुरा मैले गर्न सक्छु भनेर आश्वासन दिने पात्रले उठाउँछ । रुस–युक्रेन युद्धका बारेमा भिन्नै विश्लेषण होला तर युक्रेनमा बारम्बार देखा परेको राजनीतिक अस्थिरता, आन्दोलन र अस्तव्यस्तताको फाइदा उठाउँदै 

सन् २०१९ को निर्वाचनको मुखमा राजनीतिमा प्रवेश गरेका जेलेन्स्की राष्ट्रपति निर्वाचित नभएका भए युक्रेनले लामो युद्ध भोग्नुपर्ने थिएन भन्ने मत बलियो छ । ‘जनताको नोकर’ (सर्भेन्ट अफ पिपुल) भनेर टेलिभिजन कार्यक्रम चलाउँदा चलाउँदै जेलेन्स्की राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा मात्र राजनीतिमा आएका थिए । टेलिभिजनबाटै राजनीति गरेर त्यही आधारमा जितेका उनी लोकप्रियतावादका एक नमुना हुन्, जो नेतृत्वमा आएबाट युक्रेनले लाखौं सैनिक र २० प्रतिशत भू–भाग गुमाइसकेको छ ।

अप्रमाणित र सस्ता कुरा गरेर मानिसहरूको ध्यानाकर्षण गर्नु लोकप्रियतावादीहरूको मुख्य विशेषता हो । लोकतन्त्रका लागि लडेका, संविधान बनाएका र जनताको विश्वास हासिल गरेका दल तथा तिनका नेताहरू केही पनि होइनन् अनि देशका लागि कुनै सिन्को नभाँचेका, अरूलाई गाली गरेर राजनीति सुरु गरेका, आफैं अनेक विवादमा फसेका र कुनै विचारधारा नै नबोकेकाहरू जनताका लागि देवदूत हुन् भन्नु र ठान्नु नै लोकप्रियतावाद हो ।

१९ औं शताब्दीमा युरोपमा जन्मेर ल्याटिन अमेरिकामा फस्टाएको र अहिले विस्तार भइरहेको लोकप्रियतावादको मारमा साना–ठूला देशहरू परिरहेका छन् । सिंगो देशका नागरिकलाई आफ्नो पक्ष वा विपक्षमा गरी दुई भागमा बाँडेर उनीहरूको मन छुने गरी सांस्कृतिक, आर्थिक–सामाजिक वा गैर–संस्थापन विषय उठाउनु लोकप्रियतावादको मुख्य विशेषता हो । के ठीक हुन्छ भनेर होइन, के भन्दा धेरैभन्दा धेरै मानिसले रुचाउँछन् भन्ने आधारमा बोल्ने कुराले एकछिनलाई त आनन्द दिन्छ, त्यस्ता कुरा पूरा भएको विश्वमा एउटा पनि उदाहरण पाइँदैन । 

डोनाल्ड ट्रम्पले अमेरिकाबाट गैरकानुनी आप्रवासीलाई निकाल्दा र यूएसएडमार्फत वितरण भइरहेको सहयोग ९० दिनका लागि रोक्दा विश्वव्यापी रूपमा परिरहेको प्रभावलाई विश्लेषण गर्दा पनि लोकप्रियतावाद के गर्छ भनेर बुझ्न सकिन्छ । पहिलो पटक ‘अमेरिका फर्स्ट’ र दोस्रो पटक ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) नाराका साथ सत्तामा आएका ट्रम्पले आफ्ना मतदातालाई केन्द्रमा राखेर गरिरहेका निर्णयले अमेरिकाले उठाउँदै आएका मूल्यहरूलाई अवमूल्यन गरिरहेको छ ।

ट्रम्पले गोरा–लोकप्रियतावादलाई केन्द्रमा राखेजस्तै छिमेकी भारतमा नरेन्द्र मोदीले हिन्दु–लोकप्रियतावादलाई केन्द्रमा राखिरहेका छन् । विश्वव्यापीकरण, उदारवाद, मानवअधिकार, लोकतन्त्र, खुल्ला बजार अर्थतन्त्र, व्यक्तिगत स्वतन्त्रताजस्ता विषयमा विश्वलाई पढाउने र वैकल्पिक विचारधारालाई अधिनायकवादको बिल्ला भिराउने नेता तथा शक्तिहरू आज बढीभन्दा बढी अनुदार बन्नुमा लोकप्रियतावादले काम गरिरहेको छ ।

पक्कै पनि नेपालमा गर्नुपर्ने सुधारहरू धेरै छन्, नागरिकका अपेक्षाहरू पूरा भएका छैनन् । विश्वका विकसित देशमा पढेका, काम गरेका, कम्तीमा ती देश देखेका, बाहिर गएर श्रम गरेर फर्केका र शिक्षाका कारण जानकारी हासिल गरेका नागरिकको संख्या तीव्र रूपमा बढिरहेको बेला त्यहाँको जस्तै व्यवस्था आफ्नो देशमा किन भएन भनेर प्रश्न खडा हुनु अस्वाभाविक होइन । हाम्रो अर्थतन्त्रको आकार, दुई ठूला छिमेकीबीचको अवस्थिति, बारम्बारको राजनीतिक अस्थिरता, दीर्घकालीन योजनाको कमी, संरचनागत सुधारको अभावजस्ता कुराले कतिपय हुनुपर्ने कामहरू पनि भइरहेका छैनन् ।

एउटा सानो निर्माणको काममा ढिलाइ गर्नुछ भने ठेकेदारले एक जना मान्छे लगाएर अदालतमा मुद्दा हाल्न लगाइदिन्छ अनि वर्षौंर्सम्म त्यो योजना अड्किएर बस्छ । यस्ता कुराहरूलाई समग्र रूपमा एक ठाउँमा राखेर समाधान गर्नका लागि नेपालले ठूलो संरचनात्मक सुधारको माग गरेको छ । कुनै एउटा व्यक्ति, निकाय र पदाधिकारीलाई मात्र होइन, सिंगो प्रणालीलाई आमूल रूपमा व्यवस्थित नगरेसम्म काम पनि नहुने, प्रश्न पनि उठिरहने र विरोध पनि भइरहने अवस्था विद्यमान भइरहन्छ ।

राज्यका निर्णायक तहमा रहेर नेतृत्व गरिरहेका नेताहरूले नै सस्तो लोकप्रियताका लागि जथाभावी बोल्दा लोकप्रियतावादीहरूलाई थप बल पुगेको छ । उदाहरणका लागि तीन पटक मुलुकको नेतृत्व गरिसक्नुभएका र अझै पनि मैले पाएँ भने गर्छु भनेर दौडिरहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाउँदा ‘वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको’ भन्न छुटाउनु हुन्न ।

जबकि, वास्तविकताचाहिँ बेग्लै छ– विमान खरिदको सम्पूर्ण प्रक्रिया दाहाल स्वयं प्रधानमन्त्री हुँदा नै पूरा भएको तथ्य छ । विमान खरिदका लागि २०७३ असोज १० गते सूचना प्रकाशन, असोज २९ गते सरकारी जमानत बस्ने अर्थ मन्त्रालयको स्वीकृति, माघ ३ गते विमान किनबेचसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर, माघ २८ मा १० लाख डलर बैना, चैत २५ मा विमान खरिद सम्झौता र ०७४ वैशाख ७ मा नेपाल सरकार जमानी बस्ने निर्णय हुँदा दाहाल स्वयं प्रधानमन्त्री, उहाँका विश्वासपात्र कृष्णबहादुर महरा अर्थमन्त्री र जीवनबहादुर शाही पर्यटनमन्त्री थिए ।

अनि सम्झौताबमोजिमको रकम पछि भुक्तानी गरेर विमान ल्याउँदाचाहिँ भ्रष्टाचार भएको भनेर एक औँला ओलीतिर देखाउँदा चार औँला त उहाँ स्वयंतिर फर्किरहेको देखिन्छ । बजारमा प्रचार गरिएको कम्बोडियामा ३२ अर्बको लगानीको दुष्प्रचारदेखि यती, ओम्नी, गिरीबन्धु, वाइडबडी आदिका कथाहरू स्थापित दल र नेताहरूलाई बदनाम गरी लोकप्रियतावादीहरूका लागि ‘स्पेस’ सिर्जना गर्न गरिएका प्रयत्नका अंग हुन् ।

राज्य छ, राज्यका निकाय छन् । केपी ओली अहिले पो सत्तामा हुनुहुन्छ । हिजो स्वयं पुष्पकमल दाहालको नेतृत्वमा नेकपा (एमाले) बाहेकको सरकार भएको बेला ती काममा अनुसन्धान गरे/गराएको भए अहिले भन्न पनि सुहाउँथ्यो । अहिले आफूले भ्रष्टाचारका फाइल खोल्न खोज्दा हटाइएको अरण्यरोदनका पछाडि सस्तो लोकप्रियता आर्जनबाहेक अरू कुनै सकारात्मक अर्थ लुकेको छैन ।

मुलुकमा बेथिति छ, भ्रष्टाचार छ, अस्तव्यस्तता छ । साथै, राज्य संयन्त्र पनि छ । बहुदलीय व्यवस्थामा एउटै पार्टी सत्तामा रहिरहँदैन । त्यस्ता अनियमितताका छानबिन पनि भएका छन् । सभामुख, उपप्रधानमन्त्री, मन्त्री, सांसद, सचिव, मेयर भएका मानिस जेल भएका छन्, राजनीतिबाट बिदा भएका छन् । सिक्काको अर्को पाटो नै उल्लेख नगरी खाली कसैमाथि कारबाही हुँदै हुँदैन भन्ने प्रचार गर्दा काम गरिरहेका निकायहरूको मनोबल माथि उठ्ला ? नागरिकमा राज्य प्रणालीप्रति सकारात्मक धारणा विकास होला ? आश्चर्यको कुरा के छ भने, यस्तो भाष्य निर्माण गर्नमा पुराना दलहरूबाट विभिन्न बेलामा फाइदा उठाएका र हाल असन्तुष्ट बनेर बसिरहेका बुद्धिजीवी, प्राध्यापक, पेसाकर्मी आदि लागिरहेको देखिन्छ । 

लोकतन्त्रको विकल्प न राजतन्त्र हुन्छ, न लोकप्रियतावाद । रवि लामिछाने र बालेन शाहको देवत्वकरण गर्न भइरहेका प्रयासका पर्दामा उनीहरूका युवा अनुहार भए पनि पर्दा पछाडि अनेकथरी छन् । इतिहासदेखि नै स्वतन्त्र, सार्वभौम र स्वाभिमानका साथ बाँचिरहेको मुलुकलाई थप कमजोर, अस्थिर र जर्जर बनाउन लागिरहेका भित्री तथा बाहिर तत्त्वहरूको प्रयास यतै केन्द्रित भइरहेको छ ।

त्यसका लागि कुप्रचार (डिस्इन्फर्मेसन) को अभियान चलाएर स्थापित दल र नेतालाई बदनाम गर्ने, हुन नसकेका कामहरूको फेहरिस्त दिएर नागरिकलाई प्रभावित पार्ने, भएका कामहरूको उल्लेखै नगरी ओझेलमा पार्ने, नागरिकमा निराशा र आक्रोश उत्पन्न गराउने र रिक्त स्थान आफूले भर्ने लोकप्रियतावादको विश्वव्यापी अवतार नेपालमा प्रकट भइरहेको छ ।

विष्णु विष्णु रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।

Link copied successfully