पेरिस सम्झौताबाट बाहिरिने ट्रम्प निर्णयको असर

ट्रम्पको कदमले ग्लोबल नर्थबाट ग्लोबल साउथतर्फ शक्ति सर्न सक्ने सम्भावनालाई नजिक ल्याएको छ तर यो बहुपक्षीय विषय भएकाले सोहीअनुसार ती मुलुकको क्षमता, नेतृत्व, सक्रियता र सहकार्यको आगामी मार्गचित्र निर्धारण गर्नेछ 

माघ २८, २०८१

कृष्णा पौडेल

The impact of Trump's decision to withdraw from the Paris Agreement

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका कैयौं निर्णयमध्ये पेरिस सम्झौताबाट अलग हुने विषयले विश्वको ध्यान तानेको छ । किनकि जलवायु परिवर्तनको मुद्दा विश्वकै प्रमुख प्राथमिकतामा छ । उनको कार्यकारी आदेशले जलवायु वित्त सहयोगलाई पनि रोकेको छ ।

जलवायु कार्यका लागि बनेका कोष र विश्व स्वास्थ्य संगठनप्रति उनको विमति र अघिल्लो कार्यकालमा पेरिस सम्झौताबाट अलग हुने निर्णय गरिसकेकाले उनी पुरानै लयमा फर्किन्छन् भन्ने पूर्वआकलन थियो । उनले शपथ ग्रहणकै दिन निर्णय गरेर आफ्नो तीव्र असन्तुष्टि मात्रै जाहेर गरेनन्, गैरजिम्मेवारीलाई पनि उदांगो पारे । 

गत नोभेम्बरमा निर्वाचनको परिणाम आउँदै गर्दा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसी) का पक्ष राष्ट्रहरूको सम्मेलन कोप–२९ नै प्रभावित हुन सक्ने आकलन गरिएको थियो । विशेषगरी नयाँ जलवायु वित्तको लक्ष्य निर्धारण नै नहुने हो कि भन्ने संशय पैदा भएको थियो ।

विकासोन्मुख र गरिब मुलुकले अपेक्षा गरेअनुरूप नभए पनि जलवायु कार्यका लागि नयाँ जलवायु वित्त निर्धारण गरेर कोप असफल हुनबाट जोगियो । तर सम्मेलनभर तेल उत्पादक मुलुकको दबदबा भने हरेक नेगोसिएसन बैठकमा अनुभूत गरियो । ट्रम्पको पुनरागमनले तेल उत्पादक मुलुकलाई पर्दा पछाडिबाट शक्ति र समर्थन प्रदान गरेको थियो । आयोजक राष्ट्रसँगै ती देशका सरकार प्रमुखका जलवायु परिवर्तनप्रतिको अभिव्यक्तिमा प्रभाव स्पष्ट देखियो । 

वैदेशिक विकास सहायतामा अमेरिका विश्वमै पहिलो नम्बरमा पर्छ । प्रमुख चुनौती बन्दै गएको जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि विश्वव्यापी सहकार्यको आवश्यकता महसुस गरिएको समयमा ट्रम्पको कदमले प्रत्यक्ष रूपमा जलवायु कार्यको नयाँ लक्ष्य प्राप्ति गर्ने प्रयासमा झड्का दिएको छ । तर वैदेशिक विकास सहायता नियोग नै खारेजीले विश्वका गरिब र विकासोन्मुख मुलुकमा सञ्चालित शिक्षा, स्वास्थ्य तथा पोषणका न्यूनतम कार्यक्रम पनि प्रभावित भएका छन् ।

जीवाष्म इन्धनलाई प्रकृतिको उपहार भन्दै तीव्र औद्योगिकीकरणमा जोड दिने मुलुकको आत्मबल बढाउनेछ । तर देशबाहिर मात्रै होइन आन्तरिक रूपमा पनि ट्रम्पको आलोचना भएको छ । किनकि परम्परागत जलवायु परिवर्तन र पर्यावरणीय विषयमा नेतृत्व लिँदै काम गर्नेहरू उनको जलवायु विज्ञानविरोधी क्रियाकलापबाट रुष्ट छन् । अमेरिकी सरकारबाहेक त्यहाँका औद्योगिक घराना र व्यक्तिगत रूपमा पनि जलवायु कार्यका लागि देशबाहिर हुँदै आएको सहयोग र सहकार्यको हिस्सा पनि ठूलो छ । 

पछिल्ला दुई वर्षमा विश्वले जलवायु परिवर्तनका कारण सामना गर्नुपरेको विपद्का घटनालाई मात्रै हेर्ने हो भने ठूलो क्षति पुगिसकेको छ । आगामी दिन अझै भयावह हुने आकलन छ । यसले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासमा बाधा पुर्‍याउँछ र वातावरणीय संकटलाई अझै गहिरो बनाउँछ । तर ट्रम्पको निर्णयले अन्य विकसित देशलाई अझै बढी जिम्मेवार बनाउने ढोका पनि खोलेको छ । यदि त्यसो हुन सक्यो भने देशहरूको गठबन्धन नयाँ सिराबाट अघि बढ्नेछ र जलवायुजन्य कार्यहरू यथावत् चल्नेछन् । 

जलवायु कूटनीतिमा प्रभाव 

अमेरिकाभित्र केही राजनीतिक वृत्त र विशेषगरी कोइला, तेल र प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित व्यावसायिक समूहले ट्रम्पको निर्णयको समर्थन गरेका छन् । पेरिस सम्झौताका कारण ऊर्जा उत्पादन र औद्योगिक गतिविधिमा लगाइएका सीमाले अमेरिकी अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको तर्क उनीहरूको छ । तर यो समर्थन सीमित क्षेत्रमा मात्रै देखिएको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा ट्रम्पको जीवाष्म इन्धनमाथिको निर्भरतालाई ‘फ्र्याङ्कनस्टाइनको राक्षस’ को संज्ञा दिए । सोही कार्यक्रममा युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले ट्रम्पको निर्णयको आलोचना गर्दै पेरिस सम्झौताप्रति दृढ प्रतिबद्धता जाहेर गरेकी छन् । उनले पेरिस सम्झौतालाई ‘विश्वको जीवनरेखा’ भन्दै त्यसबाट बाहिर जानुलाई ‘मानवअधिकार विरोधी कदम’ का रूपमा चित्रण गरिन् ।

ट्रम्पको निर्णयले युरोपेली संघ, जापान, क्यानडालगायतलाई स्वतन्त्र रूपमा जलवायु कार्य अघि बढाउन नयाँ गठबन्धन गठनमा प्रेरित गर्न सक्छ । जसले अमेरिकी संलग्नतामा कम निर्भर हुने वा उसलाई अलग राख्ने जलवायु कार्य संयन्त्र निर्माणको ढोका खोल्न सक्छ ।

जलवायु वित्तमा सहयोगका लागि प्रायः अमेरिकालाई हेर्ने, अपेक्षा राख्ने विकासोन्मुख देशलाई वैकल्पिक कोष र संयन्त्र खोज्न अवसर दिनेछ । जलवायु रणनीतिमार्फत अमेरिका र उसका साझेदार मुलुकबीच विभाजन ल्याउनेसम्मको क्षमता चीनले राख्न सक्ने आकलन गर्न सकिन्छ । 

ट्रम्पको निर्णयले जलवायु परिवर्तनको मुद्दालाई नयाँ मोड दिएको छ । ग्लोबल नर्थ (विकसित देश) र ग्लोबल साउथ (विकासोन्मुख र गरिब देश) बीचको शक्ति सन्तुलन परिवर्तन हुने सम्भावना बढाएको छ । ट्रम्पको कदमले चीन, युरोपेली संघ र ग्लोबल साउथबीच नयाँ सम्बन्ध र गठबन्धनको खाका कोर्न प्रेरित गरेको छ । अबको युगमा साना राष्ट्रको आवाज र दिगो विकासका लागि प्रविधि तथा वित्तीय सहकार्य निर्णायक हुनेछ ।

ग्लोबल नर्थमा चीनको प्रभाव लगातार बढिरहेको छ भने ग्लोबल साउथमा चीन निर्णायक शक्ति बनेको छ । ट्रम्पको पेरिस सम्झौताबाट बाहिरिने निर्णयले ग्लोबल नर्थर्भित्रै विभाजन ल्याउन सक्ने देखिन्छ । यस्तो अवस्थामा चीनले जिम्मेवार र प्रभावकारी नेतृत्वका रूपमा आफूलाई प्रस्तुत गर्नेछ र युरोपेली संघसँगको सम्बन्धलाई प्रगाढ बनाउने प्रयास गर्नेछ । जलवायु कार्यका लागि हुने सहकार्य र बहन गर्ने जिम्मेवारीले चीनलाई विश्वव्यापी नेतृत्वका लागि मार्गप्रशस्त गर्नेछ भने अमेरिकाको साखलाई झन् कमजोर बनाउनेछ ।

ग्लोबल साउथका मुलुकहरू फरक तरिकाले प्रभावित छन् । जस्तैः चीन ३२ दशमलव ८८ प्रतिशत कार्बन उत्सर्जन गरी विश्वकै पहिलो नम्बरमा छ । तथापि चीन आफैंले आफूसँग सहकार्य गरिरहेका ग्लोबल साउथका देशलाई कार्बन उत्सर्जन कमी गराउन अनुदान सहायता र कम व्याजदरको ऋण उपलब्ध गराई आफ्नो मालामा उनिरहेको छ ।

ग्लोबल नर्थ/साउथका नागरिकले गर्ने प्रतिव्यक्ति कार्बन उत्सर्जनमा ठूलो फरक छ । पछिल्लो समय चीनले विकास गरेको हरित नीतिले ग्लोबल साउथमा औद्योगिक र व्यक्तिगत कार्बन उत्सर्जन घटाउन उद्दत गर्छ । यसले विश्व जलवायु कार्यको महाअभियानमा चीनलाई अग्रस्थानमा उभिन मद्दत गर्छ । 

ग्लोबल साउथ समूहका कैयौं साना देशको शून्य उत्सर्जन छ । विश्वव्यापी जलवायु परिवर्तनमा फरक योगदान रहेका यो समूहका देशबीच जलवायु कार्यका लागि साझा दृष्टिकोण पनि छैन र अन्तर्राष्ट्रिय जलवायु वार्तामा संयुक्त हितलाई पनि पछ्याउँदैनन् । उनीहरू एक दर्जनभन्दा बढी उपसमूहमा संगठित छन् ।

ग्लोबल साउथका लागि कुनै एकल जलवायु रणनीति छैन । केही दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्ने भूमिकामा छन् भने कतिपयलाई वित्तीय सहयोग चाहिएको छ । ग्लोबल नर्थका देशले उत्सर्जन गरेको हरितगृह ग्यास, प्रदूषण र विपद्बाट पीडित ग्लोबल साउथका देशले हरित नीतिलाई अवलम्बन गर्न थालेका छन् ।

त्यसैले, जलवायु कार्यमा थोरै अघि मात्रै बढ्ने हो भने ग्लोबल साउथका उदीयमान शक्तिहरू ब्राजिल, भारत, इन्डोनेसिया र दक्षिण अफ्रिकाले चीनको हरेक कदमलाई साथ दिन सक्नेछन् । ट्रम्पको कदमले ग्लोबल नर्थबाट ग्लोबल साउथतर्फ शक्ति सर्न सक्ने सम्भावनालाई नजिक ल्याएको छ । तर यो बहुपक्षीय विषय भएकाले सोहीअनुसार ती मुलुकको क्षमता, नेतृत्व, सक्रियता र सहकार्यको आगामी मार्गचित्र निर्धारण गर्नेछ । साथै भारतको भूमिका पनि केन्द्रीय रहन्छ ।

चीनलाई अवसरै अवसर

अमेरिकाले आफ्नो जिम्मेवार छवि गुमाउँदा चीनले आफूलाई नेतृत्वका रूपमा प्रस्तुत गर्न सक्छ । जलवायु परिवर्तनसँग जुध्ने विश्वव्यापी नेतृत्वको खाली ठाउँलाई चीनले आफ्नो रणनीतिक, आर्थिक र कूटनीतिक हितका लागि उपयोग गर्न सक्छ । चीनले विकासोन्मुख मुलुकलाई जलवायु कार्य र नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि आवश्यक पर्ने वित्तीय सहयोग र प्रविधि सहकार्यको प्रस्ताव गर्न सक्छ । यसले ती मुलुकसँगको सम्बन्ध बलियो बनाउन मद्दत गर्नेछ र कूटनीतिक छवि सुधार्नेछ । 

अमेरिकाले प्रदूषण फैलाउने परम्परागत उद्योगको प्रवर्द्धन गरिरहँदा चीनले हरित ऊर्जा उत्पादन र निर्यातमार्फत प्रतिस्पर्धात्मक लाभ लिन सक्छ । किनकि पेरिस सम्झौताले प्रदूषण नियन्त्रण र दिगो उत्पादनलाई प्राथमिकता दिएको छ । हरित ऊर्जा, सौर्य प्यानल, विद्युतीय सवारीमा ठूलो लगानी गर्दै आएको उसले हरित प्रविधिमा आफ्नो प्रभुत्व बढाउन सक्छ । यो कदमले चीनलाई प्रविधिको सबैभन्दा ठूलो उत्पादक र निर्यात मुलुकका रूपमा स्थापित गराउन सक्छ ।

जलवायु परिवर्तनजन्य विश्वव्यापी मुद्दामा ग्लोबल नर्थ (विशेषगरी अमेरिका र युरोप) को नेतृत्वदायी भूमिका रहँदै आएको थियो । ग्लोबल नर्थको नेतृत्व क्षमतामा अब गिरावट आउनेछ । यसले ग्लोबल साउथका उदीयमान देशलाई कूटनीतिक भूमिका निभाउने मौका दिन्छ । त्यसैगरी चीनले चाहेको खण्डमा सजिलै ग्लोबल साउथको भरोसा जित्नेछ । ट्रम्पले ग्लोबल नर्थभित्र समर्थन गुमाउने अवस्था चीनका लागि अवसर हुनेछ ।

युरोपेली संघ र ग्लोबल साउथ ट्रम्पको निर्णयविरुद्ध एकजुट हुँदा यो गठबन्धनलाई अझै मजबुत बनाउने अवसर चीनलाई प्राप्त हुनेछ । उसले आफूलाई वैकल्पिक नेता र दिगो विकासको सहयोगीका रूपमा प्रस्तुत गर्दै, ट्रम्पको निर्णयको कमजोर पक्षलाई उपयोग गर्न सक्छ । अहिले पनि चीन जी–७७, ब्रिक्स, आसियान, ओसेनिया (अस्ट्रेलिया र न्युजिल्यान्डबाहेक), अफ्रिका, दक्षिण अमेरिका, ल्याटिन अमेरिकाका देशमा प्रभुत्व र साझेदारी बढाइरहेको छ । यसको प्रभाव र दबाब झेल्न अमेरिकालाई अप्ठ्यारो पर्नेछ । 

नेपालले परिवर्तन गर्नुपर्ने कार्यशैली

पछिल्ला वर्ष नेपालले निरन्तर जलवायु परिवर्तनजन्य ठूला विपद् भोग्दै आएको छ । कैलाली र काठमाडौंको बाढी, थामेको पहिरो, मनाङ–मुस्ताङको पहिरो, सुदूरपश्चिम र मेलम्चीको बाढी जलवायुजन्य विपत्ति नै हुन् । यी विपद्बाट पुगेको हानि नोक्सानीको परिपूरण र जलवायु अनुकूलनका लागि हामीलाई ठूलो रकम आवश्यक पर्छ । विपद् जोखिम न्यूनीकरणका लागि विस्तार गर्नुपर्ने सूचना प्रणाली, न्याप कार्यान्वयन तथा अब ‘एनडीसी ३’ कार्यान्वयनका लागि आवश्यक बजेटमा ठूलो अन्तर छ । यी सबै कामका लागि हामीले दातृ निकायको मुख ताक्ने काम छोडेर राष्ट्रिय पहललाई प्राथमिकतामा राख्न जरुरी छ । 

सन् २०२६ पछि विकसित मुलुकको सूचीमा उक्लिँदै गर्दा हाम्रा कैयौं सहयोग रोकिनेछन् । यसैले पनि जलवायु परिवर्तनको असरविरुद्ध लड्ने अभियान मौलिक ढंगले अघि बढाउन जरुरी छ । हाम्रा सबै तहका सरकारबाट बजेट, कार्ययोजना, विकास निर्माणका कार्यनीति जलवायुमैत्री बनाउन आवश्यक छ ।

अब आन्तरिक स्रोतबाट अनुकूलन र उत्थानशीलताको कार्यक्रम बनाउन र सञ्चालन गर्न स्थानीय सरकार र प्रदेश सरकार अग्रसर हुनुपर्छ । यसले दातृ निकायमाथिको निर्भरतालाई कम गर्नेछ । हुन त जलवायु परिवर्तनको असरविरुद्ध लड्ने अभियान सञ्चालन गर्न अमेरिकी सरकार मात्र हाम्रो दाता होइन तर यसमार्फत समुदायमा हुने विभिन्न गतिविधिमा कमी आउनेछ । 

अब नेपालले छिमेकी मुलुकसँगको जलवायु कूटनीतिलाई प्राथमिकतामा राख्नुपर्नेछ । कार्बन उत्सर्जनमा पहिलो र तेस्रो नम्बरमा रहेका छिमेकी चीन र भारतसँगको जलवायु कूटनीतिलाई मजबुत बनाउन सक्ने हो भने नेपाललाई भविष्यमा जलवायु कार्यका लागि अरूको आस गर्नुपर्ने अवस्था अन्त्य हुन सक्छ ।

कृष्णा न्यूज एजेन्सी नेपालकी प्रकाशक तथा सम्पादक कृष्णा पौडेल जलवायु न्याय, नीति वकालत तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully