भ्रष्टाचार नियन्त्रण अख्तियारको मात्र जिम्मेवारी हो ?

अख्तियारले मूलतः भ्रष्टाचारजन्य क्रियाकलाप भएमा त्यसको छानबिन गरेर उपचार गर्ने अर्थात् मुद्दा दायर गर्ने संवैधानिक जिम्मेवारी पाएको छ, यति कार्यले मात्र भ्रष्टाचार नियन्त्रण सम्भव छैन

माघ २८, २०८१

दीपेश घिमिरे

Corruption control is the only responsibility of the authority?

२०८१ कात्तिक १२ गते प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन बारेमा छलफल चलिरहेको थियो । सो क्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई समितिका केही सांसदले ‘प्रधानमन्त्रीको पार्टीलाई व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दान भ्रष्टाचार हो कि होइन’ भनेर प्रश्न गरेका थिए ।

  उक्त बैठकमा सांसदहरूले गरेका प्रश्नहरू हेर्दा लाग्थ्यो प्रधानमन्त्रीलाई संसद्मा बोलाएर प्रश्न गर्न सक्ने सांसदलाई या त आफ्नो भूमिका वा अधिकारका बारेमा जानकारी छैन या त त्यो आँट गर्न सकिरहेका छैनन् । आफैंले कानुन बनाएर वा संशोधन गरेर ‘यो भ्रष्टाचार हो’ र ‘यो भ्रष्टाचार होइन’ भन्न सक्ने जिम्मेवारीमा रहेका सांसद आफ्नै शक्तिबारे अनभिज्ञ देखिएका थिए । 

नीति निर्माताकै हालत यस्तो भएपछि त्यसको प्रभाव आमनागरिकमा पनि पर्ने नै भयो । जसलाई केही तथ्यांकले प्रस्ट्याउँदछ । आर्थिक वर्ष २०८०/८१ मा अख्तियारमा २६ हजार ९ सय १८ वटा नयाँ उजुरी परेका थिए । यता प्रधानमन्त्री प्रमुख रहने राष्ट्रिय सतर्कता केन्द्रमा भने आर्थिक वर्ष २०५९/६० देखि आर्थिक वर्ष २०७७/७८ सम्म जम्मा ११ हजार ४ सय ७६ वटा मात्र उजुरी दर्ता भएका थिए । यसपछिका वर्षको विवरण केन्द्रको वेबसाइटमा उपलब्ध छैन । अनौपचारिक जानकारीअनुसार हाल करिब एक हजार जति थप उजुरी केन्द्रमा छन् । 

अख्तियार संवैधानिक आयोगका रूपमा र राष्ट्रिय सतर्कता केन्द्र प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेर भ्रष्टाचारजन्य क्रियाकलापको नियन्त्रणमा क्रियाशील छन् । भ्रष्टाचार निवारण ऐन २०५९ ले दुवै निकायलाई सार्वजनिक निकायमा भएका भ्रष्टाचारका बारेमा उजुरी लिने अधिकार दिएको छ । तर बहुसंख्यक नागरिक पनि भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी अख्तियारको मात्र हो भन्ने बुझाइ बोक्दछन् र त्यही उजुरी गर्छन् । उनीहरू भ्रष्टाचार नियन्त्रणको प्रमुख दायित्व प्रधानमन्त्रीको हो भन्ने कुरामा या त जानकार छैनन् या विश्वास गर्दैनन् । 

Corruption control is the only responsibility of the authority?

नीति निर्माताको बुझाइ, उपलब्ध तथ्यांक र आमप्रवृत्तिलाई हेर्दा भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी अख्तियारको भएको बुझाइ आमकरण भइसकेको छ । तर के भ्रष्टाचार नियन्त्रण अख्तियारको मात्र जिम्मेवारी हो ? 

भ्रष्टाचार नियन्त्रणको 'अख्तियारीकरण’ 

नेपालमा भ्रष्टाचार नियन्त्रण अख्तियारको जिम्मेवारी हो भन्ने धारणा व्यापक छ । यसले भ्रष्टाचार नियन्त्रणका लागि वास्तविक जिम्मेवार निकाय र नेतृत्वको भूमिकालाई ओझेलमा पारेको छ । अख्तियारलाई ‘सर्वव्यापक’ संस्था बनाउन खोजिएको छ, जसले अख्तियारले छानबिन गरेर मुद्दा दायर गर्‍यो भने त्यो भ्रष्टाचार भयो यदि यसले थाहा पाएन भने त्यो भ्रष्टाचार भएन भन्ने दृष्टिकोण राख्दछ ।

यस दृष्टिकोणले प्रधानमन्त्री र उनीअन्तर्गतका राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग, तालुक मन्त्रालयहरू लगायतका सम्पूर्ण नियमनकारी निकाय तथा कार्यालयको जिम्मेवारी र कर्तव्यलाई उपेक्षित बनाएको छ । संसद्, न्यायालय र नागरिक समाजको भूमिकालाई नजरअन्दाज गरेको छ । 

यसले भ्रष्टाचार नियन्त्रणका सवालमा केही गम्भीर असर पारेको छ । पहिलो, भ्रष्टाचार नियन्त्रण गर्ने प्राथमिक जिम्मेवारी सम्बन्धित कार्यालय वा निकायका प्रमुखको हो भन्ने यथार्थता सबैले बिर्सिंदै गएका छन् । दोस्रो, प्रधानमन्त्री, मन्त्रीहरू तथा अन्य जिम्मेवार अधिकारीहरूले भ्रष्टाचार नियन्त्रणलाई आफ्नो जिम्मेवारी र दायित्वभित्र पर्दछ भन्ने सामान्य कुरामै ध्यान दिन छाडेका छन् । भ्रष्टाचार बढ्नु आफ्नो ‘अक्षमता’ हो भन्नेबारेमा उनीहरू स्वयं अनभिज्ञझैं छन् । तेस्रो, नागरिक समाज र आमसञ्चारमाध्यमले भ्रष्टाचारविरुद्ध काम गर्ने भूमिकालाई पनि संकुचित बनाउँदै लगेको छ । 

परिणामतः जति आर्थिक अपचलन र भ्रष्टाचार गरे तापनि अख्तियारको छानबिन र अभियोजनबाट जोगिन सक्ने व्यक्ति ‘सदाचारी’ हो भन्ने भाष्य निर्माण भएको छ । आफ्ना सहकर्मी, परिवार, समाज, छिमेकी, आफ्नै कार्यालयका प्रमुख वा अरू जोकोहीले भ्रष्टाचार गरेको थाहा पाए पनि केही फरक पर्दैन, अख्तियारबाट जोगिन पाए पुग्यो भन्ने बुझाइको विकास भएको छ । भ्रष्टाचार नियन्त्रणको ‘अख्तियारीकरण’ समग्र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा घातक छ । यसले भ्रष्टाचारलाई ‘घटना’ बाट ‘संस्कृति’ का रूपमा विकास गर्दै लगेको छ । 

वास्तवमा भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार मात्रै पूर्ण जिम्मेवार निकाय होइन र हुन सक्दैन । अख्तियारको स्रोत साधन, जनशक्ति, संस्थागत क्षमता, कानुनी अधिकारको दायरा सीमित छ । अख्तियारको तुलनामा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तथा नागरिक समाजको क्षमता र जिम्मेवारी अथाह छ ।

राज्यका यस्ता अंगले आफ्नो क्षमता थाहा नपाएको जस्तो ‘स्वाङ’ पार्दा एउटा संवैधानिक आयोगले मार खेप्नु परिरहेको छ । परिणामतः नेपाल सरकार, प्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, विभागीय प्रमुखहरू वा अन्य निकायका प्रमुखहरू, व्यवस्थापिका संसद्, संसदीय समितिहरू, सांसदलगायतले आफ्नो दायित्व र जिम्मेवारी भुल्दै गएका छन् । यस्ता निकायहरू भ्रष्टाचार नियन्त्रणको अख्तियारीकरणमै रमाइरहेका छन् । देश भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ । 

साझा र सामूहिक जिम्मेवारी 

अहिले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधनको बारेमा व्यवस्थापिका संसद्मा छलफल चलिरहेको छ । भ्रष्टाचार नियन्त्रणका लागि यी ऐनको संशोधनमार्फत अख्तियारलाई बलियो बनाउनुपर्ने कुरामा विमति हुनै सक्दैन । अख्तियारलाई कानुनी रूपमा बलियो बनाउनु भ्रष्टाचार नियन्त्रणको एक अनिवार्य पूर्वसर्त हो । यद्यपि यो मात्र सम्पूर्ण होइन । भ्रष्टाचार नियन्त्रणको अख्तियारीकरणले देशमा भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन । यसका लागि अन्य निकायहरूले पनि प्रभावकारी भूमिका खेल्नुपर्दछ । 

भ्रष्टाचार नियन्त्रणको दृष्टिकोणले राम्रा मानिएका देशहरूले भ्रष्टाचार नियन्त्रणमा सफलता प्राप्त गर्न एउटा संस्थामा मात्र निर्भर नभई सबैको एकत्रित प्रयास देखिन्छ । सिंगापुरको भ्रष्टाचार नियन्त्रणमा ‘करप्ट प्राक्टिसेस इन्भेस्टिगेसन ब्युरो’ को भूमिका महत्त्वपूर्ण भए तापनि ब्युरोको एकल सक्रियताको परिणाम होइन ।

सिंगापुरको राजनीतिक इच्छाशक्ति, सशक्त न्याय प्रणाली, नागरिक समाज र आमसञ्चारमाध्यमले भ्रष्टाचार नियन्त्रण सम्भव भएको हो । यसैगरी संसारका अत्यन्तै कम भ्रष्टाचार हुने देशका रूपमा चर्चित डेनमार्क र फिनल्यान्डमा भ्रष्टाचार नियन्त्रण आयोगका अलावा अन्य सरकारी निकायहरू सँगसँगै नागरिक समाज र सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ । भारतमा पनि सन् १९६४ मा स्थापना भएको केन्द्रीय सतर्कता आयोग कार्यकारीअन्तर्गतको सरकारी निकाय हो । 

अन्तर्राष्ट्रिय अनुभव हेर्दा भ्रष्टाचार नियन्त्रणको तीनवटा पक्ष, प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक विधिलाई समान महत्त्व दिएर अगाडि बढाउनुपर्ने देखिन्छ । हुन त अख्तियारलाई भ्रष्टाचार नियन्त्रणका लागि तीनै किसिमको संवैधानिक जिम्मेवारी प्राप्त छ । यद्यपि प्रवर्द्धनात्मक कार्यमा प्रधानमन्त्रीअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख जिम्मेवारी हो । निरोधात्मक कार्यअन्तर्गत भ्रष्टाचार हुनै नदिने वातावरण निर्माणका लागि सबल कानुन निर्माण गर्ने कार्य व्यवस्थापिका संसद्, संसदीय समितिहरू, कानुन तथा न्याय मन्त्रालयलगायतको जिम्मेवारी हो ।

भ्रष्टाचार हुनै नदिने संस्थागत, नीतिगत तथा प्रणालीगत व्यवस्था नेपाल सरकारले निर्माण गर्नुपर्दछ । तर यसो हुन सकेको छैन । उदाहरणका लागि ०७२ सालमा जारी भएको संविधानले अनुचित कार्यसम्बन्धी जिम्मेवारी अख्तियारको क्षेत्राधिकारबाट हटाइदियो । तर २०८१ सालसम्म पनि अनुचित कार्यसम्बन्धी अनुसन्धान गर्ने तथा कारबाहीका लागि सिफारिस गर्ने जिम्मेवारी कसको हो भन्नेबारेमा कानुन निर्माण भएको छैन ।

झन्डै एक दशकसम्म अनुचित कार्य कति भए होलान् ? त्यस्ता अनुचित कार्य गर्नेहरू निर्बाध रूपमा कारबाहीको दायरा बाहिर छन् । यसका बारेमा तत्काल कानुन बनाएर सुशासन अभिवृद्धि गर्ने जिम्मेवारी कार्यपालिका र व्यवस्थापिका संसद्को हो । तर दुवै निकाय आफ्नो जिम्मेवारीबाट चुक्दा अनुचित कार्य बढिरहेको छ । व्यापक चर्चामा आए तापनि ‘स्वार्थको द्वन्द्व’ सम्बन्धी कानुन बन्न सकेको छैन । 

देशमा सदाचार प्रवर्द्धन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७४ सालमै राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार पारेको थियो । तर अहिलेसम्म पनि उक्त नीति पारित भई कार्यान्वयनमा गएको छैन । अख्तियार, महालेखा परीक्षकका वार्षिक प्रतिवेदन राष्ट्रपतिमार्फत संसद्मा पुग्दछन् । तर संसद्मा छलफल नै हुँदैन । सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग तथा अन्य नियमनकारी निकायको प्रभावकारिता अभिवृद्धि गर्ने कुरामा कुनै पनि प्रधानमन्त्रीको कुनै चासो देखिँदैन । यस्ता कार्यमा कार्यकारी प्रमुखले ध्यान नदिएको पाएमा संसद्मा बोलाएर त्यसको जवाफदेहिता माग गर्नुपर्ने संसद्ले पनि आफ्नो भूमिका निर्वाह गर्न सकिरहेको छैन । 

यसैगरी भ्रष्टाचार नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउनका लागि अदालतको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । विगतको अदालतको प्रवृत्तिलाई हेर्ने हो भने अदालतको प्राथमिकतामा भ्रष्टाचारका मुद्दा कम परेको देखिन्छ । आमनागरिकले पनि भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न भएका भनिएका व्यक्तिलाई पटक पटक मतदान गरी निर्वाचित गर्दै आइरहेका छन् । यी र यस्ता तथ्यले देशमा बढिरहेको भ्रष्टाचार अख्तियारको मात्र नभई मूलतः कार्यपालिका तर सँगै व्यवस्थापिका, न्यायपालिका र नागरिकको सामूहिक कमजोरीको परिणाम हो । 

अन्त्यमा, नेपालमा अख्तियार कमजोर भएर भ्रष्टाचार बढ्यो भन्ने दृष्टिकोणबाट छलफल हुँदै आइरहे तापनि अख्तियार भ्रष्टाचार नियन्त्रणको समग्र जिम्मेवारी बोकेको निकाय होइन भन्ने कुरामा यस्ता बहसको ध्यान पुगेको छैन । अख्तियारले मूलतः भ्रष्टाचारजन्य क्रियाकलाप भएमा त्यसको छानबिन गरेर उपचार गर्ने अर्थात् मुद्दा दायर गर्ने संवैधानिक जिम्मेवारी पाएको छ ।

यति कार्यले मात्र भ्रष्टाचार नियन्त्रण सम्भव छैन । अर्थात् जसरी गुणस्तरीय र सुविधासम्पन्न अस्पताल बनाएर मात्र कुनै पनि व्यक्ति स्वस्थ हुँदैन, यसका लागि व्यक्ति स्वयंको स्वस्थबर्द्धक आहारव्यवहार आवश्यक पर्दछ । त्यसैगरी भ्रष्टाचार नियन्त्रण पनि अख्तियाररूपी ‘अस्पताल’ को गुणस्तर बढाएर मात्र हुँदैन, गुणस्तरीय स्वास्थ्य आवश्यक परेका व्यक्तिरूपी सरकार तथा सम्बन्धित निकाय स्वयंले भ्रष्टाचार हुनै नदिने प्रतिबद्धता र बलिया संयन्त्र विकास गर्नुपर्दछ ।

भ्रष्टाचार हुनै नदिने, भ्रष्टाचार हुनबाट रोक्ने विधि तथा प्रक्रिया अवलम्बन गर्ने जिम्मेवारी अख्तियारको मात्र होइन यो त कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र नागरिक समाज सबैको हो । यस्ता सम्पूर्ण निकायको साझा र सामूहिक प्रयत्नबाट मात्र भ्रष्टाचार नियन्त्रणको कार्यभार पूरा गर्न सकिन्छ । 

दीपेश दीपेश घिमिरे सुशासनमा विषयमा लेख्छन, अनुसन्धान गर्छन् । उनकाे रिफ्लेक्सनस् अन नेपलिज सोसाइटीः अर्काइभ अफ सोसियोलोजिकल एस्सेज र शासन र शासक जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully