विकसित, प्रजातान्त्रिक र डेलिभरीमा काबिल ठानिएका समाजमा समेत प्रविधि र सञ्जालले मान्छेका धैर्यमाथिधावा बोलेको छ, सिंगो समाज नै असहिष्णु, आक्रोशित र निराशाको भासमा जाकिँदै छ
हामी जे चाहन्छौं, जतिखेर चाहन्छौं, त्यो ठिक त्यसबखत उपलब्ध नभए हाम्रो खुन तात्छ । धैर्य सद्गुण हुँदाहुँदै मान्छेमा अधैर्य किन बढिरहेको छ त ?
बेलायत तथा आयरल्यान्डका दुई हजार वयस्कमाझ एक सर्वेक्षण गरिएको थियो, तीन चौथाइमा सामाजिक सञ्जाल तथा ‘होम डेलिभरी’ सुविधाका कारण सामान्य झन्झट र असहजताप्रति असहनशीलता बढेको पाइयो । ट्राफिक बत्तीमा २५ सेकेन्डभन्दा बढी रोकिनुपर्दा चिढिने गरेको धेरैले सुनाए । बढ्दो अधीरताका बावजुद ९५ प्रतिशतले धैर्य गर्न सक्नु आफैंमा राम्रो भएको उल्लेख गरे । यद्यपि कतिपयले धैर्यलाई गुण ठान्नसमेत छाडिसकेछन् ।
धैर्य चारित्रिक तथा मनोवैज्ञानिक विशेषता पनि हो । तर, प्रविधिले सञ्चार, मनोरञ्जन र दैनिक जीवनका यावत् आवश्यकता तत्क्षण उपलब्ध गराउँदा मान्छेमा चाहेका सबै चिज उत्तिखेरै प्राप्त हुन्छ भन्ने विश्वास बढाएको छ । र, थोरै ढिला हुँदा पनि कन्पारो तात्ने बनाउँदै लगेको छ । प्रविधिले ध्यान पनि खोसेको छ । कुनै सामग्री वा वस्तुमा हाम्रा आँखा धेरैबेर अडिन्न । पहिले टेलिभिजनमा समाचार, सिरियल या चलचित्र हेर्न कति समय कुरिन्थ्यो ? विज्ञापनसमेत पूरै हेरिन्थ्यो । अहिले सामाजिक सञ्जालमा झुत्तिनेका कथा उस्तै छन् । भिडियो पोस्ट गरिभ्याएको हुँदैन— लाइक र कमेन्ट कति आयो भनेर हेर्न हतार हुन्छ । सन् २०१५ मा माइक्रोसफ्टको एक अध्ययनमा मान्छेको ध्यान औसत ८ सेकेन्डमा भंग हुने पाइएको थियो ।
पहिले गाउँमा कैयौं दिनपछि गोरखापत्र पुग्थ्यो । तब एसएलसी नतिजा हेर्न पाइन्थ्यो । हिजोआज प्रायः सबै हेडलाइनका पाठक भएका छौं । पत्रकारितामा एउटा विधा जन्मिएको छ, ‘ग्ल्यान्स् जर्नालिजम्’ अर्थात् झलक पत्रकारिता । एक झल्को हेर्यो, सकियो ! मान्छेमा बढ्दो अधीरता आकलन गरेरै प्रविधि कम्पनीहरूले ट्वीटर तथा टिकटकजस्ता सीमित अक्षर र श्रव्यदृश्य राख्न मिल्ने सञ्जाल, द्रुत सेवा दिने एप्लिकेसन बनाएका हुन् । यसो गर्दा दोहोरो फाइदा हुने भयो । एक, अडियन्सले सामग्री धेरै हेर्ने भए, अर्थात् भ्युज बढ्ने भयो । दोस्रो, पूरै सामग्री हेर्न भ्याइने भयो । पत्रकारितामा यसको असर के देखियो भने, त्यो अद्योपान्त नपढ्ने, नहेर्ने प्रवृत्ति बढ्यो । हजार, दुई हजार शब्दको ओजपूर्ण लेख वा आधा घण्टाको खोजपूर्ण रिपोर्टमा जति स्रोत र परिश्रम भिज्छ, त्यसको तुलनामा अडियन्स नपाइने भयो । बरु, कुनै ३० शब्दको ट्वीटमाथि इन्गेजमेन्ट ज्यादा हुने अवस्था बन्यो ।
डिजिटल सूचना अर्थतन्त्र अपवादबाहेक ‘क्लिक–बेस्ड’ अर्थात् अडियन्स–इन्गेजमेन्टमा आधारित छ । तसर्थ, प्रविधि कम्पनीको जोड सकेसम्म धेरै अडियन्स तान्नमा केन्द्रित छ । यदि डिजिटल सूचना अर्थतन्त्र सब्सक्रिप्सनमा आधारित हुन्थ्यो भने ओजपूर्ण लेख र खोजमूलक समाचारको वर्तमान र भविष्य दुवै उम्दा हुन सक्थ्यो । प्रविधिकै कारण समय या पुस्तान्तरको बुझाइमा बदलाब आएको देखिन्छ । सामान्यतः पुस्ता भन्नाले करिब २० वर्ष वा एक व्यक्ति जन्मिएर अर्को जन्माउन सक्ने समय बुझिन्थ्यो । अचेल प्रत्येक नयाँ पुस्ता फेरिएजस्तो भएको छ । म हालै कक्षा १२ सकेकी ‘जेन–जी’ भतिजीसँग गफिँदै थिएँ । उसले आफूभन्दा अघिल्लो कक्षामा अध्ययन गरेकी दिदीलाई ‘बुढीहरूको कुरा के गर्नु’ भन्दिई !
सन् २०१८ मा हार्बर्ड विश्वविद्यालयको साइन्स इन द न्युजमा प्रकाशित अध्ययनअनुसार, सामाजिक सञ्जालमा प्राप्त गर्ने ‘नोटिफिकेसन’ ले हाम्रा तुरुन्तै सन्तुष्ट हुने (इन्ट्यान्ट ग्रयाटिफिकेसन) चाहनालाई पूरा गर्छ । उक्त लेखमा अध्येताहरूको ठहर छ— ‘सामाजिक सञ्जालले हामीलाई असीमित भर्चुअल सामाजिक उत्तेजना प्रदान गर्छ । र, त्यसबाट हाम्रो मस्तिष्कमा मिठो खाना खाँदा, यौनसम्बन्ध राख्दा, व्यायाम गर्दा जुन रसायन (डोपामिन) उत्पन्न हुन्छ, त्यो अत्यधिक मात्रामा प्रवाह गर्छ ।’ डोपामिन मस्तिष्कमा उत्पन्न हुने त्यस्तो ‘केमिकल म्यासेन्जर’ हो, जसले शरीरको चाल, स्मरणशक्ति, मनोभाव (मुड) लगायतका कार्यमा प्रभाव पार्छ । डोपामिनको असन्तुलनले डिप्रेसन, पार्किन्सन्स रोग र नशाजन्य लतजस्ता मानसिक तथा शारीरिक समस्या निम्त्याउँछ ।
पाकिस्तानका ख्यातिप्राप्त चिकित्सक सहजाद वासिम सामाजिक सञ्जाल र अधैर्यबारे लेख्छन्— ‘जसले धेरै सामाजिक सञ्जाल प्रयोग गर्छन्, (विशेषगरी किशोरकिशोरी), तिनमा चरम अधीरताका लक्षण देखिने सम्भावना हुन्छ । उमेर तथा बौद्धिकताले पाका अनि सामाजिक सञ्जालको विवेकपूर्ण उपयोग गर्नेहरूमा अधीरता न्यून हुन्छ ।’ पछिल्लो तथ्यांकअनुसार विश्वभर १६ देखि ६४ वर्ष उमेरका व्यक्ति औसत दैनिक ६ घण्टा ४० मिनेट ‘डिजिटल स्क्रिनमा’ बिताउँछन् । ‘जेन–जी’ पुस्ता तथा विकासोन्मुख देशका युवा यसमा अझ अगाडि छन् । अमेरिकी युवाले दैनिक ७ घण्टा ४ मिनेट डिजिटल पर्दामा बिताउँछन् भने दक्षिण अफ्रिकी युवाले ९ घण्टा २४ मिनेट खर्च गर्छन् । ‘जेन–जी’ युवाको यस्तो अवधि औसत नौ घण्टा छ । कतिपयमा मोबाइलमा झुन्डिने लत नै बसेको हुन्छ, जसलाई ‘डिजिटल दुर्व्यसनी’ मान्न सकिन्छ ।
नेपालमा यससम्बन्धी आधिकारिक तथ्यांक उपलब्ध छैन । अनुमान गर्न सकिने के भने हाम्रो अवस्था पनि समग्र विकासोन्मुख देशकै जस्तो हुन सक्छ । मैले पत्रकारिता अध्ययनरत विद्यार्थीलाई केही पहिले सोधेको थिएँ, धेरैले ८ देखि १० घण्टा मोबाइलमा बिताउने बताए । केहीले भने यस्तो समय १२/१४ घण्टासम्म पनि पुग्ने गरेको सुनाए ।
वासिमका अनुसार जुनसुकै उमेरका मानिस भए पनि सञ्जालको अत्यधिक र निरन्तर खपतले प्रयोगकर्तामा यस्तो सोच विकास हुन्छ कि सबै कुरा तिनका औंलाको टुप्पो (फिंगर टिप्स) को नियन्त्रणमा छ । भर्चुअल दुनियाँबाट तिनका मस्तिष्कले सबै कुरा आफ्नो नियन्त्रणमा हुन्छ र त्यस्तो हुनु सामान्य कुरा हो भन्ने सिक्छ । यस्तो मानसिक सोच विकास हुनका पछाडि सामाजिक सञ्जालमात्र एक्लो जिम्मेवार छैन । द्रुत गतिका कम्प्युटर, मोबाइल फोन, अन्य स्मार्ट उपकरण, शीघ्र होम डेलिभरी सेवाका साथै प्रम्प्ट (आदेश) का भरमा काम गर्ने कृत्रिम बौद्धिकता (एआई) को समेत दोष छ । यस्ता ग्याजेट, एप र प्ल्याटफर्मले सबै कुरा व्यक्तिका नियन्त्रणमा छ भन्ने मानसिक बुझाइलाई ‘न्यु नर्मल’ का रूपमा स्थापित गरेको छ ।
एमहर्स्टस्थित म्यासाचुसेट्स विश्वविद्यालयका कम्प्युटर विज्ञानका प्राध्यापक रमेश सीतारामन भन्छन्— ‘आधुनिक प्रविधि मान्छेका तत्कालिक सन्तुष्टिमा निर्भर गर्ने हुनाले यसले हामीलाई चिजहरूको चाँडो अपेक्षा गर्न सिकाएको छ ।’ उनले ६७ लाख इन्टरनेट प्रयोगकर्ताका बानी विश्लेषण गर्दा तिनले वेबपेजमा सामग्री लोडका लागि केवल २ सेकेन्डमात्र धैर्य गर्न तयार देखिए । ५ सेकेन्ड प्रतीक्षा गरेपछि, २५ प्रतिशत र १० सेकेन्डपछि आधा सहभागी गायब भएका थिए । उनको निष्कर्ष छ, प्रविधिमा भएको प्रगतिले हाम्रो धैर्यमा प्रभाव पार्छ र अधीरता काबुमा राख्ने र ढिलो सन्तुष्टिलाई सहन सक्ने क्षमता बिगार्छ ।
प्रविधिले आममान्छेलाई यति अधीर बनाएको छ भने राजनीतिमा लाग्नेहरूलाई त दिनहुँ चमत्कार गर्ने ‘हुटहुटी’ भरिदिएको छ, तर वास्तविकता तिनको नियन्त्रणमा छैन । सार्वजनिक स्पेसमा सान्दर्भिक बनिराख्ने अधीरताले तिनलाई यति गाँजेको छ, बेलाबेला अतरंगी र बेमौसमी बाजा बजाउनुपरेको छ । त्यसैले राम्रा भनिएका नेताहरू पनि बिस्तारै गफाडी र लोकप्रियतावादीमा रूपान्तरण भएका छन् । जरोकिलो नै लोकरिझ्याइँवालाले त त्यही प्रविधि–सिञ्चित अधैर्य र निराशामा राजनीतिको रोटी सेक्दैछन् । तसर्थ, लोकप्रियतावाद र दक्षिणपन्थी हुरी अल्पविकसित, छद्म प्रजातान्त्रिक र राज्यको कमजोर डेलिभरी भएका मुलुकमा मात्र व्याप्त छैन । उन्नत, प्रजातान्त्रिक र डेलिभरीमा काबिल कहलिएका राष्ट्रमा समेत डडेलोझैं सल्किँदै छ । अर्थात्, लोकप्रियतावाद र दक्षिणपन्थी लहर विश्वव्यापी बनाउने ड्राइभिङ सिटमा प्रविधि र मूलतः सामाजिक सञ्जाल विराजमान छ ।
विकसित, प्रजातान्त्रिक र डेलिभरीमा काबिल ठानिएका समाजमा समेत प्रविधि र सञ्जालले मान्छेका धैर्यमाथि धावा बोलेको छ । सिंगो समाज नै असहिष्णु, आक्रोशित र निराशाको भासमा जाकिँदै छ । नेपालको सन्दर्भमा त दोष प्रविधिलाई दिएर उम्कने ठाउँ पनि छैन । राज्यको डेलिभरी नै सुस्त छ । संस्थाहरू दलीयकरणले थलिँदा त्यसप्रति जनविश्वास उडेको छ । बेरोजगारी चरम छ । त्यसमाथि प्रविधिले आगोमा घिउ थपेको छ । युवाका हातमा तीन/चार डिग्री हुँदा पनि ढंगको जागिर एउटै छैन । तिनैले अक्सर सामाजिक सञ्जाल अत्यधिक खपत गर्छन् र त्यसैलाई सूचनाको प्राथमिक स्रोत बनाउँछन् । भर्चुअल संसारमा तिनलाई सबै कुरा आफ्नो काबुमा हुने आभाष हुन्छ, तर वास्तविक दुनियाँ बिल्कुल उल्टो छ । यसले तिनमा सामूहिक अधीरता बढाएको छ । यस्तो परिस्थितिमा लोकप्रियतावादी र भड्काउ अभिव्यक्तिप्रति जनमत आकर्षित र उद्ववेलित हुनु स्वाभाविक हुन्छ ।
आधुनिक प्रविधि र सुविधाले हाम्रो धैर्यमाथि धावा बोलेको सत्य हो, जसले हाम्रा चरित्र, व्यवहार, अर्थराजनीतिक निर्णय र विश्वदृष्टिमा निरन्तर प्रभाव पारिरहेको छ । यसको न्यूनीकरण यात्रा लामो र धैर्यमाग गर्ने हुन सक्छ । एकातर्फ राज्यले डेलिभरी, रोजगारी सिर्जना तथा संस्थाप्रतिको विश्वास जगाउन सक्नुपर्छ । अर्कोतर्फ, प्रविधि र मूलतः सामाजिक सञ्जालको विवेकपूर्ण उपयोग बढाउनुपर्छ । प्रविधि र सञ्जालमाथि राज्यको नियन्त्रण र नियमन प्रत्युत्पादक हुन सक्छ । बरु, त्यसको खपतमा स्वनियम र स्वनियन्त्रण विकास गर्नु/गराउनु प्रभावकारी हुन्छ ।
यसका निम्ति सर्वप्रथम प्रविधिको अतिनिर्भरता र चरम खपत आफैंमा समस्या हो भन्ने बुझ्न/बुझाउन जरुरी छ । दोस्रो, परिवारले विशेषगरी बालबालिकालाई सानैदेखि प्रविधिमा झुत्तिनभन्दा अन्य कुरामा भुलाउन सकिन्छ, ताकि ती भविष्यमा ‘डिजिटल दुर्व्यसनी’ नबनुन् । तेस्रो उपाय नियोजित रूपमै इन्टरनेट र प्रविधिको खपत घटाउने हुन सक्छ । यसमा इन्टरनेट सुस्त बनाउनेदेखि लक्षित समूह, समय वा एपहरू दिनमा निश्चित अवधिमात्र चल्ने बनाउन सकिन्छ । तर, प्रजातान्त्रिक र पुँजीवादी समाजमा यस्तो काम सहज र आलोचनारहित हुने छैन । किनभने, मान्छेका तत्कालिक सन्तुष्टिलाई आफ्नो व्यवसायको मूलमन्त्र बनाएका प्रविधि जायन्टहरूले न यसो गर्न दिन्छन्, न आधुनिक द्रुत प्रविधिमा अभ्यस्त भइसकेका हामीसँग फेरि सुस्त इन्टरनेट वा एप चलाउने धैर्य बाँकी छ । अर्थात्, हामी प्रविधिको दुष्चक्र, (भिसियस साइकल) मा फसिसकेका छौं, जसबाट उम्कने अप्ठ्यारा विकल्पमात्र छन् ।
– त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका उपप्राध्यापक पाण्डे पत्रकारिता, प्रविधि र सञ्चारसम्बन्धी अनुसन्धाता हुन् ।
