समयले खोजेको कांग्रेस

दशकौंदेखि महाधिवेशनको अभावमा निर्वाचन प्रक्रियाबाट वञ्चित रहेका भ्रातृ संस्थाहरूको महाधिवेशन आगामी चैत महिनाभित्र सम्पन्न गर्ने पार्टी केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्ने स्पष्ट आधार, योजना र कार्यक्रम लिएर जिल्ला नेतृत्व फर्किनुपर्छ ।

माघ २१, २०८१

नैनसिंह महर

The Congress sought by time

हिजोदेखि गरी आएका वा अवलम्बन गरेका के–केलाई निरन्तरता दिने, के–केलाई परिमार्जन गर्ने, के–केलाई पूर्णतः निषेध गर्ने त्यसको रोडम्याप नेतृत्वले दिन सक्नुपर्छ । भोलिका कर्णधार पुस्ताले स्पष्टता खोजेको छ ।

म युवाले स्वदेशमै रोजगारीका अवसर खोजिरहेका छन् । स–साना उद्यम र स्टार्टअप गर्न खोज्नेहरूले सरकारबाट अलिकति अभिभावकत्वको अपेक्षा गरिरहेका छन् । करिब मन्दी र ‘ग्रे–जोन’ मा पुग्नै लागेको अर्थतन्त्रलाई लयमा फर्काउनुपर्ने आवश्यकता छ । व्यापार घाटाको भयावह अवस्थालाई साँघुरो पार्नुपर्नेछ । शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पूर्वाधार, अनुसन्धान र विकासमा सिंगो देशलाई गतिशील बनाउँदै उच्च अंकको आर्थिक वृद्धिदरको पथमा देशलाई लैजानुपर्नेछ ।

कम्तीमा विद्यालयमा पढ्दै गरेका बच्चाहरूको पुस्ताको भविष्य यही देशमा सुनिश्चित गर्नका लागि पनि आज दीर्घकालीन सोचका साथ काम गर्न सकिएन भने देशमा युवा बाँकी नरहने खतरा बढ्दै गएको छ । घरघरमा स्मार्टफोनको सुविधाले नेपालका सहरमा मात्रै होइन, गाउँका बच्चाहरू पनि सूचना प्रविधिबाट धेरथोर प्रभावित छन् । यो ‘स्क्रिनएजर्स’ पुस्ता पहिलेभन्दा नितान्त फरक वातावरणमा हुर्कंदै छ ।

विश्वमा एआई, सूचना प्रविधिको विकास र तीव्र परिवर्तनको समयमा आजको पुस्ता छ । यो पुस्ताको माग र आवश्यकता देशले सम्बोधन गर्न सकेन भने जति अनुरोध गरे पनि यो पुस्ता देशमा बस्न खोज्ने छैन । बदलिँदो सोच, नयाँ प्रविधि, दिगो विकास लक्ष्य नयाँ पुस्ताको माग र आवश्यकताका साथ हरेक क्षेत्रमा कांग्रेसले आफ्ना दृष्टिकोण, कार्यक्रमलाई पुनःपरिभाषित र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । 

राजनीतिक स्पेस खोजिरहेका ‘मिलेनियल’ पुस्ता जबर्जस्त हस्तक्षेप गर्न तयार भएर बसेका छन् । ‘जेन–जी’ पुस्ताले आफूलाई नै धेरै समझदार र योग्य पुस्ता मानिरहेको छ । हिजोदेखि गरी आएका वा अवलम्बन गरेका के–केलाई निरन्तरता दिने, के–केलाई परिमार्जन गर्ने, के–केलाई पूर्णतः निषेध गर्ने त्यसको रोडम्याप नेतृत्वले दिन सक्नुपर्छ । भोलिका कर्णधार पुस्ताले स्पष्टता खोजेको छ । 

कांग्रेसले माघ २२ र २३ गतेसम्म पर्यटकीय नगरी पोखरामा जिल्ला सभापति र उपसभापतिहरूको भेला गर्दै छ । यस्तो भेला १४ औं महाधिवेशनपछि पहिलो पटक हुन लागेको हो । गत वर्ष फागुन ७ देखि १० गतेसम्म आयोजित महासमिति बैठक (नीति महाधिवेशन) लाई देशभित्र महत्त्वका साथ हेरिएको थियो । तर, महासमिति बैठक सम्पन्न भएको एक वर्ष बित्न लाग्दा पनि केन्द्रीय समितिको बैठकले परिमार्जित गर्ने भनिएका प्रतिवेदनबारे नीति महाधिवेशनका प्रतिनिधिलाई समेत अत्तोपत्तो छैन । यस्तो ढिलासुस्तीले पार्टीको गतिशीलतामाथि धक्का पुग्छ नै ।

यो भेलाले पार्टीको १५ औं महाधिवेशनलाई समयमै गराउन अभिप्रेरित गर्न सक्नुपर्छ । कार्यक्रमले केन्द्रदेखि स्थानीय तहसम्मका नेताको आचरण र व्यवहार जनमुखी बनाउन मार्गदर्शन दिनुपर्छ । यहाँबाट प्रशिक्षित भइसकेपछि जिल्ला–जिल्लामा त्यसको प्रभावकारिता देखिनुपर्छ । राष्ट्र र कांग्रेसका अगाडि उभिएका जल्दाबल्दा मुद्दा र तिनको समाधानका लागिसमेत भेलाले ठोस निष्कर्ष निकाल्न सक्नुपर्छ ।

विधि, पद्धति र लोकतान्त्रिक विचारमाथि बहस गरेर पार्टीलाई लोकतान्त्रिक धारमा अघि बढाउने र सरकारलाई समेत लोककल्याणकारी बाटोमा जान मद्दत गर्ने प्राविधिक विषयमा सभापति भेलालाई केन्द्रित गर्न सक्नुपर्छ । सभापतिहरूको मनोभावनालाई कुल्चिएर नेतृत्व जान खोज्नु हुँदैन । केही समयअघिको उपनिर्वाचनमा जिल्ला जिल्लामा कांग्रेसले प्राप्त परिणामबारे समेत छलफल गरिनुपर्छ । 

त्यस्तै, नेकपा एमालेसँग सरकारमा जानुपर्ने बाध्यात्मक परिस्थितिको दृश्यावलोकन भेलाले गर्नुपर्छ । आगामी दिनमा कांग्रेसलाई एक्लै चुनावमा लड्ने गरी कसरी बलियो बनाउन सकिन्छ भन्ने प्रस्ट खाका कोरिनुपर्छ । यसका साथै वर्तमान सरकारको सेवा प्रवाह र सुशासनमा प्रभावकारिता देखिए नदेखिएकोबारे छलफल आवश्यक छ । संयुक्त सरकारभित्र कांग्रेसको कमजोर उपस्थितिलाई नकार्न मिल्दैन । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, क्रियाशील सदस्यता नवीकरण, डिजिटल कांग्रेसको कार्यान्वयनदेखि विधानअनुसार १५ औं महाधिवेशनको सुनिश्चितताबारे गम्भीर विचार विमर्श हुन सक्नुपर्छ । 

आगामी मंसिरमा १४ औं महाधिवेशन भएको चार वर्ष पूरा हुँदै छ । दशकौंदेखि महाधिवेशनको अभावमा निर्वाचन प्रक्रियाबाट वञ्चित रहेका भ्रातृ संस्थाहरूको महाधिवेशन आगामी चैत महिनाभित्र सम्पन्न गर्ने पार्टी केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्ने स्पष्ट आधार, योजना र कार्यक्रम लिएर जिल्ला नेतृत्व फर्किनुपर्छ । 

सरकार सञ्चालनको समीक्षा

हाल मुलुक संघीय संरचनाको अभ्यासमा छ । तर, हाम्रो पद्धति अझै संघीय संरचनामैत्री हुन सकेको छैन । तीनै तहका सरकारमा कांग्रेसको बहुमत छ । कांग्रेस अहिले प्रश्न होइन उत्तर दिनुपर्ने ठाउँमा छ । तर सरकारबाट अपेक्षाकृत काम हुन नसकेको जनगुनासो छ । यसको जस–अपजसको भागीदार हामी हुन सक्नुपर्छ । तीन तहका सरकारबीच कार्यात्मक अन्तरसम्बन्ध सुदृढ गरी काममा रहेको दोहोरोपन अन्त्य गरिनुपर्छ । मुलुकको विकास र समृद्धिका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर कार्य गर्नुपर्छ । 

अर्को कुरा, हालको गठबन्धन परिस्थितिको उपज हो । तर, यसलाई संस्कारका रूपमा विकास गरिनु हुँदैन । बलियो कांग्रेस कसरी बनाउने भन्ने विषयमा हामी चिन्तित र चिन्तनशील हुनुपर्छ । गठबन्धनको गहन समीक्षा हुन आवश्यक छ । हामीले संसद्मा गएर बनाएको कानुन र सञ्चालन गरेको सरकारबाट जनता पूर्ण सन्तुष्ट हुन सकेका छैनन् ।

संसद्मा विधेयकहरूको चाङ लागेको छ । यो अवस्थालाई नजरअन्दाज गर्नु हुँदैन । सुदृढ कांग्रेस निर्माणका लागि एकै व्यक्ति पटकपटक त्यही पदमा बसिराख्नु हुँदैन । पार्टीमा थुप्रै कार्यकाल बिताएका व्यक्तिले अरूको बैसाखी समातेर चुनाव लड्ने अवस्था कसरी सिर्जना भइरहेको छ भन्ने सोचनीय विषय हो । यसबाट सजिलै भन्न सकिन्छ कि समयले अवसरको न्यायोचित वितरण र विवेकको कार्यान्वयन गर्न सक्ने नयाँ नेतृत्व आवश्यक छ । 

अहिले हामी कांग्रेस–एमाले सातबुँदे सहमतिको जगमा बनेको सत्ता सहयात्रामा छौं । राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु, राष्ट्रको विकास अभियानलाई तीव्रता दिनु, राजनीतिक स्थिरता, संविधान संशोधन, व्यावसायिक वातावरण बनाउनु र आर्थिक गतिविधि चलायमान बनाउनु, लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त रोजगारी सिर्जना गर्नुलगायतका उद्देश्यको जगमा कांग्रेस–एमालेबीच सहकार्य भएको थियो ।

तर, सुशासन, अर्थतन्त्रको चलायमान, संविधान संशोधन र रोजगारी जस्ता विषयमा जुन तहमा प्रारम्भिक परिणामहरू देखिइसक्नुपर्थ्यो, त्यो देखिन सकेको छैन । सरकार बनेको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि अपेक्षित गतिमा सरकारले काम गर्न सकिरहेको देखिन्न । सरकारहरू पहिले पनि बनेकै थिए, पछि पनि बन्ने नै छन् । तर दुई ठूला पार्टी सम्मिलित सरकारको प्रस्तुति औसतभन्दा माथि उठ्न सक्नुपर्छ । नियम कानुनले काम गर्न छेकेका छन् भने त्यसलाई बदल्नुपर्छ । 

सयदिने अभियानको समीक्षा

कांग्रेसको एक सयदिने अभियान बहुसंख्यक जिल्लामा सम्पन्न भइसकेको र केही जिल्लामा बाँकी भए पनि आजसम्म समीक्षा बैठकको आवश्यकता महसुस गरिएको छैन । सयदिने अभियानबाट देशभरका नेता, कार्यकर्ता र जनताको अपेक्षा के छ भन्ने धारणा संकलित भएको छ । सोहीअनुरूप पार्टीलाई अगाडि बढाउँदा लोकप्रियता हासिल गर्नबाट कसैले रोक्दैन, सक्दैन । तर, नेतृत्वले समीक्षा आवश्यक नै ठानेको छैन ।

विधानभन्दा बाहिर पदाधिकारी बैठकले र केन्द्रीय समितिको ओजलाई कमजोर पार्ने गरी पटक–पटक बस्ने कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयको स्वामित्व लिन स्वयं केन्द्रीय समिति र पार्टीका नेता/कार्यकर्ताहरूलाई अप्ठ्यारो भएको प्रस्टै छ । हरेक संघसंस्थाका व्यक्तिको प्रभावकारिता जाँच्न उसले गरेको कार्यसम्पादन र त्यो कार्यसम्पादनका प्रति जनताको सन्तुष्टि तथा असन्तुष्टिको मापनलाई आधार मानिन्छ । र, हाम्रोमा तीन वर्ष बितिसक्दा पनि विशेषतः निर्णय प्रक्रियामा प्रभाव पार्ने पदाधिकारीले हिजो महाधिवेशनमा प्रतिनिधिहरूलाई गरेको लिखित र मौखिक प्रतिबद्धता कार्यान्वयन भए, नभएको समीक्षा हुन सकेको छैन । 

त्यसैले, माघ २२ देखि हुने जिल्ला सभापति र उपसभापतिको भेलाले देश र कांग्रेसको भविष्य सुन्दर तथा आशावादी बनाउन केन्द्रीय समितिलाई सुधारको सुझाव दिनु जरुरी छ ।

नैनसिंह महर महर कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख हुन् ।

Link copied successfully