विकासका कुन बिम्बलाई नेपालीको सामाजिक र आर्थिक जीवनमा साँच्चै परिवर्तन आएको उदाहरणका रूपमा औंल्याउन सकिन्छ ?
संसद् अधिवेशनको प्रारम्भसँगै जनताको मनमा यो पटक त संसद्मा रहेका नेताहरूले केही गरिहाल्ने हुन् कि ? भन्ने आशा जागेको छ । सबै दलका सबै नेताले आ–आफ्नो गच्छेअनुसार देशको राजनीतिक विकासक्रममा हातेमालो गरेका छन् । यसमा नेपाली जनता स्पष्ट छन् । जनताले बुझेका छन्, नेपालको परिस्थिति जटिल छ । यस्तोमा सरकार चलाउनु लरतरो होइन । देश सानो भए पनि सरकारको आकार र आयतन देशभन्दा कैयौं गुना ठूलो हुन्छ ।
कुरा प्रचण्डबाटै सुरु हुन्छ । दशक लामो लडिएको जनयुद्धका सर्वोच्च कमान्डरका रूपमा रहनुभएका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको व्यक्तित्व अगम्य छ । जनयुद्धको विसर्जनपछि जुन तीव्रताका साथ उहाँको व्यक्तित्व नेपालको सत्ता राजनीतिमा गतिशील भएको छ, त्यसलाई सकारात्मक हिसाबले नै हेर्नुपर्दछ । उहाँका धुरन्धर सहयोगी बाबुराम भट्टराई विद्वतामा तीव्र देखिनुभए पनि राजनीतिमा जम्न सक्नुभएन ।
प्रचण्ड आफैंले पनि गुरुवत् व्यवहार गर्ने तथा माओवादी विचारधारा र राजनीतिका शीर्ष व्यक्तित्व मानिनुहुने मोहन वैद्य वृद्ध अवस्थामा एक्लिनुभएको छ । यस्ता उदाहरण अरू पनि धेरै होलान् । तर, प्रचण्डको गतिशील व्यक्तित्व निरन्तर प्रवाहमा छ । उहाँ कतिबेला कस्तो राजनीतिक चाल चल्नुहुन्छ ? कसैले भन्न सक्दैन । तर, उहाँ अब वर्तमान राजनीतिक व्यवस्थाको प्रतिकूल जान इच्छुक हुनुहुन्न भन्नेमा उहाँलाई चिन्ने–जान्ने सबै विश्वस्त छन् ।
नेपालको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको नारासहित चलेको दशक लामो सशस्त्र आन्दोलनको विसर्जन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष प्रचण्डबीचको आपसी सहमतिपछि भएको थियो । विस्तृत शान्ति सम्झौताको समयसम्म कांग्रेस सभापति कोइराला र अध्यक्ष प्रचण्डबीचको आपसी र राजनीतिक सम्बन्ध प्रगाढ थियो ।
उहाँहरूको आपसी सहमतिमा भएको विस्तृत शान्ति सम्झौतामा नेपालका सबै महत्त्वपूर्ण राजनीतिक शक्तिहरूको समर्थन गाँसिएको थियो । राजनीतिक दलहरू बीचको आपसी सहयोग र समझदारीबाट जनतामा देशको तीव्रतर विकासको आशा पनि जगाएको थियो ।
तीन तीन पटक राष्ट्रको कार्यकारी प्रमुख हुने सौभाग्य पाइसक्नुभएका प्रचण्डको चित्त सत्ताको राप र ताप नभई अडिन सक्ने अवस्थामा नै रहेको छैन । संविधानसभाका लागि भएको पहिलो चुनावदेखि नै बरालिन थालेको उहाँको मन संविधानको निर्माण र दुई दुई पटक भएको चुनावपछि पनि बरालिन छाडेन ।
संघीय गणतान्त्रिक संविधान जारी भएको एक दशक बितिसकेको छ । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली नयाँ पुस्तालाई ओझेलमा पार्दै अहिलेसम्म सत्ताको भित्र–बाहिर गर्दै हुनुहुन्छ । तर, उहाँहरूले अहिलेसम्म यस्तो कुनै काम गर्नुभएको छैन, जसका लागि उहाँहरूलाई सम्झिनु परोस् ।
देश संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि जनयुद्धको राप र तापले प्रचण्ड नेतृत्वको पार्टी आफ्नै बलबुतामा सरकार बनाउने अवस्थामा पुग्यो । तर, पछिल्लो समयमा भने आफ्नै भरमा उभिन सक्ने स्थितिमा समेत रहन सकेन । विद्रोह सफल भए पनि आफूले खोजेको र रोजेको उपलब्धिबाट वञ्चित गरिएका विद्रोहीहरू कोही विदेशिए र कति विग्रहको बाटोमा लागे । सर्वोच्च नेतृत्वसँग कलह गरेर भए पनि डा. बाबुराम भट्टराई मात्र जसोतसो एकपटक देशको प्रधानमन्त्रीसम्म बन्न सफल हुनुभयो ।
यसमा कुनै सन्देह छैन– बेलाबेलामा नेपालको राजनीतिमा प्रचण्डले निकै सन्तुलन मिलाउन खोज्नुभएको छ । जनयुद्धका समयमा माओवादी विद्रोहीहरूले सुदूरपश्चिममा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा चढेको गाडीमा बम प्रहार गरेका थिए । तैपनि, देउवासँग प्रचण्डको ‘केमिस्ट्री’ अहिले पनि बिग्रिएको छैन । तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालसँग प्रचण्डको सम्बन्ध सत्तामा रहँदा पनि र नरहँदा पनि, सधैं अन्तरंग रहेको छ । तर, गणतन्त्र शब्द सुन्दा नै ‘गोरुगाडा चढेर अमेरिका पुगिँदैन’ भनेर खिस्याउने हाल एमालेका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र उहाँका बीच ‘फिजिक्स’ र ‘केमिस्ट्री’ दुवै मिलेको देखिएन । दुवै नेतामा समान रूपमा रहेको सत्ताको राप र तापको कडा चाहना प्रकटमा नै देखिन्छ । तर पनि, सत्ताको सन्धि–सर्पन मिलाउन दुवै नेता वार्ताको स्थितिमा नरहने भने होइन ।
प्रचण्ड अहिले विभिन्न नामधारी दलले चलाएका आन्दोलनसँग जोडिनुभएको छ । उहाँ ‘सहकारी ठग’ को उपाधि पाएका नेताहरूसँग पनि उठबस गर्नुहुन्छ र सहकारी ठगहरूबाट ठगिएका पीडित जनताको आन्दोलनको समर्थनमा पनि उभिनु हुन्छ । उहाँ देशको सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेस र आफूलाई सबैभन्दा बलियो ठान्ने कम्युनिस्ट पार्टी एमालेका छिद्रहरू खोतलेर राजनीतिमा आफ्नो पकड बलियो बनाउन चाहनुहुन्छ । कांग्रेस सधैं विस्तृत शान्ति सम्झौताको प्रवर्द्धकका रूपमा स्थापित हुन चाहने, एमाले पञ्चायतकालीन विकासका ‘गाउँ फर्क’ सूत्र समातेर गाउँगाउँमा भ्यु टावर बनाउने । छैन त, अजब काश्मीर, गजब नेपाल ।
संविधानसभाको पहिलो चुनावपछि यो परिदृश्यमा परिवर्तन आउन नखोजेको होइन । सर्वाधिक मत ल्याउने पार्टीका अध्यक्षको हैसियतले प्रचण्ड निर्वाचित प्रधानमन्त्री बन्नु स्वाभाविक थियो । त्यसपछिको राजनीतिमा सभापति कोइराला र प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष प्रचण्डबीचको ‘घनिष्ठ’ सम्बन्धमा अविश्वासको बादल रंगमंगियो । नेपालमा पहिलो पटक निर्वाचित संविधानसभामा आफ्नो पार्टीले पाएको अत्यधिक मतले अत्यन्त पुलकित र प्रफुल्लित हुनुभएका प्रचण्ड कोइरालासँग टाढिन थाल्नुभयो । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने आफ्नो बचनमा उहाँ टिक्न सक्नुभएन ।
उहाँले नेपालमा पहिलो पटक गणतन्त्रको नारा घन्काउने रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुभयो । यसबाट प्रकटमा नदेखिए पनि कोइराला आहत हुनु स्वाभाविक थियो । त्यसपछि, कांग्रेसले रामराजाप्रसाद सिंहका विरुद्ध डा. रामवरण यादवको उम्मेदवारी दियो । यादव विजयी हुनुभयो ।
सिंहको पराजय प्रचण्डका लागि पहिलो राजनीतिक धक्का मात्र थिएन, सबक पनि थियो । त्यसपछि त उहाँ नौ महिना पनि सत्तामा टिक्न सक्नुभएन । म्याद सकिएर अवकाश पाउने अवस्थामा रहनुभएका सेनापतिलाई म्याद नसकिँदै हटाउने प्रयत्न गर्दा उहाँ आफैं प्रधानमन्त्रीको पदबाट हट्नुपर्ने परिस्थिति उत्पन्न भयो । तर, उहाँको एउटा गुण मान्नै पर्दछः अन्यत्र देशका क्रान्तिकारी नेताहरूले जस्तो प्रचण्डले प्रतिक्रियात्मक व्यवहार गर्नुभएन । शान्तिप्रतिको आफ्नो बचनबद्धताको पालना भयो ।
यी घटनाहरूपछि प्रचण्ड बहुदलीय राजनीतिमा झन् रत्तिन र झन् रमाउन थाल्नुभयो । उहाँले तत्कालीन सरकारका विरुद्ध आन्दोलनको आँधी ल्याउन खोज्नुभयो । आन्दोलनप्रति जनतामा आकर्षण उत्पन्न गर्न उहाँले देशकी सुप्रसिद्ध सिने–कलाकार रेखा थापालाई आन्दोलनका पक्षमा सडकमा नचाउने काम पनि गर्नुभयो ।
पहिलो संविधानसभा त्यत्तिकै तुहियो । जनताको राजनीतिक झुकाव संघीय गणतन्त्रको पक्षमा स्पष्ट देखिएको अवस्थामा पनि संविधानको निर्माण गर्न नसक्नु राजनीतिक दलहरूका लागि एक प्रकारको अपशकुन नै थियो । दोस्रो संस्करणका रूपमा भएको संविधानसभा निर्वाचनमा माओवादी बहुमतमा पुग्न सकेन । तर, वर्तमान संविधानको निर्माणमा अध्यक्ष प्रचण्ड सक्रिय रहनुभयो । संविधानसभाले एक थान संविधानको तर्जुमा गर्यो । देशको राजनीतिमा परिवर्तनको स्थायित्व प्रत्याभूत भयो ।
अहिले माओवादी पार्टीमा प्रचण्डको ‘सर्वोच्च नेतृत्व’ को ‘कमान्ड’ संसदीय भूगोलमा कताकता बिलाए जस्तो देखिन्छ र पनि सत्ताकेन्द्रित राजनीतिमा माओवादी अत्यधिक सक्रिय रहेको छ । संघीय गणतन्त्र नेपालको निर्माणपछि माओवादी अध्यक्ष प्रचण्ड कहिले कांग्रेस र कहिले माओवादीलाई आफ्नो तालमा नचाउन सफल हुनुभएको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सहयोगमा पटक पटक प्रधानमन्त्री रहनुभएका प्रचण्ड जनयुद्धको विसर्जनपछि लगातार सत्तामा रहनुभएको छ । यो नै उहाँको खुबी हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई हटाउने निर्णय गर्नुभएपछि नेपालको परिवर्तित राजनीतिक क्षितिजमा तत्काल प्रचण्डको सिक्का नचल्ने अवस्था देखिन्छ । उहाँको आफ्नै पार्टी कताकता नेपाली राजनीतिको बाक्लो र रहस्यमय कुहिरोभित्र हराउन थालेको देखिन्छ । सत्ताबाट बाहिरिनुभएपछि नयाँ सत्ताका विरुद्ध उहाँको आवाजहरू अवाञ्छित बनेका छन् । ‘उहाँले के नै गर्नुभयो ?’ एक राजनीतिकर्मीले भने, ‘उपलब्धिका हिसाबले उहाँले मात्रै होइन, संघीय गणतन्त्रका कुनै पनि प्रधानमन्त्रीले राम्रो नम्बर ल्याउन सकेका छैनन् ।’
संघीय गणतान्त्रिक संविधान जारी भएको एक दशक बितिसकेको छ । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली नयाँ पुस्तालाई ओझेलमा पार्दै अहिलेसम्म सत्ताको भित्र–बाहिर गर्दै हुनुहुन्छ । तर, उहाँहरूले अहिलेसम्म यस्तो कुनै काम गर्नुभएको छैन, जसका लागि उहाँहरूलाई सम्झिनु परोस् । भन्ने नै हो भने, गिरिजाप्रसाद कोइरालाको निधनपछि नेपालमा चमत्कारी, साहसी र पराक्रमी नेताहरूको युग टुंगिएको छ ।
सूक्ष्म हिसाबले हेर्ने हो भने, पछिल्लो समयका नेपालका नेताहरूमा ‘भिजन’ को सारै अभाव छ । राणाकालदेखि अहिलेसम्मका सानातिना उपलब्धिलाई समेटेर त्यसैलाई ‘नयाँ नेपाल’ भिजन भन्ने हो भने कुरा अर्कै हो । होइन भने, विकासका कुन बिम्बलाई नेपालीको सामाजिक र आर्थिक जीवनमा साँच्चै परिवर्तन आएको उदाहरणका रूपमा औंल्याउन सकिन्छ ?
