किन जरुरी छ हिमालय क्षेत्रको चिन्ता ?

पहिचान गरिएका ४७ सम्भावित खतरनाक हिमतालमध्ये ४२ वटा त कोशी बेसिनमै छन् । हिमतालको संख्या र क्षेत्रफल तथा फुट्ने जोखिम हरेक वर्ष बढेको छ । सूचीकरणमा नपरेका हिमताल पनि जोखिमयुक्त हुन सक्छन् । त्यसकारण हिमतालका कारण हुने जोखिम हाम्रो आकलनभन्दा धेरै रहेको प्रस्टै छ ।

माघ १६, २०८१

केशव शर्मा

Why is it important to worry about the Himalayan region?

मौसम परिवर्तन तथा भूकम्पीय जोखिमका कारण संसारको सबैभन्दा जोखिमयुक्त क्षेत्रमध्ये हिमालय पनि एक हो । यस क्षेत्रले सामना गर्ने मुख्य खतरामा हिमताल विस्फोट र यसले ल्याउने बाढी, हिमनदी, स्थायी रूपमा जमेको माटो (पर्माफ्रोस्ट), चट्टानी बरफ पग्लने र अन्य जलवायुप्रेरित प्रकोप पर्छन् ।

 सन् १९९९ देखि २०१८ बीच हिमनदी र पर्माफ्रोस्ट पग्लने प्रक्रियासँगै हिमालयमा ठूला पहिरोको संख्या र तीव्रता बढेको पाइएको छ । जुन हिमताल ०.०२ वर्ग किलोमिटरभन्दा ठूला छन्, तिनीहरूको नक्सांकन र केही जोखिमयुक्त हिमतालको निगरानीमा ध्यान दिइए पनि पर्माफ्रोस्ट पग्लने समस्या र साना–साना हिमतालको नक्सांकन र जोखिम मूल्यांकनमा ध्यान पुग्न सकेको छैन । साथै, जोखिम न्यूनीकरणका लागि महत्त्वपूर्ण हुने संवेदनशीलता र जोखिममा परिने अवस्था घटाउने उपायमा पर्याप्त ध्यान दिइएको छैन ।

हिमताल फुट्ने जोखिम 

हिमालय क्षेत्रमा तापक्रम वृद्धि तथा अन्य कारणले हिमताल फुट्ने जोखिम रहन्छ । हिमनदी र हिम चट्टान पग्लने, भूकम्प, भारी वर्षा वा भूस्खलनका कारण हिमतालका बाँध भत्किँदा गम्भीर प्राकृतिक विपद् आइलाग्छ । हिमतालको जलस्तर बढेर वा ‘मोराइन’ बाँधभित्रको बरफ पग्लेर कमजोर हुँदा बाँध फुट्न सक्छ । मोराइन भनेको हिमनदीले बगाउँदै ल्याएको माटो, बालुवा, ढुंगा र चट्टानको थुप्रो हो, जुन हिमनदी पग्लिँदा वा रोकिँदा जमेर थुप्रिएको हुन्छ । ताल वरपरको जमिन भासिएर वा हिमचट्टान पानीमा खस्दा वा अर्को कुनै हिमतालको पानी छछल्किएमा अचानक पानीको चाप अत्यधिक बढ्छ । यो चापले बाँध फुट्न सक्छ । 

हालै वीरेन्द्र हिमताल गोरखामा गएको बाढीको कारण यस्तै हो । हिमताल फुटेर आउने बाढीलाई ‘ग्लेसिएर लेक आउटबर्स्ट फ्लड’ भनिन्छ । बाँध फुट्दा तालको ठूलो मात्रामा पानी एकैचोटि बग्छ, जसले बाढी, पहिरो, लेदो माटो बग्ने जस्ता शृंखलाबद्ध प्रकोप निम्त्याउँछ । मानवीय तथा तटीय संरचना, कृषि, पुल, सडक र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याउँछ । 

२०२४ अगस्ट १६ मा खुम्बु क्षेत्रको थामे गाउँमा थ्यान्बो हिमताल फुटेर आएको बाढीले आवासीय घर तथा होटल, विद्यालय र जलविद्युत् परियोजनामा ठूलो क्षति गर्‍यो । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको थामे एक प्रसिद्ध पर्यटकीय क्षेत्र पनि हो । यहाँ क्षति पुगेको ९०० किलोवाटको जलविद्युत् आयोजनाले नाम्चे बजारलगायत ठूलो क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ ।

सन् १९८५ मा डिग–चो हिमताल फुटेर आएको बाढीबाट पनि खुम्बु क्षेत्र गम्भीर रूपमा प्रभावित भएको थियो । यो बाढीले जलविद्युत् परियोजना, पुल र घर ध्वस्त बनायो, जसले ठूलो आर्थिक र पर्यावरणीय क्षति पुर्‍यायो । सन् २०२१ मा मेलम्चीमा आएको विनाशकारी भेलबाढीले मेलम्ची खानेपानी आयोजनाका बाँध, अन्य सरंचना ध्वस्त पार्‍यो । २०१२ मा सेती नदीमा आएको आकस्मिक बाढीले पनि ठूलो नोक्सान पुर्‍याएको थियो । 

यी घटनालाई मौसम परिवर्तनसँग जोडेर हेर्ने गरिन्छ । यद्यपि आवश्यक अनुसन्धान तथा तथ्यांकको अभाव कुन कुन विपद् मौसम परिवर्तनका कारण भएको भनेर छुट्याउन गाह्रो छ । २०२१ मा उत्तराखण्ड र २०२३ मा सिक्किममा हिमताल फुटेर आएको बाढीले सयौं मानिसको ज्यान लियो र जलविद्युत् परियोजना ध्वस्त भयो । यी घटनाले हिमालय क्षेत्रमा बारम्बार हिमताल फुट्ने र यसले निम्त्याउने ठूलो विपद्लाई उजागर गरेको छ ।

हिमालयमा हिमताल फुटेर एक्कासि बग्ने ठूलो मात्राको पानीले तल्लो क्षेत्रमा भूस्खलन सुरु हुन सक्छ, जसले नदीको दायाँ–बायाँ ठूलो पहिरो निम्त्याउन सक्छ । हाम्रो जस्तो साँघुरो र भिरालो भूबनोट भएर बग्ने नदीलाई ठूलाठूला पहिरोले थुन्न सक्छन् । पहिरोले बनाउने बाँधको उदाहरण जुरे पहिरो हो । २०१४ मा जुरे पहिरोले सुनकोशी नदीमा ठूलो ताल बन्यो, जसले तल्लो तटीय क्षेत्रमा त्रासको स्थिति पैदा गरेको थियो ।

यद्यपि बिस्तारै पानी बगेर गएकाले उक्त ताल विस्फोट हुन पाएन । पहिरोले बनेको यस्ता बाँध र ताल फुटेर आउने बाढीलाई ‘ल्यान्डस्लाइड ड्याम आउटबर्स्ट फ्लड’ भनिन्छ । हिमताल फुटेर एक्कासि आएको बाढी, यसले निम्त्याउने भेलबाढी (डेब्री) र पहिरोले अस्थायी बाँध बन्न सक्छ । यो फुट्ने प्रक्रियाले ठूलो मानवीय, भौतिक र आर्थिक क्षति हुन सक्छ । हिमताल फुटेर आउने बाढीले हाम्रो भूबनोट र भौगर्भिक अवस्थाका कारण विनाशकारी बहुप्रकोप नै निम्त्याउन सक्छ ।

नेपालमा हामी धेरै जलाशययुक्त विद्युत् आयोजनाको कुरा गरिरहेका छौं । केही जलाशययुक्त विद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गर्दै छन् । आयोजनाको डिजाइन र निर्माण गर्दा यस्ता हिमताल फुटेर हुन सक्ने असरलाई ध्यान राख्न सकेनौं भने यसले अझ ठूलो विपद् निम्त्याउन सक्छ ।

गत अगस्टमा खुम्बु क्षेत्रमा फुटेको थामे (थ्यान्बो) हिमताल हिमालयमा भएको हिमतालको सूचीमा परेको थिएन । यो ताल सानो भएका कारण हिमतालका रूपमा वर्गीकृत गर्नुपर्ने न्यूनतम क्षेत्रफलभन्दा सानो भएकाले सूचीकरणमा परेन । यसले हिमतालको सूचीकरण निरन्तर अद्यावधिक गर्नुपर्ने र साना हिमताल पनि उत्तिकै जोखिम हुन सक्ने भएकाले तिनीहरूको निगरानी राख्नुपर्ने देखाएको छ । साना भनेर वास्ता नगरिएका हिमतालले पनि गम्भीर जोखिम निम्त्याउन सक्छन् । हिमालयभरि हजारौं यस्ता ताल छरिएका छन्, जसबाट पनि उत्तिकै जोखिमको सम्भावना हुन सक्छ । 

हालैको अध्ययनअनुसार नेपालमा मात्रै ३,५०० भन्दा बढी हिमताल छन् । तिब्बतमा रहेका कतिपय हिमताल नेपालका नदीको जलग्रहण क्षेत्रभित्र पर्छन्, तिनीहरू पनि उत्तिकै जोखिमयुक्त छन् । यी सबै गरेर करिब ४७ वटा हिमताल सम्भावित रूपमा खतरनाक ठहरिएका छन् । पहिचान गरिएका ४७ सम्भावित खतरनाक हिमतालमध्ये ४२ वटा कोशी बेसिनमा, ३ वटा गण्डकी बेसिनमा र २ वटा कर्णाली बेसिनमा छन् । हिमतालको संख्या र क्षेत्रफल तथा फुट्ने जोखिम हरेक वर्ष बढेको देखिन्छ र सूचीकरणमा नपरेका हिमताल पनि जोखिमयुक्त हुन सक्छन् । त्यसकारण हिमतालका कारण हुने जोखिम हाम्रो आकलनभन्दा धेरै रहेको प्रस्टै छ । 

हिमताल फुटेर निम्तिने बहुप्रकोपबाट हुन सक्ने मानवीय, भौतिक र आर्थिक क्षतिको न्यूनीकरण जरुरी छ । यसका लागि बहुप्रकोपीय पूर्वसचेतना प्रणाली, जोखिम र संवेदनशीलता न्यूनीकरणका वैज्ञानिक उपाय र यस्ता विपद् झेल्न सक्ने संरचनाको डिजाइन अवलम्बन गर्नुपर्ने हुन्छ । 

पग्लिँदै छ पर्माफ्रोस्ट

पर्माफ्रोस्ट भनेको माटो, चट्टान वा थुप्रिएको जमिनको तह हो, जुन लगातार दुई वर्षसम्म जमेको अवस्थामा रहन्छ । यो प्रायः ध्रुवीय क्षेत्र र उच्च पहाडी क्षेत्रमा पाइन्छ । उच्च पहाडी क्षेत्रमा माटो र चट्टानलाई स्थिर राख्ने पर्माफ्रोस्ट अहिले बढ्दो तापक्रमका कारण तीव्र रूपमा पग्लिरहेको छ ।

यो पग्लने प्रक्रियाले मोराइन बाँध कमजोर बनाउँदै हिमताल फुट्ने प्रकोपको जोखिम बढाउँछ । भुटानको थोर्थोर्मी ताललाई पर्माफ्रोस्टको ह्रासका कारण उच्च जोखिमयुक्त तालका रूपमा वर्गीकृत गरिएको छ । बाह्रै महिना हिउँले ढाकिने वा जमिन जम्ने क्षेत्रहरू (पर्माफ्रोस्ट) बिस्तारै माथि माथि सर्दै जाँदा पहिला जमेर बसेर स्थानमा ठूलाठूला पहिरो गएको विभिन्न अध्ययनले देखाएका छन् । 

पर्माफ्रोस्ट पग्लिने प्रक्रियाले हिमालय क्षेत्रमा गम्भीर प्रकोप र जोखिम उत्पन्न गर्न सक्छ । पर्माफ्रोस्ट स्थायी रूपमा जमेको जमिन वा चट्टान हो, जसले ठाडो भीर र भूभागलाई स्थिरता प्रदान गर्छ । जब पर्माफ्रोस्ट पग्लिन्छ, ढुंगा र माटोको अस्थिरता बढेर भू–स्खलन र पहिरोको जोखिम अत्यधिक बढ्छ । पर्माफ्रोस्टले चट्टान र माटोलाई बाँधेर बलियो बनाएको हुन्छ, तर पग्लिएपछि ठूला ढुंगा भीरबाट खस्न सक्छन्, जसले तलका बस्ती र संरचनामा ठूलो क्षति पुर्‍याउँछ ।

साथै, जमेको पानीले बनेका हिमताल कमजोर हुन्छन्, जसले हिमताल फुट्ने र बाढी आउने सम्भावना बढ्छ । यसले पानीको प्रवाहलाई पनि प्रभाव पार्छ, जसले माटो भिजाउने, भू–स्खलन तथा माटो बहावको जोखिम थप उच्च बनाउँछ । हिमालयको भौगोलिक संरचना र स्थानीय बस्तीहरूको सुरक्षा नै खतरामा पार्न सक्छ । 

भारतको लद्दाख क्षेत्रमा पर्माफ्रोस्टको ह्रासका कारण बारम्बार हुने भू–स्खलन र भेलबाढीले स्थानीय समुदाय र पूर्वाधारमा गम्भीर प्रभाव पारेको छ । पर्माफ्रोस्ट पग्लिनाले नदीहरूमा गेग्रानको मात्रा बढाउँछ । जस्तैः पाकिस्तानको इन्डस नदी बेसिनमा देखिएको उच्च गेग्रान । उच्च गेग्रानले नदी क्षेत्र निर्माण गरिएका संरचनालाई ठूलो असर पार्छ । यसले नदीको बहाव प्रणालीलाई अवरुद्ध गर्छ, जलविद्युत् परियोजनाको कार्यक्षमता घटाउँछ र पुलको सुरक्षा जोखिममा पार्छ ।

पर्माफ्रोस्ट समस्या गम्भीर भए पनि नेपालमा एकदम कम अध्ययन तथा अनुसन्धान भएका छन् । सार्वजनिक रूपमा कम छलफल भएको छ । यसको अवस्था र प्रभावहरूको आकलन गरिएको छैन । पर्माफ्रोस्ट ह्रासका कारण उत्पन्न हुन सक्ने बहुविपद् र यसले त्यहाँका बासिन्दाको जीविकामा पर्ने प्रभावलाई न्यूनीकरण गर्न पर्माफ्रोस्ट निरन्तर निगरानी र व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन, पूर्वसचेतना प्रणाली र प्रभावकारी नीतिहरूको विकास अत्यावश्यक छ । 

न्यूनीकरणका उपाय

जलवायु परिवर्तन र तापक्रम वृद्धिले हिमनदी, हिमताल, हिम चट्टान र पर्माफ्रोस्ट पग्लने, हिउँ पर्नेभन्दा हिउँ पग्लने दर बढी छ । पहिला पानी नपर्ने उच्च भेगमा अस्वाभाविक पानी पर्दा हिमालय क्षेत्र तथा तल्लो भेगमा बहुविपद्को जोखिम बढिरहेको छ । केही वर्षका घटना र तथ्यांकले यसलाई प्रस्ट पार्छ । तापक्रम बढ्दै जाँदा हिमनदी पग्लने र पर्माफ्रोस्टको ह्रास हुनु विश्वव्यापी समस्या हो र यी प्रक्रियालाई रोक्ने वा उल्ट्याउने काम स्थानीय वा राष्ट्रिय प्रयासको परिधिभन्दा बाहिर छ ।

जलवायु परिवर्तनका कारणहरूलाई न्यूनीकरण गर्न विश्वव्यापी प्रतिबद्धता र तत्काल कदम उठाइए पनि तापक्रम वृद्धि वा जलवायु परिवर्तनको प्रभाव घटाउनु दीर्घकालीन चुनौती हो । हिमताल फुट्ने जोखिम घटाउन च्छो रोल्पा र इम्जा तालमा गरिएजस्तै हिमतालको पानीको तह घटाउने कार्य केही हिमताल र स्थानमा सम्भव भए पनि दीर्घकालीन समाधान भने होइन । 

तीव्र गतिमा पग्लिरहेका हिमनदीले हजारौं ताल पहिले नै निर्माण गरिसकेका छन् । हरेक वर्ष सयौं नयाँ ताल बनिरहेका छन् । थ्यान्बो जस्ता ससाना हिमताल पनि जोखिमयुक्त हुन सक्ने प्रमाणित भइसकेको छ । पर्माफ्रोस्ट पग्लनबाट रोक्न सक्ने अल्पकालीन उपाय पनि छैनन् । यी सीमालाई ध्यानमा राख्दै नीति, निर्माण, संरचनाको संवेदनशीलता र जोखिम व्यवस्थापनमा केन्द्रित हुनुपर्छ । यसका लागि नवीन जोखिम मूल्यांकन, प्रतिरोधी पूर्वाधारको निर्माण र समुदायको सहभागिता आवश्यक छ ।

जोखिम भनेको विपद् (हजार्ड), संवेदनशीलता (भल्नरएबिलिटी) र विपद्मा परिने अवस्था (एक्सपोजर) अन्तरक्रिया हो । जोखिम घटाउन स्थान र परिस्थिति हेरेर विपद्, संवेदनशीलता वा विपद्मा परिने अवस्थामध्ये एकभन्दा बढी कुरालाई न्यूनीकरण गरिनुपर्छ । तर, नेपालमा पहिरो, भेलबाढी, हिमताल फुट्ने जस्ता विपद्को हकमा प्रायः विपद् घटाउने काममा मात्र ध्यान दिइन्छ, तर संवेदनशीलता र 

विपद्मा परिने अवस्थालाई बेवास्ता गरिन्छ । यसले समय र स्रोतको ठूलो बर्बादी हुन सक्छ र हामीले गरेको धेरै प्रयास असफल पनि भएका छन् । त्यसैले, जोखिम घटाउन संवेदनशीलता र विपद्मा परिने अवस्था न्यूनीकरणमा ध्यान दिनु उत्तिकै आवश्यक छ । हिमताल फुट्ने, पर्माफ्रोस्ट पग्लने र अन्य हिमनदी सम्बन्धित खतरा सामना गर्न तिनीहरूको निरन्तर निगरानी गर्नुपर्छ ।

परिवर्तनलाई सूक्ष्म रूपमा विश्लेषण गर्ने, जलवायु परिवर्तन प्रतिरोधी पूर्वाधारको डिजाइन र समुदायहरूको विपद् प्रतिरोधी क्षमता वृद्धिलाई प्राथमिकता राख्ने गरी नीति तय गर्नुपर्छ । जलविद्युत् परियोजना, पुल, सडक र बस्तीजस्ता महत्त्वपूर्ण पूर्वाधार उच्च प्रवाह र भेलबाढीलाई सहन सक्ने हिसाबले डिजाइन गरिनुपर्छ । पूर्वाधार योजना बनाउँदा जोखिम नक्सांकन र बहुप्रकोप पूर्वचेतावनी प्रणालीलाई समावेश गर्नुपर्छ ताकि उच्च जोखिमयुक्त क्षेत्रहरू जोगाउन सकियोस् र जोखिम तथा क्षतिलाई न्यून गर्न सकियोस् । 

प्रविधिमा भएका विकासलाई स्थानीय ज्ञानसँग संयोजन गर्दा समयमै उद्धार र जोखिम न्यूनीकरण गर्न सकिन्छ, जसले मानवीय र आर्थिक क्षतिलाई न्यूनतम बनाउँछ । समुदाय आधारित विपद् जोखिम न्यूनीकरण पनि अत्यन्त आवश्यक छ । यसका अतिरिक्त, हिमालयन जोखिमका लागि अनुकूलित बिमा र पुनर्बिमा प्रणाली समावेश गर्दा आर्थिक क्षतिलाई थप कम गर्न र प्रतिरोधी पूर्वाधारमा लगानीलाई प्रोत्साहन गर्न सकिन्छ ।

अनुसन्धान र नवप्रवर्तनमा लगानी गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । रिमोट सेन्सिङ र मेसिन लर्निङ प्रविधिले जोखिमको निगरानी र सम्भावना पूर्वानुमान सुधार गर्न सक्छन्, जसले हिमनदी गतिको नयाँ जानकारी र जोखिम ढाँचाको नयाँ अन्तर्दृष्टि प्रदान गर्छ । भविष्यका जलवायु परिदृश्यलाई जोखिम मूल्यांकनमा समावेश गर्दा नीति निर्माता र समुदायलाई तताउने विश्वको अनिश्चितताका लागि तयारी गर्न मद्दत मिल्छ ।

जलवायु परिवर्तनले हिमालय क्षेत्रमा निम्तिएको बहुविपद् केवल एउटा देशको समस्या होइन, किनभने तिब्बतको हिमनदी पग्लियो वा हिमताल फुट्यो भने नेपाल र भारतमा पनि असर गर्न सक्छ । हिमालय क्षेत्रमा गरिएका अध्ययन अनुसन्धानको निष्कर्षबारे जानकारी गराउने, सम्बन्धित तथ्यांक उपलब्ध गराउने र विपद् जोखिम न्यूनीकरणमा भएका सफल अभ्यास आदानप्रदान गर्न हिन्दकुश क्षेत्रका देशबीच सहमति आवश्यक छ ।

यस क्षेत्रमा सबै देशले सहकार्य गर्नुपर्छ र सिमाना नाघेका हिमनदीको जानकारी साझा गर्नुपर्छ । जलवायु परिवर्तनको कारण हिमालय क्षेत्रमा उत्पन्न खतरालाई व्यापक रूपमा निगरानी गर्न र सम्भावित प्रकोपको प्रभावकारी तयारी गर्न यस्तो सहकार्यबाट सम्भव हुनेछ ।

विगतका प्रकोपबाट पाठ सिक्दै, आधुनिक प्रविधि र उपयुक्त नीति निर्माण तथा उपयोग गर्दै र क्षेत्रीय सहकार्यलाई प्रोत्साहन गर्दै हामी हिन्दकुश हिमालयमा दिगो विकासको बाटो खोल्न सक्छौं । यस जोखिमयुक्त क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनले निम्त्याएका बहुविपद् न्यूनीकरण गर्न केवल राष्ट्रिय तथा क्षेत्रीय प्राथमिकता मात्र नभई एक विश्वव्यापी आवश्यकता हो ।

– जियोटेक्निकल इन्जिनियरिङमा विद्यावारिधि गरेका शर्मा नेपाल तथा भुटानमा जलवायु परिवर्तनबाट उत्पन्न भू–विपद् जोखिम न्यूनीकरणमा कार्यरत छन् ।

केशव शर्मा वरिष्ठ भू–प्राविधिक इन्जिनियर हुन् र हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यमा सक्रिय रूपमा संलग्न छन् ।

Link copied successfully