बम काण्डपछि बचेर सीमावर्ती भारतको उमगाावमा पुग्न सफल दुर्गानन्द किन रेल चढेर नेपाल फर्किए र गिरफ्तारी दिए ? त्यसका निमित्त को जिम्मेवार थिए ? उनीसाग सम्बन्धित दस्ताबेज अहिलेसम्म सार्वजनिक उपलब्ध छैन, सरकारको पहलमा उनका बारेमा विस्तृत खोज–अनुसन्धान हुनु आवश्यक छ
२०१७ पुस १ गते संसदीय शासन प्रणालीको हत्या गरी जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई कारावासमा हाली तत्कालीन राजा महेन्द्र आफूलाई विश्वसामु जनतामा जनप्रिय देखाउन देश दौडाहामा थिए । कतै कुनै विरोध नरहेको भन्दै सबै ठिकठाक देखाउने उनको ध्येय थियो ।
२०१८ माघ ९ गते जनकपुरको जानकी मन्दिरमा दर्शन गरी फर्किंदै गर्दा मूलढोका आगाडि गाडीमा बस्नासाथ उनको गाडीमाथि ग्रिनेड प्रहार भयो । निसाना सटीक थियो तर २–३ इन्च मात्रले फरक पर्यो । महेन्द्रको ज्यान जोगियो तर त्यस विस्फोटको कर्णभेदी आवाजले उनको मुटु थर्कियो । प्रजातन्त्रको हत्यापछि जनतामा रहेको असन्तोष, जननिर्वाचित प्रधानमन्त्री कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, प्रेमराज आङदम्बे, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङ, शिवराज पन्तको गिरफ्तारीले युवजनमा रहेको आक्रोश र प्रजातन्त्रको निमित्त मरिमेट्न दृढ संकल्पित क्रान्तिकारीहरूको स्पष्ट सन्देश दुनियाँभरि पुगेको थियो । विद्रोहको त्यो चुनौती सम्झिँदा जीउ रोमाञ्चले जिरिङ्ग हुन्छ । नेपालमा यस्तो ठूलो क्रान्तिकारी कारबाहीको अर्को उदाहरण छैन ।
सेना, पुलिस र राजाको सम्पूर्ण सुरक्षा कवच छेडेर ग्रिनेड लिएर राजाको छेउमै पुगी निर्भीकतापूर्वक भीडबाट सफल निसाना लिनु र काम सकिएपछि गायब हुनु साहसपूर्ण तीक्ष्णताको श्रेष्ठता थियो । विस्फोटको त्यस कारबाहीलाई सफलता दिने नायक थिए– १९९९ वैशाख १४ गते धनुषाको जटही गाउँमा जन्मिएका देवनारायण झा र सुकरमारीदेवीका एक मात्र सन्तान वीर सपुत सहिद सम्राट् दुर्गानन्द झा । भनिन्छ, २०१८ माघ ९ गते भएको जनकपुरको विस्फोटको उद्देश्य कदाचित राजा महेन्द्रलाई मार्नु थिएन किनभने ग्रिनेड पर्याप्त तागतवर र शक्तिशाली थिएन । प्रजातन्त्र निमित्तको ललकार थियो र लोकतन्त्र मास्ने राजतन्त्रप्रतिको अस्वीकारोक्ति र गणतन्त्रको बिगुल थियो । यही बिगुल फुक्न क्रान्तिकारीहरूले जनकपुरमा शृंखलावद्ध कारबाहीको तयारी गरेका थिए । त्यस कारबाहीको निमित्त जनकपुर उपमहानगरपालिका लोहनामा २००६ फागुनमा जन्मिएका कलिलो किशोर अरविन्द ठाकुर एयरपोर्टको निकासनिर अडिएका थिए । तर, बारम्बार सुरक्षा टोली नजिकै गाडी जाने बाटोमै खडा रहने कोसिसमा पटक–पटक अगाडि आउने प्रयास गरेकाले उनी शंकाको घेरामा परी पक्राउ परे । अर्को टोली रंगभूमि (बाह्रबिघा) जहाँ महेन्द्रको लागि मञ्च बनाइएको थियो, त्यहाँ विस्फोट गराउन सक्रिय थियो । दुर्गानन्द जानकी मन्दिर भीडमा पसेर मौकाको ताकमा थिए । रामचन्द्र सिंह, महेश्वरप्रसाद सिंहलगायतका युवाहरू अन्डरकभर टोलीमा सक्रिय थिए ।
जनकपुरको त्यो बम काण्डपछि विभिन्न प्रतिक्रियाहरू आए । महेन्द्रका पिछलग्गु राजावादी जमातले महेन्द्रमाथिको त्यस आक्रमणलाई आतंकवादी भन्दै पाएसम्मका शब्दहरू प्रयोग गरेर निन्दा र भर्त्सना गर्नु त स्वाभाविक नै थियो, नेपालभित्रका अन्य राजनीतिक व्यक्तिले पनि राजाको समर्थनमा वक्तव्य दिए । आजभन्दा ६३ वर्ष अगाडिको नेपालमा त्यसो हुनु आश्चर्यको कुरा थिएन । त्यतिखेर नेपाली कांग्रेस वैधानिक राजतन्त्रको घोषित पक्षधर रहेको कारणले कांग्रेसभित्रका धेरैलाई पनि सो कारबाही मन परेको थिएन भन्ने रामचन्द्र सिंह बताउँछन् । कम्युनिस्ट नेता पुष्पलालले राजामाथि बम प्रहारको घटनापछि घुमाउरो पारामा प्रतिक्रिया दिए पनि आफ्नो वक्तव्यमा उनले राजाको एकतन्त्रीय शासनको आलोचना र लोकतान्त्रिक अधिकारको आवश्यकताको आवाज उठाएका थिए ।
बम काण्डपछि कांग्रेसका शीर्ष नेता सुवर्णशमशेरको छोटो प्रतिक्रिया आएको थियो । रामचन्द्र सिंहका अनुसार यसो हुनुको कारण राजाको एकतन्त्रीय शासन हो भन्दै सुवर्णशमशेरले उक्त काण्डको समर्थन गरेका थिए । बाहिर व्यक्त गर्न नसकिए पनि आमजनतामा त्यस काण्डले लोकतान्त्रिक संसदीय व्यवस्थाको हत्याको सशक्त प्रतिरोध हुने र लोकतन्त्र फेरि स्थापित हुने आशा जागेको थियो । युवा जमातमा नयाँ जोस र ऊर्जाको सञ्चार भएको थियो । सशस्त्र प्रतिरोधको आन्दोलनमा सीमावर्ती क्षेत्रमा अध्ययन गरिरहेका युवाहरूको संलग्नता बढेको थियो । कारबाहीमा को–को थिए भन्ने कुरा धेरैलाई पछिसम्म पनि थाहा भएन । बम काण्डपछि दुर्गानन्द भीडमै गायब भए र भोलिपल्ट सीमावर्ती क्षेत्र उमगाँव पुगे । अरविन्द ठाकुर पक्राउ परिसेकाले दुर्गानन्दको पनि नाम बाहिर आयो । वीरगन्जको बाटो हुँदै ग्रिनेड र हतियार लिएर आइरहेका बाराका दुःखा सहनी र दलसिंह थापाको टोली जनकपुर काण्ड हुनुअघि नै पक्राउ परिसकेका थिए । तर, यी सबका वावजुद जनकपुरमा त्यत्रो ठूलो काण्ड हुन सक्छ भन्ने कुराको अन्दाज महेन्द्रका सुरक्षा अधिकारीहरूलाई हुन पाएन ।
जति यातना दिए पनि उनीहरूले नबताएको हुन सक्छ अथवा त्यसै कार्यको निमित्त अर्को टोली पनि खटिएको जानकारी उनीहरूलाई नभएको पनि हुन सक्छ । तर, नख्खु कारागारमा हुँदा हामी जनकपुरका युवालाई दुःखा सहनी र दलसिंह थापाले उनीहरूलाई पनि महेन्द्रको जनकपुर भ्रमणका बेला आक्रमणको निमित्त नै पठाइएको थियो भनेका थिए र अरविन्द ठाकुरको पनि यस्तै भनाइ थियो । केन्द्रीय कारागारबाट मृत्युदण्डको निमित्त निकालिँदै गर्दा सहिद दुर्गानन्दले जेलमा अरविन्द ठाकुर र दलसिंह थापासँग अन्तिम बिदाइ लिएको कुराले समेत उनीहरू सबै यसै कामका लागि पठाइएको जस्तो लाग्छ । कतिपयले महेन्द्रको कदमको विरोधमा नेपाली कांग्रेसबाट चलाइएको सशस्त्र प्रतिरोधको शीर्ष नेतृत्व र कमान्डर सुवर्णशमशेरलाई जनकपुर काण्डबारे अग्रिम जानकारी नभएको र काण्ड भइसकेपछि मात्र थाहा भएको दावा गर्छन् । तर, त्यस्तो देखा पर्दैन । महेन्द्रको जनकपुर यात्राका बेला विस्फोटमार्फत जबर्जस्त बिरोध दर्शाउन तीनवटा टोली सक्रिय थिए । दुर्गानन्द झा र अरविन्द ठाकुर एउटै टोलीमा थिए । तर फरक–फरक स्थानमा मौका हेरी प्रहार गर्ने योजनामा थिए । एउटा टोली सभा गर्ने मैदानमा पनि सक्रिय थियो । त्यहाँ पनि विस्फोट भएको थियो । तर, विस्फोट त्यति शक्तिशाली थिएन र दबाइयो । दुर्गानन्द र अरविन्दजीको टोलीलाई ग्रिनेड र योजनाको खाका दिने रामचन्द्र सिंह थिए । अरविन्द ठाकुरले यस कुराको पुष्टि हिमाल खबर (१६–३० फागुन २०६३) सँगको एक संक्षिप्त कुराकानीमा गरेका छन् ।
रामचन्द्र सिंह भन्छन्– ‘मलाई ठ्याक्कै याद छैन तर काण्ड भएको ८–९ दिन पहिले होला, हामीले जयनगरको क्याम्पमा परशुनारायण चौधरीसँग बम मागेका थियौं । उहाँले हामीसँग लामो कुराकानी गर्नुभयो र पछि बम दिन तयार हुनुभयो । २ दिनअघि मात्र ग्रिनेड प्राप्त भएको थियो र मैले सो ग्रिनेड दुर्गानन्दजी र अरविन्दजीलाई जिम्मा लगाएको थियो । हामीचाहिँ गोप्य रूपमा उहाँहरूको सहयोगार्थ त्यहाँ उपस्थित थियौं । जानकी मन्दिरको विस्फोटपछि दुर्गानन्द गायब भए र हामी पनि लुक्यौं । भोलिपल्ट सीमापारि पुग्यौं । कांग्रेसभित्र पनि सन्नाटा थियो । हामीलाई स्याबासी दिने एकमात्र सरोजप्रसाद कोइराला हुनुहुन्थ्यो । उहाँ धेरै उत्साहित हुनुभएको थियो । यस कार्यमा संलग्नबारे टिमका साथीहरूलाई मात्र थाहा थियो । हामी सबैले गोप्यताको पूर्ण पालनाको संकल्प गर्यौं ।’
महेन्द्रमाथि बम प्रहार गरी गणतन्त्रको पहिलो बिगुल फुक्ने दिन सहिद दुर्गानन्द झा मात्र १९ वर्ष १० महिनाका थिए । डेढ वर्ष पहिले मात्र विवाहित भएर आएकी १४ वर्षकी पत्नी काशीदेवी गर्भवती थिइन् । यस्तो अवस्थामा पनि उनले विस्फोटको कारबाहीको जिम्मा लिएका थिए, जसबाट उनको साहस र अठोटको स्तर बुझ्न सकिन्छ । वैचारिक रूपमा उनी सुस्पष्ट र दृढ थिए । आमा र पत्नीसँगको भेटघाट र अन्तिम क्षणमा पनि आमालाई ‘एक दिन तपाईंलाई दुर्गानन्दको आमा भनेर सबैले गर्व गर्नेछन्’ भन्ने दुर्गानन्दको दृढता र आफ्नो कार्यप्रति उनको मनमा रहेको गर्व स्पष्ट पार्छ । माफीको निमित्त बिन्तीपत्र लेख्न भनिए तापनि त्यस्तो कुनै विन्तीपत्र लेख्न मानेनन् । बरु कालकोठरीबाट मृत्युदण्डको निमित्त निकालिँदै गर्दा अरविन्द ठाकुर र दलसिंह थापालाई ‘एक दिन गणतन्त्र अवश्य आउनेछ’ भन्दै बिदा लिएका थिए ।
महेन्द्रमाथि बम प्रहार भएका बेला जननायक वीपी कोइराला सुन्दरीजल जेलमा थिए । यसबारे उनको त्यतिखेरको प्रतिक्रिया वा कुनै टिप्पणी बाहिर आएको छैन, तर उनले दुर्गानन्दलाई दिइएको मृत्युदण्डमाथिको आफ्नो व्यथा, कथा ‘एक रात’ (श्वेतभैरवी कथा संग्रह) मा व्यक्त गरेका छन् । सहिद दुर्गानन्दलाई तत्कालीन मुलुकी ऐन संशोधन गरी २०२० साल माघ १५ गते मृत्युदण्ड दिइएको थियो । त्यसको ७/८ दिनपछि सायद सुन्दरीजल जेलमा खबर पुग्नेबित्तिकै २०२० माघ २३/२४ गते लेखिएको यस कथामा फाँसीको रातको कल्पना छ । महेन्द्रमाथिको बम–प्रहार राजनीतिमा हिंसा/अहिंसाको कोणबाट ठिक थियो, थिएन र कुन परिस्थितिमा त्यस्तो निर्णय भयो होला भन्नेबारे पनि बीपीको दृष्टिकोण त्यस कथाबाट बुझ्न सकिन्छ । उनले सुन्दरीजल जेलमा रहेको अवस्थामा कल्पना गरेको स्थिति वास्तविकतासँग धेरै मेल खान्छ ।
त्यहीँ सानो क्रान्तिकारी गोष्ठी पनि बन्यो, जहाँ यो निर्णय लिइन्थ्यो कि राजनीतिमा हिंसाको पूर्णतः त्याग असम्भव छ । त्यसो हुनाले प्रयत्न यसमा मात्रै गर्नुपर्छ कि, हिंसा सीमित रहोस् र अनिवार्य भएमा मात्र परिमाण प्रयोग होस् । बम फ्याँक्दा किशोरले मनमा निस्सङ्ग भएर विश्वास गरेको थियो कि त्यसको यो कार्य अनिवार्य छ । उसलाई पुलिसले केर्दा या न्याय गोष्ठीमा सोध्दा उसले एकनाससँग भनेको थियो– ‘मैले फ्याँकेको हो बम ।’
दुर्गानन्दलाई औपचारिक रूपमा सहिदको रूपमा घोषणा साहदतको ५२ वर्षपछि मात्र सम्भव भयो । २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा भइसके पनि त्यसको ७ वर्ष ८ महिनापछि मात्र यो हुन सक्यो । दुर्गानन्दसँग सम्बन्धित दस्ताबेज अहिलेसम्म सार्वजनिक रूपमा उपलब्ध छैन । सरकारको पहलमा उनका बारेमा विस्तृत खोज–अनुसन्धान हुनु आवश्यक छ । बम काण्डपछि बचेर सीमावर्ती भारतको उमगाँवमा पुग्न सफल दुर्गानन्द किन र कुन कारणले रेल चढेर नेपाल फर्किए तथा गिरफ्तारी दिए ? त्यसका निमित्त को जिम्मेवार थिए ? उनको साहदतको कथा तथा त्यससँग सम्बन्धित सबै तथ्य जनतासमक्ष आधिकारिक रूपमा ल्याइनुपर्छ ।
– लाल तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष हुन् ।
