नमागिएको सल्लाह !

सल्लाहकारहरूले दिने फोकटका सल्लाह तिनै पितृसत्ताको आवरण हो । जतिबेला सम्बन्धविच्छेका कुरा आउँछन्, म चाणक्यको नीति अपनाउन थालेकी छु । उनी भन्छन्, ‘सुन मात्रै सुन । तर, निर्णय आफ्नो लेऊ ।’

माघ ९, २०८१

मधु शाही

Unsolicited advice!

आजकाल बजारमा सबै चिजको महँगी बढेको छ । तर, एउटा कुरा निकै सस्तो छ– सल्लाह । माग्दै नमागी निःशुल्क सल्लाह दिनेको जमात बग्रेल्ती पाइन्छ । उमेरले मभन्दा कान्छो एक भाइ छन् । निकै आदरका साथ दिदी भनेर सम्बोधन गर्छन् ।

उनलाई मेरो नाम र पेसाबाहेक केही जानकारी छैन । मेरो सम्बन्धविच्छेद भएको कहींबाट सुनेछन् । यो सूचना पाउनुसम्म ठिकै थियो । यत्तिले उनलाई पुगेन । यस विषयमा गहन सल्लाह दिन थाले । बिनाप्रसंगै, ‘सम्बन्धविच्छेद नगरेको भए हुन्थ्यो’ भन्दै सुझाव दिन थाल्छन् । के कारणले भएको ? किन गरेको ? उनी मनमा आएजति यावत् प्रश्न जम्मा गरेर बसेका छन् । 

एक दिन त उनले अचम्मकै ‘जजमेन्टल’ भएर सुझाव दिए, ‘दिदी तिमीले लोग्ने छाडेर ठिक गरिनौ । तिमीजस्तै फलना–फलाना महिलाले पनि सम्बन्धविच्छेद गरेका छन् । तिनीहरूले पनि तिमीजस्तै मात्तिएर लोग्ने छाडेका हुन् ।’ उनको विचारले प्रस्ट हुन्छ– कुनै वैवाहिक सम्बन्धविच्छेद हुनु भनेको महिलाले श्रीमान्को महत्त्व नबुझेर, मात लागेर छाडेका हुन् ।

सम्बन्धविच्छेद भएको एक वर्ष कटिसक्यो । अदालतले सम्बन्धविच्छेद उचित ठानेरै पारपाचुके गराएको छ । तर, वैवाहिक सम्बन्धका बारेमा पटकपटक सल्लाह र सुझाव दिनेहरूको जञ्जालबाट म र म जस्ता एकल महिला उम्किन सकेका छैनन् ।

यी सहकर्मी भाइ मात्र होइन ठूला ओहदासम्मका व्यक्तिहरूसँग पनि मलाई दिने सल्लाहको चाङ छ । मेरो नामै नसोधी पहिले श्रीमान् सोध्नेहरू पनि छन् । म ‘सिंगल’ भनेर मात्रै सुख पाउँदिनँ । अर्को पूरक प्रश्न तेर्सिइहाल्छ– ‘के श्रीमान् बित्नुभयो ?’ 

सम्बन्धविच्छेद गरेको शब्द नखस्दै एक जना छिमेकी दिदी त रुनै थालिन् । ‘कठै नानी, साह्रै दुःख पाएकी रहिछौ ।’ पारपाचुके गर्नु भनेको के कष्ट पाउनु हो र ? उनलाई के थाहा– म त्यो सम्बन्धविच्छेदबाटै खुसीको चरम उत्सवमा रमाइरहेकी छु कि ! हाम्रो समाजले वैवाहिक सम्बन्धको विषयलाई लिएर जुन हाउगुजी बनाउँछ, त्यसले महिलालाई नजानिँदो तरिकाले तनावको भुमरीमा हुलिरहेको छ ।

समाजले विवाहलाई यति ठूलो महत्त्व दिएको छ कि जीवनको अन्तिम लक्ष्य नै विवाहझैं मानिन्छ । छोराछारीले केमा भविष्य बनाएका छन् भनेर गर्व गर्नुको सट्टा उनीहरूको बिहे भयो कि भएन, त्यो महत्त्वपूर्ण लाग्छ । विवाह हुनु र नहुनुलाई जति सहज ढंगले लिन सक्यो उति सम्बन्धविच्छेदमा जिब्रो टोक्नुपर्ने अवस्था आउँदैन ।

न विवाह जीवनको उच्चतम उचाइ हो न सम्बन्धविच्छेद जीवनको समाप्ति नै हो । यी दुवै सम्बन्धका फरक आयाम मात्र हुन् । तर, मलाई सल्लाह दिन तत्पर हुने सल्लाहकारले यति कुरा बुझेका छैनन् । कतिपय त हाकाहाक्की सुझाव दिइहाल्छन्– ‘अब त अर्को बिहे गर्नुपर्छ है । एक्लै जीवन काट्न गाह्रो पर्छ ।’ त्यस्ता काँचा सुझाव निल्नु कि ओकल्नु हुन्छ । हाँसेरै उडाउनुबाहेक अरू विकल्प रहँदैन । 

कतिपय सुझाव बोल्नकै लागि मात्रै बोलिएको हुन्छ । जुन व्यर्थ र फजुल शब्द हुन् । जसलाई प्यास लाग्छ, उसैलाई पानी खुवाउँदाको मिठास हुन्छ । यहाँ तिर्खालुको तिर्खा नै नबुझी सम्बन्धका बारेमा विज्ञता दर्शाउनेहरू हाम्रो समाजमा प्रशस्तै छन् ।

अब मैले कति वर्षसम्म यो विषयमा सल्लाह र सुझाव पाइरहने हुँ, अनिश्चित छ । सम्बन्धविच्छेद गरिसकेकी कलाकार अनिता भट्टराईको भनाइले मलाई निकै आत्मबल मिल्छ । जब अदालती प्रक्रियामा दौडधुप गर्दै थिएँ, त्यतिबेला उनले चियाको चुस्कीसँगै भनेकी थिइन्– ‘नानी, श्रीमान् छाडेर पनि हामीलाई समाजले आनन्दले बस्न दिँदैन । यहाँ पाइलैपिच्छे सम्बन्धको मूल्यांकन गर्नेहरू भेटिन्छन् । तिमी नआत्तिनू, एक कानले सुन्नू, एक कानले उडाइदिनू ।’ 

मेरो पक्षमा मुद्दा लडेकी अधिकारकर्मी रसना दिदी (रसना ढकाल) ले मेरो अन्तरमनको सम्बन्ध बुझेकी छन् । उनले अहिलेसम्म पनि तिमी यसो गर र उसो गर कहिल्यै सुझाइनन् । हरेक पटक भन्छिन्– ‘तिम्रो मनले जे ठान्छ त्यो गर ।’

हाम्रो समाजले महिलालाई लोग्नेबिनाको जीवन परिकल्पना गर्न दिँदैन । यसको अर्थ लोग्ने मान्छे नै महिलालाई नचाहिने भन्न खोजेको होइन । नारीवादी लेखक सिमोन द बोउवारको पुस्तक ‘द सेकेन्ड सेक्स’ को सार छ– नारीलाई वस्तुका रूपमा नहेर । ऊ एउटा पूरा व्यक्तित्व हो र मानव हो । जब नारीलाई मानवका रूपमा स्वीकारोक्ति हुन्छ, तब उसको स्वतन्त्रताको सम्मान हुन्छ अनि समानता फुल्छ । 

सल्लाहकारहरूले दिने फोकटका सल्लाह तिनै पितृसत्ताको आवरण हो । जतिबेला सम्बन्धविच्छेका कुरा आउँछन्, म चाणक्यको नीति अपनाउन थालेकी छु । उनी भन्छन्, ‘सुन मात्रै सुन । तर, निर्णय आफ्नो लेऊ ।’

मधु

Link copied successfully