मधेश जनविद्रोह र अबको रोडम्याप

मधेश आन्दोलनको लक्ष्य मुलुकमा रहेका तमाम विभेद, अन्याय र अत्याचारको अन्त्य गरी समतामूलक समाज निर्माण गर्नु हो, देशको विविधतालाई सम्बोधन गर्न राज्यको मूलधारबाट वञ्चित भएकालाई मूलधारमा ल्याउन संघीयता, समानुपातिक समावेशिताजस्ता वैज्ञानिक राज्य सञ्चालनको मोडल अपनाउन जरुरी छ

माघ ७, २०८१

सुरेशकुमार मण्डल

Madhesh People's Uprising and Future Roadmap

१८ वर्ष पहिला सिरहा, लहानका युवा रमेश महतोको साहदत भएको दिनलाई समग्रमा मधेश जनविद्रोहको सम्झना गर्दै बलिदानी दिवसका रूपमा स्मरण गरिन्छ । यो दिवसमा मधेश प्रदेशमा बिदासमेत हुँदै आएको छ । कतिपयले मधेश जनविद्रोह र मधेश आन्दोलनलाई एउटै बुझ्ने गरेका छन् । यथार्थमा मधेश आन्दोलन बृहत्तर रूप हो भने मधेश जनविद्रोह मधेश आन्दोलनको ‘क्लाइमेक्स’ । 

मधेश आन्दोलनको चर्चा हुँदा तराई कांग्रेस, मधेश क्रान्ति दल, सद्भावना परिषद्, नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम नेपाल, जनतान्त्रिक तराई मुक्ति मोर्चा (सशस्त्र), तमलोपा, सद्भावना पार्टी, हाल आएर जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसमेत यसका ‘स्टेक होल्डर’ हुन जान्छन् । त्यसमध्ये ६० को दशकलाई मधेश आन्दोलनको उर्वराकाल मान्न सकिन्छ ।

मधेशी जनअधिकार फोरम र त्यसका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश जनविद्रोह–२०६३ मधेश आन्दोलनका लागि ‘माइलस्टोन’ नै साबित भयो । मधेश जनविद्रोह सदियौंदेखिको मधेशी जनसमुदायमाथि भइरहेको थिचोमिचो र विभेदको एकमुष्ट जवाफ थियो । तराई कांग्रेसदेखिको सम्पूर्ण प्रयासको प्रस्फुटन थियो । काठमाडौंका सडक गल्लीमा मधेशीमाथि दिनहुँ भइरहेका अपमानजनक व्यवहार, गालीगलौजदेखि नीतिगत रूपमा हुने विभेद, अन्याय र अत्याचारको संयुक्त प्रतिकार थियो । 

माओवादीसमेतको सहमतिमा २०६३ माघ १ गते आएको अन्तरिम संविधानमा संघीयता, समानुपातिक समावेशितालगायतका मधेशी मुक्तिको मूलभूत मुद्दा छुटेको भन्दै उपेन्द्र यादवको नेतृत्वमा मधेशी जनअधिकार फोरमले काठमाडौंको माइतीघरमा संविधान जलायो । यादवसहित १८ जना फोरमका नेता/कार्यकर्तामाथि राजद्रोहको मुद्दा लगाई हनुमानढोका प्रहरी हिरासतमा राखियो । यता मधेशमा ‘हाम्रो नेतालाई रिहा गर’ भन्दै केही फोरमका नेता/कार्यकर्ताले सडकमा नाराजुलुस गर्न थाले ।

त्यही क्रममा सिरहाको लहानमा फोरमका स्थानीय नेता कृष्णबहादुर यादवले केही युवा कार्यकर्ताको साथमा महेन्द्र राजमार्ग अवरुद्ध गरी आन्दोलन गरिरहेका थिए । पूर्वतर्फबाट आइरहेका माओवादी नेता राम कार्कीले जबरजस्ती बाटो काट्न खोज्दा फोरम कार्यकर्ताले रोक्न खोजे । सोही क्रममा माओवादी कार्यकर्ता सियाराम ठाकुरले बन्दुक चलाउँदा गोली लागेर फोरम कार्यकर्ता रमेश महतोको हत्या भयो । 

आन्दोलनले उग्ररूप लिन थाल्यो । फोरम कार्यकर्ताले लहानको महेन्द्र चोकमा रमेश महतोको शव राखेर सहिद घोषणाको माग राख्दै प्रदर्शन गरिरहेका थिए । उनीहरूमाथि हमला गर्दै राति महतोको शव गायब पार्न मातृका यादवले भूमिका खेले । यसरी बलिरहेको आगोमा घिउ थपियो र समग्र मधेशले उग्ररूप लियो । माओवादी भर्सेस मधेशी फोरम भयो । मधेशभित्रका माओवादी कार्यालय तोडफोड गरी जलाइयो । माओवादी सेनाका शिविर खाली गराइयो ।

सरकारी कार्यालयमा तोडफोड, आगजनी हुन थाले । लाखौंको संख्यामा मधेशी जनसमुदाय सडकमा ओर्लिए । मधेशका गाउँ, टोलसम्म आन्दोलन पुग्यो । मधेश विद्रोहको २४ औं दिन अर्थात् माघ २५ गते तत्कालीन राष्ट्र प्रमुख र प्रधानमन्त्री दुवै रहेका गिरिजाप्रसाद कोइरालाले राष्ट्रका नाममा सम्बोधन गरेर आजदेखि देश संघीय संरचनामा जाने, समानुपातिक समावेशी हुने, निर्वाचन क्षेत्रको संख्या बढाइने, नागरिकता समस्या समाधान गरिने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगन भयो । पछि २२ बुँदे सम्झौता गरी आन्दोलनको ‘सेफल्यान्डिङ’ भयो । उक्त सम्झौता अधुरो भयो भन्दै फोरम विभाजन भयो ।

उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम, महन्थ ठाकुरको तमलोपा, राजेन्द्र महतोको सद्भावना पार्टीसमेतको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन भयो । र, संविधानसभा निर्वाचनलाई चुनौती दिने गरी फागुन १ गते आन्दोलनको घोषणा भयो । १६ दिनको निरन्तर आन्दोलन र संषर्घपश्चात् नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच ८ बुँदे सम्झौता भयो, जसलाई मधेशको मार्गदर्शक सम्झौता मान्न सकिन्छ ।

त्यही आन्दोलनको रापतापमा २०६४ को पहिलो संविधानसभामा भाग लिएका मधेशकेन्द्रित दल निर्णायक शक्तिका रूपमा उदाए । ५३ सिटसहित फोरम चौथो, २१ सिटसहित तमलोपा पाँचौं र ९ सिटसहित सद्भावना छैटौं शक्ति भए । फलस्वरूप प्रथम संविधानसभामा मधेशी, आदिवासी जनजाति, दलितलगायत उत्पीडित, उपेक्षित समुदायको संविधानसभामा उल्लेखनीय उपस्थिति भयो ।

त्यही उपस्थितिबाट तर्सेर कांग्रेस, एमाले र माओवादीले षड्यन्त्रपूर्वक पहिलो संविधानसभा विघटन गराए र दोस्रो संविधानसभामा समानुपातिक, समावेशीको अनुपात घटाए । जसको प्रतिफल दोस्रो संविधानसभामा मधेशी, आदिवासी जनजाति, दलितलगायत उत्पीडित, उपेक्षित जनसमुदायको प्रतिनिधित्व न्यून भयो । तुलनात्मक रूपमा अन्तरिम संविधानभन्दा पनि अधिकार कटौती गरिएको संविधान एकलौटी रूपमा घोषणा भयो ।

संविधान घोषणा भइरहेका बखत तराई मधेशमा आन्दोलन जारी थियो । त्यही दिन वीरगन्जका बालक चन्दन पटेल सहिद भएका थिए । काठमाडौंमा संविधान घोषणाको खुसियालीमा दीपावली, आतिसबाजी र मिठाई वितरण भइरहँदा तराई मधेशमा ब्ल्याक आउट, रुवाबासी र आर्यर्घाटमा शव जलिरहेको अन्तर्विरोधको अवस्था थियो । २०७२ को संविधान घोषणापछि मधेशमा तीनबाट १३ भइसकेको मधेशी दल पुनः एकतित्र हुन थाले ।

महन्थ ठाकुर नेतृत्वमा राजेन्द्र महतो, महेन्द्र राय, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवसमेतको सहभागितामा राष्ट्रिय जनता पार्टी नेपाल गठन भयो । अर्कोतिर उपेन्द्र यादवको नेतृत्वमा बाबुराम भट्टराई, अशोक राईलगायत नेताहरूको सहभागितामा समाजवादी पार्टी नेपाल गठन भयो । यसरी संसदीय शक्तिहरू संगठित भएर २०७४ को निर्वाचनमा दुवै दल मिलेर गठबन्धन गरी चुनावमा गए, लगभग राम्रो परिणाम ल्याउन सफल भए । मधेश प्रदेशको सरकार, मधेश प्रदेश नामकरण र जनकपुरधामलाई राजधानी बनाउन सक्नु त्यसैको परिणाम हो । 

मधेश आन्दोलनकै उपलब्धिस्वरूप देशमा संघीयता, समानुपातिक समावेशिता, आरक्षणलगायत निर्वाचन क्षेत्रको संख्या थप, मिश्रित निर्वाचन प्रणाली र नागरिकता समस्या समाधान भयो । तीन तहको सरकारको अवधारणा आयो । संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट भयो । अधिकार बाँडफाँटसम्बन्धी छुट्टाछुट्टै र संयुक्त अनुसूची निर्माण भयो । विडम्बना नै भन्नुपर्छ, संघीयता कार्यान्वयन र अभ्यासमा गएको ९ वर्ष भइसक्यो तर इमानदारिताका साथ अनुसूचीसमेत लागू हुन सकेको छैन ।

कतिपय सवालमा प्रदेशको अधिकार क्षेत्रमा संघीय सरकारले हस्तक्षेप गरेका थुप्रै उदाहरण छन् । प्रदेशलाई बाइपास गरेर संघ र स्थानीयबीच गहिरो तालमेल देखिन्छ । प्रदेश सरकारलाई पेन्डुलम बनाइएको छ । अहिलेसम्म प्रदेश सरकारलाई सहयोग पुग्ने गरी संघ सरकारले कानुन निर्माण गरिदिएको छैन । प्रहरी, प्रशासन, न्यायालय र मिडियाबिनाको सरकार निरीहताको अवस्थाबाट गुज्रिरहेको छ । प्रमुख सचिव, सचिवहरू, सिनियर अधिकृतहरू अझै संघ सरकारले आफ्नै अधीनमा राखेको छ ।

संघ नियन्त्रित प्रदेश बनाएर उल्टै प्रदेशलाई विकास र सुशासन दिन सकेन भनेर बदनाम गराउन खोजिँदै छ । एक प्रदेशलाई एक प्रतिशत बजेट पुग्ने गरी छुट्याइएको छ, त्यसमा पनि ७० प्रतिशतभन्दा बढी खर्च भएको छैन । पुँजीगत खर्चभन्दा प्रशासनिक खर्च अधिक छ । प्रदेशसँग आय स्रोत छैन । नेपाल सरकार आफैं कल्याणकारी राज्यको नीति, सिद्धान्त अवलम्बन गर्न चाहँदैन । जनताको खुन चुसेर मोटाउने सरकारको आर्थिक नीति छ । साधारण खर्च धान्ने अवस्थामा मुलुकको अर्थतन्त्र छैन ।

२०७२ को संविधान लागू भएको ९ वर्ष भएको छ । ९ वर्षमा ९ वटा सरकार फेरिएका छन् । घुमिफिरी रुम्जाटारको अवस्था छ । देउवा, ओली र प्रचण्डबाहेक सबैलाई रिङबाहिर राखिएको छ । उनीहरूको नजरमा तीनवटै पार्टीमा अरू कोही सक्षम छैनन् । ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भनेझैं यी तीनमध्ये कोही प्रधानमन्त्री बने नेपाली जनतामा कुनै उत्साह हुँदैन । 

मधेश आन्दोलनको लक्ष्य र उद्देश्य यो मुलुकमा रहेका तमाम विभेद, अन्याय र अत्याचारको अन्त्य गरी समतामूलक समाज निर्माण गर्नु हो । देशको विविधतालाई सम्बोधन गर्न राज्यको मूलधारबाट वञ्चित भएकालाई मूलधारमा ल्याउन संघीयता, समानुपातिक समावेशिता जस्ता वैज्ञानिक राज्य सञ्चालनको मोडल अपनाउनुपर्छ । यसलाई इमानदारिताका साथ कार्यान्वयन गरिनुपर्छ । मुलुकलाई जसरी पनि समृद्ध बनाउनु छ । त्यसका लागि शान्ति र स्थायित्व चाहिन्छ । एक/दुई जातले अधिकार थुपारेर राख्ने होइन ।

शान्तिका लागि अधिकार बाँड्नुपर्छ । समृद्धिका लागि स्थायी सरकार चाहिन्छ । त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ र भ्रष्टाचार रोक्नका लागि वर्तमान निर्वाचन प्रणाली फेरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ । त्यसपछि यो देशका बहुसंख्यक मधेशी, आदिवासी, जनजाति, दलित र अल्पसंख्यकलाई राज्य सञ्चालनको मूलधारमा ल्याई देशलाई शान्ति, समृद्धि, विकास तथा सुशासनको बाटोमा अगाडि बढाउनुपर्छ । 

– मण्डल जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव हुन् । 

सुरेशकुमार मण्डल

Link copied successfully