संविधानको कसीमा नीतिगत भ्रष्टाचार

सार्वभौम संसद्को समिति दुई शीर्ष नेताको इच्छाको कैदी बन्ने कि सामूहिक विवेकका आधारमा अगाडि बढ्ने ? शीर्षको पछाडि लागेर सामूहिक विवेकलाई परित्याग गर्नु जनप्रतिनिधि संस्थाको जन्मदाता सार्वभौम जनताप्रति नै अनादर हुनेछ

माघ ३, २०८१

राजुप्रसाद चापागाईं

Political corruption in the constitution

जनहितको नाउँमा व्यवस्था परिवर्तन पटक–पटक गरिए । आम जनताको समृद्धिको आकांक्षा भने जहाँको त्यहीँ छ । त्यसमा तुषारापात गर्ने कुशासनको बिगबिगी थामिएको छैन । बरु सर्वत्र फैलिँदै र झाँगिँंदै छ । भ्रष्ट मुलुकको दाग मेटिने होइन, झनै गाढा बन्दै गएको छ ।

यसो हुनुको एउटा कारण उच्च राजनीतिक तहबाट हुने भ्रष्टाचारले संरक्षण पाउनु नै हो । भ्रष्टाचारप्रति शून्य सहनशीलता नारामा सीमित हुनु र भ्रष्टाचारीप्रति राज्यको सहनशीलता बढ्नु हो । सामाजिक न्याय र समतामूलक समृद्धिको मार्गमा चुनौतीको पहाड बनेको कुशासन अन्त्य राष्ट्रिय अभीष्ट हो । तर, यसका लागि दृढ राजनीतिक इच्छाशक्तिको खडेरी भने कायमै छ ।

त्यसो नभएको भए नीतिगत निर्णयको खोल ओढाएर अख्तियार दुरुपयोग गर्नेलाई उन्मुक्ति दिन दुरुपयोग हुँदै आएको त्रुटिपूर्ण व्यवस्था (आयोग ऐन २०४८ को दफा ४(ख) प्रचलनमा रहने थिएन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को तेस्रो संशोधन विधेयक, २०७६ अहिले राज्य व्यवस्था समितिमा विचाराधीन छ । संघीय मन्त्रिपरिषद् र त्यसका समितिका सामूहिक नीतिगत निर्णयमा प्रश्न उठाएर अख्तियार दुरुपयोगको अनुसन्धानबाट उन्मुक्ति दिन दुरुपयोग हुँदै आएको दफा ४(ख) सच्याउन पो उक्त विधेयकको उपयोग गरिनुपर्ने थियो । ठीक उल्टो, संघीय मन्त्रिपरिषद्को तहमा सीमित रहेको उन्मुक्तिलाई प्रदेश मन्त्रिपरिषद्को तहसम्म विस्तार गर्ने प्रस्तावसमेत विधेयकमा छ ।

संघीय मन्त्रिपरिषद्का निर्णयलाई बिनाकिन्तु–परन्तु अनुसन्धानको दायराभित्र समेट्नुपर्ने माग संसद्भित्र र बाहिरबाट उठेको छ, जुन जायज छ । यति नै बेला त्यसो गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको असहमति रहेको तथ्य बाहिरिएको छ । दुई शीर्षकै अप्ठेर्‍याइँले संशोधन विधेयक अगाडि बढाउने काम समितिमा अल्झियो भनिएको छ । तर, यो समाचारको कसैबाट खण्डन भएको देखिएको छैन । यसले दफा ४(ख) को कानुनी उन्मुक्तिका मुख्य लाभग्राही शीर्ष नेता नै हुन् र उनीहरू भविष्यमा पनि त्यसबाट लाभ उठाउनकै लागि त्रुटिपूर्ण प्रबन्ध जोगाउन चाहन्छन् भन्ने तर्कलाई नै बल पुगेको छ । यो नितान्त गम्भीर कुरा हो ।

सार्वभौम संसद्को समिति दुई शीर्ष नेताको इच्छाको कैदी बन्ने कि सामूहिक विवेकका आधारमा अगाडि बढ्ने ? अहिले परीक्षाको घडी आएको छ । शीर्ष नेताले विधेयकका विषयवस्तुबारे आफूलाई लागेको धारणा समितिसमक्ष राख्नु स्वाभाविक होला । तर, त्यसले नै समितिलाई ‘डिक्टेट’ गर्नु वा उनीहरूको पोजिसनलाई समितिले भिटोका रूपमा स्वीकार गर्नु किमार्थ जायज हुँदैन । शीर्षको पछाडि लागेर सामूहिक विवेकलाई परित्याग गर्नु जनप्रतिनिधि संस्थाको जन्मदाता सार्वभौम जनताप्रतिको नै अनादर हुन्छ ।

हेक्का रहोस्, समिति निर्देशित हुने भनेको संविधानको मर्म र भावनाबाट हो । नेपालले अनुमोदन गरेको भ्रष्टाचारविरुद्धको महासन्धिअन्तर्गतको दायित्वबाट हो । आम नेपाली जनताको सुशासनको वैध आकांक्षाबाट हो ।

अहिले हामी नेपाल अधिराज्यको संविधान २०४७ अन्तर्गत शासित छैनौं । यति बेला द्वन्द्वोत्तर लोकतान्त्रीकरणको अवस्थाबाट हामी गुज्रँदै छौं । सरकार, संसद् र दलहरू जननिर्वाचित संविधानसभाबाट स्थापित संविधानवादका मान्यता मातहत छन् । तिनले विगतको सशस्त्र संघर्ष र अनेकौं राजनीतिक तथा सामाजिक आन्दोलनको अन्तरनिहित कारणका रूपमा रहेका भ्रष्टाचार र कुशासनलगायतका समस्याहरूको यथोचित सम्बोधन गरेर दिगो शान्ति र समृद्धिका लागि भूमिका खेल्नुपर्छ ।

विगतका संविधानहरूको तुलनामा वर्तमान संविधानले अंगीकार गरेका सुशासनका मान्यता उन्नत देखिन्छन् । भ्रष्टाचार र कुशासनविरुद्धका प्रत्याभूति सुदृढ छन् । यसबीच २०६८ पुस ९ देखि हामी भ्रष्टाचारविरुद्धको महासन्धिको पक्षसमेत रहँदै आएका छौं । तसर्थ संविधान र भ्रष्टाचारविरुद्धको महासन्धिअन्तर्गतका प्रतिबद्धता एकातिर र संसद्ले बनाएको कानुन अर्कातिर हुन सक्दैन । संविधान र महासन्धिको आलोकमा नै संसद्ले निर्णय लिनुको विकल्प छैन ।

भ्रष्टाचार र कुशासनविरुद्ध जवाफदेहिता सुनिश्चित गर्ने गरी संविधानमा गरिएको प्रबन्धमा अपवाद सिर्जना गर्ने अधिकार संसद्लाई छैन । दफा ४(ख) अन्तर्गत कार्यकारीलाई दिइएको उन्मुक्ति गैरसंवैधानिक छ । संविधानका समष्टिगत प्रबन्धको अध्ययनका आधारमा त्यस किसिमको उन्मुक्तिको औचित्य कहीँकतै पुष्टि हुन नसक्ने तथ्य बुझ्न सकिन्छ ।

संविधानको प्रस्तावनामा नै ‘दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट वर्तमान संविधान जारी’ गरेको तथ्य उद्घोषित छ । दिगो शान्ति, सुशासन र समृद्धि एक अर्काका परिपूरक हुन् । दिगो शान्ति र समृद्धिको जग नै सुशासन हो । सुशासनको ठाउँ कुशासनले लिएपछि दिगो शान्ति, सामाजिक न्याय, समाजवाद र समतामूलक समृद्धिको लक्ष्य आकाशको फल बन्छ नै । त्यसैगरी नीतिगत भ्रष्टाचारको अन्तिम प्रहार मौलिक हकहरूले भोग्छन् । नीतिगत भ्रष्टाचारले मौलिक हक उपभोगको यथोचित वातावरण बन्न दिँदैन ।

भ्रष्टाचारयुक्त नीति र निर्णयका कारण बजेट र राजस्वको दुरुपयोग एवं सरकारी र सार्वजनिक सम्पत्तिको दोहन हुन्छ । खासगरी आर्थिक र सामाजिक हक कार्यान्वयनमा नकारात्मक प्रभाव पार्छ । राज्यको संरक्षणको दरकार भएका नागरिक कुपोषण तथा खाद्य असुरक्षाको चपेटामा पर्छन्, आधारभूत शिक्षा, स्वास्थ्य सेवा र सामाजिक संरक्षणबाट वञ्चित हुन्छन् र चरम गरिबीका कारण मृत्युको सिकार हुनेसम्मको अवस्था सिर्जना हुन पुग्छ । समाजमा द्वन्द्व र अस्थिरता निम्तिन्छ । भ्रष्टाचारले ठूलो जनसंख्यालाई परोक्ष रूपमा पीडित बनाउँछ । नीतिगत भ्रष्टाचारको बहुआयामिक दुष्परिणामको लेखाजोखा जरुरी देखिन्छ ।

संविधानको भाग चारमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई धारा ४९ ले राज्य सञ्चालनको मार्गनिर्देशनका रूपमा स्थापित गरेको छ । त्यसैले नीतिगत भ्रष्टाचारजस्तो संवेदनशील विषयलाई निर्देशित गर्ने कानुन बनाउँदा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वमा अनुकूल वा प्रतिकूल के प्रभाव पर्छ परख्न जरुरी छ । किनकि यी प्रबन्ध माने पनि हुने, नमाने पनि हुने प्रकृतिका होइनन् । मौलिक हकसँगको परिपूरकताका कारण तिनको परिपालना अपरिहार्य छ । यसबारेमा सर्वोच्च अदालतले विगत लामो समयदेखि विभिन्न आदेश तथा फैसला (जस्तैः सूर्य ढुंगेल, योगी नरहरिनाथ मुद्दा) मार्फत सम्झाउँदै आएको पनि छ ।

धारा ५० मा तय गरिएका राज्यका राजनीतिक, सामाजिक र आर्थिक उद्देश्य हासिल गर्न नीतिगत भ्रष्टाचारले तगारा हाल्छ । धारा ५१(ख) को देहाय (४) मा ‘सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, उत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति’ निर्दिष्ट गरिएको छ । त्यसैगरी, धारा ५१(ट) को देहाय (३) को व्यवस्था पनि विशेष महत्त्वपूर्ण छ ।

यसमा राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिकलगायत सबै क्षेत्रको भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्ने नीतिगत प्रबन्ध छ । उल्लिखित संवैधानिक मार्गदर्शन कुनै पनि प्रकारको भ्रष्टाचारप्रति मुलुकको शून्य सहनशीलता दर्साउन पर्याप्त छन् ।

धारा ५२ ले राज्यका निर्देशक सिद्धान्तको अनुसरण तथा नीतिको क्रमशः कार्यान्वयनमार्फत मुलुकलाई समृद्ध र समुन्नत बनाउने दायित्व निर्दिष्ट गरेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रगतिशील कार्यान्वयन भए/नभएको अनुगमन र मूल्यांकन गर्न धारा ५४ अन्तर्गत संयुक्त संसदीय समिति अस्तित्वमा छ । निर्देशक सिद्धान्तविपरीत हुने गरी ऐन संशोधनको प्रक्रिया अगाडि बढ्यो भने त्यसबारे सचेत पार्ने दायित्व पनि यो समितिकै हुन्छ । अन्तर–समितिले नियन्त्रण र सन्तुलनको भूमिका खेल्नुपर्छ । संविधानले नै कार्यादेश तोकेको यो समितिको भूमिका महत्त्वपूर्ण रहन्छ । यो बुझ्न सकिने कुरा हो ।

त्यसैगरी, धारा ५६(६) ले संघ, प्रदेश र स्थानीय तहलाई कानुनी राज्य र नियन्त्रण र सन्तुलन सहितको शक्ति पृथकीकरण सिद्धान्तको अधीनस्थ राखेको छ । भ्रष्टाचारको अनुसन्धान प्रयोजनका लागि स्वतन्त्र संवैधानिक निकाय खडा गर्ने प्रबन्धले त्यही सिद्धान्तको सेवा गर्छ । अनुसन्धानबाट उन्मुक्ति दिनु भनेको उल्लिखित प्रबन्धको विपरीत कार्यकारीमाथि नियन्त्रण गुम्ने र असन्तुलनको स्थिति सिर्जना हुनु हो ।

धारा ७५ अन्तर्गत कार्यकारिणी अधिकारलाई संविधानअनुकूल बन्ने संघीय कानुनको अधीनमा राखेको छ । संविधानविपरीत कानुन बनाएर संघ र प्रदेश तहको उच्च कार्यकारी अधिकारीलाई अख्तियारको क्षेत्राधिकारमाथि राख्ने कुराले संविधान उल्लंघन हुन जान्छ । संविधानको धारा २३९(१) मा ‘कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ’ भन्ने व्यवस्था छ ।

त्यसैको प्रतिबन्धात्मक वाक्यांशमा ‘तर यस संविधानमा छुट्टै व्यवस्था भएको पदाधिकारी र अन्य कानुनले छुट्टै विशेष व्यवस्था गरेको पदाधिकारीको हकमा यो उपधारा लागू हुने छैन’ भनिएको छ । उपधारा (२) मा ‘धारा १०१ बमोजिम महाभियोग प्रस्ताव पारित भई पदमुक्त हुने व्यक्ति, न्यायपरिषद्बाट पदमुक्त हुने न्यायाधीश र सैनिक ऐनबमोजिम कारबाही हुने व्यक्तिका हकमा निज पदमुक्त भइसकेपछि संघीय कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सकिनेछ’ भन्ने व्यवस्था छ ।

यी प्रबन्धको अध्ययनबाट स्पष्ट हुन्छ कि प्रतिबन्धात्मक वाक्यांशमा उल्लिखित उन्मुक्तिको दायराभित्र पर्ने ‘संविधानमा छुट्टै व्यवस्था भएको पदाधिकारी र अन्य कानुनले छुट्टै विशेष व्यवस्था गरेको पदाधिकारी’ को हकमा समेत त्यस्तो उन्मुक्ति पदमा रहँदा मात्र लागू हुन्छ र त्यसपछि अनुसन्धानको सामना गर्नुपर्ने हुन्छ । कुनै पनि पदाधिकारीलाई जवाफदेहिताविहीन राख्ने संविधानको आशय कतैबाट पुष्टि हुँदैन ।

संविधान मात्र होइन, सुशासनको स्थापनाका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धताको पनि ख्याल गर्न जरुरी छ । नेपाल पक्ष भएको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धिको पालन र कार्यान्वयनको दायित्व संविधानको धारा ५१(ख) को देहाय (३) मा निर्दिष्ट छ । साथै, नेपाल सन्धि ऐन, २०४७ को धारा ९ ले अनुमोदित सन्धिका प्रावधानलाई संसद्ले बनाएका कानुनसरह मानेको मात्रै होइन, संसद्–निर्मित कानुनका प्रावधान अनुमोदित सन्धिका प्रावधानसँग बाझिएमा सन्धिको प्रावधान नै प्रभावी हुने व्यवस्था छ । यस आधारमा, महासन्धि प्रतिकूल हुने गरी कुनै पनि संशोधन गरिनु हुँदैन । अन्यथा, संशोधित प्रावधान न्यायिक पुनरावलोकनको विषय बन्न सक्छ ।

भ्रष्टाचारविरुद्ध महासन्धिको धारा ३० ले कार्यकारीका कार्यसम्पादनलाई सहज बनाउने कुरा र भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान, अभियोजन र न्यायनिरूपण गर्ने कुराबीच सन्तुलन कायम गर्न जोड दिएको छ । अनुसन्धानबाट उन्मुक्ति दिनु लोकतान्त्रिक समाजका लागि आवश्यक भएको हदसम्म मात्रै स्वीकार्य हुने देखिन्छ । तर, मन्त्रिपरिषद्का निर्णयकर्तालाई समग्र रूपमा उन्मुक्ति दिनु महासन्धि र संविधानको मर्मसँग मेल खाँदैन भन्ने बुझ्नुपर्छ ।

अन्य देशमा पनि कार्यकारीले गर्ने खास प्रकृतिका विषयलाई औचित्यका आधारमा अनुसन्धानको दायराबाट बाहिर राख्ने गरेका दृष्टान्त नभएका होइनन् । उदाहरणका लागि भारतको लोकपाल तथा लोकायुक्त ऐन २०१३ को दफा १४ मा प्रधानमन्त्री, मन्त्रीहरू, सांसद तथा कर्मचारीविरुद्ध जुनसुकै प्रकृतिको भ्रष्टाचारको उजुरीमा अनुसन्धान गर्ने अधिकार लोकपाललाई छ । तर, प्रधानमन्त्रीका सम्बन्धमा विशेष अपवादको व्यवस्था पनि छ ।

यदि प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारको उजुरी अन्तर्राष्ट्रिय सम्बन्ध, बाह्य वा आन्तरिक सुरक्षा, सार्वजनिक व्यवस्था, आणविक ऊर्जा वा अन्तरिक्षसँग सम्बन्धित भएमा लोकपालले छानबिन गर्न सक्दैन । यो अपवादले राष्ट्रिय सुरक्षासम्बन्धी संवेदनशील मामिलामा कार्यकारीको विशेषाधिकारलाई मान्यता दिएको देखिन्छ । तर, नीतिगत निर्णय वा अन्य कुनै बहानामा प्रधानमन्त्रीले निरपेक्ष र ब्लांकेट उन्मुक्ति प्राप्त गर्ने कुरालाई भने ऐनले स्थान दिएको छैन ।

हाम्रोमा सुशासन स्थापनाको गफ नहाँक्ने नयाँ–पुराना कुनै दल छ जस्तो लाग्दैन । प्रत्येकका विधान, चुनावी घोषणापत्रलगायतका आधिकारिक दस्ताबेजमा यसले राम्रै स्थान ओगटेको छ । व्यवहारमा भने कुशासनको राजनीतिक खेती मौलाएको छ । नियन्त्रण र सन्तुलनको स्थान ‘नियुक्तिमा भागबन्डा र सन्तुलन’ ले लिएको छ । कुशासनका जरा, हाँगा–बिंगा काट्ने कुरामा अग्रसरता र साहस राजनीतिक तहमा देखिँदैन ।

वास्तवमा कुन नेता भ्रष्टाचारविरुद्ध उभिएको छ र कसले प्रत्यक्ष वा परोक्ष रूपमा भ्रष्टाचारको पृष्ठपोषण गरेको छ, नागरिक स्तरबाट लेखाजोखा गरिनुपर्छ । त्यसै आधारमा आगामी निर्वाचनमा कसलाई दण्डित गर्ने भन्ने जनताले फैसला गर्नुपर्छ । जबसम्म चुनावी लोकतन्त्रसँग आम सरोकारका गम्भीर सवाललाई जोडिँदैन, तबसम्म दल र नेताहरूले आफूलाई सुधार्ने छनक देखिँदैन ।

आशा गरौं, शीर्षको अप्ठेर्‍याइँ धेरै टिक्ने छैन । माननीय सांसदहरूको सामूहिक विवेक उनीहरूको इच्छाको कैदी बन्ने छैन । संविधानमा प्रतिविम्बित आम जनताको सुशासनको आकांक्षा निर्णायक बन्नेछ । संशोधित ऐनमा नीतिगत निर्णयका नाममा ब्ल्यांकेट उन्मुक्ति खोज्नेका लागि कुनै अखेटो बाँकी रहने छैन ।

राजुप्रसाद चापागाईं वरिष्ठ अधिवक्ता हुन्।

Link copied successfully