कृषि अनुदान दुरुपयोग गर्नेको नाम पनि सार्वजनिक गर

वास्तविक किसानले मात्रै अनुदान पाउने प्रणाली विकास गर्नेदेखि तीनै तहका सरकारबीच समन्वयन स्थापित गरेर अहिलेसम्म कायम दोहोरोपन अन्त्य गर्नेसम्मका अनेकौं सुधारका काम गर्न सकिन्छ । तर यतिबेलाको मुख्य काम भनेको रकम दुरुपयोग गर्नेहरूको सूची सार्वजनिक गर्नु हो ।

माघ २, २०८१

सम्पादकीय

Make public the names of those who misuse agricultural subsidies

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदान लिनेको सूची सार्वजनिक गरेसँगै बहुचर्चित यो विषयको एउटा पर्दा खुलेको छ । अनुदानको सूची खोज्न कात्तिक २ मा मन्त्रालयद्वारा सहसचिव हरिबहादुर केसीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह भएको प्रतिवेदन तयार पारेको हो ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म मन्त्रालयबाट प्रत्यक्षतर्फ २० अर्ब ३० करोड ३० लाख रुपैयाँ र अप्रत्यक्षतर्फ (अनुदानित रासायनिक मल) ८७ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ प्रवाह भएको हो । मन्त्रालयले सार्वजनिक गरेको विवरण महत्त्वपूर्ण त छ नै, अनुदान लैजानेको सूची सार्वजनिक नभएसम्म यो विषयले पूर्णता पाउँदैन । अब अनुदान दुरुपयोग गर्नेहरूको विवरण सार्वजनिक गर्दै अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ । यसका लागि कृषिमन्त्री रामनाथ अधिकारी र उनी नेतृत्वको संरचनाको सक्रियता अपरिहार्य छ । 

रासायनिक मल, बाली तथा पशुधन बिमा, उखु उत्पादनमा प्रोत्साहन, साना सिँचाइ, बजार पूर्वाधार, कृषि औजार उपकरण, बीउ उत्पादन, उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषि तथा पशुपन्छी क्षेत्रको प्रवर्द्धनजस्ता अनेकौं शीर्षकमा अनुदान प्रवाह भइरहेको छ । त्यसका लागि कृषि क्षेत्रको विकासका लागि संघीयदेखि स्थानीय सरकारसम्मले थरीथरीका कार्यक्रम/परियोजना चलाइरहेका छन् ।

फरक–फरक समयदेखि फरक–फरक लक्षित भूगोल र कार्यक्षेत्र तोकिएका कैयौं कार्यक्रम/परियोजनाबाट अनुदान प्रवाह हुँदै आएको छ । सार्वजनिक विवरणअनुसार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ रकम प्रवाह भएको छ । उक्त रकम १ लाख ४१ हजार ६ सय ७० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूले रकम लगेका छन् । रानी जमरा गुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट १८ करोड ४८ लाख ६१ हजार रुपैयाा प्रवाह भएको छ, जुन रकम २१ हजार ४ सय ५० ले लगेका छन् । 

कृषि क्षेत्र विकास कार्यक्रमबाट ८० करोड १९ लाख ६१ करोड रुपैयाँ २७ हजार ६ सय ५० ले लगेका छन् । नेपाल लाइभस्टक इनोभेसन आयोजनाबाट १ अर्ब ९२ करोड ७५ लाख १३ हजार रुपैयाँ ११ हजार १ सय ५० ले लगेका छन् । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाबाट १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ ४६ हजार २ सय २६ ले लगेका छन् । त्यस्तै, उखु कृषक प्रोत्साहन अनुदानमार्फत ४ अर्ब ७ करोड २४ लाख २० हजार रुपैयाँ प्रवाह भएको छ ।

कृषि बिमाको प्रिमियम अनुदानतर्फ ५० करोड ४८ लाख ८२ हजार र पशुपन्छी तथा मत्स्य बिमाको प्रिमियम अनुदानतर्फ ५ अर्ब १३ करोड ८० लाख ६६ हजार रुपैयाँ प्रवाह भएको छ । प्याक्ट परियोजनाबाट १२ सय २३ कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूमार्फत २ अर्ब १० करोड २६ लाख रुपैयाँ अनुदान प्रवाह भएको छ ।

संघीय सरकारअन्तर्गतका कार्यक्रम/परियोजनाबाट मात्रै होइन, प्रदेश र स्थानीय सरकारबाट पनि कृषि अनुदान प्रवाह हुने गरेको छ । त्यसैले यसमा दोहोरोपन छ । त्यसैले जुनसुकै तहका सरकारबाट होस्, अनुदान प्रवाह भएको रकम एकीकृत गर्ने हो भने त्यो रकम अहिले कृषि मन्त्रालयले सार्वजनिक गरेकोभन्दा अझै उच्च हुन आउँछ । त्यसैले यतिबेला अनुदानमा दोहोरोपन हुन नदिनका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक छ ।

अनुदानको रकम दुरुपयोग भएको गुनासो पहिल्यैदेखि हो । वास्तविक किसानले प्रक्रियागत झमेलाका कारण अनुदानको दाबी नै गर्न नसक्ने स्थिति छ । अर्कोतिर, राजनीतिक वा प्रशासनिक पहुँच भएका व्यक्तिले भने कृषिकर्ममा संलग्न नै नरही पनि अनुदान लिने गरेका छन् । उनीहरू कागजी कृषक मात्रै हुन्छन् । कतिपयले वास्तविक किसानको अन्योल वा अज्ञानतालाई दुरुपयोग गरेर अनुदान लिने गरेका छन् । कृषिसँग कुनै साइनो नै नभएका धूर्त व्यक्तिले सहजै अनुदान प्राप्त गर्न सकिने छिद्रबाट छिरेर लाभ लिइरहेका छन् ।

यसबाट सरकारको ठूलो रकम कृषि क्षेत्रको विकासका लागि खर्च भइरहेको देखिन्छ, यथार्थमा त्यस्तो रकम कृषक वा कृषि क्षेत्रमै नपुग्ने गरेको छ । परिणामतः अनुदानको रकम बढिरहने तर कृषि उत्पादन भने अपेक्षाकृत बढ्न नसक्ने भइरहेको छ । अझै गहिरो असर त बाध्यताको पेसा बन्दै गएको कृषिप्रति नयाँ पुस्ता जोडिनै नसक्ने परिस्थिति निर्माण भइरहेको छ ।

अनुदान लक्षित किसानसम्म मात्रै पुग्ने स्थिति बन्थ्यो भने आज यो पुँजी निर्माणदेखि रोजगारी सिर्जनासम्मको बलियो क्षेत्र बनिसक्थ्यो । तर त्यस्तो हुन सकेन । जसले गर्दा आज अनुदानदेखि स्वयं कृषि क्षेत्र लथालिङ्ग बनिरहेको छ ।

अब हामीसँग सुधारको विकल्प मात्रै बाँकी छ । जहाँजहाँ कमजोरी छन्, त्यहीँ सुधार गर्ने हो । वास्तविक किसानले मात्रै अनुदान पाउने प्रणाली विकास गर्नेदेखि तीनै तहका सरकारबीच समन्वयन स्थापित गरेर अहिलेसम्म कायम दोहोरोपन अन्त्य गर्नेसम्मका अनेकौं सुधारका काम गर्न सकिन्छ । तर यतिबेलाको मुख्य काम भनेको रकम दुरुपयोग गर्नेहरूको सूची सार्वजनिक गर्नु हो ।

राज्यकोष दुरुपयोग गर्नेहरूलाई कानुनी रूपमा जवाफदेही बनाउनैपर्छ । पटक–पटक अनुदान लैजाने र दुरुपयोग गर्नेको सूची सार्वजनिक गर्ने प्रतिबद्धता गरिसकेका कृषिमन्त्री अधिकारीले आफ्नो प्रतिबद्धता र जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully