जसोतसो सत्तामा ‘ठाउँ पाऊँ’ भनेर दण्डवत् गर्नेहरूलाई पनि सत्ताले पालैपालो पन्छाएर, लोभ्याएर र पुल्पुल्याएर मधेशको भू–रसायन बुझ्ने, तौलने उपक्रम गर्दै रहे । सरकारमा फगत देखिने ध्येय राखेर मसिहाहरू यति व्यस्त भए कि उनीहरूले जुन मूल उद्देश्य आफ्ना लागि निर्धारित गरेका थिए, त्यो बिर्संदै गए ।
मधेश आन्दोलन लामो यात्राबाट गुज्रियो । तर आन्दोलनको अगुवाइ गर्नेहरू ‘मधेशीजनको मुक्तिको सूत्रधार हामी नै हौं’ भन्ने विभ्रममा रहिरहे, आफूलाई ‘मसिहा’ भनाउन रुचाए । जयगान श्रवण गरेपछि वरिपरि खडा भएकालाई ‘तथास्तु’ पनि गरे । यथार्थ के देखियो भने मुक्तिको सपना बेचेर यी मसिहा कहलिनेहरूले वञ्चित समुदायलाई ‘पूजावाद’ तिर धकेल्दै गए ।
यी स्वयम्भू मसिहाले आफूले अनुगृहीत गर्ने समूहबाट भक्तिको अपेक्षा राखे । पूजा गराउने प्रतिस्पर्धा र भक्तमाझ एकाधिकार प्राप्त गर्ने मनसायले अनेक पसल खुल्दै गए । थरीथरीका चटक भए । तर मसिहा कहलाउन चाहनेहरूले के बिर्से भने यो पगडी लगाउनु भनेको स्वर्ण सिंहासनमा विराजमान हुनुजस्तो होइन, यो त सर्प भएको खाडलमा जाकिनु जस्तो हो ।
जे हुनु थियो त्यही हुँदै गयो । समय क्रममा मसिहाहरू नांगिँदै आए । भरोसाको बन्धन चुँडिँदै गए । मधेशकेन्द्रित दलहरू कालान्तरमा मधेश आश्रित बन्न पुगे । मधेशकेन्द्रित संघर्ष र संकथन रहिरहँदा यस क्षेत्रमा उनीहरू काठमान्डुलाई धक्का दिने गरी उदाए । जबदेखि यी मसिहा आफ्नो थातथलो बिर्सेर कृत्रिम नारा र नामका पछि लागे तब अन्यत्र पनि जमेनन् र आफ्नो ‘स्पेस’ पनि गुमाए । घुमिफिरि मधेशमै आश्रित हुन आए । अहिलेका मधेश आश्रित दल वास्तवमा यहाँका रैथाने शक्ति होइनन् ।
मधेश नेपाली राजनीतिको ब्याड हो, जहाँ अनेकौं धारका बिउ टुसाए र अंकुरित भए । मधेशी जनकेन्द्रित चाहनालाई प्राथमिकता दिँदै आन्तरिक औपनिवेशिक माकुरा जाल चुँडालिनुपर्ने सपना त पछिपछि देखिएका हुन् । नेपालका पुराना दलले मधेशलाई केवल करदाता र मतदाताका रूपमा मात्र व्यवहार गरिराख्दा यसैलाई आधार बनाएर राजनीतिक दल बनाउने क्रम पछि सुरु भएको हो ।
दल बन्दै जाने क्रम अद्यावधिक रहिरहनुले दिएको स्पष्ट सन्देश हो– ठाउँअनुरूप यस क्षेत्रका जनताले यथास्थितिबाट उन्मुक्ति खोजेका छन् । अहिलेसम्म पदार्थलाई परिवर्तन गरिदिने रासायनिक प्रकारको नेतृत्व आउन सकेन । यो पनि स्वीकार गर्नुपर्छ कि आगोलाई जानेर वा नजानेर स्पर्श गर्न पुग्दा त्यसले पोलेजस्तै यिनै अगुवाका कारण इतिहासलाई नै प्रभावित गर्ने खालका आन्दोलन सम्भव भएको छ । यस्तो राजनीतिबाट समकालीन पुस्ता अनभिज्ञ छैन ।
संविधानोत्तर सत्ताले मधेशका आक्रोश र पीडालाई सुल्झाउने प्रयत्नभन्दा मौजामा पुनरागमनको अवसर बुझ्यो । मधेशले भोग्नुपरेको वञ्चितीकरणलाई सुल्झाउन दह्रो संकल्प देखिएन । संविधानले कोरेको सीमित प्रक्रियाको समेत अवमूल्यन गरियो । ‘दाजुतन्त्र’ यतिबिघ्न उत्साहित हुँदै गयो कि उनीहरू आफ्नै ‘इको चेम्बर’को मोहपासमा फसे ।
हामी भन्छौं कि मधेशको आफ्नै आहान हुन्छ, तिनका अभिव्यक्तिमा खास कथ्य हुन्छ, तब हामी मधेशमा माटोका डल्ला (माटी के ढेला) को अभिव्यक्तिलाई पहिचान गरिरहेका हुन्छौं । काठमान्डुले जे चिन्ता राख्छ, त्यसको चिन्ता मधेशले पनि राख्छ, तर काठमान्डुले जो मधेशमा चासो राख्छ, त्यसको पूरा लेखाजोखासमेत मधेशले राख्छ । मधेशमाथि ‘अर्को’ स्थितिको बुझाइ भुइँतहसम्मै छ । सत्ताजन्य वृत्त लटका झट्कामा रमाउँछ । तिनबाट पोषित समाज र साहित्य यति प्रभुत्वशाली भएको छ कि संविधानोत्तर कालखण्डमा मधेश ‘अन्य’ नै रहन पुग्यो ।
औपचारिक–अनौपचारिक रूपमा मधेशका बारेमा काठमान्डुमा स्वयं मधेशीद्वारा बातचित सुरु हुनु सिंहदरबारमा तनाव फैलाउनु हो । मधेशी शक्तिले आआफ्नो वार्ता टोली बनाउन थालेका छन् । यसले अरू केही नभए पनि हिजोसम्म बेवास्ता गरिएकाहरूको राजनीतिबारे नोटिस लिन थालिएको छ । सञ्चारमाध्यमले आआफ्नै सुरतालमा मधेश राजनीतिबारे चियाउन थालेका छन् र टिप्पणी गर्न थालेका छन् । गर्भधारण नै नभएको परिस्थितिमा के कति वटा मोर्चा बन्ने ठोकुवा गर्न थालिएका छन् ।
संविधान निर्माणका क्रममा भएको मधेश आन्दोलन बिनाकुनै निष्कर्ष टुंगिएको एकथरी व्याख्या छ । तर निर्माता शक्तिहरूले यसलाई एक सफल परिघटनाका रूपमा लिए । यिनीहरूले सफलताका बदलिएका प्रतिमानअनुरूप मधेशको एजेन्डा तुहियो भनेर बुझे । यस परिघटनाले वञ्चित अधिकारको संरक्षणमाथि खतरा उत्पन्न गर्यो र मधेशी शक्तिको एकतालाई छिन्नभिन्न गरिदियो । संविधान जारीपूर्व र पश्चात् मधेशलाई हेर्ने प्रभुत्वशाली दृष्टिमा पर्याप्त चरित्रगत परिवर्तन परिलक्षित गर्न सकिन्छ ।
आन्दोलनलाई चटक्कै छाडेर चुनावी राजनीतिमा पालैपालो छिरेका मधेशी दलले बिस्तारै प्रभुत्वशाली सत्ताका पालकी बोक्ने भरिया भएको भेउ नै पाएनन् । मधेश आन्दोलनले उत्पन्न गरेको सामाजिक न्याय–विमर्शका भाषा व्याकरण, मुहावरा, स्वर र नाराहरू थन्काइयो । अस्मितापरक राजनीतिको उछालमा लगाइएका नारा, भित्तामा लेखिएका उद्धरण बिर्सिंदै जाँदा यी संघर्षशील शक्तिले आफ्नो चाल र चरित्रमा आएको परिवर्तनलाई ठम्याउनै सकेनन् । अहिले सुरु भएको मधेश संवादले अरू केही नभए पनि हालका लागि मसिहाहरूलाई ऐना देखाइरहेको कुरामा दुईमत छैन ।
‘जनसंख्या से कम न उससे ज्यादा, मधेशवाद का यही तकाजा’ जस्ता सामयिक नाराले वञ्चित वर्गको राजनीतिक परिकल्पनालाई अत्यन्त सुन्दर ढंगले अभिव्यक्त गर्छ र यसले प्रभुवर्गलाई ‘इतर’ का रूपमा निरूपित गर्छ । राजनीतिक प्रतिक्रियाले नवनव नारा प्रकट गर्छ ।
काठमान्डुमा चल्दै गरेको मधेशी शक्तिबीचको बातचितले देशज राजनीतिको नव व्याकरण उत्पत्ति गर्छ भनेर आस गर्नेहरू सीमित नै भए पनि, त्यो छ । हिन्दीका कथाकार उदयप्रकाशको ‘डर’ शीर्षकको लघुकथा छ । ‘त्यो डराएको छ । किनकि जहाँ उसलाई जानु छ, त्यहाँ पैतालाको निशान पहिलादेखि नै बनेको छ ।’ यो कथा मसिहाहरूमाथि सटीक देखिन्छ । यही ढंगढाँचामा मधेश कसरी झर्ने ? आखिर मधेशी जनले त एक दशकभन्दा पनि कम समयमा तीन–तीन पटक साथ दिएकै हुन् ।
जब एउटै मुलुकभित्र कुनै खास वर्गले आफ्नो श्रेष्ठतालाई अरूमाथि लाद्न खोज्छ, राष्ट्रिय अनुशासनको नाममा वर्चस्ववादी मान्यता क्रियान्वयन गर्छ, तिनलाई ‘जी हजुर’ गर्नेले प्रश्रय पाउँछ । तर जसले तर्क र औचित्यको कुरा उठाउँछ, तिनलाई तेजोबध गर्ने मानस फैलिन थाल्छ । धकेलिएर किनारामा पुर्याइएका समुदाय आफैंमा साँघुरिएर यस्तो मिथकीय दुनियाँ निर्मित गर्ने प्रवृत्ति उदाउन पुग्छ, जहाँ तिनको श्रेष्ठता स्वयंसिद्ध होस् । यसरी वर्चस्ववादीको मिथकको सामना वञ्चित समुदायको मिथकसँग हुन थाल्छ । यसका लागि सबै पक्षले आआफ्नो परम्पराको विशिष्टताको खोजी असली वा कल्पित इतिहासमा गर्न थाल्छन् ।
बिस्तारै त्यस्ता सूत्र निष्प्रभावी बन्न थाल्छन्, जसका माध्यमले विभिन्न पक्षबीच सम्प्रेषण सम्भव हुन्छ । अहिले मधेशमा जुर्मुराहट ल्याउने कोसिस विगतमा संवादहीनताले उत्पन्न अलगथलगको मनोविज्ञानले काम गरिरहेको छ । मधेशी र सबै उत्पीडित जनले उठाएका जायज आकांक्षा न्युटनको गतिको नियम जस्तै त्यतिकै तागतले उठ्न खोज्छ ।
मधेशी शक्तिहरू कमजोर हुँदा ठूला दलका मधेशी चेहरा पनि चेपुवामा परेका छन् । अहिले ती दलभित्र त्यस्ता व्यक्तिको अभाव छ, जो दलपतिहरूका अभिप्रायः विपरीत भुइयाँका सच्चाइ बताउन सकून् । यता जसोतसो सत्तामा ‘ठाउँ पाऊँ’ भनेर दण्डवत् गर्नेहरूलाई पनि सत्ताले पालैपालो पन्छाएर, लोभ्याएर र पुल्पुल्याएर मधेशको भू–रसायन बुझ्ने, तौलने उपक्रम गर्दै रहे ।
सरकारमा फगत देखिने ध्येय राखेर मसिहाहरू यति व्यस्त भए कि उनीहरूले जुन मूल उद्देश्य आफ्ना लागि निर्धारित गरेका थिए, त्यो बिर्संदै गए । दशकौंको कुशासनलाई समाप्त गर्ने, मधेशमा ताजा सुरुआत गर्ने, लामो समयदेखि उपेक्षित सामाजिक विद्रोहलाई पूरा गर्ने, असमानता, शोषण र विभेदका शताब्दियौं पुराना आन्तरिक औपनिवेशिकतालाई समाप्त गर्ने उद्देश्य पछाडि नै छुटिरहे । अहिले आएर अस्तित्व रक्षाका लागि फेरि एकताको राग अलाप गर्न थालेका छन् ।
मधेशी जन र तिनका मुद्दा जहिले पनि सँगसँगै छन्, जतिखेर कोही शक्ति तिनको सपनालाई साकार गर्ने संकल्प देखाउँछ त्यतिखेर समुदायको साथ पाउँछ । मधेशलाई नेपाली राज्यका लागि सुरक्षा संकटग्रस्त क्षेत्र मान्ने र त्यहीअनुरूप व्यवहार गर्ने प्रवृत्तिमा लगाम छैन, कहर निरन्तर छ ।
यता अहिले मधेशी शक्तिबीच हुँदै गरेको हलचल आफैंमा काफी छैन । तिनका एकजुटताले फेरि अर्को सौदाबाजी नगर्ला, त्यसलाई कसरी पत्याउने ? एकजुटताको असली अभीष्ट के हो ? पुरानै नारा र नेतृत्वले वर्तमानका संकटलाई कसरी छिचोल्न सक्छ ? के यो आउँदो चौरासीको व्यूहमा जोगिने अन्तिम विकल्प हो ? जवाफ फर्काउने आँट चाहिन्छ ।
अहिलेको अवस्थामा राजनीतिक नेतृत्वका सामु रहेको सबैभन्दा ठूलो चुनौती भनेको आफ्नो गुमेको विश्वसनीयता फर्काउनु हो । नेतृत्वलाई मसिहागिरीबाट मुक्त राख्नु हो । यो मधेशमा मसिहा राजनीति अन्तको समय हो । अबको मधेशले मसिहा होइन ‘मित्र’ खोजेको छ, जो ऊ जस्तै सोचुन, बुझुन् र संघर्ष गरून् ।
विविधता बोकेको मधेशका सबै क्षेत्र, समुदाय, जाति तथा वर्ग र लिंगसम्म आर्थिक–सामाजिक न्याय पुर्याउनु पहिलो प्राथमिकता हो । यता एकजुटताको प्रयत्न कहाँनिर अल्झिने हो, ठेगान छैन । सत्ताले यसलाई राम्ररी नियालिरहेको छ । तर बातचितले तेस्रो मधेश आन्दोलनपश्चात् पहिलो पटक आत्मसमीक्षाको सुअवसर पक्कै दिएको छ । यथास्थितिमा खुलेर गरिएको बातचितले औषधिको काम गर्छ ।
