अवसरको खोजीमा पहिले सहर, अहिले समुद्रपार

आजका कतिपय मानिसमा पद र पैसा आर्जन गरेपछि जे गरे पनि हुन्छ भन्ने भ्रम छ, यस्तो प्रवृत्तिले क्षणिक आनन्दको अनुभूत मात्रै हुन्छ 

पुस २२, २०८१

दुर्गा कँडेल (छत्कुली)

First the city, now across the sea in search of opportunity

दुर्गम गाउँमा माध्यमिक तहको शिक्षा लिन धेरै पर जानुपर्थ्यो । सामान्यतया गाउँको निम्न माध्यमिक तहसम्मको पढाइ सकेर त्यसअघिको शिक्षाबाट विद्यार्थी वञ्चित रहन पुग्थे । अलि हुने खानेका छोराहरू त्यहीं परको माध्यमिक स्कुल र कोही सहर तथा सदरमुकामसम्म पनि गएर नपढेका होइनन् ।

त्यो गाउँबाट एसएलसी पास गर्ने छोरीहरू हातका औंलामा गन्न सकिन्थ्यो । गाउँ विकट थियो, बाटोघाटोको विकास भएको थिएन, खानेपानीको दुःख थियो । विद्युत्, सञ्चार, सिँचाइको पर्याप्त व्यवस्था थिएन । गाउँमा वर्षभरि दुःख गर्‍यो, उब्जनीले दुई छाक खान मुस्किल हुन्थ्यो ।

अधिकांश परिवार हुँदा खाने वर्गका थिए । धेरै छोरा मान्छे पन्ध्र–सोह्र वर्ष भएपछि रोजीरोटीका लागि भारततिर लाग्थे । छोरीलाई बाह्र/पन्ध्र वर्षको उमेरमा कन्यादान गरी पठाउने चलन थियो । 

त्यही गाउँमा एउटा ठूला बाजेको परिवार थियो । जो समाजका हुने खानेमध्येका एक थिए । उनी नै समाजका निर्णायकजस्ता थिए । समाजमा उनको बोलवाला थियो । कसैलाई केही गर्न पैसाको जोहो उनैबाट हुन्थ्यो । ठूला बाजे तीन रुपैयाँ अर्थात् छत्तीस प्रतिशत ब्याज ठोकेर लिन्थे भने उस्तै पर्‍यो भने जमिनको साँध मिलाउने काममा सिपालु मानिन्थे । आफ्ना चार भाइ छोरा पढी, लेखी सहरमा नोकरी गर्थे भने एउटी छोरी एसएलसीपछि हेल्थ असिस्टेन्ट पास गरी माइती गाउँकै स्वास्थ्य चौकीमा काम गर्थिन् ।

सामान्य रूपमा भन्दा गाउँ तिनै बाउछोरीको छत्रछायामा अडेको थियो । गाऊँले कति अबुझ्m थिए, कति अलिअलि बुझ्थे भने बुझ्नेहरू पनि विवशताले उनको अन्यायका विरुद्ध केही प्रतिकार गर्न सक्ने अवस्थामा थिएनन् । किनकि बस्नु र बाँच्नु त्यही गाउँमा थियो । यो सोझोपनको फाइदा ठूला बाजेले वर्षौंदेखि उठाइरहेका थिए । गाउँमा गाई, भैंसी, खसी, बाख्रा सबैको मोल गरिदिने काम उनकै हुन्थ्यो । गाउँमा ठूला बाजेको उपस्थितिबिना गाउँ चल्छ भन्ने कल्पना पनि गर्दैनथे । 

ठूला बाजे लेनदेनको कारोबारमा मात्र होइन चरित्रमा पनि सफा छैनन् भन्नेहरू पनि केही थिए । कसैका राम्रा छोरी–बुहारी देखेपछि बाजेलाई निद्रा पर्दैनथ्यो भनेर गाइँगुइँ सुनिन्थ्यो तर यो कुरा भित्रभित्रै गुपचुप रहन्थ्यो । तर, धेरै त ठूला बाजेको आदर्श यस्तो देखाउँथे सायद उनी दूधले नुहाएका चोखा हुन् । कसैले उनको कुरामा अलिकति जवाफ फर्काए जस्तो मात्र भयो भने कचहरी राखेर उसको दोहोलो काढेर छोड्थे ।

गाउँमा स्वास्थ्य स्वयंसेविका थिइन् छोरी । दिउँसो स्वास्थ्य संस्थामा बसे जस्तो गर्थिन् र बिरामीलाई घरमा बोलाई उपचारको व्यापार घरबाटै राम्रोसँंग चलाउँथिन् । ठूला बाजेलाई लाग्थ्यो, मेरी छोरीले गाउँको प्राण भरेकी छ, नत्र यो गाउँमा सबै मरिसक्थे । गाउँले भन्थे, बाजेजस्ता मान्छे अब कति बाँच्लान् र त्यसमा पनि हुने खानेका खलक हामी हुँदा खानेले के जोरी खोज्नु छ र ? 

हरेक दिन बिहानको पूजा सकेपछि गाउँ चक्कर लगाउँथे ठूला बाजे । एक दिन साँझ हिँड्ने क्रममा घरमाथिको उकालोमा चक्कर लागेर ढलेछन् । नाक, मुख र कानबाट रगत आएको रहेछ । बाटो हिँड्नेले देखेर हारगुहार गरे । स्वास्थ्य चौकी गए, मेडिकल पुगे । दुवै बन्द थिए । छोरी आफ्ना छोराछोरी भेट्न सहर हिँडेकी रहिछन् । गाउँलेले छोराछोरी दुवैलाई खबर पुर्‍याए ।

हिजोसम्म ठूला बाजे आफ्नी छोरीले गाउँको प्राण भरेकी भन्दै धाक लगाउँथे । आज आफ्नै प्राण निस्कन लाग्दा छोरी आइपुगिनन्, अन्ततः उनले प्राण छाडे । ठूला बाजेका छोराहरू सरकारी जागिरमा, त्यो पनि माथिल्ला तहमा काम गर्थे । कोही न्यायाधीश त कोही निजामती सेवामा सहसचिव । कोही स्कुलका प्रधानाध्यापक थिए ।

सहरमा राम्रो प्रबन्ध थियो उनीहरूको । उनीहरूलाई गाउँमा बाबुले चर्को ब्याजबाट असुल गरेको र साँध मिलानको जग्गा कति छ, कसैलाई चाहिने अवस्थामा थिएन । उनीहरू गाउँ नफर्किएको वर्षौं भएको थियो । बाजेकी श्रीमती धेरै पहिले घरमै काम गर्ने एक मजदुरसँग हिँडेकी थिइन् । आमा हिँडेपछि छोराहरूको गाउँ जाने क्रम पातलो भएको थियो । ठूला बाजे छोराहरूलाई भेट्न आफैं सहर जान्थे । गाउँमा फर्किएर सुनाउँथे– ‘मेरा छोराको जस्तो वैभव कसको छ र ? यस्तो त भाग्यमा लेखेर ल्याउनुपर्छ ।’ 

यसरी बाजेको अन्त्यपछि छोरीले मेडिकल बन्द गरेर सहरतिर हिँडिन् । हिजोको त्यो अँध्यारो, विकट, अशिक्षित गाउँमा गाउँलेहरू हेपिएका थिए । हुने खानेको चलाखीपूर्ण व्यवहार, स्वार्थ, लोभ, घमण्ड, आडम्बर व्याप्त थियो । समय क्रमसँगै गाउँदेखि सहरसम्म विकास पुगेको छ । शिक्षा र चेतना बढेको छ । बाटोघाटो, बिजुली, धारा, सञ्चार, रोजगारी, अस्पताल, शैक्षिक संस्था, उद्यमी, इन्जिनियर, डाक्टर सबै भेटिन्छन् । तर, हिजोका बाजे र आजका बाआमाको अवस्था उस्तैउस्तै देखिन्छ । यी विविध पक्षमा सुधार देखिए पनि परिस्थिति र प्रवृत्तिमा खासै अन्तर देखिँदैन, किन ? 

पुस्तान्तरणमा समस्या 

ठूला बाजेका छोराहरू गाउँमा स्कुल र जागिरको प्रबन्ध नमिलेर सहरमा गए । आजका सहरियाका छोराछोरी विदेशको शिक्षा, काम र बसाइका कारण बाआमा छोडेर सात समुद्रपारि छन् । जसरी बाजे छोरा भेट्न सहर जान्थे, आज सहरका मानिस छोराछोरी भेट्न विदेश जान्छन् ।

सम्पत्ति हस्तान्तरणमा समस्या 

हिजो ठूला बाजेले जोडेको साँध मिलानको जग्गा थियो, त्यसको साक्षी कोही थिएन । आज सहरमा पनि उस्तै अवस्था सिर्जना भएको छ । छोराछोरी विदेसिए, उनीहरू फर्किने सुरसार छैन, कतिले उतै घर किनेर बस्न थाले । कतिले नागरिकतासमेत फेरिसके भने सहरको सम्पत्ति पुस्तान्तरण कसलाई गर्ने हो ? गम्भीर प्रश्नचिह्न खडा भएको छ ।

मैमत्तपन 

जसरी बाजेमा व्यक्तिवादी सोच, अहम्, घमण्ड थियो, अहिले सहरका ठूला भन्नेहरूमा पनि यो प्रवृत्ति छर्लङ्ग देखिन्छ । भलै पैसा कमाए होलान्, पदीय जिम्मेवारीमा पुगे होलान् तर सबै कुराको ज्ञाता त हुन सक्दैनन् । मान्छेलाई मान्छे नगन्ने, म नै सर्वेसर्वा ठान्ने, म मात्र ठिक अरू बेठिक भन्ने, नैतिकता, इमानदारिता बिर्सनेहरू यत्रतत्र छन् । सहरका बौद्धिक र ठूला भनाउँदाहरूमा मैमत्तपनको प्रभाव स्पष्ट देख्न सकिन्छ ।

यथार्थ बोल्न नसक्ने 

हिजोका मानिस परिस्थिति प्रतिकूल थियो, त्यही ठाउँ र गाउँमा रहनुपर्ने थियो । त्यसैले अन्याय हुँदा पनि सहेर बसे । त्यो समय बोल्न स्वतन्त्रता थिएन तर आज सबथोक छ र पनि मानिस नेताको, नेतृत्वको, हाकिमको र समकक्षीको आलोचना गर्ने अवस्थामा छैनन् । बरु फछाडि कुरा काट्न छाड्दैनन् । हिजो कति नबुझ्रे बोलेनन्, कति आफ्नो कमजोर फरिस्थितिले गर्दा विरोध गर्न सकेनन् । सत्य बोल्न सकेका थिएनन् तर आज सबथोक बुझ्रे, जानेर पनि बुझ पचाइरहेका छन् । 

कर्मको फल 

कोदो रोपेर धान फल्दैन । धानको आशा गर्नलाई धान रोप्नुपर्छ । गाउँमा सोझासाझा गाउँलेलाई ठगी गरेको सजाय तिनै गाउँलेहरूले मर्ने बेलामा पानी खुवाउनुपरेको अवस्था र छोराछोरी साथमा नहुनुको अवस्था ठूला बाजेले भोग्नुपर्‍यो । आज सहरका ठूला भनिनेहरूको अवस्था पनि त्यही नै हो । तिनका छोराछोरी विदेशमा छन् । उनीहरूमा बढेको घमण्डले छरछिमेक, साथीभाइ कसैलाई वास्ता गर्दैनन् । कारणवश निधन भएमा अन्तिम संस्कार गर्न विदेशबाट सन्तान कहिले आउने हुन्, शवलाई कति दिन बरफको बाकसमा राख्नुपर्ने हो ? टुंगो छैन । 

मनका बह कसैलाई नकह 

आफू गाउँमा एक्लो भए पनि जसरी ठूला बाजेले गाउँलेका अगाडि सहरमा रहेका छोराहरूको बखान गाउँथे, आत्मरतिमा रमाउँथे । त्यही अवस्थामा छन्, आजका सहरका बाबुआमाहरू । छोराछोरी विदेशमा के गर्दै छन् ? कस्तो काम छ ? संगत र सम्बन्ध कस्तो छ ? कति त बुबाआमालाई जानकारी नै छैन । जति जानकारी छ, सबै भन्न र सुनाउन सक्ने अवस्थामा छैनन् । तसर्थ भित्र मनमा पिल्सिएर पनि छोराछोरी बाहिर छन् भनी आत्मरति दर्शाएको देखिन्छ ।

जस्तो आफू उस्तै च्यापु 

आजका सहरका कतिपय सम्भ्रान्तमा पद र पैसा आर्जन गरेपछि मैले जे गरे पनि हुन्छ भन्ने भ्रम छ । यस्तो प्रवृत्तिले क्षणिक आनन्दको अनुभूत त होला तर अन्त्यमा यथार्थ उही हो । धन जति कमाए पनि खाने एक छाक भात हो, सुत्ने छ फिटको खाट मात्रै हो । जाने अन्तिममा घाट नै हो । तसर्थ आफ्नो खेतीअनुसारको फल लाग्ने हो र अनुहारअनुसारको च्यापु हुने हो ।

आत्मकेन्द्रित सोच 

क्षणिक समयका लागि अरूलाई सहयोग गरेजस्तो देखिए पनि परिणात्मक स्वार्थ र लाभ भने आफूमा केन्द्रित गरेको अवस्था हिजो ठूला बाजेमा थियो । आजका नेतृत्व, पदासीन व्यक्तित्व, सत्ता र शक्तिमा रहनेहरूमा पनि स्पष्ट रूपमा देख्न सकिन्छ । आत्मकेन्द्रित सोचको प्रभावले सीमित वर्गलाई लाभ भइरहेको छ ।

यस्ता विविध पक्षलाई हेर्दा हिजो ठूला बाजेको समय, चालचलन, व्यवहार, काम र परिवेश जस्तो थियो, त्यस्तै परिवेश आजका ठूलाहरूमा देखिन्छ । जो आफूलाई आधुनिक, शिक्षित, व्यावहारिक, बौद्धिक, आर्थिक, सत्ता र शक्ति सबै कुराले भरिपूर्ण मानिस ठान्छन् । यस्तो हुनु भनेको पात्र फेरिनु प्रवृत्ति उस्तै रहनु हो । हिजो अवसरको खोजीमा युवालाई सहरसम्म पुर्‍यायो, आज सोझै सात समुद्रपारि पठाउँछ । 

समाजमा परिवर्तनको कुरा गर्दा पञ्चायती व्यवस्थाको अन्त्य भयो । यति ठूला आन्दोलन र त्यसबाट प्राप्त उपलब्धि स्वरूप देशमा राजसंस्थाको अन्त्य भयो । दसवर्षे जनयुद्व मुलुकले भोग्यो । शान्ति प्रक्रियाका माध्यमबाट विद्रोही समूह नै राष्ट्रिय राजनीतिको मूलधारमा आउने वातावरण बन्यो । यी सबको परिणाम स्वरूप देशमा व्यवस्था परिवर्तन त भयो तर देश र जनताको अवस्थामा परिवर्तन हुन सकेन । अफसोस, नेतृत्वमा परिवर्तनको गुन्जायस रहेन । 

दुर्गा कँडेल (छत्कुली) कँडेल राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी अधिकृत हुन्

Link copied successfully