आजका कतिपय मानिसमा पद र पैसा आर्जन गरेपछि जे गरे पनि हुन्छ भन्ने भ्रम छ, यस्तो प्रवृत्तिले क्षणिक आनन्दको अनुभूत मात्रै हुन्छ
दुर्गम गाउँमा माध्यमिक तहको शिक्षा लिन धेरै पर जानुपर्थ्यो । सामान्यतया गाउँको निम्न माध्यमिक तहसम्मको पढाइ सकेर त्यसअघिको शिक्षाबाट विद्यार्थी वञ्चित रहन पुग्थे । अलि हुने खानेका छोराहरू त्यहीं परको माध्यमिक स्कुल र कोही सहर तथा सदरमुकामसम्म पनि गएर नपढेका होइनन् ।
त्यो गाउँबाट एसएलसी पास गर्ने छोरीहरू हातका औंलामा गन्न सकिन्थ्यो । गाउँ विकट थियो, बाटोघाटोको विकास भएको थिएन, खानेपानीको दुःख थियो । विद्युत्, सञ्चार, सिँचाइको पर्याप्त व्यवस्था थिएन । गाउँमा वर्षभरि दुःख गर्यो, उब्जनीले दुई छाक खान मुस्किल हुन्थ्यो ।
अधिकांश परिवार हुँदा खाने वर्गका थिए । धेरै छोरा मान्छे पन्ध्र–सोह्र वर्ष भएपछि रोजीरोटीका लागि भारततिर लाग्थे । छोरीलाई बाह्र/पन्ध्र वर्षको उमेरमा कन्यादान गरी पठाउने चलन थियो ।
त्यही गाउँमा एउटा ठूला बाजेको परिवार थियो । जो समाजका हुने खानेमध्येका एक थिए । उनी नै समाजका निर्णायकजस्ता थिए । समाजमा उनको बोलवाला थियो । कसैलाई केही गर्न पैसाको जोहो उनैबाट हुन्थ्यो । ठूला बाजे तीन रुपैयाँ अर्थात् छत्तीस प्रतिशत ब्याज ठोकेर लिन्थे भने उस्तै पर्यो भने जमिनको साँध मिलाउने काममा सिपालु मानिन्थे । आफ्ना चार भाइ छोरा पढी, लेखी सहरमा नोकरी गर्थे भने एउटी छोरी एसएलसीपछि हेल्थ असिस्टेन्ट पास गरी माइती गाउँकै स्वास्थ्य चौकीमा काम गर्थिन् ।
सामान्य रूपमा भन्दा गाउँ तिनै बाउछोरीको छत्रछायामा अडेको थियो । गाऊँले कति अबुझ्m थिए, कति अलिअलि बुझ्थे भने बुझ्नेहरू पनि विवशताले उनको अन्यायका विरुद्ध केही प्रतिकार गर्न सक्ने अवस्थामा थिएनन् । किनकि बस्नु र बाँच्नु त्यही गाउँमा थियो । यो सोझोपनको फाइदा ठूला बाजेले वर्षौंदेखि उठाइरहेका थिए । गाउँमा गाई, भैंसी, खसी, बाख्रा सबैको मोल गरिदिने काम उनकै हुन्थ्यो । गाउँमा ठूला बाजेको उपस्थितिबिना गाउँ चल्छ भन्ने कल्पना पनि गर्दैनथे ।
ठूला बाजे लेनदेनको कारोबारमा मात्र होइन चरित्रमा पनि सफा छैनन् भन्नेहरू पनि केही थिए । कसैका राम्रा छोरी–बुहारी देखेपछि बाजेलाई निद्रा पर्दैनथ्यो भनेर गाइँगुइँ सुनिन्थ्यो तर यो कुरा भित्रभित्रै गुपचुप रहन्थ्यो । तर, धेरै त ठूला बाजेको आदर्श यस्तो देखाउँथे सायद उनी दूधले नुहाएका चोखा हुन् । कसैले उनको कुरामा अलिकति जवाफ फर्काए जस्तो मात्र भयो भने कचहरी राखेर उसको दोहोलो काढेर छोड्थे ।
गाउँमा स्वास्थ्य स्वयंसेविका थिइन् छोरी । दिउँसो स्वास्थ्य संस्थामा बसे जस्तो गर्थिन् र बिरामीलाई घरमा बोलाई उपचारको व्यापार घरबाटै राम्रोसँंग चलाउँथिन् । ठूला बाजेलाई लाग्थ्यो, मेरी छोरीले गाउँको प्राण भरेकी छ, नत्र यो गाउँमा सबै मरिसक्थे । गाउँले भन्थे, बाजेजस्ता मान्छे अब कति बाँच्लान् र त्यसमा पनि हुने खानेका खलक हामी हुँदा खानेले के जोरी खोज्नु छ र ?
हरेक दिन बिहानको पूजा सकेपछि गाउँ चक्कर लगाउँथे ठूला बाजे । एक दिन साँझ हिँड्ने क्रममा घरमाथिको उकालोमा चक्कर लागेर ढलेछन् । नाक, मुख र कानबाट रगत आएको रहेछ । बाटो हिँड्नेले देखेर हारगुहार गरे । स्वास्थ्य चौकी गए, मेडिकल पुगे । दुवै बन्द थिए । छोरी आफ्ना छोराछोरी भेट्न सहर हिँडेकी रहिछन् । गाउँलेले छोराछोरी दुवैलाई खबर पुर्याए ।
हिजोसम्म ठूला बाजे आफ्नी छोरीले गाउँको प्राण भरेकी भन्दै धाक लगाउँथे । आज आफ्नै प्राण निस्कन लाग्दा छोरी आइपुगिनन्, अन्ततः उनले प्राण छाडे । ठूला बाजेका छोराहरू सरकारी जागिरमा, त्यो पनि माथिल्ला तहमा काम गर्थे । कोही न्यायाधीश त कोही निजामती सेवामा सहसचिव । कोही स्कुलका प्रधानाध्यापक थिए ।
सहरमा राम्रो प्रबन्ध थियो उनीहरूको । उनीहरूलाई गाउँमा बाबुले चर्को ब्याजबाट असुल गरेको र साँध मिलानको जग्गा कति छ, कसैलाई चाहिने अवस्थामा थिएन । उनीहरू गाउँ नफर्किएको वर्षौं भएको थियो । बाजेकी श्रीमती धेरै पहिले घरमै काम गर्ने एक मजदुरसँग हिँडेकी थिइन् । आमा हिँडेपछि छोराहरूको गाउँ जाने क्रम पातलो भएको थियो । ठूला बाजे छोराहरूलाई भेट्न आफैं सहर जान्थे । गाउँमा फर्किएर सुनाउँथे– ‘मेरा छोराको जस्तो वैभव कसको छ र ? यस्तो त भाग्यमा लेखेर ल्याउनुपर्छ ।’
यसरी बाजेको अन्त्यपछि छोरीले मेडिकल बन्द गरेर सहरतिर हिँडिन् । हिजोको त्यो अँध्यारो, विकट, अशिक्षित गाउँमा गाउँलेहरू हेपिएका थिए । हुने खानेको चलाखीपूर्ण व्यवहार, स्वार्थ, लोभ, घमण्ड, आडम्बर व्याप्त थियो । समय क्रमसँगै गाउँदेखि सहरसम्म विकास पुगेको छ । शिक्षा र चेतना बढेको छ । बाटोघाटो, बिजुली, धारा, सञ्चार, रोजगारी, अस्पताल, शैक्षिक संस्था, उद्यमी, इन्जिनियर, डाक्टर सबै भेटिन्छन् । तर, हिजोका बाजे र आजका बाआमाको अवस्था उस्तैउस्तै देखिन्छ । यी विविध पक्षमा सुधार देखिए पनि परिस्थिति र प्रवृत्तिमा खासै अन्तर देखिँदैन, किन ?
पुस्तान्तरणमा समस्या
ठूला बाजेका छोराहरू गाउँमा स्कुल र जागिरको प्रबन्ध नमिलेर सहरमा गए । आजका सहरियाका छोराछोरी विदेशको शिक्षा, काम र बसाइका कारण बाआमा छोडेर सात समुद्रपारि छन् । जसरी बाजे छोरा भेट्न सहर जान्थे, आज सहरका मानिस छोराछोरी भेट्न विदेश जान्छन् ।
सम्पत्ति हस्तान्तरणमा समस्या
हिजो ठूला बाजेले जोडेको साँध मिलानको जग्गा थियो, त्यसको साक्षी कोही थिएन । आज सहरमा पनि उस्तै अवस्था सिर्जना भएको छ । छोराछोरी विदेसिए, उनीहरू फर्किने सुरसार छैन, कतिले उतै घर किनेर बस्न थाले । कतिले नागरिकतासमेत फेरिसके भने सहरको सम्पत्ति पुस्तान्तरण कसलाई गर्ने हो ? गम्भीर प्रश्नचिह्न खडा भएको छ ।
मैमत्तपन
जसरी बाजेमा व्यक्तिवादी सोच, अहम्, घमण्ड थियो, अहिले सहरका ठूला भन्नेहरूमा पनि यो प्रवृत्ति छर्लङ्ग देखिन्छ । भलै पैसा कमाए होलान्, पदीय जिम्मेवारीमा पुगे होलान् तर सबै कुराको ज्ञाता त हुन सक्दैनन् । मान्छेलाई मान्छे नगन्ने, म नै सर्वेसर्वा ठान्ने, म मात्र ठिक अरू बेठिक भन्ने, नैतिकता, इमानदारिता बिर्सनेहरू यत्रतत्र छन् । सहरका बौद्धिक र ठूला भनाउँदाहरूमा मैमत्तपनको प्रभाव स्पष्ट देख्न सकिन्छ ।
यथार्थ बोल्न नसक्ने
हिजोका मानिस परिस्थिति प्रतिकूल थियो, त्यही ठाउँ र गाउँमा रहनुपर्ने थियो । त्यसैले अन्याय हुँदा पनि सहेर बसे । त्यो समय बोल्न स्वतन्त्रता थिएन तर आज सबथोक छ र पनि मानिस नेताको, नेतृत्वको, हाकिमको र समकक्षीको आलोचना गर्ने अवस्थामा छैनन् । बरु फछाडि कुरा काट्न छाड्दैनन् । हिजो कति नबुझ्रे बोलेनन्, कति आफ्नो कमजोर फरिस्थितिले गर्दा विरोध गर्न सकेनन् । सत्य बोल्न सकेका थिएनन् तर आज सबथोक बुझ्रे, जानेर पनि बुझ पचाइरहेका छन् ।
कर्मको फल
कोदो रोपेर धान फल्दैन । धानको आशा गर्नलाई धान रोप्नुपर्छ । गाउँमा सोझासाझा गाउँलेलाई ठगी गरेको सजाय तिनै गाउँलेहरूले मर्ने बेलामा पानी खुवाउनुपरेको अवस्था र छोराछोरी साथमा नहुनुको अवस्था ठूला बाजेले भोग्नुपर्यो । आज सहरका ठूला भनिनेहरूको अवस्था पनि त्यही नै हो । तिनका छोराछोरी विदेशमा छन् । उनीहरूमा बढेको घमण्डले छरछिमेक, साथीभाइ कसैलाई वास्ता गर्दैनन् । कारणवश निधन भएमा अन्तिम संस्कार गर्न विदेशबाट सन्तान कहिले आउने हुन्, शवलाई कति दिन बरफको बाकसमा राख्नुपर्ने हो ? टुंगो छैन ।
मनका बह कसैलाई नकह
आफू गाउँमा एक्लो भए पनि जसरी ठूला बाजेले गाउँलेका अगाडि सहरमा रहेका छोराहरूको बखान गाउँथे, आत्मरतिमा रमाउँथे । त्यही अवस्थामा छन्, आजका सहरका बाबुआमाहरू । छोराछोरी विदेशमा के गर्दै छन् ? कस्तो काम छ ? संगत र सम्बन्ध कस्तो छ ? कति त बुबाआमालाई जानकारी नै छैन । जति जानकारी छ, सबै भन्न र सुनाउन सक्ने अवस्थामा छैनन् । तसर्थ भित्र मनमा पिल्सिएर पनि छोराछोरी बाहिर छन् भनी आत्मरति दर्शाएको देखिन्छ ।
जस्तो आफू उस्तै च्यापु
आजका सहरका कतिपय सम्भ्रान्तमा पद र पैसा आर्जन गरेपछि मैले जे गरे पनि हुन्छ भन्ने भ्रम छ । यस्तो प्रवृत्तिले क्षणिक आनन्दको अनुभूत त होला तर अन्त्यमा यथार्थ उही हो । धन जति कमाए पनि खाने एक छाक भात हो, सुत्ने छ फिटको खाट मात्रै हो । जाने अन्तिममा घाट नै हो । तसर्थ आफ्नो खेतीअनुसारको फल लाग्ने हो र अनुहारअनुसारको च्यापु हुने हो ।
आत्मकेन्द्रित सोच
क्षणिक समयका लागि अरूलाई सहयोग गरेजस्तो देखिए पनि परिणात्मक स्वार्थ र लाभ भने आफूमा केन्द्रित गरेको अवस्था हिजो ठूला बाजेमा थियो । आजका नेतृत्व, पदासीन व्यक्तित्व, सत्ता र शक्तिमा रहनेहरूमा पनि स्पष्ट रूपमा देख्न सकिन्छ । आत्मकेन्द्रित सोचको प्रभावले सीमित वर्गलाई लाभ भइरहेको छ ।
यस्ता विविध पक्षलाई हेर्दा हिजो ठूला बाजेको समय, चालचलन, व्यवहार, काम र परिवेश जस्तो थियो, त्यस्तै परिवेश आजका ठूलाहरूमा देखिन्छ । जो आफूलाई आधुनिक, शिक्षित, व्यावहारिक, बौद्धिक, आर्थिक, सत्ता र शक्ति सबै कुराले भरिपूर्ण मानिस ठान्छन् । यस्तो हुनु भनेको पात्र फेरिनु प्रवृत्ति उस्तै रहनु हो । हिजो अवसरको खोजीमा युवालाई सहरसम्म पुर्यायो, आज सोझै सात समुद्रपारि पठाउँछ ।
समाजमा परिवर्तनको कुरा गर्दा पञ्चायती व्यवस्थाको अन्त्य भयो । यति ठूला आन्दोलन र त्यसबाट प्राप्त उपलब्धि स्वरूप देशमा राजसंस्थाको अन्त्य भयो । दसवर्षे जनयुद्व मुलुकले भोग्यो । शान्ति प्रक्रियाका माध्यमबाट विद्रोही समूह नै राष्ट्रिय राजनीतिको मूलधारमा आउने वातावरण बन्यो । यी सबको परिणाम स्वरूप देशमा व्यवस्था परिवर्तन त भयो तर देश र जनताको अवस्थामा परिवर्तन हुन सकेन । अफसोस, नेतृत्वमा परिवर्तनको गुन्जायस रहेन ।
