लेखा समिति सभापतिवरपर सिर्जित ठगीको लेखाजोखा 

सुशासनको नारा बोलीमा त देखिन्छ नै, व्यवहारमा देखिन्छ कि देखिँदैन भन्ने लेखा समिति सभापतिवरपर भइरहेका घटनाक्रमप्रति सरकारको व्यवहारले निर्धारण गर्नेछ ।

पुस २१, २०८१

सम्पादकीय

Account of the fraud perpetrated on the Chairman of the Audit Committee

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीको आरोप लागेका आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट मुक्त गरेका भए पनि उनी प्रश्नबाट मुक्त छैनन् । किनकि, अनिलको ठगीबारे नेता पोखरेल र पार्टीलाई पहिल्यै जानकारी छँदाछँदै उनलाई संरक्षण दिएर जिम्मेवारी दिनु नै अक्षम्य छ ।

अर्कोतिर, अनिलले झन्डै दशकअघि नै ‘माथिसम्म’ राजनीतिक पहुँच रहेको भनेर ठगी गर्न सकेका थिए । स्वकीय सचिवको सवाल मात्रै होइन, श्रीमती अञ्जला जोडिएको सहकारी ठगीमा पनि पोखरेलले राज्यशक्ति दुरुपयोग गरेर अनुसन्धान प्रभावित गरेको सन्दर्भ पनि यहीं जोडिन्छ । वरपर सिर्जना भइरहेका ठगी र अनुसन्धानमा भएको अवरोधले लेखा समिति सभापतिका रूपमा पोखरेलको नैतिक धरातल कमजोर बनाउँछ ।

एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिल पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भन्दै सप्तरीका एक छात्राका बुबा बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप लागेको छ । अनिलले ‘माथिसम्म’ पहुँच रहेको विश्वास दिलाएर पैसा लिएका थिए । तर एमबीबीएसका लागि नाम ननिस्केको, अनिलले पटकपटक पैसा फिर्ता गर्छु भने पनि नगरेको बरु हुलहुज्जत गरी बौआलालले नै ५० लाख ऋण लिएको लिखतमा हस्ताक्षर गराएपछि उनी न्यायको खोजीमा लागेका थिए ।

५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र कानुनी कारबाही गरिदिन माग गर्दै जाहेरी लिएर गएको भए पनि उनलाई प्रहरी र सरकारी वकिलको कार्यालयबाट सहयोग प्राप्त भएन । सबैतिरबाट बेवास्ता गरिएपछि उच्च अदालत विराटनगरमा निवेदन दिएर अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश माग गरेका थिए । सोहीअनुसार पुस ११ मा उच्च अदालत विराटनगरले अनिलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न परमादेश जारी गरेको हो ।

सभापति पोखरेलले अनिलमाथिका आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्य राखेर जिम्मेवारीबाट हटाएको पत्र शुक्रबार सचिवालयलाई पठाएका छन् । त्यसक्रममा उनले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जोकोहीमाथि निष्पक्ष छानबिन र दोषीउपर कडा कारबाही हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गरेका छन् । तर उच्चको परमादेश पुस ११ मै प्रमाणीकरण भएकामा शुक्रबारसम्म सभापति पोखरेलको स्वकीय सचिवमा अनिल पोखरेलले नै काम गरिरहेका थिए ।

८ दिनपछि उनलाई जिम्मेवारीबाट हटाए, यसबारे समाचार सार्वजनिक हुन थालेपछि मात्रै । त्यसैले सभापति पोखरेलले गरेको दाबी र उनको व्यवहारबीच मेल खाँदैन । त्यसो त यो विषय पछिल्लो ८ दिनको मात्रै होइन । अनिल ठगी आरोपी भएको विषय नयाँ थिएन । बौआलालले एमाले मोरङको जिल्ला अधिवेशनताका पनि अनिलको ठगी धन्धाबारे ध्यानाकर्षणसहित निवेदन दिएकाले एमालेको संस्थागत जानकारीमै थियो । तर उनले संरक्षण पाए ।

सार्वजनिक लेखा समितिका सभापतिकै स्वकीय सचिव हुने मौका पनि पाए । विवादित र आरोपित व्यक्तिलाई पदीय अवसर दिएका सभापति पोखरेलमाथि पनि नैतिक र राजनीतिक प्रश्न उठ्छ । प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गर्नुमा आरोप कमजोर भएर होइन, अनिलको पक्षबाट परेको दबाब बलवान् थियो । पीडितले न्याय खोज्न गरिरहेको प्रयत्नलाई वर्षौंसम्म निस्तेज बनाउने शक्तिको स्रोत पोखरेल होइनन् भने को हो ? त्यसैले यसको जवाफदेहिता पनि उनीसँग मागिनुपर्छ ।

त्यसो त सभापति पोखरेल विवादमा परेको यो नयाँ विषय होइन । सहकारी ठगीमा उनकी श्रीमती अञ्जला कोइराला मुछिएकी छन् । तर यसको पनि केन्द्रमा ऋषिकेश नै छन् । ऋषिकेशले श्रीमती कोइरालालाई अघि सारेर मोरङमा स्थापना गरेको उमा–गौरी कृषि सहकारी संस्था खोलिएको र ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अञ्जलासहितका सञ्चालक कालोसूचीमा परेका थिए ।

सहकारीमा संकट आउन थालेपछि अञ्जला भने बाहिरिएकी थिइन् । अञ्जलामाथि सहकारी ठगीमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएयता भने फरार छिन् । उनलाई ऋषिकेशले नै सहकारीमा अघि सारेका थिए भन्ने संस्थाका सञ्चालकहरूको दाबी छ । विद्यालयको शिक्षकसमेत रहेकी फरार अञ्जलाको बिदा थप्न ऋषिकेशले दबाबसमेत दिएका थिए । यी दुवै प्रकरणमा उनको भूमिका उनले सम्हालिरहेको पदले माग गर्ने आचरणअनुरूप छैन । 

स्वयं अनिल नै एमाले मोरङ जिल्ला कमिटी सदस्य हुन्, उनलाई जिम्मेवारी दिने र राजनीतिक संरक्षण गर्ने ऋषिकेश पनि पार्टीकै तर्फबाट सार्वजनिक लेखा समिति सभापति छन् । उनैले शिक्षकसमेत रहेकी आफ्नी श्रीमतीलाई सहकारीमा जोड्दै त्यहाँ रकम हिनामिना हुने परिस्थितिसम्म पुर्‍याएका छन् । उनले पक्राउ पुर्जी जारी भएकी श्रीमतीलाई फरारै राख्न भूमिका खेलिरहेका छन् ।

यो समग्र घटनाक्रमले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल एमालेको भूमिका स्वाभाविक परीक्षणमा छ । सरकार र एमालेले ठगीका आरोप लागेका यी व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुन्छ भन्ने विश्वास दिलाउनुपर्छ । सुशासनको नारा बोलीमा त देखिन्छ नै, व्यवहारमा देखिन्छ कि देखिँदैन भन्ने लेखा समिति सभापतिवरपर भइरहेका घटनाक्रमप्रति सरकारको व्यवहारले निर्धारण गर्नेछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully