टुँडिखेलमै छुटेको ल्होसार

एकल धर्म र जातिका मानिसले मात्रै राज्यको संरक्षणमा पर्व मनाउने ठाउँमा जनजातिले पनि स्थान छनोट गर्नु स्वागतयोग्य थियो । तर टुँडिखेलको मञ्च कर्मकाण्डी हिसाबले बिरालो बाँध्ने ठाउँका रूपमा विकास भयो ।

पुस १५, २०८१

देवराज गुरुङ

Lhosar missed in Tundikhel

गुरुङ (तमु) हरूले प्रत्येक वर्ष पुस १५ मा आफ्नो मुख्य पर्व तमु ल्होसार मनाउँछन् । तमु भाषामा ‘ल्हो’ भनेको वर्ष अर्थात् वर्ग र ‘सार’ भन्नाले प्रारम्भ हो । जसको अर्थ नयाँ वर्षको सुरुवात भन्ने नै हुन्छ । तमु पात्रोअनुसार यस वर्षको पुस १५ बाट मुप्री ल्हो (गिद्ध/गरुड वर्ग) को बिदाइ र सप्री ल्हो (सर्प वर्ष) को आगमन हुँदै छ ।

ल्होसार गुरुङ, तामाङ, शेर्पा र हिमाली आदिवासी जनजाति समुदायले आ–आफ्नो तिथिमितिअनुसार मनाउँछन् । 

गणतन्त्र आसपास आइपुग्दा पहिचान शब्दको उच्चारण उच्च बिन्दुमा पुगिसकेको थियो । शब्दलाई स्थापित गराउन माओवादी १० वर्षे सशस्त्र आन्दोलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो । २०६२/०६३ सम्म आइपुग्दा आदिवासी जनजाति समुदायले कुनै न कुनै रूपबाट ग्रहण गरिसकेको थियो । अर्कोतर्फ शताब्दीऔंदेखि लादिएको एकपक्षीय एकताको जबर्जस्त नारा ‘साझा फूलबारी’ को धङधङी कायमै थियो ।

गोरखाका राजा पृथ्वीनारायण शाहले भन्ने गरेको साझा फूलबारीको विरासतलाई जंगबहादुरले मलजल मात्रै गरेनन्, विसं १९१० मा मुलुकी ऐन नै निर्माण गरेर कानुनी रूपमा वैधानिकता दिए । शासन सत्ताले जस्तो चरित्र निर्माण गर्छ, त्यसरी नै समाजको संरचना बन्छ ।

गणतन्त्रपछि साझा फूलबारीको नारा भत्किनेवाला थियो । राज्य सत्तामा रहेको एक थरी राजनीतिक समूह बहसकै पक्षमा थियो । तर गणतन्त्रले साझा फूलबारीको विरासत भत्काउन सकेन । नयाँ ढंगबाट यति छिटो त्यसको स्थापना गरियो, जसलाई राष्ट्रिय गानका रूपमा धारण गरियो र फेरि लेखियो– ‘सयौं थुगा फूलका हामी ।’ 

ल्होसारलगायत मौलिक पर्व मान्नका लागि टुँडिखेल (स्थानको हिसाबले) ‘क्रान्तिकारी’ स्थान थियो/हो । एकल धर्म र जातिका मानिसले मात्रै राज्यको संरक्षणमा पर्व मनाउने ठाउँमा जनजातिले पनि स्थान छनोट गर्नु स्वागतयोग्य थियो । तर टुँडिखेलको मञ्च कर्मकाण्डी हिसाबले बिरालो बाँध्ने ठाउँका रूपमा विकास भयो । यसका पछाडि मुख्यतः दुई कारण छन् ।

पहिलो, टुँडिखेलमा ल्होसार मात्रै प्रवेश गरेन, बहुराष्ट्रिय कम्पनी पनि भित्रियो । त्यसका पेय पदार्थको ब्यानरमुनि मनाइने ल्होसारले पहिचान गुमायो कि बचायो ? यसरी हेर्दा आजको ल्होसार मान्ने टुँडिखेल बहुराष्ट्रिय कम्पनीको प्रदर्शन स्थलका रूपमा विकास हुँदै गएको छ । दोस्रो, टुँडिखेलको ल्होसारले राजनीतिक चरित्र/मुद्दा गुमायो ।

राजनीतिक दलका नेताको बार्गेनिङ गर्ने मञ्चका रूपमा विकास भयो । उदाहरणका लागि केही वर्षअघिको ल्होसारमा प्रमुख अतिथि रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुरुङलाई प्रधानमन्त्री बनाउने दिन धेरै टाढा छैन भन्नेजस्ता अभिव्यक्तिले पनि थप प्रस्ट पार्न सहयोग गर्दछ ।

समुदायका मुठीभित्रका मानिसले मात्रै ल्होसारको मञ्चको उपयोग गरे । मञ्च सधैं सत्ताको आस गर्ने तर पहिचानको बहस नगर्ने ठाउँका रूपमा प्रयोग भयो । 

बहुराष्ट्रिय कम्पनीको रुझान

टोनी हेगनको पुस्तक ‘विकेन्द्रीकरण र विकास’ भित्र एउटा गज्जबको उपशीर्षक छ– उपदेश पानीको, पिउनेचाहिँ वाइन । उनले उक्त प्रसंग पश्चिमा अर्थशास्त्री र विश्व बैंकले निरन्तर अर्थतन्त्रबारे उपदेश दिने र पूर्वी युरोपेली मुलुकका जनताले आफ्नोतर्फबाट योगदान नगरीकन स्वतन्त्र बजार अर्थतन्त्रका कारण चमत्कार हुने आशा गरे । यसको परिणाम के भयो, सबैको आँखा अगाडि छ ।

ल्होसारमा बहुराष्ट्रिय कम्पनीको चुस्कीसँगै पिज्जा, मःम, बर्गर खाएर देशकै जिम्मेवार व्यक्तिबाट गुरुङलाई प्रधानमन्त्री बनाउने दिन धेरै टाढा छैन भन्नेजस्ता उपदेश सुन्नु ‘उपदेश पानीको, पिउनेचाहिँ वाइन’ जस्तै भएन र ? 

टुँडिखेलको ल्होसारले आफ्नो राजनीतिक चरित्र नगुमाएको भए नयाँ संस्कृतिको विकास हुन्थ्यो । नयाँ संस्कृतिले नयाँ एजेन्डा र आन्दोलनको बहस सुरुवात गर्थ्यो । नयाँ आन्दोलनले नयाँ समाज निर्माणमा सहयोग गर्थ्यो ।

ल्होसारले बहुराष्ट्रिय कम्पनीको घुम्टो ओढेपछि पहिचान थला परेको छ । समग्रमा पहिचानलाई थला पारेको छ । बहुराष्ट्रिय कम्पनीको अगाडि ल्होसार निरीह बन्नु भनेको समग्रमा पहिचानको आन्दोलन निरीह बन्नु हो । डा. हर्क गुरुङका शब्दमा ‘जातीयताको पहिचान संस्कृति हो भने राष्ट्रियताको चिनारी सार्वभौमिकता हो ।’ प्रत्येक नेपालीलाई सार्वभौम बनाउन पहिचानसहित प्राथमिकता दिनुपर्ने उनको तर्क थियो । यतिबेला पहिचनावादीसँग न संस्कृति छ न सार्वभौमिकता । 

ल्होसारको स्टलमा राखिने मःम, चाउमिन, पिज्जाले त गुरुङ समुदायको मौलिक रैथाने खानालाई निषेध मात्रै गरेको छैन, विस्थापितसमेत गरेको छ । पहिचानका नाममा ल्होसारको मञ्चमा राजनीति गर्नेलाई योभन्दा ठूलो झड्का के हुन सक्छ ? ल्होसारको मञ्चले यदि राजनीतिक मुद्दा गुमाउँदैन थियो भने देशभर छरिएर रहेको गुरुङहरूको रैथाने खानाले ल्होसारको पहिचानलाई उच्च बनाउने काम पक्कै पनि गर्थ्यो ।

जनजातिले मौलिक परिकारलाई ल्होसारको स्टलमा पस्कन सकेको भए त्यो परिकार आफैंले पहिचानको आन्दोलनलाई अगाडि बढाउने पक्का थियो । पहिचानको आन्दोलन विविध परिकारभित्र पनि खोज्न सकिन्छ भन्ने पहिचानसमेत गर्न नसक्नु आफैंमा लज्जाबोध हो ।

अर्कोतर्फ, राज्यको विभेदकारी नीति गणतन्त्रमा पनि कायमै छ । त्यही टुँडिखेलको सैनिक मञ्चमार्फत फूलपातीका दिन हर्षबढाइँका साथ दसैंको सुरुवात भएको संकेत दिइन्छ । तर टुँडिखेलमा जनजातिले ल्होसारलगायत आफ्नो मौलिक पर्व जस्तैः साकेला, उँधौली, उँभौली, माघी, भुमे पर्व मनाउन राज्यलाई महिनौं लगाएर बिन्ती चढाउनुपर्छ । यस्तो व्यवहारबाट प्रस्ट हुन्छ, ल्होसारलगायतका जनजातिका मौलिक पर्वलाई राज्यले अपनत्व लिन खोजिरहेको छैन ।

टुँडिखेलको ल्होसार घरघर फर्कने अवस्था छैन । कारण, ल्होसारले आफ्नो भएको अस्तित्वसमेत संकटमा पारिसकेको छ । हिजो टुँडिखेल आउँदा जुन रौनक थियो, आज छैन । राजनीतिक एजेन्डा गुमाउँदा ल्होसारले आफैं आफूभित्रको पहिचान खोज्नुपर्ने अवस्था छ । टुँडिखेलमै मनाइराख्ने हो भने पनि बहुराष्ट्रिय कम्पनीको व्यापार गर्ने स्टल र केही मानिसको राजनीतिक एजेन्डाभन्दा माथि जाने छाँट छैन ।

ल्होसारसँग मौलिक पक्ष जे थियो, त्यो बहुराष्ट्रिय कम्पनीको माकुरीको जालभित्र छ । त्यसलाई चलायमान बनाउने ठेक्का लिएकाहरू एक दिनका लागि निर्माण गरेको अग्लो मञ्चबाट तल भुइँमा झर्ने फुर्सद छैन । तिनका लागि सबैभन्दा ठूलो उपलब्धि नै मञ्चमा बस्नुभन्दा अरू केही सायद नहोला । 

देवराज

Link copied successfully