ल्होसार, माङी, में त्हले दिना, ट्होटेंजस्ता चाडपर्वले तमू जातिलाई संसारभर भिन्न पहिचानका साथ स्थापित गरेको छ । तर, परम्परागत खाद्य परिकारदेखि मौलिक पोसाक र गीतसंगीतमा विकृति भित्रिनु चिन्ताको विषय हो ।
गुरुङ भाषामा गुरुङलाई ‘तमू’ भनिन्छ । ‘त’ ले बज्र, माथि, घोडा र बन्चरोलाई जनाउँछ भने ‘मू’ ले आकाशलाई । यसरी हेर्दा तमूको अर्थ आकाशको बज्र, घोडा अथवा घोडा पालक तथा लेकाली मानिसलाई जनाउँछ । अर्थात्, हिमालनेरका पहाडको माथिल्लो भागमा बस्ने मानिस नै तमू हुन् ।
पहिचान व्यक्तिको भाषा, धर्म, विश्वास, संस्कृति, भूगोल, इतिहासलगायतबाट निर्धारण हुन्छ । तमू (गुरुङ) हरू अन्नपूर्ण, मनास्लु हिमचुली पहाडको दक्षिण भेग हुँदै नेपालको पूर्वी पहाड र केही मात्रामा भारतको सिक्किम, सिलगुडी हुँदै भुटानदेखि संसारभर छरिएर रहेका छन् । जनगणना २०७८ अनुसार नेपालमा गुरुङको जनसंख्या ५ लाख ४३ हजार ७ सय ९० छ ।
तमूका तीन मूल शास्त्र प्ये ताँ ल्हु ताँ (धर्म–संस्कृति शास्त्र), केर्लो (उत्पत्ति शास्त्र) र ङोमे (औषधी शास्त्र) रहेका छन् । प्ये ताँ ल्हु ताँमा ‘प्ये म्हस्याा छ्या म्हमु, छ्या म्हस्या ल्हुा म्हमु, ल्हुा म्हस्याँ म्हि म्हमुँ’ भन्ने निकै गहन लोकोक्ति छ । जसको अर्थ ‘शास्त्र हरायो भने संस्कार हराउँछ, संस्कार हरायो भने संस्कृति हराउँछ र संस्कृति हरायो भने मान्छे नै हराउँछ’ भन्ने हुन्छ । यही प्ये का आधारमा सिंगो गुरुङ जीवनदर्शन निर्देशित र सञ्चालित छ ।
तमूको आफ्नै जीवन दर्शन छ । ल्होसार, माङी, में त्हले दिना, ट्होटें आदि तमूको महत्त्वपूर्ण चाडपर्व हुन् । यिनै मौलिक चाडपर्वले नै तमू जातिलाई संसारभर भिन्न पहिचानका साथ स्थापित गरेको छ । यस वर्ष तमू गुरुङ समुदायले मुप्री ल्हो (गिद्घ वर्ग) को बिदाइ र सप्री (सर्प नाग) वर्गको स्वागत गर्दै सप्री ल्होसार/ल्होछार मनाउँदै छन् । हरेक पुस १५ गतेबाट गुरुङ समुदायमा नयाँ वर्गसँगै नयाँ सम्वत्को सुरुआत हुन्छ ।
पुस १५ लाई गुरुङहरू आफ्नो गुरु प्रथम महापुरुषको जन्म दिवसका रूपमा पनि मनाउँछन् । तमूहरू संसारको जुनसुकै ठाउँमा रहे तापनि यस दिनलाई गुम्बा, क्होइवो र समाज घरहरूमा भेला भएर विभिन्न कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ ल्होसार मनाउँछन् । गुरुङ समुदायका लागि ल्होसार नयाँ वर्ष मात्रै नभई स्योंरा (भैलो) खेल्ने र स्योकैं (वनभोज ) खाने, सिल्दो नाल्दो (सिमेभूमे) खे (पितृ) मा (मातृ) तथा फैलु (कुल पूजा) गर्ने, साथै यही दिनमा आर्थिक कारोबार गर्ने तिथिमिति तोक्ने दिनका रूपमा समेत मनाइन्छ ।
तमू ल्होसार गुरुङ समुदायको आस्था, विश्वास, पहिचान र सिंगो जीवन दर्शन हो । हिन्दु शास्त्रमा १२ वटा राशिको महत्त्व रहेझैं गुरुङ शास्त्रमा जनावर र चराको नामबाट नामकरण गरिएका १२ वटा ल्हो (वर्गहरू) को विशेष महत्त्व रहन्छ ।
ल्हो चक्रमा प्रत्येक वर्ष एउटा वर्गले भोग गरेपछि अर्को वर्ष नयाँ ल्हो (वर्ग) का रूपमा नयाँ वर्षको सुरुआत हुन्छ । गुरुङहरू यही पात्रोअनुसार आफ्नो उमेर गणना गर्छन् भने शुभ–अशुभ, फाप्ने–नफाप्ने पत्ता लगाई लामा र पच्यु शास्त्रअनुसार नै पूजापाठ, ग्रहशान्तिदेखि जन्म, विवाह र मृत्यु संस्कारसम्मका कार्य गर्छन् ।
पुस १४ गते रातिदेखि नै विशेष गरी गुरुङ युवायुवती र गुरुङ पुरोहित नयाँ ल्होको ल्होसार/ल्होछारको स्वागत गर्न आगो बालेर नाचगान गर्दै जागा बस्छन् र मध्य रात ठीक १२ बजे पुरानो ल्होको बिदाइ गरी नयाँ ल्होलाई विधिविधानअनुसार पूजापाठ गरी स्वागत गर्छन् ।
यस वर्ष तमू समुदायले मुप्री ल्हो (गिद्घ वर्ग) को बिदाइ गर्दै सप्री (सर्प) वर्गको स्वागत गर्दै ल्होसार/ल्होछार मनाउँदै छन् । सदाझैं यस वर्ष पनि पुस १५ गते बिहानै गुरुङ पोसाकमा सजिएर गुम्बा र क्होइवो (मन्दिर) हरूमा गई पूजापाठ गरी लम्, पच्यु गुरुद्वारा रिपा, खदा लगाई मान्यजनबाट आशीर्वाद ग्रहण गर्दै एकापसमा शुभकामना आदानप्रदान गर्छन् ।
तमूका संस्कार, संस्कृति, चाडपर्व, पोसाक, विश्वास र मौलिक खाद्य परिकार छन् । पहिले उनीहरू ल्होसार मनाउन गाउँ नजिकैको खुल्ला फाँट, जंगल, खोला किनारमा भेला हुन्थे । स्योंरा (भैलो) खेलेको अन्न र नगदबाट स्योकै (वनभोज) खान्थे । त्यति बेलाको स्योंकै कार्यक्रम गाउँकै साझा स्योंकै हुन्थ्यो । त्यहाँ कुनै थर र भेगका आधारमा गुरुङ विभाजित हुन्थेनन् । खुसी साटासट गर्थे ।
मान्यजनप्रति गरिने आदर र सम्मान उच्च कोटीको हुन्थ्यो । पुस पन्ध्रलाई भनेर साँचेर राखिएको मौलिक परिकार कन्दमूल, गहतको झोल, फापरको रोटी नै पुस १५ को विशेष परिकार हुन्थे । सिल्दोनाल्दो, कूल पितृ र पाहुनालाई सबैभन्दा पहिला नारे पा अर्थात् कोदोको रक्सी चढाउँथे । कसैले ऋण लिए दिएको भए यही दिनमा भाका राखिन्थ्यो ।
पछिल्लो समय तमू ल्होसार/ल्होछारको मौलिकता हराउँदै गइरहेको छ । ल्होसार कार्यक्रम ठुल्ठूला सभा हल र पार्टी प्यालेसमा परिणत भएका छन् । परम्परागत खाद्य परिकारदेखि लगाउने मौलिक पोसाक र गीतसंगीतमा समेत विकृति फैलिरहेको छ । तरुल र पिँडालुको ठाउँ मःम, चाउमिन र थुप्पाले लिँदै छन् । ल्होसारमा नभई नहुने नारे पाको ठाउँमा अहिले विदेशी रक्सी प्रयोग हुन थालेका छन् ।
तमू महिलाले लगाउने रातो या कलेजी रङको मखमलको चोली र उही रङको घलेक, निलो पटुकी, कालो मखमलको टिकिसा र हरियो या कलेजी मलिनाको पछ्यौरीको ठाउँमा झिलिमिली लेहेंगा, बुटिक चोलो र घलेक भित्रिएका छन् । पुरुषले लगाउने पोसाक त झन् कोट–पाइन्टमाथि भाङ्ग्रामा मात्रै सीमित भएको छ ।
मौलिक खेल छेलो, रस्साकसी प्रतियोगिताका ठाउँमा म्युजिकल चियर, भलिबल, फुटबलले ठाउँ लिइरहेका छन् । गुरुङ गीतसंगीतको ठाउँ खसनेपाली र विदेशी संगीतले लिँदै छन् । संस्कृतिमाथि मौलिक, वैचारिक र सिर्जनात्मक बहस हुन सकिरहेको छैन ।
लाखौं खर्च गरेर आयोजना गरिने यस्ता कार्यक्रमले तमू पहिचानलाई नै संकटमा पार्ने देखिन्छ । यसतर्फ सम्बन्धित जाति, समुदाय र आयोजकले जिम्मेवार भएर सोच्ने समय आएको छ । त्हानलाई तमू सप्री ल्होसारै आशिमलाँ ।
