आप्रवासी नेपालीको छवि र क्षमताको सदुपयोग कहिले ?

विदेशमै रहेकाको मात्रै होइन, फर्किएर आएकाको सीप र आर्थिक क्षमतालाई पुँजीकृत गर्ने वा त्यस किसिमको वातावरण बनाउने सवालमा पनि बहस मात्र भएको छ, नीति बनेको छैन । जसले गर्दा एउटा देशपछि अर्को देश पुग्ने गरी वैदेशिक श्रमको चक्र निर्माण भइरहेको छ ।

पुस ४, २०८१

सम्पादकीय

When will the image and potential of Nepalese immigrants be utilized?

आधुनिक राज्यहरू संस्थागत हुँदै गएपछि बसाइँसराइको लेखाजोखा हुन लागेको मात्र हो, खासमा बसाइँसराइकै कारण मानव सभ्यता विकास हुन सम्भव भएको हो । आदिमकालमा मानवजाति अस्तित्व बचाउन बसाइँसराइ गर्थ्यो भने अहिले आफ्नो आर्थिक तथा संज्ञानात्मक क्षमता विकासका लागि बसाइँसराइ गर्छ ।

त्यसैले बसाइँसराइलाई बाध्यताका रूपमा मात्र होइन, अवसरका दृष्टिकोणबाट हेर्नुपर्छ किनकि यसमा यस सन्दर्भमा ‘धकेल्ने र तान्ने’ दुवै तत्त्व सधैं प्रबल हुन्छन् । बाध्यता होस् वा अवसर, मानवीय मूल्यको उपस्थिति अनिवार्य हुन जान्छ ।

त्यसैले आफ्नो थातथलोमा बस्ने र अस्थायी वा स्थायी रूपमा बसाइँसराइ गर्नेका आधारभूत सुविधा र अधिकारका विषय अहिले अन्तर्राष्ट्रिय मुद्दा बन्दै गएका छन् । भलै यसमा कति उदार वा अनुदार हुने भन्ने राज्यको चरित्र र नेतृत्वको स्वभावमा भर पर्छ । त्यसैले त अमेरिका, अस्ट्रेलिया र युरोपमा आप्रवासनको विषय निर्णायक राजनीतिक मुद्दा बन्न थालेको छ । 

आप्रवासनको मुद्दा राज्यको आर्थिक अवस्थाका आधारमा पनि तय हुन्छ । रोजगारीका लागि श्रमिक र अध्ययनका लागि विद्यार्थी विदेश पठाउने नेपालजस्ता देश भने आफूले बनाउनेभन्दा पनि अरूले बनाउने नीतिप्रति निर्भर हुनुपर्ने अवस्था छ । नेपालीहरू रोजगारीका लागि भारतबाहेक १ सय ७३ मुलुकमा पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकबाट पनि हाम्रा लागि आप्रवासनको मुद्दा कति ठूलो छ भन्ने प्रस्ट पार्छ ।

विभागका तथ्यांकअनुसार सन् २०१४ जनवरी १ देखि २०२४ को जुलाई १६ सम्म ६० लाख ९८ हजार ८० जना नेपाली श्रमिक ती देशमा पुगेका छन् । जसमा ५६ लाख ८१ हजार ६ सय २७ पुरुष र ४ लाख १६ हजार ४ सय ५३ महिला छन् । वैधानिक प्रक्रियाबिना पनि विदेश जानेको संख्या बढ्दै छ । राष्ट्रिय जनगणना २०७८ अनुसार २३.४ प्रतिशत परिवारका सदस्य वैदेशिक रोजगारमा कार्यरत छन् ।

रोजगारीमा गएका व्यक्ति तथा उनका परिवारको समान र विशिष्ट मुद्दा छन् । त्यसप्रति राज्यका निकाय अद्यावधिक, सचेत र गम्भीर हुनुपर्छ । यसरी यति ठूलो संख्याका नेपालीहरू श्रमकै लागि विदेशिनुपर्ने बाध्यताको आन्तरिक मूल्यांकन आवश्यक छ भने अर्कोतिर विदेशिएका श्रमिकका मानवीय सुविधा र अधिकारप्रतिको सरोकार अपरिहार्य छ । 

नेपालमा आर्थिक, व्यावसायिक तथा औद्योगिक वातावरण अपेक्षित रूपमा बढ्न नसकेकाले रोजगारी नै नपाइने र पाए पनि सीपअनुसारको तथा भरपर्दो आम्दानी नहुनेजस्ता समस्या छन् । त्यसैले रोजगारीका लागि विदेशको बाटो ताक्नु स्वाभाविक प्रक्रियाजस्तै बनेको छ । त्यस्तै उच्च शिक्षाको आकांक्षाले पनि नेपालीलाई विभिन्न मुलुक पुर्‍याएको छ । खाडी तथा मलेसिया प्रमुख गन्तव्य रहँदै आएको भए पनि बिस्तारै अमेरिका तथा युरोपका देशमा पनि नेपालीको उपस्थिति बढ्दै गएको छ ।

पछिल्लो डेढ दशकमा मात्रै अमेरिकामा नेपालीको संख्या ६० प्रतिशतले बढेको ‘सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस)’ ले गरेको एक अध्ययनमा देखिएको छ । यसबाट नेपालीहरू वैदेशिक श्रमका लागि जस्ता देश जान्छन् र जुन खालको श्रम गर्छन् भन्ने मान्यता स्थापित छ, त्यो पनि परिवर्तन हुँदै गएको छनक मिल्छ । उनीहरू सीपयुक्त पेसा र उच्च आयसँग जोडिन थालेका छन् ।

यसले श्रमिकको आत्मविश्वास र परिवारको आर्थिक विकासमा योगदान गर्छ । यसलाई राज्यले सहजीकरण गर्नुपर्छ । विदेशमा पुगेका नेपालीको अधिकार र मर्यादालाई जोगाउन नेपालले आफ्नोतर्फबाट भूमिका खेलिरहनुपर्छ । सम्बन्धित देशसँग आदानप्रदान गर्ने कूटनीतिक व्यवहार, सहमति तथा सम्झौता, अलायन्समा आबद्धताले त्यसलाई सुनिश्चित गर्छ । 

विदेश पुगेका नेपालीलाई रेमिट्यान्सको अंगका रूपमा मात्रै हेर्ने वा बुझ्ने प्रचलन नेपालमा छ । रेमिट्यान्सले कीर्तिमान बनाएको खबरमा खुसी हुने गरिएको छ । तर अब त्यसभन्दा बृहत् सोचको आवश्यकता छ । विदेशमा श्रम/सीप, उद्यम/व्यवसाय तथा अध्ययन/अनुसन्धानमा संलग्न भएर क्षमता र छवि आर्जन गरेको जनशक्तिलाई नेपालसँग जोडिराख्ने प्रणालीको विकास गर्न आवश्यक छ ।

उनीहरूबाट लाभ लिन नेपाल चुकिरहेको छ । विदेशमै रहेकाको मात्रै होइन, फर्किएर आएकाको सीप र आर्थिक क्षमतालाई पुँजीकृत गर्ने वा त्यस किसिमको वातावरण बनाउने सवालमा पनि बहस मात्र भएको छ, नीति बनेको छैन ।

जसले गर्दा एउटा देशपछि अर्को देश पुग्ने गरी वैदेशिक श्रमको चक्र निर्माण भइरहेको छ । सार्वजनिक खपतका लागि गरिने भाषणमा जे–जति प्रतिबद्धता गरिए पनि राज्यको नीति र अग्रसरतामा यो विषय झल्किन सकेको छैन ।

जो नेपाली विदेशमै छन् वा रहन्छन्, उनीहरूलाई नेपाल फर्काउने भन्ने अभियानको प्रचार पनि धेरै भइसकेको छ । खासमा स्वदेशमा अध्ययन, रोजगारी, उद्यम र व्यवसायको वातावरण सिर्जना गर्ने हो । त्यसपछिको छनोट व्यक्ति हो । धरातल निर्माणमा काम नगर्ने, विदेशबाट युवा फर्काउने भन्ने भाषणमा बल गर्दा निराशा बढेको हो ।

नेपालमा अवसर सिर्जना गर्दा धेरैजसो नेपाली यतै बस्छन्, जो विदेशमा बस्छन्, उनीहरूको क्षमता र प्रतिष्ठालाई उपयोग गर्दै सम्बन्धित देशसँग सम्बन्ध विकास गर्न, त्यहाँबाट सीप, प्रविधि र लगानी भित्र्याउन सकिन्छ । किनकि, देश–नागरिकको सम्बन्ध हाताहाती लाभ लेनदेनमा निर्भर हुँदैन, यसलाई बलियो बनाउन संस्थागत प्रणाली आवश्यक हुन्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully