साउदी विश्वकपले सिर्जना गर्ने लाभको वृत्तमा नेपाल

मंसिर २८, २०८१

सम्पादकीय

Nepal in the circle of benefits created by the Saudi World Cup

फिफा मुख्यालयमा बुधबार भएको मतदानले सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिता साउदी अरब एक्लैले आयोजना गर्ने टुंगो लागेको छ ।

यसअघि सन् २००२ को प्रतियोगिता दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेका, सन् २०२६ को प्रतियोगिता क्यानडा, मेक्सिको र अमेरिका तथा सन् २०३० को प्रतियोगिता मोरक्को, पोर्चुगल र स्पेनले संयुक्त रूपमा आयोजना गर्ने पृष्ठभूमिमा साउदी एक्लैले प्रतियोगिता आयोजना गर्ने अवसर पाउनु उसले हासिल गरेको विकास र समृद्धिको विश्वव्यापी अनुमोदन पनि हो । यसअघि ६ पटक विश्वकप फुटबल प्रतियोगितामा सहभागी भइसकेको र २०३४ मा आयोजक राष्ट्रका रूपमा सहभागी हुने निश्चित भइसकेको साउदीलाई प्राप्त यस अवसरले त्यहाँका जनतालाई त खुसी तुल्याएको छ नै, उसले गर्ने पूर्वतयारीमार्फत सिर्जना हुने अवसरको लाभ नेपालसम्मै विस्तारित हुने निश्चित छ । 

सामान्यतयाः खेलकुदसँग सम्बन्धित ठूला प्रतियोगिताको आयोजना गर्नुलाई सो देशले गरिरहेको आर्थिक प्रगतिलाई विश्वभर प्रदर्शन गर्ने अवसरका रूपमा लिइन्छ । यसबाट उसको आत्मविश्वासमा बढोत्तरी आउँछ । उसको इतिहास, कला संस्कृति, खानपिनलगायतका विषयबारे विश्व नै थप जानकार हुन्छ । यसमार्फत ‘सफ्टपावर’ विस्तारमा सहयोग पुग्छ । तर यसका लागि आर्थिक लगानी उच्च हुन्छ । भौतिक, प्राविधिक, सुरक्षा व्यवस्थापनका लागि अथक मिहिनेत पर्छ । एक महिनाको प्रतियोगिता सम्पन्न गर्नका लागि दशकअघिदेखि तयारी सुरु गर्नुपर्छ । त्यसैकारण विकसित र समृद्ध मुलुकको पहिचान बनाइसकेका र फुटबल संस्कृति पनि फस्टाएका मुलुकले नै यस्तो अवसर पाउने गरेका थिए । तर, बेलाबखत त्यस्तो अप्रत्यक्ष घेराभन्दा बाहिरका मुलुकले पनि अवसर पाउने गरेका छन् । २०२२ को विश्वकप कतारले आयोजना गरेको थियो । फुटबल संस्कृतिका कारण परिचित नभए पनि प्रतियोगिताका क्रममा कतारी चमत्कार विश्वसामु प्रकट भयो । २०३४ मा साउदी चमत्कार पनि त्यसैगरी प्रकट हुने निश्चित छ । उदाउँदा राष्ट्रहरूको यस किसिमको अग्रसरता र उनीहरूलाई प्राप्त विश्वासले फुटबल संस्कृतिलाई थप फैलाउन मद्दत पुग्नेछ । लोकप्रिय खेलका रूपमा परिचित फुटबल थप लोकप्रिय हुनेछ । 

यतिबेला हाम्रो चासो भने साउदीले प्राप्त गरेको अवसरमा नेपालीको हितको सुनिश्चिततासँग हो । विश्वकपका लागि साउदीले आफ्ना प्रमुख सहर रियाद, जेद्दा, अलखोवर, अभा र नियोमका तीन रंगशालालाई स्तरीकरण गर्ने तथा ११ वटा भव्य नयाँ बृहत् रंगशाला बनाउने योजना अघि सारेको छ । त्यस्तै १ लाख ८५ वटा होटलका कोठा, विमानस्थल, सडक, रेललगायतमा आधुनिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजना पनि सार्वजनिक गरेको छ । विश्वकप लक्षित बृहत् राष्ट्रिय परियोजनाका काम अघि बढाइसकेको छ, जसमा ४५ सय बिलियन डलरको लागतमा १ सय ७० वर्गकिलोमिटरमा नियोम स्मार्ट सहर, ५० हेक्टर जमिनमा ड्रागन बलको थिम पार्क र मरुभूमिको बीचमा एक लक्जरी स्की रिसोर्ट बन्दै छन् । यस्तै ४ सय ५० बिलियन डलरको लागतमा लालसागरमाथि संसारकै सबैभन्दा लामो इन्फिनिटी पुल बनाउने परियोजना अघि बढाएको छ । यी सबै आयोजनाका लागि उसले गर्ने खर्चको दायरा अथाह छ । मुख्यतः यो परियोजनाका लागि उसले श्रमिकको संख्या बढाउनेछ । साउदी र प्रतियोगितासँग नेपालीहरू जोडिने प्रथम बिन्दु यही हो ।

साउदीमा एक करोड ३४ लाख आप्रवासी श्रमिक छन् । आप्रवासी श्रमिकको यो संख्या साउदीको कुल जनसंख्याको ४२ प्रतिशत हो । त्यहाँ चार लाख नेपाली श्रमिक पनि छन् । साउदीले विश्वकपका लागि जे जति संरचना निर्माण गर्नेछ वा अन्य तयारी गर्नेछ, त्यसमार्फत थप रोजगारीका अवसर सिर्जना हुनेछ । जसमा नेपालीले पनि प्राथमिकता पाउने निश्चित छ । यो एउटा स्वाभाविक अवसर त हो नै, साउदीले नेपालीलाई यसअघि पनि दिने गरेको उच्च प्राथमिकताका कारणले पनि अतिरिक्त अवसर पनि सिर्जना हुने निश्चित छ ।

विश्वकप प्रतियोगिताका लागि हुने तयारीमा श्रमिकको हक अधिकारदेखि मानवअधिकारसम्मकै मुद्दा अझ बृहत् रूपमा उठ्नेछन् । कतार विश्वकपमा यो विषयमा विश्वव्यापी बहस भएको थियो । साउदीको सवालमा अहिले पनि प्रश्न उठेकै छन् । खासगरी श्रमिकको मानवअधिकार र रोजगारीको सुरक्षालगायतका विषय अन्तर्राष्ट्रिय संस्थाको चासोमा पर्दै आएका छन् । उसका नीतिहरू श्रमिकमैत्री नरहेकामा आलोचना हुने गरेको छ । कतार विश्वकपअघि त्यहाँको नीतिको पनि आलोचना हुने गर्थ्यो । तर उसले विश्वकप खेलाउने अवस्थामा आइपुग्दासम्म श्रमका क्षेत्रमा धेरै सुधार गरेको थियो । त्यस्तै अवस्था साउदीमा पनि आउन सक्ने अपेक्षा गर्न सकिन्छ । त्यसो हुन सक्यो भने, विश्वकपपछि पनि नेपाली श्रमिकका लागि साउदी थप सहज गन्तव्य हुनेछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully