फिफा मुख्यालयमा बुधबार भएको मतदानले सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिता साउदी अरब एक्लैले आयोजना गर्ने टुंगो लागेको छ ।
यसअघि सन् २००२ को प्रतियोगिता दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेका, सन् २०२६ को प्रतियोगिता क्यानडा, मेक्सिको र अमेरिका तथा सन् २०३० को प्रतियोगिता मोरक्को, पोर्चुगल र स्पेनले संयुक्त रूपमा आयोजना गर्ने पृष्ठभूमिमा साउदी एक्लैले प्रतियोगिता आयोजना गर्ने अवसर पाउनु उसले हासिल गरेको विकास र समृद्धिको विश्वव्यापी अनुमोदन पनि हो । यसअघि ६ पटक विश्वकप फुटबल प्रतियोगितामा सहभागी भइसकेको र २०३४ मा आयोजक राष्ट्रका रूपमा सहभागी हुने निश्चित भइसकेको साउदीलाई प्राप्त यस अवसरले त्यहाँका जनतालाई त खुसी तुल्याएको छ नै, उसले गर्ने पूर्वतयारीमार्फत सिर्जना हुने अवसरको लाभ नेपालसम्मै विस्तारित हुने निश्चित छ ।
सामान्यतयाः खेलकुदसँग सम्बन्धित ठूला प्रतियोगिताको आयोजना गर्नुलाई सो देशले गरिरहेको आर्थिक प्रगतिलाई विश्वभर प्रदर्शन गर्ने अवसरका रूपमा लिइन्छ । यसबाट उसको आत्मविश्वासमा बढोत्तरी आउँछ । उसको इतिहास, कला संस्कृति, खानपिनलगायतका विषयबारे विश्व नै थप जानकार हुन्छ । यसमार्फत ‘सफ्टपावर’ विस्तारमा सहयोग पुग्छ । तर यसका लागि आर्थिक लगानी उच्च हुन्छ । भौतिक, प्राविधिक, सुरक्षा व्यवस्थापनका लागि अथक मिहिनेत पर्छ । एक महिनाको प्रतियोगिता सम्पन्न गर्नका लागि दशकअघिदेखि तयारी सुरु गर्नुपर्छ । त्यसैकारण विकसित र समृद्ध मुलुकको पहिचान बनाइसकेका र फुटबल संस्कृति पनि फस्टाएका मुलुकले नै यस्तो अवसर पाउने गरेका थिए । तर, बेलाबखत त्यस्तो अप्रत्यक्ष घेराभन्दा बाहिरका मुलुकले पनि अवसर पाउने गरेका छन् । २०२२ को विश्वकप कतारले आयोजना गरेको थियो । फुटबल संस्कृतिका कारण परिचित नभए पनि प्रतियोगिताका क्रममा कतारी चमत्कार विश्वसामु प्रकट भयो । २०३४ मा साउदी चमत्कार पनि त्यसैगरी प्रकट हुने निश्चित छ । उदाउँदा राष्ट्रहरूको यस किसिमको अग्रसरता र उनीहरूलाई प्राप्त विश्वासले फुटबल संस्कृतिलाई थप फैलाउन मद्दत पुग्नेछ । लोकप्रिय खेलका रूपमा परिचित फुटबल थप लोकप्रिय हुनेछ ।
यतिबेला हाम्रो चासो भने साउदीले प्राप्त गरेको अवसरमा नेपालीको हितको सुनिश्चिततासँग हो । विश्वकपका लागि साउदीले आफ्ना प्रमुख सहर रियाद, जेद्दा, अलखोवर, अभा र नियोमका तीन रंगशालालाई स्तरीकरण गर्ने तथा ११ वटा भव्य नयाँ बृहत् रंगशाला बनाउने योजना अघि सारेको छ । त्यस्तै १ लाख ८५ वटा होटलका कोठा, विमानस्थल, सडक, रेललगायतमा आधुनिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजना पनि सार्वजनिक गरेको छ । विश्वकप लक्षित बृहत् राष्ट्रिय परियोजनाका काम अघि बढाइसकेको छ, जसमा ४५ सय बिलियन डलरको लागतमा १ सय ७० वर्गकिलोमिटरमा नियोम स्मार्ट सहर, ५० हेक्टर जमिनमा ड्रागन बलको थिम पार्क र मरुभूमिको बीचमा एक लक्जरी स्की रिसोर्ट बन्दै छन् । यस्तै ४ सय ५० बिलियन डलरको लागतमा लालसागरमाथि संसारकै सबैभन्दा लामो इन्फिनिटी पुल बनाउने परियोजना अघि बढाएको छ । यी सबै आयोजनाका लागि उसले गर्ने खर्चको दायरा अथाह छ । मुख्यतः यो परियोजनाका लागि उसले श्रमिकको संख्या बढाउनेछ । साउदी र प्रतियोगितासँग नेपालीहरू जोडिने प्रथम बिन्दु यही हो ।
साउदीमा एक करोड ३४ लाख आप्रवासी श्रमिक छन् । आप्रवासी श्रमिकको यो संख्या साउदीको कुल जनसंख्याको ४२ प्रतिशत हो । त्यहाँ चार लाख नेपाली श्रमिक पनि छन् । साउदीले विश्वकपका लागि जे जति संरचना निर्माण गर्नेछ वा अन्य तयारी गर्नेछ, त्यसमार्फत थप रोजगारीका अवसर सिर्जना हुनेछ । जसमा नेपालीले पनि प्राथमिकता पाउने निश्चित छ । यो एउटा स्वाभाविक अवसर त हो नै, साउदीले नेपालीलाई यसअघि पनि दिने गरेको उच्च प्राथमिकताका कारणले पनि अतिरिक्त अवसर पनि सिर्जना हुने निश्चित छ ।
विश्वकप प्रतियोगिताका लागि हुने तयारीमा श्रमिकको हक अधिकारदेखि मानवअधिकारसम्मकै मुद्दा अझ बृहत् रूपमा उठ्नेछन् । कतार विश्वकपमा यो विषयमा विश्वव्यापी बहस भएको थियो । साउदीको सवालमा अहिले पनि प्रश्न उठेकै छन् । खासगरी श्रमिकको मानवअधिकार र रोजगारीको सुरक्षालगायतका विषय अन्तर्राष्ट्रिय संस्थाको चासोमा पर्दै आएका छन् । उसका नीतिहरू श्रमिकमैत्री नरहेकामा आलोचना हुने गरेको छ । कतार विश्वकपअघि त्यहाँको नीतिको पनि आलोचना हुने गर्थ्यो । तर उसले विश्वकप खेलाउने अवस्थामा आइपुग्दासम्म श्रमका क्षेत्रमा धेरै सुधार गरेको थियो । त्यस्तै अवस्था साउदीमा पनि आउन सक्ने अपेक्षा गर्न सकिन्छ । त्यसो हुन सक्यो भने, विश्वकपपछि पनि नेपाली श्रमिकका लागि साउदी थप सहज गन्तव्य हुनेछ ।
