दलमा पूर्वउपराष्ट्रपति पुनको पुनरागमनले बढाएको वितृष्णा 

एक पटक राज्यको सर्वोच्च पदमा पुगेर सबै जनताको साझा सम्पत्ति भइसकेका व्यक्तिले पुनः एउटा अमूक पार्टी र त्यसअन्तर्गतका कार्यकर्ता वा शुभेच्छुकको मात्रै आदर्श बन्न खोज्नु आफ्नो पूर्वपदको गरिमा नबुझेको अर्थ लाग्छ । साथसाथै, पदमा रहँदासमेत आफ्नो भूमिका निष्पक्ष र तटस्थ ढंगले निर्वाह नगरेको बुझिन्छ ।

मंसिर २३, २०८१

सम्पादकीय

Discontent increased by the return of former Vice President Pun to the party

दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी पूरा गरेर स–सम्मान अवकाश पाएका नन्दबहादुर पुन यतिबेला पुनः चर्चामा छन् । उनको चर्चा उपराष्ट्रपति हुँदाको अनुभव वा त्यस पदमार्फत विस्तारित व्यक्तित्वको सदुपयोगका लागि नवीन अग्रसरता लिएका कारणले होइन, दलीय राजनीतितर्फ पुनरागमनको कारणले भइरहेको हो ।

 उनको पूर्वपार्टी माओवादी केन्द्रले उनलाई उपाध्यक्ष बनाउने तयारी गरिरहेको छ । उनी स्वयंले पनि आफू सक्रिय राजनीतिमा आइसकेको र त्यसबारे द्विविधा नराख्न भनिरहेका छन् ।

उनी माओवादी केन्द्रको पदाधिकारी बैठकमै सहभागी भइसकेका छन् । यो विषयमा संवैधानिक र कानुनी कोणबाट मात्रै बहस गर्नु अपर्याप्त हुन्छ । मूलतः यो सामाजिक र नैतिक विषय हो । त्यसकै आलोकमा माओवादी केन्द्र र उपराष्ट्रपतिको तयारीबारे छलफल गर्नुपर्छ ।

राष्ट्रपति वा उपराष्ट्रपति जस्ता गणतन्त्रका उच्चतम पदहरूबाट बहिर्गमित भएपछि सम्बन्धित व्यक्तिले आफ्नो व्यक्तिगत र सामाजिक जीवन कसरी अगाडि बढाउने भन्ने सवालमा नेपालमा प्रशस्त उदाहरण छैनन् । पहिलो राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा व्यक्तिगत जीवन बाँचिरहेका छन् ।

उनीहरूपछि राष्ट्रपति र उपराष्ट्रपति भएका विद्यादेवी भण्डारी र पुनले उनीहरूलाई नै उदाहरणमा लिन सक्थे । तर दुवैको रुचि पार्टी राजनीतिमा देखिएको छ । पार्टीमा पुनको सक्रियता आफैंमा दुःखद् छ । किनकि, सन्दर्भ र मानक कम भएको समाजमा त्यसलाई स्थापित गर्ने जिम्मेवारी अग्रजकै हुन्छ । त्यसका लागि भण्डारी तथा पुनकै बृहत् दृष्टिकोण आवश्यक पर्छ । 

आफ्नो व्यक्तित्व र स्वीकारोक्तिलाई कति फराकिलो बनाउने भन्ने सोचाइ आवश्यक पर्छ । फैलिने कि खुम्चिने ? सम्माननीय भएर बस्ने कि विवाद र आलोचनाको दैनिकीमा फस्ने ? गणतन्त्रको दुःख के मात्रै हो भने, यो व्यवस्था आफ्नै सारथिको प्रहारमा पर्दै आएको छ ।

पूर्वराष्ट्रपति वा पूर्वउपराष्ट्रपतिको पार्टीमा सक्रिय हुने चर्चा हुँदा संवैधानिक र कानुनी बन्देज नरहेको तर्क गरिन्छ । अवश्य पनि त्यस्तो छैन । व्यक्तिको नैतिकता र जिम्मवारीबोधसँग जोडिने विषयलाई संविधान र कानुनमा लिपिबद्ध गरिरहन सम्भव पनि हुँदैन, आवश्यक पनि छैन ।

मुख्यतः संविधान र कानुनी बन्देज गैरजिम्मेवार व्यक्तिका लागि हो । आफ्नो मर्यादामा बस्दैन कि, अतिरिक्त चाहना राख्छ कि, अवाञ्छित हर्कत गर्छ कि भनेर त्यस्तो कदमलाई रोक्नका लागि संविधान र कानुनमा बन्देजहरू राखिन्छ । तर पूर्वराष्ट्रपति/उपराष्ट्रपति जस्ता राज्यका अभिभावक भइसकेका व्यक्तिका हकमा त्यस्तो बन्देज लगाउनु पनि आवश्यकै नठानिएको हो ।

यो त सामाजिक र नैतिक विषय हो । कस्तो प्रचलन बसाउने भन्ने सवाल हो । मानौं न, राष्ट्रपति वा उपराष्ट्रपतिको कार्यकाल सकिनासाथ पूर्वपार्टीको कार्यालयमा कुर्सी खोज्दै जाने प्रचलन बस्यो भने कति भद्दा देखिएला ? यतिबेला भण्डारी वा पुनको व्यवहार उनीहरूको व्यक्तिगत स्वतन्त्रताको मात्रै सवाल होइन, गणतन्त्रको गरिमाको सवाल पनि हो ।

त्यसैले भविष्यमा राष्ट्रपति वा उपराष्ट्रपतिको पदमा पुग्न रहर गर्ने व्यक्तिले पुनः सक्रिय राजनीतिमा लाग्ने चाहना पनि त्याग्नुपर्छ । भविष्यमा सक्रिय राजनीति गर्ने अभिलाषा बोकेर त्यस्तो पदमा रहर नगर्नु पद र स्वयंका लागि फाइदाजनक छ ।

एक पटक राज्यको सर्वोच्च पदमा पुगेर सबै जनताको साझा सम्पत्ति भइसकेका व्यक्तिले पुनः एउटा अमूक पार्टी र त्यसअन्तर्गतका कार्यकर्ता वा शुभेच्छुकको मात्रै आदर्श बन्न खोज्नु आफ्नो पूर्वपदको गरिमा नबुझेको अर्थ लाग्छ । साथसाथै, पदमा रहँदासमेत आफ्नो भूमिका निष्पक्ष र तटस्थ ढंगले निर्वाह नगरेको बुझिन्छ ।

आफैंले सम्हालिसकेको पदप्रति सम्मान नगरेको ठहर्छ । जबकि, पदबाट हटेपछि पनि पूर्वराष्ट्रपति/उपराष्ट्रपतिको बोली र व्यवहार अनुकरणीय हुनुपर्छ । जिम्मेवारीबोधले भरिएको हुनुपर्छ । उनीहरूले उठाएका सवाललाई मानिसहरूले गम्भीरतापूर्वक लिन सकुन् । साझा व्यक्तित्वका रूपमा आत्मसात् गर्न सकुन् । भण्डारी र पुनका सन्दर्भमा भइरहेको चर्चा त्यस्तो अपेक्षाको ठिक विपरीत हो ।

यो विषय गणतन्त्रको भविष्यसँग पनि जोडिएको छ । राष्ट्रपति हुने, भइरहेका वा भइसकेका व्यक्तिको कार्यशैलीले यो व्यवस्थाको सौन्दर्य बढाउन वा घटाउन भूमिका खेल्छ । त्यसैले उनीहरूको बोली र व्यवहार गणतन्त्रलाई समृद्ध बनाउने किसिमको हुनुपर्छ । तर निश्चित पार्टीमा सक्रिय हुँदा गणतन्त्रका संस्थाहरू थप कमजोर र औचित्यहीन हुँदै जान्छन् । त्यसले अन्ततः गणतन्त्रलाई नै कमजोर बनाउँछ ।

राज्यको सर्वोच्च पदमा पुगिसकेका व्यक्तिलाई पुनः पार्टीमा भित्र्याउनु पनि गलत प्रथाको सुरुवात हुन जान्छ । यसक्रममा सही नियत पनि राखिएको पाइँदैन । पार्टीभित्रको गुटगत लडाइँमा आफू बलियो बन्ने मनसायका साथ त्यस्ता व्यक्ति भित्र्याउन खोजिएको छ । माओवादी केन्द्रमै अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नेतृत्व छाड्न माग भइरहेको छ । यतिबेला उनकै सक्रियतामा पुनलाई पार्टीमा भित्र्याउन खोजिएको हो ।

किनकि, उपराष्ट्रपति हुनुअघिसम्म पुन दाहालका विश्वासपात्र थिए । पुनलाई पार्टीमा भित्र्याउँदा नेतृत्व समूहमा आफ्नो पक्ष बलियो हुने अपेक्षा दाहालको हुन सक्छ । तर आफू बलियो बन्न गणतन्त्रको गरिमालाई क्षति पुर्‍याउने उनको प्रयत्न गलत छ ।

अर्कोतर्फ, पार्टीबाट विभिन्न अवसर पाइसकेकालाई विवादास्पद ढंगले पुनः पार्टीमै भित्र्याउने हो भने त्यहाँभित्र नेतृत्वका लागि नयाँ अनुहारको सम्भावना खुम्चिँदै जान्छ । यो प्रवृत्तिले पार्टी मात्र होइन, लोकतन्त्रकै दायरा साँघुरो बनाउँछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully