कहाँ छ अराजकताको नर्सरी ? 

वक्ररेखामा जोडिन पुगेको राजनीति र अराजकताको साइनो नबुझी मान्छेलाई मात्र तँ अराजक भइस् भन्नु फगत बोक्रे कुरा हो । किनभने समस्या अराजकता हैन, समस्या हो राजनीति ।

मंसिर २१, २०८१

केशव दाहाल

Where is the nursery of chaos?

मान्छेहरू भन्छन्– ‘अराजकता बढ्यो ।’ प्रधानमन्त्री त्यसै भन्छन् । मन्त्रीहरू त्यसै भन्छन् । टीभीमा, लेखमा, भेटघाटमा, विमर्शमा जताततै भनिन्छ, अराजकता चर्को भयो । बौद्धिक परिचर्चामा कुरा त्यही छ । लेखक र पत्रकारको कुरा त्यही छ ।

वरिपरि हेर्दा सबैलाई लाग्छ, अराजकता त बढेकै छ । अझ म त भन्छु अहिले ‘सत्तामा भ्रष्टाचार र सडकमा अराजकता’ नसक्नुसँग बढेको छ । त्यसैले अराजकता बढ्यो भन्नु आफैंमा नयाँ कुरा भएन । तर किन यसरी थामिनसक्नु गरी बढ्यो अराजकता ? कसले अराजकताको नर्सरी लगायो ? कसले अराजकताको विषवृक्ष रोप्यो ? अराजकता बढ्नु अवश्य नै गम्भीर कुरा हो । तर त्यो भन्दा गम्भीर कुरा हो, त्यसको कारण ।

अराजकता किन बढ्यो ? र, कसरी यो डडेलोझैं फैलँदो छ ? हामी अराजकताको अन्त्य चाहन्छौं भने, अराजकताको प्रतिरोध गरेर हुँदैन, त्यसको कारण खोज्नुपर्छ र समाधान गर्नुपर्छ । अन्यथा, अराजकतालाई नियन्त्रण गर्ने नाममा प्रतिशोध, पूर्वाग्रह र भाषणबाजीले अर्को अराजकता सिर्जना गर्छ । भीमकाय अराजकता । सडकको अराजकता ‘प्लस’ सत्ताको अराजकता बराबर महाअराजकता । त्यो समस्याको असली समाधान होइन । 

राजनीतिक असफलता

प्रारम्भमै यति कुरा भनौं– अराजकता राजनीतिको ब्याडबाट जन्मन्छ, हुर्कन्छ र त्यसको छहारीमा फक्रँदै जान्छ । किनभने, राजनीति असभ्य छ भने, राजकाज सभ्य हुनै सक्दैन । नेतृत्व असभ्य छ भने, कार्यकर्ता सभ्य हुनै सक्दैन । राज्य असभ्य छ भने, त्यसले सभ्य समाजको ‘नेतृत्व’ गर्दैन ।

राजनीति असभ्य, अभद्र, अनैतिक र भ्रष्ट हुने तर सामाजिक जीवन नैतिक र सभ्य बन्न असम्भव छ । यस अर्थमा आजको अराजकता स्वस्फूर्त आएको होइन । यो हाम्रो राजनीतिको सहउत्पादन हो । अतः हामी आज देखिएका तमाम अराजकताहरूको अन्त्य चाहन्छौं भने राजनीतिक अराजकताको अन्त्य अनिवार्य छ । 

राजनीतिक अराजकता भनेको राजनीतिको यस्तो विकृत स्वरूप हो, जसले राजनीतिबाहेक सबैथोक गर्छ । दलाली गर्छ तर राजनीति गर्दैन । भ्रष्टाचार गर्छ तर राजनीति गर्दैन । सत्ताको खेलकुद गर्छ तर राजनीति गर्दैन । ठेक्कापट्टा गर्छ तर राजनीति गर्दैन । अर्थात्, कुनै पनि राजनीतिमा जब एजेन्डा हराउँछ र सत्ता मात्र केन्द्रीय प्रश्न बन्छ तब राजनीतिक आजकताको प्रारम्भ हुन्छ ।

अप्राकृतिक चुनावी गठबन्धन, अंकगणितको सत्ता, चरित्रहीन समीकरण, टिकट किनबेच, मुद्दाहरूको बेपर्वाह अपव्याख्या र साँठगाँठ यस्ता विषयहरू हुन् जसले राजनीतिलाई विकृत, भ्रमित र दूषित बनाउँछन् । जब राजनीति स्वयं प्रदूषित हुन्छ, त्यसपछि नैतिकता, निष्ठा र मूल्यमान्यताहरूलाई प्रदूषित बनाउँछ । अनि सत्ता फोहोर बन्छ । सरकार फोहोर बन्छ ।

राज्यका अंगहरू फोहोर बन्छन् । त्यसपछि बौद्धिकता नेतृत्वको गुलामी बन्न जान्छ र सबै कुरा बिग्रन्छ । भन्न पर्दैन कि विकृत राजनीतिले दलमा आबद्ध लाखौं कार्यकर्तालाई भ्रष्ट बनाउँछ । अनि चुनाव भ्रष्ट बन्न पुग्छ र त्यसले मतदातालाई भ्रष्ट बनाउँछ ।

त्यसपछि इमान, नैतिकता र मूल्यमान्यता सत्ताको गुलाम बन्छन् । दलहरू जब प्रतिस्पर्धाको नाममा एकअर्काको हुर्मत लिन निस्कन्छन्, त्यसले दलहरूलाई मात्र नांगो बनाउँदैनन्, राजनीति, राजकाज र जीवन सभ्यतालाई नै नांगो बनाउँछन् । र, त्यही नांगो, मूल्यहीन, भ्रष्ट र अनैतिक राजनीतिको जमिनबाट उम्रन्छ, अराजकताको विषवृक्ष । 

गहिरो निराशा

जब राजनीति बर्गेलिन्छ, त्यो परिणामविहीन हुन पुग्छ । बिस्तारै त्यसले राज्य संरचनाहरूलाई ध्वस्त बनाउँदै लैजान्छ । परिणाम यस्तो हुन्छ कि देशले आर्थिक प्रगति गर्दैन । आम्दानी र खर्चको असन्तुलन बढ्छ । बेरुजु आकासिन्छ । परियोजनाहरू समयमा पूरा हुँदैनन् ।

रोजगारीका अवसरहरू संकुचित हुन पुग्छन् । क्षमताभन्दा महँगोमा बिक्छ, चाकरी । कमिसन र लेनदेनले राज्यलाई नै भ्रष्ट बनाउन थाल्छ । जब आर्थिक संकटहरू समाधान हुँदैनन्, उत्पादन बढ्दैन, रोजगारी सिर्जना हुँदैन, गरिबी जस्ताको तस्तै रहन्छ र उल्टो महँगीले मान्छेको जीवन संकटमा पर्दै जान्छ । त्यसपछि निराशा व्यापक बन्छ । बिस्तारै त्यही निराशा अराजकतामा प्रकट हुन्छ ।

अहिले बढ्दो बेरोजगारी, आयआर्जनको असमानता र गरिबीले समाजमा निराशा बढाएको छ । उच्च वर्ग र निम्न वर्गबीचको खाडल बढ्दो छ । कमजोर वर्गका आर्थिक, सामाजिक कष्टहरूले निराशालाई भड्काउन पेट्रोलको काम गरिरहेका छन् । मान्छे सहर पस्दै छ । तर सहरको कष्ट भनिसाध्य छैन । अहिले गाउँमा त कष्ट छ नै, सहरमा समेत मान्छेको सामाजिक र आर्थिक जीवन कष्टहरूको चौघेरामा छ । यत्रतत्र आर्थिक संकट र गरिबी । जसले भन्दै छ, देशमा गतिलो काम छैन ।

अर्थात्, कर्म रुन्छ अरबको मरुभूमिमा र भाग्यको रजगज चल्छ देशमा । हुन्छ के ? यतै असफलता, उतै असफलता । र, सबैभन्दा महत्त्वपूर्ण कुरा राज्य छ भन्ने अनुभूतिहरू सीमित हुँदै गएका छन् । न त सरकारसँग विश्वास छ, न त संसद्सँग ।

न त अदालतसँग विश्वास छ, न त प्रहरी प्रशासनसँग । न त पार्टीसँग विश्वास छ, न त नेतासँग । न त आशीर्वाद दिने कोही छन्, न त उज्यालो देखाउने । अहिले मान्छेका सपनाहरू मात्र मरेका छैनन्, मर्दै छ स्वयं मान्छेभित्रको मान्छे । सर्वत्र निराशाको यो क्षणमा मान्छेले स्तोत्र पढ्दैन, गाली बक्छ । अहिले यही भइरहेको छ । 

जब आमनागरिक निराश बन्छन्, कसैकसैका लागि त्यो अराजकताको धन्दा चलाउने एक अवसर बन्न जान्छ । त्यसपछि के हुन्छ ? कोही प्रभु परमात्मा भएर निस्कन्छन् र नागरिकका निराशालाई कोट्याउन र भड्काउन थाल्छन् । कहिले राजनीतिका नाममा उनीहरू आउँछन्, कहिले अभियन्ताका नाममा आउँछन्, कहिले समाज सेवाका नाममा आउँछन् तर आउँछन् अराजकताको राँको बोकेर । यसरी निराशा कसैको कष्ट र कसैको धन्दा बन्छ । अनि के हुन्छ ? 

भड्किएको मान्छेले तर्क गर्दैन, गाली गर्छ । ऊ विनम्र हुँदैन, पूर्वाग्रही बन्छ । निराश मान्छेका अगाडि बेच्न राखेका सिद्धान्त, विचार र मुद्दाहरू मूल्यहीन हुन पुग्छन् र बिक्छन् तमासाहरू । आफूले विश्वास गरेको नेता जब दलालको भेषमा प्रकट हुन्छ, तब निराश मान्छे दौडिएर अर्को सहाराको खोजीमा पुग्छ र भेट्छ पालनहार ।

त्यसपछि हुन्छ के भने, मान्छेहरू नदेखिएको कुरामा विश्वास गर्छन् र रहस्यलाई पत्याउन थाल्छन् । चामल कुहिँदै जान्छ र पिठोको मूल्य बढ्दै जान्छ । जब निराशाले संगठित र उग्र रूप लिन्छ, त्यो अराजकतामा फेरिन्छ । त्यसैले स्पष्ट छ, निराशा राजनीतिभन्दा भिन्न कुरा होइन । र, अराजकता त्यही निराशाको व्यापक अभिव्यक्ति हो । अतः निराशाको अन्त्य नगरी अराजकताको अन्त्य हुँदैन । 

सञ्जालको तमासा

मान्छेलाई निराशा व्यक्त गर्ने ठाउँ चाहिन्छ । निराशाहरू पोख्ने र आशाको उज्यालो हेर्ने ठाउँ । हिजो पञ्चायतकालमा जब राज्यले मान्छेलाई दमन गर्थ्यो, मान्छे जान्थ्यो आन्दोलन वा पार्टीमा । जब राज्यले विभेद गर्थ्यो, तब मान्छे कांग्रेस र कम्युनिस्ट भएर विद्रोहमा निस्कन्थ्यो । हिजो निराशा र आक्रोश व्यक्त गर्ने संगठित र बलिया मञ्चहरू थिए । किनभने हिजो पञ्चायत जान्छ र न्याय मिल्छ भन्नेमा मान्छे विश्वस्त थियो ।

हिजो जनयुद्धपछि तिम्रो जीवनमा न्यायको सूर्य उदाउँछ भनेर विश्वास दिइएको थियो र त्यो विश्वासमा मान्छे अडिएको थियो । हिजो गणतन्त्रपछि सबै कुरा फेरिनेछ भन्ने विश्वासमा निराश मान्छे पनि विद्रोही भएको थियो । राज्यप्रतिको आक्रोश पोख्न हिजो राजनीतिक मञ्चहरू थिए ।

जहाँ मान्छेभित्र निहित निराशा र आक्रोशलाई अराजकतातिर हैन, विद्रोहतिर लैजान पार्टीहरू काम गर्थे । मान्छेको आक्रोशलाई पार्टीहरू आकार दिन्थे र त्यही आकारमा ऊ ढालिन्थ्यो । तर आज निराश मान्छे पुग्ने ठाउँ कतै छैन । आन्दोलनमा जान आन्दोलन छैन । पार्टीमा जान पार्टीप्रति विश्वास छैन । राज्य त आफ्नो भएन नै, विकल्पहरू पनि संकुचित भएर गए ।

न त ल्याउनका लागि नयाँ व्यवस्था बाँकी छ, न त विश्वास गर्न नयाँ पार्टी र नेता । एउटा निराश मान्छे जाने आज कुनै सुविचारित र गम्भीर मञ्च छैनन् । अतः ऊ जान्छ टिकटकमा, फेसबुकमा, ट्वीटर (एक्स) मा वा इन्स्टाग्राममा । 

जब मान्छे सामाजिक सञ्जालको शरणमा जान्छ, त्यसपछि नकारात्मकताले उसलाई अझ भड्काउँदै लैजान्छ । ऊ चर्को बोलेर आफ्नो आक्रोश दुनियाँलाई सुनाउन चाहन्छ । बिस्तारै ऊ भाइरल हुने महत्त्वाकांक्षामा फस्छ । भाइरल हुने लोभमा ऊ अझ चर्को हुँदै जान्छ । लाइक, सेयरिङ र भ्युज बढाउने लालसाले ऊ झन् उग्र, तीव्र र अराजक बन्दै जान्छ । ज्ञानले उसलाई आश्वस्त गर्दैन । नेतृत्वले उसलाई सम्बोधन गर्दैन ।

विश्वास, आदर्श र सपनाहरूले उसलाई सम्हाल्ने तागत गुमाउँछन् । ऊ भाँडिँदै जान्छ । वस्तुतः यसरी अराजक हुँदै जानु उसको नियमितता बन्न पुग्छ । यसरी राजनीतिसँग निराशा र अराजकता जोडिन आइपुग्छ । वक्ररेखामा जोडिन पुगेको राजनीति र अराजकताको यो साइनो नबुझी मान्छेलाई मात्र तँ अराजक भइस् भन्नु फगत बोक्रे कुरा हो ।

किनभने समस्या अराजकता हैन, समस्या हो राजनीति । अराजकता त राज्य र राजनीतिले सिर्जना गरेको निराशाको अभिव्यक्ति मात्र हो । जहाँसम्म अराजकतालाई धन्दा बनाउनेहरूको कुरा छ, उनीहरूलाई त्यो स्पेस कसरी प्राप्त भयो ? यो कुरा बुझियो भने, धेरै रहस्य आफैं खुल्दै जान्छन् । तर राज्य समस्याको जरालाई नदेखेझैं गरी जब फगत सामाजिक सञ्जाललाई धारे हात लगाइरहन्छ त यो विकृति रोकिन्छ कसरी ? किनभने अराजकताको कारण टिकटक, फेसबुक, ट्वीटर (एक्स) वा इन्स्टाग्राम होइन । त्यो त मात्र अराजकता अभिव्यक्त हुने ‘प्लेटफर्म’ हो । समस्या हो, राज्य, राजनीति र त्यसले दिएको व्यापक निराशा ।

अपूरा सपना

हिजो मान्छे आन्दोलनको आदर्शले ओतप्रोत थियो । समाजमा नैतिकताका मानकहरू थिए । नेताहरू आदर्शको कुरा गर्थे । तर आज नेताहरू आदर्शको हैन, विकृतिको मानक बने । एकातिर हिजो आन्दोलनमा देखेका सपनाहरू पूरा नहुनु, अर्कोतिर आदर्शको मृत्यु हुनुले समाजका ज्ञानी मान्छेहरू पनि निराश छन् ।

हिजो आफैंसँग हिँडेकाहरूको रजगज र आफ्नो दुःखलाई तुलना गर्दा मान्छेको मन पोल्छ । तर पोलेको मनलाई शान्त गर्ने ठाउँ कतै छैन । त्यसपछि उनीहरूलाई लाग्छ, लोकतान्त्रिक आदर्शहरूको वध हुँदै छ । सपनाहरू बेमौत चियानमा पुरिँदै छन् ।

यसरी समाजमा जसलाई ज्ञानी भनिन्छ, ऊ पनि निराश छ । ऊसँगै बाँकी बचेको ज्ञान, निष्ठा र आदर्श पनि निराश छ । जब बोल्नुपर्नेहरू मौन बस्छन् र नबोल्नुपर्नेहरू चर्को बोल्न थाल्छन्, तब यस्तो हुन्छ नै, जुन अहिले भइरहेको छ । 

यहीँनेर भन्नुपर्ने अर्को कुरा पनि छ, जस्तो हिजो आन्दोलनमा लागेका विभिन्न जाति, भाषा र पहिचानका पक्षधरहरू आज निराश र आक्रोशित देखिन्छन् । आदिवासीहरू बेखुसी छन् । दलितहरू बेखुसी छन् । महिलाहरू बेखुसी छन् ।

हिजो जुन सत्ता निर्माणका लागि उनीहरू आन्दोलनमा लागे, आज त्यही सत्ताले आफ्ना मुद्दाहरू बिर्संदा उनीहरू आफूलाई अझै सीमान्त अनुभव गरिरहेका छन् । अर्थात्, हिजो आफैंसँग लडेका मित्रहरू राज्यका उच्च ओहदामा छन्, तर आफ्ना मागहरू भने सम्बोधन भएकै छैन ।

यसर्थ देशमा एउटा ठूलो जमात बिच्किएर बसेको छ, जो आफ्ना मुद्दाहरूमाथि खेलबाड भएको ठान्दछ र राजनीतिक भविष्य सकिएको पीडामा छ । ऊ पनि बेलाबेला भड्किन्छ र त्यसको छायाबाट अराजकता प्रकट हुन्छ । यस्तो बेला राजनीतिक महत्त्वाकांक्षा बोकेका केही मान्छेहरू चर्को बोलेर आफ्नो स्थान बनाउन चाहन्छन् । जहाँबाट मौलाउँदै छ तीव्र आक्रोश, असन्तुष्टि र अराजकता । 

पछिल्ला वर्षहरूमा राजनीति यति धेरै विशृंखलित भयो कि, न त आन्दोलनले स्थापित गरेका आदर्शहरू कसैले सम्झिए, न त सडकमा पोखिएको सपनाको बिस्कुन नै कसैले उठायो । यस्तो हुँदै गयो कि, आज सबै दलहरू आफ्नो आफ्नो स्वार्थको सगरमाथा बनाउन लागे ।

साझा आदर्श भाँडमा जाओस्, दलहरूलाई आफ्नै रंगको सगरमाथा उभ्याउनु छ । कार्यकर्तालाई आफ्नै नेताको स्तुतिमा रमाउनु छ । शुभेच्छुकहरूलाई किञ्चित भ्रष्ट नै सही, आफ्नै नेताको मन्दिर बनाउनु छ । पार्टीहरू अरूलाई होचो देखाएर आफू अग्लो बन्ने प्रयत्नमा लागेका छन् । राजनीतिक कार्यकर्ताहरू अरूको सत्यमाथि कालो पोतेर आफ्नो झूटको महाकाव्य लेख्न कलम तिखार्दै छन् । जब राजनीतिले समाजमा पूर्वाग्रह रोप्दै छ त समाजमा सद्भावको बगैंचा बन्छ कसरी ?

जब सत्ताले निष्ठा र नैतिकतालाई अवमूल्यन गर्छ त त्यसले नागरिकलाई दिन्छ के ? किनभने, सत्ता अराजक हुने र नागरिक सभ्य हुने यो असम्भव कुरा हो । तर समाधान धेरै अप्ठ्यारो छैन । अहिले समाजमा जुन अराजकताको रजगज देखिँदै छ, त्यो हाम्रो राजनीतिले सम्बोधन गर्न नसकेको निराशाको उग्र अभिव्यक्ति हो ।

हाम्रो राजनीति, दल र नेतृत्वले बुझ्नैपर्ने कुरा के भने, (गालिवले भनेझैं) हिलो अनुहारमा छ, ऐना पुछेर के हुन्छ ? अतः राजनीतिले आजको अराजकतालाई राजनीतिक, आर्थिक र शासकीय प्रबन्धनबाट सम्बोधन गर्नुपर्छ । अन्यथा, हामी अराजकताको अँध्यारो सिलसिलातिर प्रवेश गर्छौं ।

आफ्नै आँगनमा आफैंले अराजकताको नर्सरी लगाउनु र सडकमा आमसभा गरेर त्यसलाई उखेल्ने धमास दिनु अनैतिक र अराजनीतिक कुरा हो । नभुलौं, अराजनीतिक कुरा गरेर राजनीतिक समस्याहरू समाधान हुँदैनन् ।

केशव केशव दाहाल राजनीतिक-सामाजिक अभियान र लेखनमा सक्रिय छन् । राजनीतिक विश्लेषक र साहित्यकार दाहालकाे उपन्यास मोक्षभूमिले पद्मश्री साहित्य पुरस्कार पाएकाे थियाे ।

Link copied successfully