नदी नालामा परिणत भएको छ तर सौन्दर्यीकरणका नाममा पूजाघाट वा श्मशानघाट बनाइएको छ । नदीबारे हामी कहिले सोच्छौं ? जब बाढी–विपद् आउँछ, तब सार्वजनिक विमर्शमा नदी चिन्तन सुरु गर्छौं । नदी मर्नु भनेको स्थानीय खोज, परम्परा, अर्थतन्त्र, तटीय पारिस्थितिकी सन्तुलन समाप्त हुनु हो ।
मेरो गाउँ सर्लाही बलराको सर्वाधिक उर्वर जमिनलाई स्थानीय बासिन्दा ‘ढाब’ भन्छन् । त्यहींबाट एक खोला उत्पन्न भएको थियो– भोरहर । त्यसका अहर्निश थोपाथोपा रसाउने मूलहरू थिए । त्यसमा बाह्रै महिना पानी हुन्थ्यो, जो अगाडि गएर बागमती नदीमा मिलेको थियो । त्यो खोला लामो त थिएन तर थियो वरिपरिका गाउँका लागि धनधान्यको टोकरी ।
चालीसको दशकसम्म जनश्रमदानबाट त्यसमा बाँध बनाएर सिँचाइ गरिन्थ्यो । आज त्यसको निसान न नक्सामा छ न त थलोमै । खोला मारियो, मासियो । अब केवल लोकस्मृतिमा मात्र त्यसको कथा बाँचेको छ । आज भोरहर छैन तर त्यसले यस भेगको जनजीविकामा के असर पुर्यायो ? त्यसबारे मसिनोसँग बताइदिने कोही भेटिँदैन । तर देखिएको के हो भने, जजसले आफू माझबाट नदीलाई मर्न दिए, उनीहरूको जीवनमा दीर्घकालिक हरियाली छाएन ।
यो चित्र केवल गाउँको मात्र होइन मधेशको हो, सिंगो नेपालकै हो । जोसँग जति तागत छ, जो जति वर्चस्वशाली छ, त्यति नै टाढाबाट कुनै कमजोरको हक छिनेर आफ्ना लागि प्राकृतिक साधनको दुरुपयोग गर्ने कोसिस गरिरहन्छ । यही नै अहिलेको प्रचलित चलन हो ।
‘छठी मइया होई न सहाय ।’ अब त छठ पर्व पहाड उक्लिसक्यो । प्रत्येक पिँढीले नदी–पोखरी किनार छठ पूजन गर्न सकून्, यसका लागि जलाशय बाँचिरहून् । आमजनमा यति चेतना रहोस् कि उनीहरूले नदीको गरिमालाई कदर गर्न सकून् । कुनै गाउँठाउँमा नदी–पोखरी जोगिएको छ भने त्यो त्यस क्षेत्र विशेषको मनुष्यताको पर्याय हो । यो छठ पूजन गर्ने समाजले आत्मावलोकन गर्नुपर्ने हो ।
मान्छेको जीवन कुनै बखत नदी केन्द्रित थियो, अब नदी विस्मरणको युग आएको लाग्छ । यो सिंगो बदलावमा मान्छे र प्रकृतिबीचको सम्बन्धमा आएको बदलाव र संस्थाका रूपमा राज्यको भूमिका विचारणीय छ । प्रकृतिसँगै सहअस्तित्वमा अगाडि बढेर पर्यावरणमा मानव जीवनको सहभागिता र सहचारिताको महत्त्वको प्रयास व्यक्तिगत वैचारिक समझबाट सुरु भएर सामूहिक सरोकारतर्फ बढ्ने हुनुपर्छ ।
यस्तोमा, स्थानीय ज्ञान परम्परा र सामूहिक बौद्धिकतालाई सम्मान दिँदै पर्यावरणको क्षेत्रमा लामो समयसम्म संलग्न नदी–प्रहरीसँगको संवाद एक महत्त्वपूर्ण पाइला हुन सक्छ । ‘अहिले कर्जा लिएर खर्च गर्ने र भविष्यमा मरीमरी चुक्ता गर्ने’ सोचमा हामी बढ्दै गएका छौं । अहिले नेपालको जति जनसंख्या छ, आउने पचास वर्षमा त्यसमा कति थपिने हो ? वातावरणमा बदलाव एक भयानक यथार्थ हो । मान्छेको जीवनशैली खतरामा छ, किनभने जीडीपी बढाउने झोंकमा दौडिएका छौं ।
पर्यावरण पत्रकार रमेश भुसालले आफ्नो पुस्तक ‘छालबाटो : कैलाशदेखि गंगासम्म’ मा लेखेका छन्, यो यात्रा गरिएका ठाउँको समाजशास्त्रीय अवलोकन हो । तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गंगासम्मको त्रिदेशीय नदी यात्राले खासगरी नेपाली समाजलाई आधुनिकता र विकासले के असर पारेको छ ?
समाजमा कर्नालीको ठाउँ कहाँ र कति छ ? कर्नालीको किनारैकिनार अर्थात् शिरदेखि पुछारसम्म हिँडिराख्ने–बसिराख्ने ती कथाले यस्तो दुनियाँमा लग्छन्, जहाँ कर्नाली एक अहम् भूमिकामा छ । तर यो नदी त्यस क्षेत्रका बासिन्दाबीच जति अपरित्यक्त छन्, त्यतिकै उपेक्षित पनि । जति यसलाई माया गर्नेहरू छन्, त्यतिकै विवश र बेचैन पनि ।
यसले कर्नालीको अविरलता देखाउँछ, आधुनिक विकासको अन्यमनस्क पनि । यस पुस्तकले कर्नालीको सौन्दर्य पक्षभन्दा पृथक् त्यसको समस्याका बारेमा आलोकित गरेको छ । कर्नालीबारे लोकजीवनमा व्याप्त मिथ, आख्यान र चरित्र उजागर गरिएको छ । बाँधिन बाँकी नदी कर्नालीको कथा लेख्ने रमेश भुसालको भनाइ घतलाग्दो छ– ‘मान्छे आफूमात्रै पृथ्वीमा थपिएको छैन, उसले अरू धेरै कुरा पनि थपेको छ । उसले अरूलाई सिध्याएर आफ्नो साम्राज्य खडा गरिरहेको छ । त्यसरी उसले अरूलाई सिध्याउँदै लगेको एउटा स्रोत नदी हो ।’
नेपाल नदीहरूको देश हो । तर नदीबारे हामी कहिले सोच्छौं ? जब बाढी–विपद् आउँछ, तब सार्वजनिक विमर्शमा नदी चिन्तन सुरु गर्छौं । विभिन्न पर्व–अनुष्ठानका मेला नदी घाटका तस्बिर विभिन्न माध्यमबाट हेर्छौं । यदाकदा नदी फोहोर भएको, दोहन भएको वा पुल बनेको–नबनेको वा अधुरो रहेका खबरले नदी हाम्रो स्मरणमा ताजा भएर आउँछ ।
नदी किनारमा दुर्घटना हुँदा पनि नदीको सम्झना हुन पुग्छ । नत्र नदी हाम्रो दैनन्दिनको सारणीबाट हराइसकेको छ । जबकि नेपालमा नदीहरूको इतिहास त्यस संस्कृतिको जन्म र उदयको प्रमाण हो, जो आज ‘सामासिक संस्कृति’ कहलिन्छ । यी नदीहरू बहुभाषिक, बहुधार्मिक र मिश्रित नेपाली संस्कृतिका प्रत्यक्ष प्रमाण हुन् ।
कुन नदीलाई यो त अविवाहित हो भनियो ? कसलाई माई भनेर आह्वान गरियो ? कुन नदी लोकभाकाहरूमा बढी अभिव्यक्त भयो ? यसका पछाडि शताब्दीयौं पुरानो देशज ज्ञान लुकेको छ । नदी मर्नु भनेको स्थानीय खोज, परम्परा, अर्थतन्त्र, तटीय पारिस्थितिकी सन्तुलन समाप्त हुनु हो ।
नदीबारे लेख्ने र बोल्ने को छ ? यसलाई चार प्रकारमा वर्गीकृत गर्न सकिन्छ । पहिलो पानीजीवी, जो भू–राजनीतिक र दाताहरूको रुझानमा जलसंसाधनबारे अभिमत राख्छन् । दोस्रो, पानीकर्मी, जो नदी व्यवस्थापन, पानी आपूर्ति जस्ता फाँटमा सक्रिय छन् र
आफ्नो लोटाअनुसार नदी चिन्तन गर्छन् । तेस्रो पानीमुखी छन्, जो जलवायु संकटसँग जोडेर यसलाई हेर्छन् र पानीलाई एक उदाउँदो बजार ठान्छन् । चौथो पानीधर्मी छन्, जो नदी, समाज र समाज विज्ञानलाई एक फराकिलो क्यानभासमा राखेर हेर्छन् । नेपालमा पानीजीवीहरूको रिमझिममा पानीधर्मीहरू डिबियाको रोशनीझैं देखिएका छन् । नदीहरूमाथि शोध, जसमा समुदायको भूमिकाको मूल्यांकन होस्, त्यो काम पातलै भइरहेको छ ।
नदी विशेषसँग जोडिएर आन्दोलन पनि चले, चल्दै छन् । कुनैमा यो खेतीपाती हो लाग्छ त कुनैमा एक संकल्प पनि । नदी व्यवस्थापनका नाममा तटबन्ध, जलविद्युत्का लागि बाँध निर्माण क्रम बढेपछि समुदायका तर्फबाट ठाउँ विशेषमा चिन्ता र चासो बाक्लिएको छ । बहुतहको सरकार अस्तित्वमा आएपछि उनीहरूमा नदीमाथि एकलौटी अधिकारको भावना टुसाएको छ ।
यी सरकारले आफूलाई नदीका नियतिको सर्वेसर्वा मान्न थालेका छन्, तिनले बनाएका ऐन–कानुनले नदीको सार्वभौमिकतालाई काबुमा राख्न खोजेको देखिन्छ । यसले नदीको जीवनचक्रबाट समुदाय टाढिएको पाइन्छ । नदीसँग जोडिएर चलेका आन्दोलन, अभियान केलाउँदा सरसफाइ, पुल निर्माण, दोहनमाथि रोक, अतिक्रमण नियन्त्रण, जलविद्युत् परियोजनामा हिस्सेदारी जस्ता पक्ष बढी चर्चामा आएका छन् ।
समग्रतामा नदी विमर्श कमजोर छ । नदीका सुसाइ सार्वजनिक विमर्शमा असरकारी छैन । जसरी भूगोलमा सानो र ठूलो रहे पनि कुनै मुलुकको सार्वभौमिकता ठूलो–सानो हुँदैन । ठीक यसैगरी नदीहरूको आकारले उसको अस्तित्व र अस्मितामा अन्तर गर्दैन ।
स्थानीय र प्रदेश सरकारहरूले नदीको अभिलेखीकरणमा पहल देखाउनुपर्ने हो । विभिन्न ठाउँमा प्रोफाइल निकालिएका छन्, तर तिनमा केवल तिनका नाम उल्लेख छ । नदी र समुदायको पारस्परिकता, नदीको बहाव क्षेत्रमा फेरबदल, रैथाने ज्ञान, जलस्तर तुलना, बाढीबारे ‘ओरल हिस्ट्री’जस्ता पक्षबारे सूचना संकलन स्थानीय तहबाटै तथ्यपरक हुन सक्छ ।
नदीहरूमा कुनै सम्भ्रान्त हुँदैन । जुन ठाउँमा जुन नदी छ, त्यसको आफ्नै महत्त्व छ । अहिले साना नदीहरू स्वयं विभेदका सिकार भएका छन् । नेपालका कैयौं ठूला नदीको तुलनामा साना नदी स्थानीय बासिन्दाको स्मृति परम्परामा गहिरो छन् । बहुतहको सरकार आएपछि उम्मिद गरिएको थियो, नदीको जमिनले न्याय पाउँछ तर व्यवहारमा अतिक्रमण संस्थागत भएको छ ।
भारतमै कतिपय धार्मिक व्यक्ति नदी जोगाउनमा अगाडि आएका छन् । हामीकहाँ राजनीतिक प्रयोगशालाका रूपमा नदी संघर्ष बढी हुने गर्छ । नदी र राजनीतिको साइनो छर्लंग छ । तर सवाल हो, राजनीतिले नदीमाथि न्याय गर्यो कि गरेन ? अन्धाधुन्ध बालुवागिटी दोहन, भूमाफियाको संरक्षण, नदी प्रवाह क्षेत्रमा स्थायी संरचना निर्माणले ससाना नदी मर्कामा छन् । नदीसँगै हुर्किएर बाँचेका समुदायलाई वैकल्पिक सामाजिक–आर्थिक सन्तुलन सवाल गौण बनाइएको छ । नदी साना होउन् वा ठूला, त्यो एक जीवित इकाइ हो ।
जो समाज नदीलाई ‘मैया’ भनेर पुण्य लाभ लिन खोज्छ, ऊ नदीको क्रन्दन सुन्दैन । कस्तोसम्म देखिएको छ भने नदीमा पानी छैन, नालामा परिणत भएको छ तर सौन्दर्यीकरणका नाममा पूजाघाट वा श्मशानघाट बनाइएको छ । नदीको पारिस्थितिकीमा आएको बदलावको प्रभाव नदी किनारका बासिन्दामा ज्यादा परेको छ । नदीका जलाधार क्षेत्रले मौलिक जीवनशैली, आर्थिक प्रणाली, भाषा–संस्कृतिलाई अस्तित्व दिएका छन् । कोशी र कर्णालीका बासिन्दाबीचको भिन्नताले यही तथ्य स्थापित गर्छ ।
भोरहर अब ब्युँतिँदैन । भोरहर खोलाको मृत्यु–लेखले नदी–नागरिक संवादमा थोरै भए पनि भोर ल्याउन सकोस् !
