आत्मसम्मान र इमानका प्रतीक

दमन दाइको स्वाभिमानलाई कसैले चुनौती दिन सक्दैनथ्यो । उहाँले ‘सत्ताको सुख’ कहिल्यै भोग्नुभएन ।सुविधाहरूसँग उहाँ सधैं तर्सिनुहुन्थ्यो । उहाँ कर्मयोगी हुनुहुन्थ्यो ।

मंसिर ३, २०८१

किशोर नेपाल

A symbol of self-respect and integrity

शनिबार बिहान दमन ढुंगानासँग भेट्दा उहाँको अनुहार किञ्चित उज्यालो थियो । दिल्लीमा उपचार गरेर फर्किनु हुँदाको चहक थिएन अनुहारमा । मसँग कुरा गर्दा अलिकति उत्साही हुनुहुन्थ्यो । आवाज क्षिण थियो । भूपादिदी (भुवन ढुंगाना) ले भन्नुभयो– बिस्तारै सन्चो हुँदै छ । अहिले त आफैं बाथरुम जानुहुन्छ...।

आइतबार अपराह्न २ः५८ बजे मेरा मित्र राधेश्याम अधिकारीले फोन गर्नुभयो– दमन दाइ रहनुभएन । मेरा लागि यो अप्रत्याशित समाचार थियो । म हतारहतार फ्रन्टलाइन अस्पताल पुगें । उहाँको पार्थिव शरीर देखेपछि म त्यहाँ टिक्न सकिनँ । सोचें– देशबाट एक जना भलाद्मी लोकतन्त्रवादी शून्यमा विलीन भयो ।

दमन दाइसँग मेरो निकटता सानो उमेरदेखिको हो । म दमन दाइ र उहाँका मित्रहरूले खोलेको आदर्श विद्याश्रममा पढेर हुर्किएको हुँ । उहाँका पिताजी केदारनाथ ढुंगाना शिक्षाप्रेमी हुनुहुन्थ्यो । हामी गाउँका केटाकेटीहरू उहाँसँग हिसाब र अंग्रेजी सिक्थ्यौं । हाम्रो शिक्षामा उहाँको गम्भीर चासो थियो । त्यतिबेला दमन दाइ लक्का जवान भइसक्नुभएको थियो । उहाँको अनुहारमा एक प्रकारको आधिकारिकता थियो । उहाँको नजिक जान हच्किन्थ्यौं हामी । तर, उहाँको छायामा हुर्किंदै जाँदा हाम्रो हच्किने बानी हट्यो ।

त्यतिखेर हामीलाई नेपाली कांग्रेससँग दमन दाइको राजनीतिक संलग्नताको ज्ञान थिएन । उदार विचारका उहाँका पिताजीलाई यसको ज्ञान थियो । उहाँका लागि यो प्रसन्नताकै विषय थियो । पिताजी स्वयं पनि राजनीतिमा चासो राख्नुहुन्थ्यो ।

दमन दाइले एक पटक मलाई सुनाउनुभएको थियो– केटाकेटीमा दादा–दिदी (दमन दाइको घरमा बा–आमालाई दादा–दिदी भनेर सम्बोधन गरिन्थ्यो) मलाई चेयरम्यान भन्नुहुन्थ्यो । मेरो स्वभाव अल्छी भनुँ कि फुर्तिलो नभएको भनुँ, कतै केही सोचेर बस्ने भनुँ कि के भनुँ, कसैले केही अह्रायो भने अर्कोलाई काम अह्राएर आफू जुरुक्क उठ्थें । मेरो त्यही स्वभावलाई देखेर उहाँहरू मलाई चेयरम्यान भन्नुहुन्थ्यो होला ।

दमन दाइको जीवन मानिसहरूले सोचेजस्तो सहज थिएन । बडो संघर्षपूर्ण जीवन थियो उहाँको । उहाँ अविचलित योद्धा हुनुहुन्थ्यो । उहाँले सक्रिय पत्रकारिता पनि गर्नुभयो । गोपालदास श्रेष्ठ, मणिराज उपाध्याय, गोविन्द वियोगी, मनिन्द्रराज श्रेष्ठहरूसँग उहाँको उठबस थियो । उहाँले गोपालदास श्रेष्ठको सम्पादनमा प्रकाशित हुने ‘दि कमनर’ अंग्रेजी दैनिक पत्रिकामा लामै समय काम गर्नुभयो । नेपालको पहिलो समाचार एजेन्सी नेपाल संवाद समितिमा पनि उहाँको संलग्नता थियो । जीवनयापनका क्रममा उहाँले विदेशी पत्रपत्रिकाका लेखहरूको अनुवाद पनि गर्नुभयो । उहाँ कवि र गद्यकार हुनुहुन्थ्यो । रोमान्टिक मुडमा उहाँ गुनगुनाउने गर्नुहुन्थ्यो– ‘तिमीसँग मेरो जीवनको एक साँझ बित्यो ।’

काम जे जे गरे पनि दमन दाइ मूलरूपले राजनीतिक प्राणी हुनुहुन्थ्यो । नेपालको विद्यार्थी आन्दोलनलाई संगठित गर्न उहाँले निकै कडा परिश्रम गर्नुभएको थियो । प्रजातान्त्रिक समूहबाट त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनका अध्यक्ष चुनिएका नवराज सुवेदीको मन राजाको पञ्चायती व्यवस्थातिर आकर्षित भएपछि दमन ढुंगानाकै अग्रसरतामा उनका विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर पदबाट हटाइएको थियो । आजका कुनै पनि वरिष्ठ नेताहरू दमन दाइको प्रभावबाट मुक्त छैनन् । प्रजातन्त्रवादीहरूका विरुद्ध पञ्चायतले कठोर नीति अपनाउँदा काठमाडौंको प्रजातान्त्रिक राजनीतिमा शंकर घिमिरे, कमल चित्रकार र दमन ढुंगाना हाबी थिए ।

दमन दाइ नेपाली लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो । उहाँका लागि व्यक्तिको स्वतन्त्रता सबैभन्दा प्रिय थियो । उहाँ भन्नुहुन्थ्यो– स्वतन्त्रताको लडाइँ कसैका लागि लड्ने होइन, आफ्नै लागि लड्ने हो । तिमी र म सँगै बस्ने भएकाले स्वतन्त्रता तिम्रो पनि भयो र मेरो पनि भयो । मानिसले जन्मिँदै पाएको प्राकृतिक अधिकार प्राप्तिका लागि संघर्ष गर्दै हामी जब सामाजिक–राजनीतिक जीवनमा प्रवेश गर्दछौं, त्यसबेला संगठनको आवश्यकता हुन्छ । मान्छे पहिले आफू हुन्छ, अनि पछि परिवार–छोराछोरी भनेर सोच्छ । हामी सँगसँगै बस्यौं भने भोक जसलाई लागे पनि त्यो भोकको अनुभूति सबैलाई हुन्छ ।

दमन दाइ भन्नुहुन्थ्यो– अध्ययनका क्रममा संसदीय प्रजातन्त्र भनेर मैले जसरी बुझेको थिएँ, संसद् बलियो भयो भने त्यसले सबै काम गर्छ । बजेट बनाउने, कार्यक्रम बनाउने, नीति बनाउने, ऐन बनाउने, यी सब कुरा राज्यका दैनिकी हुन् । जनताबाट चुनिएर नआएका राज्य शासकले पनि त्यो काम गर्थे । तर, जनताको आवाज अभिव्यक्त गर्ने काम त संसद्ले गर्नुपर्दछ । सरकारलाई उत्तरदायी बनाउने पक्ष त संसद् नै हो । त्यही कारण लोकतन्त्र उत्तरदायी व्यवस्था हो । एक जनाको हुकुमी शासन र प्रजातान्त्रिक शासनमा त्यति फरक हुँदैन । लोकतान्त्रिक हिसाबले चुनिएका प्रधानमन्त्री पनि अधिनायकवादी र सर्वसत्तावादी भएको हामीले देखेका छौं ।

२०४८ सालको चुनावपछि एउटा पत्रिकाले दमन ढुंगाना किन मन्त्री हुनुभएन भनेर समाचार दिएको थियो । त्यो समाचारका बारेमा दमन दाइले मलाई बताउनुभएको थियो, मैले गिरिजाप्रसाद कोइरालालाई सहयोग नगरेकाले उहाँले मलाई नलिएको ‘व्यंग्यात्मक’ टिप्पणी थियो त्यो । तर दमन दाइले पार्टीमा सक्रिय रहँदासम्म पार्टी अनुशासन कहिल्यै उल्लंघन गर्नुभएन । उहाँलाई पार्टीले टिकट दिएको थियो र उहाँ पार्टीकै नाममा जितेर आउनुभएको थियो । चुनावमा काठमाडौंबाट दमन दाइ एक्लै कांग्रेसबाट जित्नुभएको थियो । उहाँको अलिकति दाबी पनि थियो, काठमाडौंको प्रतिनिधित्व हुनुपर्‍यो भन्ने । पछि उहाँ प्रतिनिधिसभाको सभामुख हुनुभयो । उहाँले सरकार सत्तापक्षको हुन्छ, संसद् प्रतिपक्षको भन्ने मान्यता स्थापित गर्नुभयो ।

दादा–दिदीले भन्नुभए जस्तै उहाँ साँच्चै संसद्को ‘चेयरम्यान’ हुनुभयो । राष्ट्रिय जनआन्दोलन २०४६ ले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र पुनःस्थापित गरेपछिको पहिलो सर्वाधिक शक्तिशाली सभामुख ।

दमन दाइमा गहिरो दार्शनिक चेतना थियो । उहाँ बौद्धिक छलफलहरूमा रमाउनुहुन्थ्यो । यसै क्रममा उहाँले समकालीन राजनीतिको विचारोत्तेजक विश्लेषण गर्दै एक पटक भन्नुभएको थियो– मानिसको सबभन्दा प्रिय वस्तु हो, उसको ज्यान । सामान्य भोक र तृष्णा मानिसको मात्र होइन, कुकुर, बिरालो, बाघ र स्याल सबैको उस्तै हो । मानिसहरू आफ्नो ज्यान बचाउन जुनसुकै संघर्ष र प्रतिकार गर्न तयार हुन्छन् । हो, उनीहरूमा चेतनाको अभाव हुन सक्छ । त्यो चेतनाको प्रसार गर्ने काम राज्यको हो । स्वतन्त्र सञ्चारमाध्यमले राज्यको कामको निगरानी गर्दै चेतना र ज्ञान फैलाउने हो । चेतनाको प्रसार नगरी ज्यानको जिम्मा लिनु भनेको राज्यको हास्यास्पद कदम हो । वास्तविक कुरा के हो भने, अहिले देशको प्रमुख समस्या कसैले केलाउन सकेको छैन ।

एउटा क्रान्ति भयो, ठिक छ । संसदीय लोकतन्त्र आयो । त्यतिले पुगेन । गणतन्त्र आयो । तैपनि आजको राज्यको संरचनामा कुनै रूपान्तरण भएको छैन । चलनचल्तीको शब्दमा भन्ने हो भने राज्यसत्ताको हस्तान्तरण त भयो, राज्यको रूपान्तरण भएको छैन । बारम्बार संघर्ष, क्रान्ति, विद्रोह भइसक्दा पनि किन हुन सकेको छैन राज्यको रूपान्तरण ? नभएको कारण त स्पष्ट नै छ ।

उहाँको मान्यता थियो– सत्रौं–अठारौं शताब्दीमा बेलायत र फ्रान्सबाट सुरु भएका कतिपय राजनीतिक विचारधारा तेस्रो भनिने विश्वका लागि बिलकुलै उपयुक्त छैनन् । अहिलेसम्म पनि हामी ती विचारधाराभन्दा अगाडि बढ्न सकेका छैनौं । एसियाली परिस्थितिलाई साँचो अर्थमा बुझेर मौलिक परिवर्तन गर्न खोजेका थिए, मोहनदास करमचन्द गान्धीले । कार्ल मार्क्सले संसदीय व्यवस्थाको कडा आलोचना गरेका छन् । तर, उनको भन्दा गम्भीर भाषामा गान्धीले आलोचना गरेका छन्, संसदीय व्यवस्थाको । गान्धीले भनेका छन्– राज्यको सम्पूर्ण शक्ति जनतालाई दिनुपर्छ ।

दमन दाइको विचार–यात्रामा सधैं सहभागी हुन नपाए पनि उहाँका लोकतान्त्रिक विचारसँग म कहिल्यै अपरिचित हुन परेन । राजनीतिक चिन्तनका हिसाबले दमन दाइसँग असहमतिको गुन्जायस पनि थिएन ।

अध्ययनशील स्वभाव र ज्ञान शक्तिले उहाँलाई मजबुत बनाएको थियो । उहाँको स्वाभिमानलाई कसैले चुनौती दिन सक्दैनथ्यो । दमन दाइले ‘सत्ताको सुख’ कहिल्यै भोग्नुभएन । सुविधाहरूसँग उहाँ सधैं तर्सिनुहुन्थ्यो । उहाँ कर्मयोगी हुनुहुन्थ्यो ।

आफ्नै हातले आफ्नो दाइको ‘अविच्युरी’ लेख्नु निर्मम काम हो । सम्झनाहरू यति धेरै छन्, तिनलाई यो सानो सम्झनामा लिपिबद्ध गर्न सम्भव छैन । दमन दाइसँग मैले दुःख र सुख दुवै सँगसँगै भोगेको छु । मेरो जीवनमा उहाँको अभाव खट्किइरहनेछ । 

किशोर किशोर नेपाल वरिष्ठ पत्रकार हुन् । उनी साहित्यका अलवा राजनीति र समाजका विविध आयामबारे लेख्छन् । उनको ‘मेरो समय’, ‘मिडिया:सिद्धान्त, सूत्र र प्रयोग’, ‘नेपालका निधि’ जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully