हाम्रा राजनीतिक नेतृत्वहरू कोहीभन्दा कोही कमी देखिँदैनन् । तर, दुई दिनमै तिनको बोली फेरिन्छ । चुनावका प्रतिबद्धता त तिनले बिर्सिसकेका हुन्छन् ।
बोली चुस्त हुनु भनेको स्पष्ट बोल्नु हो । अथवा साँचो र सही बोल्नु हो । तर, बोली अपुष्ट हुँदैमा दोहोरो अर्थ लाग्ने पनि हुँदैन । सुस्त मनस्थिति भनेको शारीरिक रूपमा सबल तर सोचमा सुस्तता, गति कम भएको बुझिन्छ । राजनीतिक दलका नेतृत्वको बोली र व्यवहार यही चुस्त र सुस्तको वरिपरि रुमलिएको छ ।
लामो समयदेखि सीमित पार्टीका सीमित नेतृत्वको हातमा देशको राजनीति घुमिरहेको छ । आन्दोलनको परिणामस्वरूप व्यवस्थामा ठूलो परिवर्तन भयो तर देश र जनताको अवस्थामा परिवर्तन आउन सकेन । अस्थिर राजनीतिका कारण विभिन्न खालका गठबन्धन बन्ने र भत्किने खेल चलिरह्यो ।
सत्तामा रहँदा नदेखिएका राष्ट्रियताका सवाल, भ्रष्टाचार, बेरोजगारी, बेथिति, विपद्, मूल्यवृद्धि, हिंसात्मक क्रियाकलाप प्रतिपक्षमा पुगेपछि उठान गरिन्छ । लाग्छ, उनीहरू जिम्मेवार निकायमा भएको भए सबै समाधान हुने थियो । विडम्बना, जब गठबन्धनको काँध फेरिन्छ र तिनै सत्तामा पुग्छन् अनि ‘तैं चुप मै चुप’ ! त्यो चुस्त बोलीलाई सत्तामा पुगेपछि केले बन्द गराउँछ होला ? बोली चुस्त हुनका लागि सोच पनि चुस्त हुनुपर्ने हो । सोचअनुसार योजना, विचार, नीति निर्माणमा काम देखिनुपर्ने हो । विपक्षमा छँदा देशका समस्या, सिमानाका सवाल, भ्रष्टाचार, अनियमितताका विषय उठान गर्नेहरू जब सरकारमा पुग्दछन् अनि बिर्सन्छन् । सहकारीका विषय हुन् वा भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु, एनसेल जस्ता अनेक विषय उठ्दैनन् । बा, दाइ, भाउजू वा देवर सबैमा एउटै प्रवृत्ति देखिनु दुःखद हो ।
सरकार फेरिनु केही त्यस्तो चमत्कार भएकै होइन । टाउको फेरिएको हो, सोच फेरिएको होइन । पात्र फेरिएको हो, प्रवृत्ति फेरिएको होइन । जब सरकारको तातो सिटमा आसन ग्रहण हुन्छ, तब बन्द हुन्छ बोली । केले टालिन्छ त्यो आवाज ? कुर्सीले ? जिम्मेवारीले ? सहमतिले ? लाजले कि स्वार्थले ? कि पदको लोलुपताले ? यस्ता विविध प्रश्नको उत्तर भेटिएको छैन । सरकारको स्वाद चाखेर कुनै दल बाहिरिन्छ, तब हरेक समस्याको समाधानको कुरा उठ्न थालिहाल्छ । चाहे त्यो राष्ट्रिय सुरक्षाको विषय होस्, युवा शक्तिलाई बिदेसिन रोक्ने होस् या भ्रष्टाचार रोक्ने, रोजगारी बढाउने, सहकारी समस्याको समाधान, अपराधीलाई कारबाही जस्ता विषयमा विपक्षका अनेक योजना सुनिन्छन् । यो कस्तो विडम्बना ! आफू नेतृत्वमा नहुँदा समाधानका उपाय जान्नेहरू जब समाधान गर्न सक्ने ठाउँमा पुग्छन्, तब समाधानलाई समस्या देख्न थाल्छन् । कसैलाई कारबाही अगाडि बढाऊँ, सरकार ढल्ने चिन्ता । कसैको फाइल खोलौं, गठबन्धनको सम्झौता भंग हुने त्रास । गिरीबन्धुको कुरा गरौं, भुटानी शरणार्थी प्रकरण ब्युँतने डर । निष्पक्ष छानबिन गर भनौं, अकुत सम्पत्तिको खोजतलासमा आफैं फसिने भय ।
एउटै व्यक्ति सबै विषयको ज्ञाता नहुन सक्छ । तर, जिम्मेवार तहमा पुगेपछि सबै विषयको ज्ञाता भइदिने चलन छ । चाकडी र चाप्लुसीहरूको संरक्षणले न राजनीतिक संगठन बलियो हुन्छ न अन्य संघसंस्थाको कार्यसम्पादन प्रभावकारी बन्न सक्छ । इमानदार र क्षमतावान् व्यक्ति चाकडी र चाप्लुसीको पछाडि लाग्दैन तर त्यस्ता व्यक्ति अवसरबाट वञ्चित भइरहेका हुन्छन् । नैतिकवान् व्यक्तिले जे बोल्छ त्यही गर्छ र जे गर्छ त्यही बोल्छ । यहाँ त जे गरिँदैन त्यो बोलिन्छ र जे बोलिन्छ त्यो गरिँदैन । बोलेको कुरा गरेको भए देशलाई स्विट्जरल्यान्ड बनाइन्छ भन्नेहरू चार/पाँच पटक प्रधानमन्त्री भए । देशमा विकासको अग्रगामी छलाङ मार्छौं भन्नेहरू पनि सत्तामा पुगे । पानीजहाज र घरघरमा ग्यासको पाइप ल्याउँछु भन्नेहरू सत्तामै छन् । देशमा स्वास्थ्य र शिक्षा निःशुल्क बनाउँछु भनेर गफ दिनेहरूले पनि सत्ताको पालो पुर्याए । खै त वाचा पूरा भएको ?
नीतिसंगत, नियमसंगत, प्रक्रियागत, सिद्धान्तको पालना गर्नु भनेको सुन्दा कति राम्रो लाग्छ । आफैंले हस्ताक्षर गरेर ल्याएको देशको मूल कानुनअनुसार समावेशिताको सुविधा कार्यान्वयन पूर्ण रूपमा कुनै पार्टीले गरे त ? कार्यान्वयन गर्न नसक्ने कानुनको तर्जुमा गर्नु केका लागि ? कानुन बनाउने तर कार्यान्वयन नगर्ने यस्तो छुट कसले दियो ? हरेक क्षेत्रमा एक निश्चित समयपछि अवकाशको प्रावधान रहन्छ । एउटा यस्तो क्षेत्र छ, जहाँ मृत्युशय्या पुग्दासम्म पनि अवकाशको चाहना हुँदैन । पटकपटक परीक्षण भए पनि जिम्मेवारीमा रहँदाको आत्ममूल्यांकन तिनमा छैन । एउटै व्यक्ति सधैं नेतृत्व ओगटेर बस्ने हो नयाँ नेतृत्वले कसरी अवसर पाउँछ ? जवाफदेही हुनका लागि पनि नेतृत्व पुस्तान्तरण जरुरी छ ।
हाम्रा राजनीतिक नेतृत्वहरू कोहीभन्दा कोही कमी देखिँदैनन् । तर, दुई दिनमै तिनको बोली फेरिन्छ । चुनावका प्रतिबद्धता त तिनले बिर्सिसकेका हुन्छन् । त्यसैले नेतृत्व मात्रै नभई कुनै पनि दलका प्रतिनिधिले बोलीमा लगाम लगाउन जरुरी छ । झूटा आश्वासनले सर्वसाधारण जनता अघाइसके ।
