अन्धकारपूर्ण बन्दै गएको विश्व परिवेशमा फेरि पनि सुझबुझपूर्ण राजनीति र लोकतन्त्रको कुनै विकल्प भने छैन
निर्वाचनका दृष्टिले सन् २०२४ अभूतपूर्व वर्ष रह्यो । किनकि यस वर्ष ७० भन्दा बढी देशमा विश्वको आधाभन्दा धेरै जनसंख्याले मतदान गरे । विश्वव्यापी व्यापार र भूराजनीतिक स्थिरताका लागि यो वर्ष निर्णायक र ऐतिहासिक मोड मात्र होइन, अमेरिकी निर्वाचनसम्म आइपुग्दा त चिरकालसम्मकै लागि विश्वभर उच्च–जोखिम र अस्थिरताको चेतावनी दिएको छ ।
मतगणना सुरु हुनेबित्तिकै ट्रम्पका कट्टर आलोचक न्युयोर्क टाइम्सका स्तम्भकार ब्रेटस्टेफन्सले चेतावनी दिए, ‘सपना पूरा गर्नुभन्दा दुःस्वप्नबाट बच्नेमा ध्यान दिनुहोस् । चीनले ताइवान कब्जा गर्न खोज्न नपरोस्, इरानले आणविक हतियार हासिल नगरोस् र रुसले युक्रेन कब्जा गरी अघि बढ्न नपाओस् भनेर ध्यान केन्द्रित गर्नुहोस् । यी खतराहरूमा तपाईंले प्राथमिकता राख्नु बुद्धिमानी हुनेछ । (स्टेफन्सः नोभेम्बर ६) । अमेरिकाले दाबी गर्ने विश्वका लागि सबैभन्दा ठूलो चिन्ता यही कुरामा छ, तर ट्रम्पको पुटिनसँगको हिमचिम र यसअघि नै उनको युक्रेन युद्ध बन्द गर्ने प्रतिबद्धताले कुन रूप लिन्छ भन्ने कुरा उनलाई बाहेक कसैलाई अनुमानसमेत छैन ।
लोकप्रियतावादले समाजलाई ‘जनता’ र ‘जनताविरोधी’ शक्तिका रूपमा विभाजन गर्दछ । लोकप्रियतावाद आफैंमा दक्षिणपन्थी वा वामपन्थी विचारधारमा निर्भर गर्दैन । दुवैमध्ये कुनै एकलाई वा दुवैलाई मानेजस्तो र ठाडै विरोध गरेजस्तो प्रवृत्ति देखाउँछ । लोकप्रियतावाद आफ्नो विशेष सञ्चार र अभिव्यक्ति शैलीको लागि प्रसिद्ध छ । करिश्मायुक्त नेता, जसले सिधै जनतासँग अपिल गर्छ । यसलाई लोकतन्त्रका लागि खतरा ठानिन्छ । प्रायः यो अधिनायकवादी र लोकतान्त्रिक संस्थाहरू विरोधी हुन्छ । लोकप्रियतावादबारे गिइनो जर्मानी, टर्कुआटो डी टेला र रुथ बोडक जस्ता विद्वान्हरूले विभाजनकारी भाषण, संरक्षणवादी आर्थिक उपायहरू र अधिनायकवादी दृष्टिकोण अघि सारेर लोकतान्त्रिक संरचनाहरूलाई अस्थिर बनाउने चेतावनी दिएका छन् ।
त्यस्तै, अर्नेस्टो लाक्लाउ, चान्तल मौफसमेतका विद्वान्हरूले सत्तावादी वर्गको प्रभुत्वलाई चुनौती दिएर आधारभूत जनताका आवश्यकता र मागहरूलाई मूलधारमा ल्याउने राजनीतिका रूपमा लोकप्रियतावादको व्याख्या गरेका छन् । उनीहरूले लोकप्रियतावादले न्याय र समानताको माग गर्दै राजनीतिक छलफलमा मानिसहरूलाई संलग्न गराएर लोकतन्त्रलाई थप प्रवर्धन गर्न सक्छ भन्ने नवमार्क्सेली विचारधारालाई लोकप्रिय रूपमा लिएका छन् । ‘लोकप्रियतावादका विभिन्न रूपहरूका ऐतिहासिक उदाहरणहरूमा अमेरिकी न्यु डिलवाला अभियानले अधिनायकवादी खतराभन्दा अमेरिकी लोकतन्त्रलाई १९३० को महामन्दीबाट बचाउन मद्दत गर्यो । त्यसैगरी अहिलेको लोकप्रियतावादी म्यापमा लोकतन्त्रलाई थप उत्तरदायी, न्यायसंगत र समावेशी बनाउँदै यसलाई जोगाउन र रक्षा गर्न खोज्नेमा बर्नी स्यान्डर्स, वारेन, पोडेमोस र सिरिजा रहेका छन् ।’ (बुगारिक :२०२१)
लाक्लाउ र मौफहरूको व्याख्यामा फ्रान्सको नेसनल र्याली वा अस्ट्रियन फ्रिडम पार्टी, हंगेरीका भिक्टर ओरबानको पार्टी संकीर्ण राष्ट्रवादी र आप्रवासीविरोधी रटनाको दक्षिणपन्थी राजनीति हो । वामपन्थी लोकप्रियतावादीहरूमा ग्रिसको सिरिजा र पोडेमोस, बोलिभियाको ओलेन्देको बोलिभारन अभियानहरूले ऐक्यबद्धता र अन्तर्राष्ट्रियवादमा केन्द्रित रहेर आप्रवासनमैत्री र थप समावेशी नीतिहरूको पक्षमा गरेको वकालतलाई अघि सारेका छन् । तर अहिले विश्वमा देखिएको लोकप्रियतावादको दबदबा यी दुवै विचारधाराभन्दा धेरै टाढाको दक्षिणपन्थउन्मुख ‘प्यारानोइड डिक्टेरसिप’ हो । (रिचार्ड हफस्टेड्टरः १९६४)
हालसालै कोलम्बिया विश्वविद्यालयका इतिहासका एक प्रख्यात प्राध्यापकले ट्रम्पको उदय र उनको अत्यन्तै संशक दृष्टिकोण र राजनीतिक शैलीका बारेमा गहिरो गरी अनुसन्धान गरेका छन् । ‘अमेरिकी राजनीति प्रायः क्रोधित मनहरूका लागि एउटा मैदानजस्तो रहँदै आएको छ । हालका वर्षहरूमा हामीले क्रोधित मनहरूको क्रियाकलाप प्रायः चरम दक्षिणपन्थीहरू माझ देखेका छौं, जसले अहिले ट्रम्पले ‘मागा’ आन्दोलनमा देखाएका छन्, सानो अल्पसंख्यकको घृणा र आवेशबाट कति धेरै राजनीतिक प्रभाव आर्जन गर्न सकिन्छ भन्ने । यसको पछाडिको मानसिकता नयाँ भने पक्कै होइन र अनिवार्य रूपमा दक्षिणपन्थी पनि होइन । मैले यसलाई ‘प्यारानोइड शैली’ भन्दछु, किनभने कुनै पनि अन्य शब्दले मेरो सोचको तीव्र अतिशयोक्ति, सन्देहपूर्णता र षड्यन्त्रकारी कल्पनाको भावना पर्याप्त रूपमा व्यक्त गर्न सक्दैन ।’
‘द प्यारानोइड स्टाइल इन अमेरिकन पोलिटिक्स’ शीर्षकको लेख प्रसिद्ध इतिहासकार रिचार्ड हफस्टेड्टरले सन् १९६४ मा लेखेका थिए— जुन बेला डोनाल्ड ट्रम्प हाईस्कुलबाट भर्खरै स्नातक हुँदै थिए— र माथिको उद्धरणमा कोलम्बिया प्राध्यापकले वास्तवमा ब्यारी गोल्डवाटर आन्दोलनको वर्णन गरिरहेका थिए । हफस्टेड्टरको लेख १९६४ को राष्ट्रपतिको चुनाव भएको महिना नोभेम्बरमा प्रकाशित भएको थियो । सन् २०१६ यताका वर्षहरूमा त्यो लेख निकै सान्दर्भिक देखिन्छ । यद्यपि प्यारानोइड शैली सदैव हाम्रो वरिपरि रहन्छ, यसको महत्त्व कहिले बढ्छ, कहिले घट्छ । लामो समयसम्म राजनीतिक परिधिमा अदृश्य जस्तै हुने र अप्रत्याशित समयमा पुनः उदाउने प्रवृत्ति यसले देखाउँछ । अहिलेलाई यसका विकल्पहीन मुख्य नेता डोनाल्ड ट्रम्प नै हुन् भन्नेमा सायदै कसैमा दुविधा होला ।
लोकप्रियतावादको ललकार
यो वर्षका निर्वाचनहरूले विश्वलाई अशान्तिपूर्ण बाटोमा लैजान्छ भन्ने चिन्ता गर्नेहरूमा हजारौंको संख्याका नीति निर्माता, विज्ञ र नोबेल पुरस्कार विजेता वैज्ञानिकहरू समेत छन् । यो वर्षको पहिलो निर्वाचन कानुनी रूपले चिनियाँ आइल्यान्ड मानिने ताइवानमा जनवरीको मतदानदेखि पछिल्लो अमेरिकी निर्वाचनसम्म आइपुग्दा अनिश्चितताको उद्घाटन र समापन गरेको मान्न सकिन्छ । ६ वटै महादेशका सबैभन्दा धेरै जनसंख्या भएका देशहरूसहित विश्वको झन्डै ५५ प्रतिशत जीडीपीलाई प्रतिनिधित्व गर्ने भूभागमा प्रदर्शित लोकरिझ्याइँवादी दबदबाले विश्वलाई हल्लाइदिएको छ । भारतदेखि मेक्सिकोसम्म, अस्ट्रिया, ट्युनिसिया, इन्डोनेसिया र एलसाल्भाडोर हुँदै गोलार्धलाई नै लोकप्रियतावादी लहरको लप्काले डढाउने त होइन भन्ने सन्त्रास सनसनी भएको छ । लोकप्रियतावादी प्रवृत्तिले पछिल्लो दशकमा जरा गाडेको समाजशास्त्री हफस्टेड्टरका शब्दको ‘प्यारानोइड प्रवृत्ति’ ले सामाजिक असन्तोष र भूराजनीतिक अस्थिरतालाई चरमोत्कर्षमा पुर्याएको छ ।
दोस्रो विश्वयुद्धपछि स्थापित भूराजनीतिक क्रम परिवर्तन हुँदै गर्दा विश्वकै अगुवा मानिएको अमेरिकी निर्वाचनले विश्वलाई विशृंखलित दिशामा धकेल्ने सम्भावना बढाएको र दुनियाँभरका साना, अस्थिर र कमजोर लोकतन्त्रलाई झन् बढी त्रसित बनाएको हुनुपर्दछ । ताइवानको डीपीपीले चीनसँगको तनावलाई बढाउँदै गर्दा ट्रम्पको अनिश्चयवादी शैलीले ताइपेई, बेइजिङ र दिल्लीलाई एकैपटक बेचैन बनाइदिएको छ । अमेरिकी–चिनियाँ चरम प्रतिस्पर्धा, रसियाकोयुक्रेनमाथिको आक्रमण र इजरायल–हमास युद्ध र तिनै नरसंहारका लासमाथि झएको अमेरिकी निर्वाचनले यसखाले युद्ध र क्रुरतालाई अरू बढी आक्रामक रूप दिने अवस्था सिर्जना भएको मान्न सकिन्छ । उत्तरी अमेरिकी मामिला र राजनीतिक जोखिम विषयका प्रमुख अर्थशास्त्री रुबेन नाइजडका अनुसार यो वर्ष सामाजिक र राजनीतिक जोखिम विश्वभर तीव्र वृद्धि हुँदै समग्र मानवीय वातावरणलाई अनिश्चितता र अस्थिरतामा धकेलेको छ ।
राजनीतिक परिवर्तनको अन्योल
वर्तमान सामाजिक–आर्थिक वातावरणले विद्यमान सरकारप्रति असन्तोषको भावनालाई सतहमा ल्याएको छ । निर्वाचन अवधिका अनिश्चितता र अस्थिरता कम्तीमा बाँकी ४–५ वर्ष अरू बढ्नेछ । लोकप्रियतावादको डरलाग्दो वृद्धि औचित्यपूर्ण उदार राजनीतिका लागि चेतावनीका रूपमा उभिएको छ । यो प्रवृत्ति २०१० देखि निरन्तर बढिरहेकै छ । गत वर्षको अन्त्यमा नेदरल्यान्ड्सका गेर्ट वाइल्डर्स र अर्जेन्टिनाका जेभियर मिलिको निर्वाचन सफलताले खतराको घण्टी बजाएको थियो । भारतमा मोदीको निरन्तरता, पुटिनको प्रलयकारी प्रवर्धन र ट्रम्पको तयारीले त्यस वरपरका लोकतन्त्रलाई लल्याकलुलुक पारेको देख्न अब धेरै समय पर्खिनुपर्ने छैन । मुख्यतः ट्रम्पले आप्रवासीहरूमाथि गर्ने दमन र अत्याचारले कुन रूप लिन्छ भन्नेमा धेरै परिणामहरू निर्भर हुनेछन् ।
अर्थतन्त्रको अवस्थाले आप्रवासन नीतिमा प्रभाव पार्ने गरेको छ । ट्रम्पकै अग्रज जर्ज बुसको कार्यकालको सुरुमा तुलनात्मक रूपमा मेक्सिकन आप्रवासीहरूको पक्षमा नीति अपनाइएको थियो । सन् २००० मा रिपब्लिकन राष्ट्रपति उम्मेदवार जर्ज बुसले कानुनी आप्रवासन विस्तार र गैरकानुनी आप्रवासीहरूको वैधताका लागि पहल गर्ने वाचासहित हिस्प्यानिक मतदाताहरूलाई आकर्षित गरे । तर सेप्टेम्बर ११ का घटनाहरूले पूर्णरूपमा सन्दर्भ बदलिदियो र सुरक्षा र आतंकवादविरोधी युद्धको नाममा कठोर आप्रवासन नीतिहरू लागू गरियो ।
वास्तवमा २००३–२००६ को अवधिमा निर्वासित गरिएकाहरूको आधारमा २००१ र २००२ मा निर्वासित गरिएका गैरकानुनी आप्रवासीहरूको संख्या हेर्दा, बुस प्रशासनले अमेरिकाका भित्री भागबाट १० लाख ६ सय ५३ जना गैरकानुनी आप्रवासीहरूलाई निर्वासन गरेको देखिन्छ । अध्येता ब्याक्सटर र नवरेस्टेहले ट्रम्पको राष्ट्रपतिकालमा भएका निर्वासनहरूसँग तुलना गरेअनुसार ट्रम्पको कार्यकालमा केवल ३ लाख २५ हजार ६ सय ६० जना रहेका थिए । तर यस पटक उनले समूहगत रूपमा नै घेरा हालेर देशबाट लखेट्ने कुरालाई मुख्य नारा बनाएका छन् ।
दुष्परिणामहरू
रसिया र युक्रेनबीचको युद्धमा गतिरोध वा अकल्पनीय आक्रमकताले दुनियाँकै भौगोलिक नक्सा बदल्न सक्छ । हालै कजानमा भएको ब्रिक्स समिटले पाँच नयाँ सदस्यहरू थप्यो । ब्रिक्सको विस्तारको वेगले अमेरिकी स्वार्थसँग कसरी टक्राउँछ भन्ने गम्भीर चिन्ता बढाएको छ । बाइडेन–ह्यारिस प्रशासनप्रतिको असन्तोषले ट्रम्पमा पोखिन पुगेका अमेरिकाभित्रकै अरबी, मुस्लिमलगायतका जाति र समुदायको भविष्य के हुने हो भन्ने ट्रम्पको ‘मास डिर्पोटेसन’ सँगै छताछुल्ल हुने मात्र होइन, पश्चिम एसियाको नरसंहारले कुन रूप लिन्छ भन्ने पनि अनुमानभन्दा बाहिर पुगेको छ । ट्रम्पले अतिवादी दक्षिणपन्थी नीतिहरूलाई राजनीतिक मूलधारमा ल्याएका छन् ।
यस्ताखाले सबै नेताहरूले आ–आफ्नो राजनीतिक र सामाजिक परिस्थितिलाई ध्यानमा राखेर आफूलाई सोहीअनुसार रुढिवादी मान्यताहरूको बढाइचढाइ र आप्रवासनप्रतिको अतिवादी रबैया अपनाउँदा अमेरिका र युरोपलाई सबैभन्दा बढी प्रताडित गर्ने निश्चित छ । जुन महादेशीय गठबन्धन उदार लोकतन्त्रको अगुवा थियो, उही नै उदार लोकतन्त्रबाट निकै टाढा पुग्नु आफैंमा विस्मयकारी अवस्था हो । ‘युरोपका अतिवादी दक्षिणपन्थी र डोनाल्ड ट्रम्पबीच एक वैचारिक एकता’ रहेको चेतावनी युरोपेली संसद्का उदारवादी सदस्य बेर्नार्ड ग्वेटाले दिएका छन् ।
युरोपका सफल अतिवादी दक्षिणपन्थी नेताहरूले ट्रम्पसँग तालमेल मिलाउने कसरत यतिबेला सफलतामा पुगेको छ । हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानले ट्रम्पलाई चुनावी सफलताको शुभकामना दिएका थिए । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले अर्बपति एलन मस्कमार्फत सम्भावित ट्रम्प प्रशासनसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरिसकेकी छन् । बर्लिनको जर्मन मार्सल फन्डबाट प्रजातान्त्रिक मान्यताहरूको खतराबारेमा अध्ययन गर्ने राजनीतिक विश्लेषक ज्सुजन्ना वेघले ‘संस्थाहरू, राजनीतिज्ञहरू र नागरिकहरूले यस दिशामा जाने उपायहरूको पहिचान गर्न आवश्यक रहेको’ भन्ने सुझाव युरोपले नै सुन्न नचाहेको प्रतीत हुँदै छ ।
पछिल्ला २० वर्षमा करिब दुई दर्जन लोकप्रियतावादी दलहरूको निर्वाचन नतिजाहरूको विश्लेषणले अमेरिकी राष्ट्रपतीय प्रणालीले युरोपमा प्रचलित संसदीय संरचनाहरूभन्दा फरक चुनौती र अवसरहरू अघि ल्याएको छ । हंगेरीको फाइडेस र इटालीको ब्रदर्स अफ इटालीले देशको नेतृत्व गरिरहेका छन् ।
नेदरल्यान्ड्स र अस्ट्रियामा अतिवादी दक्षिणपन्थीहरू पहिलो दलका रूपमा उदाएका छन् । जर्मनीको अल्टरनेटिभ फर जर्मनी (एफडी) ले थुरिन्जिया राज्यलाई कब्जामा लिएको छ । फ्रान्सको राष्ट्रपतीय प्रणालीमा रहेको कथित सुरक्षा प्रावधानहरूले अहिलेसम्म मरिन ले पेनलाई पेरिसको सत्ता कब्जा गर्न रोके पनि त्यहाँको संसद्लाई असुरक्षित र निष्क्रिय जस्तै बनाएको छ । पोल्यान्डमा आठ वर्ष सत्तामा रहेको ल एन्ड जस्टिसले बहुमत गुमाएपछि पूर्वप्रधानमन्त्री तथा युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्क नेतृत्वमा एक प्रो–युरोपियन गठबन्धन सत्तामा आएको छ ।
तर उसले अवैध कडा आप्रवासनविरोधी कदम उठाउन थालेको छ । फ्रान्सको नेसनल र्याली र ब्रिटेनको रिफर्म यूकेजस्ता दक्षिणपन्थी लोकप्रियतावादीहरूले उल्लेखनीय जनसमर्थनसहित त्यहाँको कानुनी व्यवस्थालाई हिंसात्मक बाटोमा धकेल्दै छन् । प्रायः जसो लोकप्रियतावादी दलहरूले चुनावी सफलता प्राप्त गरेर विश्वकै ठूलो जनसंख्यालाई गहिरो असर पारिरहेको सन्दर्भमा अब अमेरिका त्यसको नेता बन्न आइपुगेपछि ‘नियममा आधारित विश्व’ भन्ने उसको नीति के हुन्छ, गम्भीर प्रश्न खडा भएको छ ।
२०१५–१६ मा सिरियाबाट आएको आप्रवासन संकटदेखि बेलायतको ब्रेक्जिट जनमत संग्रह र ट्रम्पको स्थायी लोकप्रियतावादले विश्व राजनीतिकै धारालाई मोड्ने तहमा आइपुगेको छ । हंगेरीका प्रधानमन्त्री ओरबानले दक्षिणी सीमामा बार लगाएका छन् र अब ट्रम्पले मेक्सिकोतर्फको सीमामा उनको पुरानो अभियान विस्तार गर्ने निश्चित छ ।
मेलोनीले अनियमित आप्रवासीहरूलाई अल्बानिया धपाउन त्यहाँको प्रशासनसँग सम्झौता गरेकी छन् । युरोपमा ओरबान र मेलोनीले कसरी अतिवादी दक्षिणपन्थी नेताहरूले प्रशासन सञ्चालन गर्छन् भन्ने दुई फरक मोडलहरू प्रस्तुत गरेका छन् । ओरबानको १४ वर्षे कार्यकालमा उनको राजनीतिक एजेन्डा झन् अतिवादी हुँदै गएको छ, जसले ‘अप्रतिबद्ध लोकतन्त्र’ लाई पूर्णरूपमा अपनाएको मान्न सकिन्छ ।
ब्लुमवर्गको एक अनुसन्धानले देखाएको छ, ‘मेलोनीले सत्तामा पुगेपछि केन्द्रीकृत रणनीति अपनाउँदै आफ्ना मूल समर्थक र इटालीका बन्ड होल्डरहरूलाई सन्तुष्ट पार्ने काम गरिरहेकी छन् । उनले एलन मस्कसँग निकटता बढाउँदै ट्रम्पसँग सम्भावित सहकार्यका लागि मस्कलाई नै मुख्य संयोजकका रूपमा हेरेकी छन् । ...एक राष्ट्रपतिको रूपमा, जसको सर्वसत्तावादी प्रवृत्ति छ, उसले सत्ता केन्द्रीकरणको प्रयास गर्नेछ । (ज्सुजन्ना वेघ : २०२४)
यस वर्ष नै भएका मुख्य निर्वाचनमध्ये ब्रिटेनमा त्यहाँको मुख्य विपक्षी दल लेबर र ब्राजिलमा लुला दा सिल्भाको पुनरोदय बायाँतर्फका लोकप्रियतावादी उदाहरण हुन् । यही लहरमा टाट पल्टेको छिमेकी देश श्रीलंका पनि थपिएको छ । भेनेजुएलामा मदुरोको निरन्तरता र अमेरिकी प्रशासनको काराकासमाथिको छड्के नजरले दुनियाँभरका वामपन्थीहरूलाई चनाखो बनाएको हुनुपर्दछ । नेल्सन मण्डेलाको पार्टी एएनसीले चरम जातिवादी श्वेत वर्चस्ववादी दलसँग गठबन्धन गरेर तीन दशक लामो सत्तालाई निरन्तरता दिएर कुर्सीका लागि विश्वमै बदनाम गठबन्धनको ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ ।
त्यसपहिले पाकिस्तानमा इमरान खानलाई सिध्याउन त्यस्तै तमासा मञ्चन हुनु कुनै नौलो घटना हुने कुरै भएन । यही लहरमा थपिनेमा पछिल्लो पटक नेपालका एमाले–कांग्रेस पनि उभिएका छन् । यी सबै घटनाले मूल्यको राजनीतिलाई धुलीसात पारेर व्यक्तिवादी स्वार्थको कचौरामा कथित समाजवादी राजनीति सीमित भएको विडम्बना मञ्चन भएको छ । अन्धकारपूर्ण बन्दै गएको विश्व परिवेशमा फेरि पनि सुझबुझपूर्ण राजनीति र लोकतन्त्रको कुनै विकल्प भने छैन ।
