देशमा केही भएन, केही हुँदैन भन्ने जस्ता नकारात्मक भाष्य निर्माण भएको छ । यस्ता भाष्यलाई समयमा चिर्न सकिएन भने यो एउटा संस्कारका रूपमा विकसित हुन थाल्छ, जसले गर्दा राम्रा पक्ष ओझेलमा पर्न सक्छन् ।
‘समृद्धि’ विकासको भौतिक पक्ष हो भने ‘सुखी’ आध्यात्मिक पक्ष तथा समृद्ध नागरिकलाई सुखी बनाउने आधार । भौतिक पूर्वाधार विकास, प्राकृतिक स्रोतसाधनको उपलब्धता, संस्कृतिको जगेर्ना, उत्पादकत्व वृद्धि, सक्षम तथा क्षमतावान् जनशक्तिको विकाससहितको आर्थिक वृद्धिले समृद्धिको मापन गर्न सक्छ ।
सुखको मापन गर्ने मापदण्ड भनेको नागरिकको दैनिक जीवनशैलीमा सुधार, सम्मानजनक र मर्यादित जीवनशैली, स्वस्थ र सन्तुलित पर्यावरणीय पद्धति, सभ्य र न्यायपूर्ण समाज नै हुन् ।
देशमा अझै २१.६ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । कुल वैदेशिक व्यापारको करिब ९१ प्रतिशत आयात छ भने करिब ९ प्रतिशत निर्यात छ । व्यापार घाटा उच्च छ । पुँजीगत खर्च प्रभावकारी रूपमा खर्च हुन सकिरहेको छैन, जसले गर्दा विकास निर्माणका काम समयमा सम्पन्न भएका छैनन्, रोजगारी सिर्जना भएको छैन । समृद्धिको लक्ष्य लिएर मात्र हुँदैन, लक्ष्यमा पुग्न आर्थिक, सामाजिक विकास र समृद्धिलाई विकासको सोपानसँग ढालेर अगाडि बढ्न सक्नुपर्छ । नागरिक गरिबीको दुष्चक्रमा छन्, यसबाट उनीहरूलाई बाहिर निकाल्ने योजनाको खाँचो छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ एउटा वर्ग र समूहले मात्र नाराका रूपमा लिनुभन्दा यसलाई कार्यान्वयनमा लान सही नेतृत्वको भूमिका प्रभावकारी रहन्छ । जसको नीति, उसको नेतृत्वले मात्र नीतिको अक्षरशः पालना हुन सक्छ । यसका लागि उपयुक्त वातावरण सिर्जना हुन सके कार्यान्वयन अवस्थमा जान सहयोग हुनेछ । समय समयमा विभिन्न गठजोडबाट सरकार फेरिरहने परिस्थितिले गर्दा एउटा सरकार हुँदा सुरु भएका काम तथा योजना अर्को सरकारको प्राथमिकतामा नपर्ने अवस्था छ । राजनीतिक वृत्तमा कस्तो चलन छ भने कोही कसैबाट राम्रो विषयको उठान गरिएको छ भने त्यसलाई राम्रो भन्ने संस्कार नै छैन । कार्यान्वयन हुन नसक्ने राम्रा नारा कानलाई सुन्न र आँखालाई देख्नका लागि मात्र बनाइन्छ भने त्यो नागरिकप्रतिको घात हुन्छ ।
हामीकहाँ राम्रो विषयको स्वीकारोक्ति र निरन्तरताको कमी छ । कुनै पनि कार्यक्रम बनाएर त्यसको कार्यान्वयन गर्ने समयसम्म सरकार नरहने कारणले पनि देश विकासमा नकारात्मक प्रभाव परिरहेको छ । राजनीतिक दलले सत्ता र शक्तिको सन्तुलन मिलाउन ध्यानकेन्द्रित गरेपछि देश र नागरिकका हितका काम ओझेलमा परेका छन् । देशमा प्रजातन्त्र आएको चार दशक पुग्नै लाग्दा देश र जनताले अनुभव गर्ने गरी के भयो ? बेरोजगारी, निराशा, अनियमितता, बेथिति, अन्योलले निरन्तरता पाइरहे । यस्ता आम विषयलाई चिर्दै देश र जनतालाई कसरी समृद्धिको बाटोमा लाने भनेर दीर्घकालीन सोचका साथ लक्ष्य बनाएर अगाडि बढ्नुपर्ने हुन्छ । अबका दिनमा राजनीतिक दलहरू सक्किने होइन सुध्रिने बाटोमा लाग्नु जरुरी छ ।
देशमा केही भएन, केही हुँदैन भन्ने जस्ता नकारात्मक भाष्य निर्माण भएको छ । यस्ता भाष्यलाई समयमा चिर्न सकिएन भने यो एउटा संस्कारका रूपमा विकसित हुन थाल्छ, जसले गर्दा राम्रा पक्ष ओझेलमा पर्न सक्छन् । भाषणले मात्रै काम गरेको आभास गराउने प्रवृत्तिको अन्त्य नहुँदासम्म देशमा विकास ठप्प हुन पुग्छ । अरूले के गरे भन्दा पनि म के गर्न सक्छु र के गर्नुपर्छ भन्ने बोध हुन जरुरी छ । समग्र नागरिकले सरकारले, नेतृत्वले के गर्छ र कहिले गर्छ भन्नुभन्दा म एक नागरिकको दायित्व र कर्तव्य के हो भन्नेमा सबैको आँखा खुल्नुपर्छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को नीतिलाई राष्ट्रिय नीतिका रूपमा सबैले स्वीकार गरी अगाडि बढ्नुको विकल्प रहँदैन । नेपाल र नेपालीका लागि मूलमन्त्रका रूपमा यसलाई लिनुपर्छ । यो त कुनै राजनीतिक दलको नीति हो, यसलाई अन्य दलले अगाडि सार्नु हुँदैन भन्ने नकारात्मकता त्याग्नुपर्छ । आखिर सबै दलको चाहना नै देश समृद्ध बनोस् र जनताले सुख पाऊन् भन्ने होइन र ? तसर्थ यसलाई सबैको साझा नीतिका रूपमा अगाडि बढाउनुको विकल्प छैन ।
