जात व्यवस्थाको मूल कारण र आधार ब्राह्मणवाद हो । कतिपय दलित समस्या हटाउने कुरा गर्छन्, ती भ्रम मात्रै हुन् । ब्राह्मणवादको अन्त्यबाट मात्रै जात व्यवस्था र छुवाछूत प्रथाको समाप्ति सम्भव छ ।
केही वर्षअघि विख्यात गायक तथा संगीतकार यश कुमारले कुनै अन्तर्वार्ताका क्रममा एक प्रश्न उठाएका थिए—‘सती प्रथाको अन्त्य भयो तर जात व्यवस्थाको अन्त्य किन हुन सकेन/गरिएन ?’ उनको जात व्यवस्थामा आधारित ‘मैले छोएको पानी चल्दैन’ लगायतका गीत तथा सोही विषय कथावस्तु रहेको र उनले अभिनय गरेको ‘बाटोमुनिको फूल’ जस्ता चलचित्र नेपाली दर्शक, श्रोतामाझ अत्यन्तै चर्चित रहे ।
त्यस्तै, कान्तिपुर दैनिकका पूर्वप्रधानसम्पादक सुधीर शर्माको पडकास्टमा केही महिनाअघि कुरा गर्दै अधिवक्ता कुन्जनी परियारले समेत यही सवाल उठाइन् ।
परियारले प्रश्न मात्रै गरिनन्, बरु सती प्रथाको अन्त्य गरिनु तर जात व्यवस्था अद्यापि जीवितै रहनुका एक महत्त्वपूर्ण कारण पनि बताइन् । उनको दलिल भन्छ— शासक समुदायका आमा, श्रीमती, छोरी अर्थात् स्त्री पतिसँगै जिउँदै चितामा जल्नुपर्ने भएका कारण सती प्रथाको अन्त्य गरियो । तथापि जात व्यवस्थाले दलित समुदाय मात्रै अछूत पीडित बन्न बाध्य पारिने हुनाले हालसम्म जीवित रह्यो । खासमा अधिवक्ता परियारको तर्क सत्यको निकट रहेको भए पनि आधार भने अपूर्ण छ । यो आलेख सती प्रथा के हो र कसरी अन्त्य भयो ? साथै जात व्यवस्था र छुवाछूत प्रथा किन अन्त्य हुन सकेन वा गरिएन भन्ने सवालको तथ्यपरक र ऐतिहासिक आधार खोज्न केन्द्रित रहनेछ ।
सती प्रथा कसरी अन्त्य गरियो ?
सती प्रथा प्राचीन भारत, नेपाल आदि ब्राह्मण चातुर्वर्ण्य धर्म वा आर्य समाज रहेका मुलुक वा समाजमा प्रचलित यस्तो क्रूर कुप्रथा थियो, जसमा विधवा स्त्रीलाई मृत पतिसँगै जिउँदै जलाएर मारिन्थ्यो । सतीको शाब्दिक अर्थ भने सत्यमा अडिग रहने नारी बताइन्छ । प्राचीन साहित्यमा सती बन्नका लागि चार ‘मापदण्ड’ तोकिएको थियो । पहिलो, अन्वारोहण अर्थात् मृत पतिसँगै चितामा चढ्ने । दोस्रो, सहमरण अर्थात् मृत पतिका साथै मर्ने । तेस्रो, सहगमन अर्थात् मृत पतिसँगै जाने । चौथो, अनुमरण अर्थात् प्रवासमा रहेका पतिको मृत्युको खबर प्राप्त भएपश्चात् प्राण त्याग गर्ने । पति–पत्नीको सम्बन्ध जीवित अवस्थामा प्रगाढ एवं पवित्र हुन्छ, त्यस्तो सम्बन्ध पतिको मृत्युपश्चात् परलोक तथा पुनर्जन्ममा समेत यथावत् राख्ने उद्देश्यले सती प्रथाको पुस्ट्याइँ गर्ने प्रयास गरिएको छ । मृत पतिप्रति विधवा स्त्रीको अनुपम अनुराग, त्याग र बलिदानी त्यहाँ परिलक्षित हुन्छ ।
भारतमा सती प्रथाको सुरुवात कहिले भयो ? यो प्रश्नको जवाफ विवादरहित भने छैन । कतिपय इतिहासकार यो तथ्यमा सहमत छन्, भारोपीय–आर्य जाति (समुदाय ?) भारत आगमनअगावै विधवा स्त्री आफ्नो मृत पतिसँगै जिउँदै चितामा जलेर मर्ने प्रथासँग अवगत थिए । किनभने मध्यएसियाका मुलुक त्यसभन्दा पहिले नै सती प्रथासँग परिचित थिए । ऋग्वेदको एक मन्त्रमा भनिएको छ— स्त्री आफ्नो मृत पतिको शवसँग सुतिरहेकी हुन्छे, तत्पश्चात् उनलाई सम्बोधन गरिन्छ— ‘नारी उठ, पुनः यो संसारमा आऊ ।’ यस उद्धरणको आलोकमा कतिपय विद्वान् यो स्विकार्छन् कि ऋग्वैदिक समाजमा सती प्रथा प्रचलित थियो । उत्तरवैदिक साहित्यमा समेत यसै प्रकारका कतिपय उद्धरण पाइन्छन् । अथर्ववेदमा उल्लेख छ— आफ्नो मृत पतिसँग विधवा स्त्री चितामा आरोहण गर्छिन् र त्यसपछि उनलाई चिताबाट उत्रिएर आउने निर्देशन दिइन्छ । यी सीमित र प्रतीकात्मक साक्षीका आधारमा वैदिककालमा सती प्रथा प्रचलनमा रहेको मान्न सकिँदैन भन्ने तर्कसँग असहमत हुनुपर्ने मजबुत आधार भेटिँदैन ।
उक्त कालखण्डमा स्त्रीहरूको कमीका कारण सती प्रथा व्यवहारमा नभई प्रतीकात्मक रूपमा मात्रै रहेको मानिन्छ । वैदिककालमा आर्य स्त्रीहरूको कमी रहेको प्रमाणस्वरूप ऋग्वेदमा ‘देवीहरूको अपेक्षाकृत कमी’ भएको उल्लेख छ । आर्य जाति घुमन्ते, फिरन्ते भएको, नयाँ ठाउँमा प्राकृतिक बनोट तथा प्रतिकूल मौसम आदिका कारण स्त्रीहरूको अकाल मृत्यु हुने वर्णन पनि पाइन्छ ।
भारतमा सती प्रथा ईशापूर्व चौथो शताब्दीदेखि व्यवहारमा लागू भएको मानिन्छ । ग्रिक विवरणका अनुसार सिकन्दरको आक्रमणका बखतदेखि भारतका केही जनपदमा त्यो पनि शासक कुलमा सती प्रथा प्रचलित हुन गयो । जोधपुर अभिलेख ८१० ई. मा राजपुत सामन्त राणुकसँगै उनकी पत्नी सम्पलदेवी सती गएको उल्लेख छ । मध्यप्रदेशको भानुगुप्त एरण स्तम्भ शिलालेख भारतको सती प्रथा प्रमाणित गर्ने पहिलो अभिलेख हो । सन् १८२९ मा ब्रिटिस भारतका लर्ड विलियम बेन्टिक तथा राजा राममोहन रायको अथक प्रयासद्वारा सती प्रथा अन्त्य गरियो । नेपालमा भने २५ असार १९७७ सालमा प्रधानमन्त्री चन्द्रशमशेर राणाद्वारा सती प्रथा अन्त्यको घोषणा गरियो ।
जात व्यवस्था के हो ?
जात (वर्ण) व्यवस्था र छुवाछूत प्रथाको मूल स्रोत र आधार ऋग्वेदको पुरुष सुक्त हो, जहाँ चार वर्णको व्यवस्था छ । ब्रह्माको मुखबाट ब्राह्मण, छातीबाट क्षत्रीय, पेटबाट वैश्य र पैतालाबाट शूद्रको उत्पत्ति भएको उल्लेख छ । ज्ञातव्य रहोस्, यहाँ पंक्तिकारले जात व्यवस्था र छुवाछूत प्रथा शब्दको प्रयोग गरेको छ । सुरुवातमा वर्ण (रंग) व्यवस्था नै थियो र त्यो कर्मका आधारमा निर्धारण गरिन्थ्यो । अर्थात्, कामका आधारमा वर्ण परिवर्तन सम्भव थियो । यसको उदाहरणस्वरूप क्षत्रीय विश्वामित्र ब्राह्मण बने भने क्षत्रीय हरिश्चन्द्र चाण्डाल बने । तथापि इतिहासमा शूद्र अन्य वर्णमा परिणत भएको कुनै उदाहरण भेटिँदैन । वर्ण व्यवस्था जब जात व्यवस्थामा परिणत भयो, तब जात जन्म (कर्म होइन) का आधारमा निर्धारण हुने व्यवस्था बस्यो ।
भीमराव अम्बेडकरको अथक अन्वेषण तथा शोधको निष्कर्ष हो— वैदिककालमा सुरुवात भएको वर्ण व्यवस्था बुद्धको जीवनकालसम्म पनि छुवाछूत प्रथामा परिणत भइसकेको थिएन । अम्बेडकर मान्छन्— ४०० ई.को आसपास मात्रै छुवाछूत प्रथा लागू गरियो । तथागत बुद्धको मृत्युपश्चात् ब्राह्मणहरूले गाई हत्यालाई महापाप घोषित गरे । प्राचीनकालमा आर्य, अनार्य सबै गाईको मासु खान्थे । वेदलगायत कुनै पनि धार्मिकशास्त्रमा गाई हत्या निषेध गरिएको छैन । मनुस्मृतिमा (११/५९ देखि ६६ सम्म) गोहत्यालाई उपपातक (फुटकर पाप) बताइएको छ । उपपातकमा पारिश्रमिक लिएर/दिएर अध्यापन/अध्ययन गर्नु, मद्यपान गर्ने स्त्रीसँग सम्भोग गर्नु, लसुनको सेवन गर्नु आदि पापमध्ये गाईको हत्या गर्नुसमेत सामेल छ ।
भारत मध्यप्रदेश भएर बग्ने एक नदी छ, चर्मण्वती । कथित सत्ययुगका १६ महान् राजामध्येका एक क्षत्रीय राजा थिए, रन्तीदेव । पुराण तथा महाभारतका अनुसार अतिथि सेवाका निम्ति उनको भोजनालयमा प्रतिदिन दुई हजार गाई मारिन्थे । ती गाईको काँचो छाला भान्सामा राख्ने गरिन्थ्यो । त्यही काँचो छालाबाट तप्केको पानीबाट एउटा नदी बन्यो । चर्म (छाला) बाट निस्केका पानीबाट बनेको नदी हुनाले त्यसको नाम चर्मण्वती रहन गयो । चौथो शताब्दीको सुरुवातमा पुष्यमित्र शुंगले मौर्य सम्राट बृहद्रथको हत्या गरी बौद्धवादविरुद्ध प्रतिक्रान्ति गरेपश्चात् गाई हत्यालाई महापातक/महापाप घोषित गरिएको थियो । सोही कालखण्डदेखि जात व्यवस्थामाथि छुवाछूत प्रथा लागू गरियो । त्यसैले बुद्ध धर्म, दर्शनमाथिको प्रतिक्रान्ति, गाई हत्या र मासु सेवनमा प्रतिबन्ध तथा शूद्रमाथि अछूत करार गर्ने कार्यमा गहिरो सम्बन्ध भेटिन्छ ।
अन्त्यमा
ब्राह्मणवादका तीन आधार छन्— जात व्यवस्था, पितृसत्ता र भाग्यवाद । बालिका–विवाह अझ छोरीको पहिलो महिनावारी सुरु हुनुअगावै कन्यादान दिनु धार्मिक हिसाबले पुण्य कर्म मानिन्छ । सुरुवातमा विधवा स्त्रीमाथि कुरूप, सामाजिक बहिष्कार गर्ने नियम लागू गरियो । त्यसको उद्देश्य स्त्रीलाई उनको विवाह, यौन सम्बन्धलगायत अन्य वैयक्तिक अधिकारमाथि पुरुषको नियन्त्रण बरकरार राख्नु थियो ।
पतिको मृत्युपश्चात् विधवा स्त्रीको पुनर्विवाह वर्जित यस कारण गरियो, उनी उमेर र विवेकले परिपक्व हुने हुँदा गैरजातीय विवाह वा यौनसम्बन्ध हुने प्रबल सम्भावना रहन्थ्यो । महिलाको गैरजातीय वा अन्य धर्मावलम्बी पुरुषसँग विवाह हुन गयो भने ब्राह्मणवाद समाप्त हुने खतरा रहन्छ । विधवा स्त्रीलाई अधिकारबाट वञ्चित गर्ने, कुरूप बनाउने आदि गर्दासमेत पुनः विवाह हुन सक्ने सम्भावनालाई पूर्णतया टार्न असम्भव देखिएपछि धर्मको नाममा मृत पतिसँगै स्त्रीलाई जिउँदै जलाउने अर्थात् सती प्रथाको षड्यन्त्र रचियो ।
जात व्यवस्थाको मूल कारण र आधार ब्राह्मणवाद हो । कतिपय दलित समस्या हटाउने कुरा गर्छन्, ती भ्रम मात्रै हुन् । ब्राह्मणवादको अन्त्यबाट मात्रै जात व्यवस्था र छुवाछूत प्रथाको समाप्ति सम्भव छ । त्यसैले सती प्रथाको अन्त्य गरियो तर जात व्यवस्था भने अझै जीवित रहन पुग्यो । अम्बेडकरको मान्यता छ— बालिक स्त्री/पुरुषलाई स्वविवेकले वर, वधू छान्ने स्वतन्त्रता दिनुपर्छ । अन्तर्जातीय विवाह जात व्यवस्था समाप्त गर्न पर्याफ्त छ ।
