गान्धीले कोरेको गोरेटो

गान्धीले चेताएका थिए— यस्तो समय आउँछ, जब आफ्नो आवश्यकतालाई कैयौं गुणा बढाउने होडमा लागेका मान्छेले आफ्नै कर्तुतलाई नियाल्नेछन् र भन्नेछन्— यो हामीले के गर्‍यौं ?

आश्विन १७, २०८१

चन्द्रकिशोर

Goretto drawn by Gandhi

माहात्मा गान्धीको जयन्ती सप्ताह विश्वभरि मनाइँदै छ । गान्धीको देश भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछिका वर्ष गान्धी जयन्तीले स्वच्छता अभियानको रूप लिएको छ । नेपालमा समेत गान्धीलाई सम्झिने कर्मकाण्ड हुने गरेको छ ।

गान्धीमा त्यो तत्त्व मौजुद छ, जसले मान्छेलाई असाधारण बनाउँछ, कमजोरीलाई दृढतापूर्वक बदल्ने कोसिस गर्छ, आफ्ना चूकहरूलाई सच्याउन सदैव तत्पर रहन्छ र त्यसलाई खुलेआम स्वीकार गर्छ । आफूलाई आफैंले परिमार्जन गर्दै अगाडि बढ्नुको नाम हो गान्धी ।

रिचर्ड ऐटनबरोको फिल्म ‘गान्धी’ को सुरुवातको एक दृश्य सम्झिरहेको छु । गान्धीको जीवनका आखिरी साँझ हो । उर्लिंदै गरेको जनसमूह जिज्ञासु देखिन्छ— गान्धी कहाँ भेटिन्छन् ? एक आवाज उदाउँछ— प्रार्थनासभामा जानुस्, उनी त्यहीं भेटिन्छन् । आज कसलाई सोध्ने— गान्धी कहाँ भेटिन्छन् ? गान्धी दिल्लीमा मारिँदा यता नेपालको देहातसम्म शोकाकुल भएको थियो । तर हामीले हाम्रै जिउँदा सवालसँग जुझ्न गान्धीलाई जुन प्रकारले याद गर्नुपर्ने हो, त्यो गरेनौं । गान्धी विचारलाई विभिन्न कोणबाट अप्रासांगिक, अवैज्ञानिक र अराष्ट्रिय बनाइयो । तर, गान्धीसँग जति–जति टाढा बस्न खोजिए पनि यिनको प्रासांगिकता थपिँदै गएको छ । आज नेपालले गान्धीलाई कहाँ खोज्ने ? जुझ्दै गरेको झञ्झावातभित्र गान्धी तत्त्वको खोजी गर्ने र त्यसले नै आमन्त्रित महाविनाशबाट जोगाउन सक्छ ।

‘मैया तोरा नही माया दरेग, लोग सभ करे अनघोल ।’ यस लोकगीत पंक्तिको अर्थ हो— नदी आमा तिमीमा ममत्व छैन, दया छैन, मान्छेहरू आर्तनाद गरिरहेका छन् । यतिखेर नेपालको विभिन्न भागमा यस्तै भावका क्रन्दन सुनिएको छ । मधेशले ‘माटो र पानी’ का लागि चिनारी पाएको थियो । अन्नको भकारी थियो, पानीको सहज उपलब्धता थियो । यतिखेर यो ‘जीवन रेखा’ बिस्तारै ‘जहरको चक्की’ बन्दै गएको छ । यो बदलावको कथा नै यस भूखण्डको त्रासदी हो । तर, यो कहर कथा केवल मधेशमै सीमित छैन । हिमाल र पहाडमा समेत जनजीवन र जीविका अस्तव्यस्त छ ।

गान्धीजीको मान्यता सम्झौं— पृथ्वी, वायु, जल पूर्वजहरूबाट प्राप्त सम्पत्ति होइन । यो हाम्रा सन्तानहरूको धरोहर हो । यो जसरी हामीलाई प्राप्त भएको छ, त्यसैगरी भावी पिँढीलाई सुम्पिनुपर्छ । गान्धी पटकपटक भन्थे— हाम्रो आवश्यकता पूर्तिका लागि यस पृथ्वीमा पर्याप्त संसाधन छ तर हाम्रो लोभका लागि छैन । यो विश्वभरि नै पर्यावरणीय आन्दोलनका लागि चलेको उपयोगी नारा मानिएको छ । पर्यावरण, सहरीकरण र मसिनीकरणका बारेमा गान्धीका चिन्ता उनका भाषण, लेखन र प्रयोगमार्फत प्रतिध्वनित भइरहेको छ । हो, यसलाई नेपालले आफ्नो संकटको क्यानभासमा हेर्ने विवेक देखाउनुपर्छ ।

वास्तवमा नेपालमा गान्धीका बारेमा मिथ्या धारणा फैलाइयो । जस्तो कि उनी प्रविधिका विरोधी हुन् । उनी चर्खाको प्रयोग गर्थे, त्यो पनि एक यन्त्र नै हो । गान्धी यस्तो प्रविधिको पक्षमा थिए, जसले ठूलो आकारमा बेरोजगारी उत्पन्न नहोस् । पर्यावरणमा सघन आघात नहोस् । प्रविधिको छनोट गर्दा यसको हेक्का रहोस् कि त्यसमाथि नियन्त्रण कसको रहेको छ ? जसले स्वामित्व कब्जा गरेको छ, तिनको ध्येय के हो ? किनभने प्रविधि समाजको वास्तविक आवश्यकताअनुरूप होस् । यसले यस्तो अवाञ्छित परिणतितिर नधकेलिदेओस् कि जसको चंगुलमा फसेर हामी अझ असमर्थ हुँदै जाऔं ।

गान्धीले अहिले प्रचलनमा रहेको पर्यावरण शब्दको उपयोग गरेका थिएनन् । यतिखेर दुनियाँभरि आआफ्नो तरिकाले पर्यावरणीय आन्दोलन चलिरहेको छ । अब यो अनुभव गर्न थालिएको छ कि जलवायु परिवर्तनको दुष्प्रभाव निम्न–मध्य आय वर्गहरू नै माथि बढी पर्छ । पर्यावरणीय आन्दोलनको सिधा सम्बन्ध गान्धीवादसँग छैन । तर, त्यहाँ आन्दोलनका जुन तरिका अपनाउने गरिएको छ, त्यसमा प्रायः गान्धीवादी तत्त्व सामिल हुन्छ । भारतमै अधिकांश पर्यावरणीय आन्दोलनको उत्पत्ति विकासका ती प्रतिमानहरूको जवाफमा उठेर आएको छ, जसलाई स्वतन्त्रोत्तर भारतले अपनाएको थियो । यी आन्दोलन आजीविका, भूमि, जल र पारिस्थितिक सुरक्षासँग सम्बन्धित मुद्दामा केन्द्रित छन् । यी आन्दोलनमा उल्लेखनीय कुरा के हो भने यिनीहरूमध्ये कतिपयले गान्धीवादी तरिका अपनाएका छन् । जस्तो कि सविनय अवज्ञा, तटीय रेतमा स्वयंलाई पुर्नु, जल सत्याग्रह, लामो पैदल यात्रा, भोक हडताल, बीज–सत्याग्रह, जिम्मेवार पदाधिकारीलाई ज्ञापन दिनु, समूहगत चिठी लेख्नु, रूखलाई अँगालो हाल्नु, पानी प्रयोगमा मितव्ययिता, वर्षा जलको सञ्चय, स्थानिक वृक्षरोपण, सर्वपक्षीय संवादलाई प्रोत्साहन आदि । 

गान्धीले ती सबै पर्यावरणीय समस्याको अनुमान लगाइसकेका थिए, जसको वर्तमान दुनियाँ भुक्तभोगी बनिसकेको छ । सँगै गान्धीले स्वीकार गरेका थिए कि प्रकृतिका प्रति केही मात्रामा हिंसा गर्नुपर्छ नै जहाँसम्म हुन सक्छ, यसलाई कमभन्दा कम गरौं । गान्धीले चेताएका थिए— यस्तो समय आउँछ, जब आफ्नो आवश्यकतालाई कैयौं गुणा बढाउने होडमा लागेका मान्छेले आफ्नै कर्तुतलाई नियाल्नेछ र भन्ने छ— यो हामीले के गर्‍यौं ? गान्धीका अनुसार मान्छेलाई अस्तित्व जोगाइराख्न जो आवश्यक छ, त्यतिकै प्रकृतिसँग मागौं । जल, जंगल, जमिनमाथि हुँदै गरेको भीषण नोक्सानीको सहस्रांशको पनि भरपाई गर्ने क्षमता हामीसँग छैन । यसको आर्थिक मूल्य अर्थशास्त्रको मसिनो जानकारीबेगर पनि बुझ्न सकिन्छ । गान्धी चिन्तनको यो प्रबल उत्तरआधुनिक पक्ष हो । 

गान्धीले अहिलेको विकास मोडललाई चंगासँग तुलना गर्दै भनेका थिए— यो चंगा जब आफ्नो विनाशको नजिक पुग्छ, तब सबभन्दा बढी चक्कर खान्छ र आखिरकार चक्कर खाँदाखाँदै ढलेर जान्छ । हो पनि, विकासको वैकल्पिक सपना आधुनिक विज्ञान र पुँजीको परिधिमा हेर्न पाउनु निरन्तर कठिन हुँदै आएको छ । प्राकृतिक स्रोतको संगठित दोहन, कृषिमा विषादीको चरम प्रयोग, तटबन्ध आधारित नदी नियन्त्रणको सोच, नदीको बहाव क्षेत्रको अतिक्रमण, हिमालमा प्रदूषण, तराईमा जंगल समाप्तिको अवस्था, पारम्परिक इनार र पोखरीहरूको अस्तित्व संकट, रित्तिँदो गाउँ, पानीको बढ्दो हाहाकार, डोजर आधारित पूर्वाधार निर्माणजस्ता पक्षले आधुनिक विज्ञानको सामर्थ्य र सीमामाथि प्रश्न उठाएको छ । गान्धीले पश्चिमी आधुनिकताको सीमाको लेखाजोखा र मानिसको भौतिक खाँचोलाई न्यूनतम स्तरसम्म ल्याउने सोचलाई त्यसै रेखांकित गरेका थिएनन् ।

यतिखेर हामीले भोग्दै गरेको प्राकृतिक विपद् प्रकृतिको एक खुला पुस्तक हो । के हामीले यसलाई गहन रूपमा पढ्न सकिरहेका छौं ? यसलाई बुझेर, बुझाएर अर्को पुस्तामा सुरक्षित र संरक्षित रूपमा सुम्पिन इमानदार छौं ? के हामी नयाँ सोच, नयाँ कार्यक्रम र नयाँ परिपाटी बसाल्न गइरहेका छौं ? विपद्बाट प्राप्त हुने ज्ञान सदासर्वदाका लागि उपयोगी हुन सक्छ । हामी इतिहासका कोसिसलाई भलै नदोहोर्‍याऔं । तर, इतिहासका विद्रूपबाट जोगिन यो जरुरी भइसकेको छ, हामी आफ्नो समस्याको वास्तविक पहिचान त गर्न सक्छौं । आज हामी जुन सुखी र समृद्ध नेपालको परिकल्पना गर्छौं, त्यो गान्धी–गोरेटोमा अवस्थित छ ।

गान्धी आफ्नो समयको समाजलाई बाटो देखाउन भरसक अगाडि थिए । उनले जुन बाटो देखाए, त्यसलाई कुनै निर्धारित रूपमा स्वीकृत गर्नुको साटो एक गतिशील विकल्पका रूपमा आफ्ना अनुयायीद्वारा स्वयं प्रयोग गर्दै, परिस्कार गर्दै अघि बढ्न प्रेरित गरे । आफ्नो प्रकृति र संस्कृति मासेर अन्यत्रको विकल्प अपनाउँदा विपद्मा यो वा त्यो रूपमा हामीसमक्ष अझ छिटोछिटो आइरहने निश्चित छ ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully