कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

किन दुब्लायो बाबुरामको राजनीति ?

माओवादीसँग मिलेर समाजवादी मोर्चा बनाउने वा पार्टी पुनः एकता गर्नेसम्मको प्रयत्न पनि गरे । प्रचण्डलाई आफू लडिरहेको गोरखाको निर्वाचन क्षेत्र सुम्पिए । यी अभ्यास र प्रयत्नले नयाँ वैकिल्पक राजनीतिको प्रवर्द्धन कसरी हुन्छ ?

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गहिरो राजनीतिक समझ भएका नेता हुन् । उनी राजनीति/समाजको मिहिन चिरफार गर्न सक्छन् । जनसामान्यले बुझ्ने गरी राजनीतिक अर्थशास्त्र अर्थ्याउन सक्छन् । समकालीन नेतामध्ये राजनीतिक दर्शनमा दरिलो पकड राख्न सके पनि राजनीतिको डोरचाहिँ उनको हातमा छैन ।

किन दुब्लायो बाबुरामको राजनीति ?

उनको राजनीति दिनानुदिन दुब्लाउँदै गएको छ । राजनीतिक अस्तित्वको संघर्ष गरिरहेका भट्टराई सायद यतिबेला आफ्नो सान्दर्भिकताको खोजीमा छन् । नयाँ वैकल्पिक शक्तिहरूलाई एकत्रित गर्दै त्यसको नेतृत्व लिन सके गुम्दै गरेको साख र सान्दर्भिकतामा त्यो सञ्जीवनी बुटी हुन सक्ने उनको आकलन हुन सक्छ । गत जेठ ३० गते ‘नयाँ शक्ति’ स्थापनाको अवसर पारेर आयोजित कार्यक्रममा व्यक्त उनका विचार त्यतैतिर लक्षित देखिए ।

माओवादी परित्याग गरेर नयाँ शक्ति गठन, संघीय समाजवादी हुँदै जनता समाजवादी पार्टीमा आबद्ध भट्टराई त्यो पार्टीबाट पनि बाहिरिने परिवेश बनेपछि धेरैले उनको राजनीतिक जीवन सकिएको टिप्पणी गरे । यो पृष्ठभूमिमा नेपाल समाजवादी पार्टीका महाधिवेशन तदर्थ समितिका संयोजक भट्टराईले राजनीतिक परिदृश्यमा आफ्नो उपस्थिति बोध गराउने उद्देश्य राखेर कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममार्फत उनले तीन सन्देश प्रवाह गर्न खोजेका छन् ।

पहिलो, नेपालमा वैकल्पिक राजनीतिक धारको आवश्यकता र औचित्यको पैरवी सबैभन्दा पहिले आफूले गरेको सन्देश दिए । अहिले विभिन्न व्यक्ति वा पार्टी वैकल्पिक शक्ति र नेताका रूपमा देखिए पनि त्यसको जग हालेको श्रेय उनले लिन खोजे । ११ वर्षअघि उनले लेखेका थिए, ‘नेपाली समाज नयाँ चरणमा प्रवेश गरिसकेको छ । अब त्यसलाई नेतृत्व गरेर जान दलहरूले आफ्नो संगठन, नेतृत्व, कार्यशैलीलाई नै परिवर्तन गरेर लैजान सक्नुपर्छ । त्यो गर्न सकिएन भने नयाँ शक्तिको उदय हुन्छ ।’ (२५ फागुन, २०७०, नेपाल साप्ताहिक) लेख लेखेको दुई वर्षपछि ९ असोज, २०७२ मा माओवादी त्यागेका उनले आफ्नो नेतृत्वमा ३० जेठ, २०७३ मा नयाँ शक्ति नामक पार्टी घोषणा गरेका थिए ।

दोस्रो, नेपाल समाजवादी पार्टीले वैकल्पिक राजनीतिक धारकै नेतृत्व गर्छ भन्ने अर्को सन्देश दिन खोजे । नयाँ शक्ति पार्टी घोषणाको तिथिमा कार्यक्रम गरेर वैकल्पिक राजनीतिको वकालत गर्नुको अर्थ त्यही थियो ।

तेस्रो, अबको राजनीतिक मूलधार पुराना दल होइन, नयाँ वैकल्पिक शक्तिहरू बन्नेछन् भन्ने अर्को ठम्याइ छ, भट्टराईको । त्यसका लागि पछिल्लो आम निर्वाचनपछि उदाएका वैकल्पिक राजनीतिक शक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतसँग एकता वा मोर्चाबन्दी गरेर जान सकिने प्रस्ताव पनि उनले राखेका छन् । पुराना दल र नेतासँगको निराशा र असन्तुष्टिको जगमा उदाएका दल र नेतालाई एकत्रित गर्दै वैकल्पिक शक्तिलाई राजनीतिक/सैद्धान्तिक आकार दिन सकिन्छ कि भन्ने प्रयत्न यो प्रस्तावको अन्तर्य हो ।

राष्ट्रिय राजनीतिक परिदृश्यमा किनारामा पर्दै गरेका भट्टराईले यी सन्देशसहित नयाँ शक्तिलाई पुनर्जागृत गर्ने हुटहुटी देखाएपछि केही प्रश्न स्वाभाविक उठ्छन् । आफूले आकांक्षा राखेजस्तो उनी वैकल्पिक शक्तिका राजनीतिक मार्गदर्शक बन्ने सम्भावना छ ? झन्डै आठ वर्षअघि नयाँ शक्ति गठन गरेका उनी कहाँ चुके ? के अहिले देखिएको वैकल्पिक राजनीतिक शक्ति भट्टराईले छरेको बीउका उत्पादन हुन् ? उनका राजनीतिका सीमा र विकल्प के छन् ? भट्टराईको राजनीतिक उतारचढावसँग सन्दर्भित यी र यस्ता प्रश्न वरिपरि यो विश्लेषण गरिएको छ ।

राजनीतिक उत्कर्ष

साढे चार दशक लामो राजनीतिक जीवनमा भट्टराईको ‘हाइ टाइम’ माओवादीको चर्चित चुनबाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्रको राजनीतिक लाइन पास गरेपछि सुरु भएको हो । उक्त बैठकले हिंसात्मक विद्रोहमा विराम लगाउने निर्णय गर्दै माओवादीलाई अन्तरिम सरकार, गोलमेच सम्मेलन, संविधानसभाको पक्षमा उभ्याएको थियो । त्यही राजनीतिक बाटो अख्तियार गरेर बढेपछि पहिलो संविधानसभा निर्वाचनबाट माओवादी सबैभन्दा ठूलो राजनीतिक दल बनेको थियो ।

तिनताकाको राजनीतिक परिदृश्यमा माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन सकेकामा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला चर्चा र प्रभावको केन्द्रमा थिए । भूमिगत राजनीतिक पृष्ठभूमिबाट ‘मिथ’ बनेका पुष्पकमल दाहाल (प्रचण्ड) अर्का आकर्षणका पात्र थिए । तिनै हारमा भट्टराई पनि थिए, जसलाई नेपाली समाजले लोकप्रिय राजनीतिक नेताका रूपमा ग्रहण गर्दै थियो । हिंसात्मक राजनीतिको पृष्ठभूमिबाट आएका माओवादी नेताप्रति एउटा तप्काको चर्को आलोचना र घृणाभाव नै थियो । तर, समाजको अर्को तप्काले भट्टराईको ‘स्कलर’ व्यक्तित्वप्रति बेग्लै अनुराग र अपेक्षा राखेको थियो ।

जब उनी २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री भए, उनीप्रति समाजले थप अपेक्षा गर्न थाल्यो । अर्थमन्त्रीकालमा उनले केही पृथक् गर्ने हुटहुटी देखाए । राजस्व संकलनमा आएको बढोत्तरी, विदेश भ्रमणबापत भत्ता नलिने घोषणा, राष्ट्रिय गौरवका आयोजनालगायत केही सम्झनलायक काम सुरु गरेपछि उनको लोकप्रियताको ग्राफ उक्लियो । २०६८ मा प्रधानमन्त्री नै भएपछि उनीप्रति जनसामान्यका अपेक्षा अरू बढे । कतिपय कामलाई ‘स्टन्ट र प्रचारमुखी’ भनेर आलोचना पनि भयो । यद्यपि नेपालमै उत्पादित गाडी ‘मुस्ताङ म्याक्स’ चढ्नेदेखि काठमाडौंका सडक फराकिलो पार्ने जनमुखी काम गरेपछि उनको प्रशंसा पनि उत्तिकै भयो ।

ओरालिएको छवि

दोस्रो जनआन्दोलनको आधार बाह्रबुँदे समझदारी बनाउन, माओवादी विद्रोहलाई शान्तिपूर्ण अवतरण गर्न र संविधानसभामार्फत संविधान निर्माणको भूमिका खेलेका भट्टराईको लोकप्रियतामा ‘डाउनफल’ चाहिँ प्रधानमन्त्रीत्व कालमा पछिल्ला दिनमा सुरु भयो । जतिबेला उनका कतिपय अभिव्यक्ति विवादित भए । जस्तो, बालुवाटारमा भएको एउटा पत्रकार भेटघाट कार्यक्रममा उनले भूराजनीतिक जटिलताबारे टिप्पणी गर्दै अत्यन्त विवादास्पद अभिव्यक्ति दिए । उनले भनेका थिए, ‘देशको चाबी अन्तै रहेछ, देशै मर्ज, सबमर्ज हुन सक्छ ।’ यी अभिव्यक्तिले उनीमाथि ‘भारतपरस्त’ नेताको आरोप अझ चर्को गरी लाग्यो ।

हुन त माओवादीमा आएको राजनीतिक विचलन र विभाजनका कारणले यो पार्टीको नेतृत्व पंक्तिप्रतिको आलोचनाको पारो बढ्दै थियो । पार्टी पंक्ति आर्थिक अनियमितता र भ्रष्टाचारका प्रकरणमा मुछिन थालेपछि पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो पार्टी बनेको यो पार्टीको साख गुम्दै थियो । यी सबै घटनाक्रम नियालिरहेका भट्टराईले नयाँ राजनीतिक शक्तिको खाँचो यही पृष्ठभूमिमा देखेका थिए । पुराना संसदीय राजनीतिक दलहरू उसै पनि आलोचित थिए । समाजले तीप्रतिको विश्वास यसअघि नै गुमाइसकेको थियो ।

माओवादीको राजनीतिमा पनि खिया लागेको निष्कर्षमा पुगेका भट्टराई नयाँ शक्ति गठनको अभियानमा लागे । पार्टीका निरन्तर दोस्रो तहको नेतामा सीमित हुनु र त्यसमाथि प्रचण्डको अवहेलनाले उनलाई नयाँ शक्ति गठन गर्न थप प्रेरित गर्‍यो । भारतमा आम आदमी पार्टीको उदय देखेर हौसिएका उनले अन्ततः साढे तीन दशक लामो कम्युनिस्ट राजनीति परित्याग गरेर बडो तामझामका साथ नयाँ शक्ति पार्टी गठन गरे । भट्टराई समकालीन नेतामध्ये चिन्तनशील र समयको पदचाप बुझेर केही पर देख्न सक्ने नेता अवश्य हुन् । यद्यपि, जनताले उनको यो कदमलाई स्विकारेन, दुत्कारे । यहींनेर उनको राजनीतिले मार खायो । स्थानीय र संघीय दुवै चुनावले नयाँ शक्तिप्रति जनआकर्षण नभएको स्पष्ट सन्देश दिए ।

राजनीतिक पृष्ठभूमि नभएका, सीमित समुदायमा चिनिएका एक जना र्‍यापर रातारात नेपाली राजनीतिका आशा र भरोसाका बिम्ब बनेका छन् । पत्रकारिताका आधारभूत कलाचेत नभएका एक जना सञ्चारकर्मीको पहलमा दुई वर्षअघि खुलेको दल मुलुकको चौथो राजनीतिक शक्ति बनेको छ । तर, राजनीतिक दर्शनका व्याख्याता, राजनीतिक संघर्षको इतिहास भएका भट्टराईको नयाँ शक्तिप्रति किन जनता विश्वस्त हुन सकेनन् ?

यसका पछाडि केही कारण थिए । पहिलो र मुख्य कारण हो, नयाँ शक्ति पार्टी घोषणासँगै बनेको भाष्य । भट्टराईले संघर्षको पृष्ठभूमिबाट आएका राजनीतिक दलले समृद्धिको नेतृत्व गर्न सक्दैनन्, त्यसका लागि नयाँ सोच र मेसिनरी भएको नयाँ शक्ति चाहिन्छ भन्ने भाष्य निर्माण गरे । तर, माओवादी वृत्तबाटै त्यसको प्रतिभाष्य जन्मियो र उनका कदमलाई संशयको दृष्टिले हेरियो । माओवादीभित्र उसै पनि भट्टराई भारतपरस्त नेता भनेर आलोचित हुने गर्थे, त्यसमाथि आफ्ना नजिकका सहकर्मीलाई पत्तो नदिई पार्टी परित्याग गर्दै नयाँ शक्ति गठन गरेपछि उनीमाथिको संशय अरू बढ्यो । यो संशयका कारण माओवादी राजनीतिमा हुँदा जो उनीसँग थिए, ती रहेनन् । भएकाहरू पनि बीचैमा छोडेर आफ्नो राजनीतिक भविष्य जोगाउनतिर लागे । प्रचण्डले त भट्टराईलाई भारतले उक्साएर नयाँ शक्ति गठन गरेको आरोप नै लगाए ।

उनीमाथि लागेको भारतपरस्त नेताको छवि कति जब्बर भएको छ भने, अहिले पनि उनलाई त्यसको खण्डन गर्दै हिँड्नुपरेको छ । जेठ ३० कै कार्यक्रममा उनी आक्रोश पोख्दै थिए, ‘दिल्लीमा गएर लम्पसार पर्ने राष्ट्रवादी म प्रबुद्ध समूह गठन गरेर भारतसँगका असमान सन्धि सम्झौता पुनरावलोकन गर्नुपर्छ भन्ने धारणा राख्ने भारतीय दलाल ? अनि यो देश सुध्रिन्छ ?’ सारमा, भारतविरोधी मनोविज्ञान बढी भएको नेपाली समाजमा भट्टराईको लोकप्रियता खस्कनु र नयाँ शक्तिले ‘पिकअप’ लिन नसक्नुको एउटा मुख्य कडी उनीमाथि लाग्दै आएको यही आरोप हो ।

दोस्रो, नयाँ शक्ति बनाउने भट्टराईको कदमलाई समाजले राजनीतिक विचलनका रूपमा बुझ्यो । विचलनको आरोप लगाउँदै आलोचना माओवादी वृत्तबाटै सुरु भयो । उनले आफूलाई कम्युनिस्ट पार्टीको साधारण सदस्य पनि नरहेको र आफू गैरमार्क्सवादी भनेपछि मोहन वैद्य समूहले त उनी विचलित भएको देख्ने नै भए, उनीसँगै रहेका मणि थापाहरूले पनि त्यही देखे । समाजले त्यो कुरा पत्यायो र नयाँ शक्तिलाई स्विकारेन । २०७४ को निर्वाचन परिणाम यसको प्रमाण हो ।

तेस्रो, राजनीतिक आधार तय गर्दै उनले नयाँ शक्तिको ‘ब्रान्डिङ’ जुन तामझामसाथ गर्न खोजे, त्यसअनुसार सांगठनिक विस्तार गर्न सकेनन् । खासमा माओवादीभित्रै रहँदा पनि उनी कमजोर समूहका नेता थिए । उनीसँग समीप रहेका नेताहरू भन्ने गर्छन्, आत्मकेन्द्रित र आफ्ना विचार लाद्न खोज्ने भएकाले उनीसँग लामो सहकार्य गर्न सकिँदैन ।’ त्यसैले धेरैजसो उनी निकट भनिएकाहरू नयाँ शक्तिमा आएनन् । आएकाहरू पनि फर्किए, निष्क्रिय भए । उनले विभिन्न पेसा व्यवसायसँग जोडिएका व्यावसायिक मान्छे जोड्न खोजे तर तिनले पनि उनीसँगको सहकार्यलाई सहज ठानेन र छाड्दै गए । कतिसम्म भने, उनको राजनीतिको व्यवस्थापन गरेर जीविकोपार्जन गर्नेहरू पनि अवसर खोज्दै बाहिरिए, बाहिरिँदै छन् । अब उनको सांगठनिक राजनीति एकाध नेता र परिवारको घेरामा सीमित हुन पुगेको छ ।

भट्टराईका राजनीति दुब्लाउँदै जाँदा अर्को प्रश्न पनि उठ्छ, नयाँ शक्ति गठनको उनको निर्णय कति प्रचण्डसँगको व्यक्तिगत इगो र प्रतिष्ठाको लडाइँका कारण थियो र कति ‘कन्भिक्सन’ ? यो प्रश्न किन पनि उठ्छ भने, वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याएको दाबी गरे पनि उनले पुरानासँगै तालमेल र एकताको प्रयास गरे । कहिले वाम गठबन्धनको चुनावी मोर्चामा जान तयार भए त कहिले मधेशी दलसँग ।

पछिल्लो समय माओवादीसँग मिलेर समाजवादी मोर्चा बनाउने वा पार्टी नै पुनः एकता गर्ने भन्ने तहको प्रयत्न पनि गरे । प्रचण्डलाई आफू लडिरहेको गोरखाको निर्वाचन क्षेत्र सुम्पिए । यी अभ्यास र प्रयत्नले नयाँ वैकिल्पक राजनीतिको प्रवर्द्धन कसरी हुन्छ ? यी प्रयत्न सत्ता र अवसरमुखी चरित्रबाट बढी निर्देशित थिए । राजनीतिक र सैद्धान्तिक भाष्यकार बन्नु एउटा र त्यसको कार्यान्वयन गर्दै नेतृत्व लिन सक्नु अर्को पाटो हो । नेतृत्वको कौशल भनेको रणनीति र व्यवस्थापकीय क्षमतामा लुकेको हुन्छ । भट्टराईमा यो योग्यताको अभाव देखिन्छ । त्यसैले धेरैले उनलाई राजनीतिक उत्तरार्द्धमा राजनीति पढाउन सुझाउँछन्, जसरी जेठ ३० गतेको कार्यक्रममा रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेले सहकार्य नगर्ने संकेत गर्दै पढाउन सुझाए ।

नेपाली राजनीतिको शीर्ष तह विवाद र प्रश्नको चाङमा छ । भट्टराई त्यसबाट अछुतो छैनन् । यद्यपि, उनी तुलनात्मक रूपमा समाजले आशा र अपेक्षा गरेका पात्र हुन् । कुनै बेला माओवादी राजनीतिका भाष्यकार भट्टराई यतिबेला आफूलाई वैकल्पिक राजनीतिक शक्तिका प्रणेताका रूपमा उभ्याउन खोज्दै छन् । अब हेर्नुछ, ‘पुरानो शरीरको नयाँ आत्मा’ भनेर वैकल्पिक राजनीतिका लागि योग्य रहेको उनको दाबीलाई नवोदित शक्तिले स्विकार्लान् ? अथवा विगतमा जस्तै ‘पुरानो बोतल नयाँ रक्सी’ झनेर दुत्कार्लान् ?

प्रकाशित : असार ३, २०८१ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×