२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

धर्मनिरपेक्षताको वास्तविक अर्थ

नेपाली समाजको चरित्र पहिलेदेखि नै धर्मनिरपेक्ष प्रकृतिकै रहेकामा कसैले नकार्न सक्दैन । यहाँ सदियौंदेखि विभिन्नधर्म र जातिका मानिस मिले रबसेका छन् र कुनै धार्मिक अतिवादले प्रश्रय पाएको इतिहास छैन ।
मोहना अन्सारी

केही साता अगाडि संयुक्त राज्य अमेरिकाको संसद्मा सत्तारूढ डेमोक्रेट पार्टी तथा विपक्षी रिपब्लिकन पार्टीका सांसदबीच घोचपेच चल्यो । फ्लोरिडा राज्यबाट जितेका रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले अमेरिकी सरकारले नेपालमा कुनै धार्मिक आस्था नराख्ने व्यक्तिहरूका लागि ५ लाख अमेरिकी डलर खर्च गरेको आरोप लगाए ।

धर्मनिरपेक्षताको वास्तविक अर्थ

प्रत्युत्तरमा बाइडेन प्रशासनका विदेश राज्यमन्त्री रिचार्ड राहुल बर्माले कुनै धर्मलाई मान्ने वा नमान्ने मानिसलाई प्रवर्द्धन गर्ने अमेरिकी सरकारको नीति नरहेको र नेपालमा त्यस प्रयोजनका लागि पैसा नदिइएको भन्ने जवाफ दिए । उनले अमेरिकाको नीति धार्मिक स्वतन्त्रताको सम्मान गर्ने रहेको बताए । अमेरिकामा चुनाव नजिकिँदै गर्दा डेमोक्रेट र रिपब्लिकन सांसदबीच यस्तो घोचपेच तीव्र बन्दै गएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक मास्टको अभिव्यक्तिले नेपालमा केही तरंग ल्यायो । अमेरिकाले नेपालमा धार्मिक अनास्था वा नास्तिकता फैलाउन पैसा बाँडेको भन्ने शीर्षकसहितका समाचार प्रकाशित भए । सोसल मिडियामा सकारात्मक र नकारात्मक दुवै कोणबाट बहस चले । यसैबीच चैत १३ गते नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी सरकार हरेक नागरिकलाई आफ्नो रोजाइको धर्म मान्ने वा नमान्ने अधिकारको पक्षमा रहेको स्पष्टीकरण जारी गर्‍यो । दूतावासको भनाइअनुसार अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन पारित भएको २५ वर्षभन्दा लामो समयदेखि अमेरिकी सरकार सबै ठाउँका मानिसको आआफ्नो सिद्धान्तअनुसार विश्वास गर्ने वा नगर्ने अधिकारका पक्षमा उभिएको छ । अमेरिकी विदेश मन्त्रालयको यस विश्वव्यापी अनुदानलाई सबै व्यक्तिको धार्मिक स्वतन्त्रताको प्रवर्द्धन र रक्षा गर्नका निम्ति तर्जुमा गरिएको थियो । यसमा त्यस्ता देशका सीमान्तकृत धार्मिक वा विश्वास समुदायका सदस्यसमेत पर्छन्, जहाँ उनीहरूले उत्पीडनको सामना गरिरहेका छन् ।

२०२३ डिसेम्बर २४ को राति मेरो मेसेन्जरमा एक विदेशी मित्रको सन्देश प्राप्त भयो– ‘मोहना, तपाईं क्रिसमस मान्नु हुन्न । तैपनि तपाईं र तपाईंको परिवारलाई मेरो तर्फबाट क्रिसमस र नयाँ वर्षको शुभकामना छ ।’ मैले जवाफ लेखें– ‘धन्यवाद । तपाईं र सपरिवारमा शुभकामना । तपाईंलाई कसले भन्यो कि म क्रिसमस मनाउँदिनँ । म सेकुलर विचारधराको समर्थन गर्छु र सबै धर्मको चाडपर्व मेरा लागि शुभअवसर हो ।’

अघिल्लो महिना तिहारको पर्वमा हामीले आफ्नो घरको कौसीमा दीप प्रज्वलन गरेको एउटा तस्बिर शुभकामना सन्देशसहित सोसल मिडियामा पोस्ट गरेकी थिएँ, जुन धेरैले मन पराएका थिए । राति मेसेन्जरमा एक जना फेसबुक मित्रको मेसेज आयो । उहाँले नकारात्मक कुरा गर्नुभयो र आफ्नो सोचअनुसारको उपदेश दिनुभयो । मैले भनेँ, ‘मेरो सबै टोलवासीले आफ्नो घर झिलिमिली पारेर खुसियाली मनाइरहँदा मैले आफ्नो घर अँध्यारो पारेर अलग्गै बस्नु कसरी राम्रो हुन्छ ?’ त्यसपछि मैले उहाँसँग तर्क वितर्कमा अल्झिरहन उचित ठानिनँ । मेरो र उहाँको बुझाइमा फराकिलो अन्तर थियो ।

हाम्रो परिवेशमा धर्म एउटा संवेदनशील विषय हो जुन मानिसको सामुदायिक भावनासँग जोडिएको हुन्छ । २०६३ देखि २०७२ सम्मको राजनीतिक संक्रमण र संविधान लेखन प्रक्रियामा धर्मनिरपेक्षता एउटा जटिल विषय थियो । अन्ततः राज्यका सबै प्रमुख राजनीतिक शक्तिहरू २०६३ को अन्तरिम संविधानमा अँगालिएको धर्मनिरपेक्षताको सिद्धान्तलाई नेपाल राज्यको सामूहिक अवधारणाका रूपमा निरन्तरता दिन सहमत भए । प्रसिद्ध समाजशास्त्री जिन बबेरोको भनाइमा धर्मनिरपेक्षताका मुख्य तीन आधार हुन्छन्– धार्मिक संस्था र राज्यका संस्थाहरूबीच विभाजन, धर्म विचार र अन्तस्करणको पूर्ण स्वतन्त्रताको प्रत्याभूति र धार्मिक वा गैरधार्मिक विचारको आधारमा कसैप्रति भेदभाव नहुने अवस्था ।

नेपालको संविधान २०७२ ले अँगालेको धर्मनिरपेक्ष राज्यको सिद्धान्तमा यिनै आधार निहित छन् । संविधानको भाग १ को धारा ४ ले धर्मनिरपेक्षताको स्पष्टीकरण गर्दै धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत ‘धार्मिक, सांस्कृतिक स्वतन्त्रता’ सम्झनुपर्छ भनेको छ । संविधानको भाग ३ धारा १८ मा नागरिकको मौलिक हकको व्याख्या गर्दै धर्मका आधारमा कसैप्रति भेदभाव गरिने छैन तर सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएको समूहको संरक्षणका लागि राज्यले छुट्टै कानुन बनाउन रोक छैन भनेको छ । विभिन्न देशका संविधानको तुलनामा प्रगतिशील मानिएको हाम्रो संविधान नेपाली नागरिकको आत्मसम्मान र विकसित चेतनाको प्रमाण हो । यद्यपि धर्मनिरपेक्षतालाई नरुचाउने समूह पनि छन् र त्यो उनीहरूको संविधानप्रदत्त अधिकार हो ।

एकछिन घोत्लौं, संसारमा कतिवटा धर्म होलान् । धर्म र समाजमाथि रिसर्च गर्ने पिउ रिसर्च सेन्टर अन रिलिजन एन्ड पब्लिक लाइफको अनुसन्धानलाई मान्ने हो भने अहिले विश्वमा अनुमानित ४ हजारभन्दा बढी धर्म प्रचलित छन् । यसमध्ये क्रिश्चियानिटी, इस्लाम, हिन्दुइज्म, बुद्धिज्म, सिक्खिज्म, ताओइज्म, जुडाइज्मलाई अनुयायीका आधारमा ठूला धर्म मानिन्छ । यीमध्ये केही धर्म, जस्तो कि क्रिश्चियानिटी, इस्लाम, हिन्दुइज्म र बुद्धिज्म आफ्नो उद्गगम स्थलमा सीमित नभएर संसारका अन्य भू–भागमा विस्तारित भएका छन् । विश्व जनसंख्याको ८५ प्रतिशत मानिसले आफूलाई कुनै न कुनै धर्मसँग आबद्ध भएर चिनाउँछन् भने १५ प्रतिशतले कुनै धर्मसँगको आबद्धता अस्वीकार गर्छन् । यो सन् २०२१ सम्मको तथ्यांक हो ।

धर्मको सम्बन्ध आस्थासँग हुन्छ जसले आफ्नो अनुयायीको नैतिक र सामाजिक व्यवहार निर्देशित गर्छ । यसको मूल भावमा मानव नियतिलाई नियन्त्रित गर्ने शक्तिमाथि मजबुत विश्वास हुन्छ । साथै हरेक धर्मले विशिष्ट प्रार्थना पद्धति, शुद्ध अशुद्ध, पवित्रता, मान्यता, धर्मिक प्रतीक, भाषा, पहिरन, खानपान, चाडपर्व, संस्कृति निर्माण गर्छ । रमाइलो कुरा के छ भने सांस्कृतिक रूपमा धर्महरू एकअर्काबाट भिन्न देखिए पनि सबै धर्मको मौलिक उद्देश्य समान छन् । मानव मानवबीच प्रेम, सहानुभूति, दया, माया, करुणा, न्याय र सत्य प्रवर्द्धन गर्ने । समाजमा नैतिक आचरण, सामूहिकता र सुव्यवस्था कायम गर्ने तथा हरेक मानिसलाई आफ्नो व्यवहारप्रति उत्तरदायी बनाउने । कुनै धर्मसँग आबद्धता नराख्ने वा धार्मिक अनास्था भएका व्यक्ति पनि मानवता, प्रेम, सहानुभूति, दया, माया, करुणा, न्याय र सत्य जस्ता मानवीय भावनाबाट विमुख हुन सक्दैनन् ।

औपचारिक रूपमा धर्मनिरपेक्षता अहिले आएर संविधानमा लिपिबद्ध भए पनि नेपाली समाजको चरित्र पहिलेदेखि नै धर्मनिरपेक्ष प्रकृतिकै रहेको कुरा कसैले नकार्न सक्दैन । यहाँ सदियौंदेखि विभिन्न धर्म र जातिका मानिस मिलेर बसेका छन् र कुनै अवरोधबिना आफ्नो धर्म, संस्कृति पालन गर्न पाएका छन् । नेपालको धार्मिक सहिष्णुता धेरै देशका लागि अनुकरणीय हुन सक्छ । यहाँ धार्मिक अतिवादले प्रश्रय पाएको इतिहास छैन । यहाँका गाउँमा हिन्दुले मनाउने दुर्गापूजाका लागि मुस्लिमले चन्दा उठाउने र मुस्लिमको रमजानमा हिन्दुले इफ्तारी (व्रत खोल्ने कार्यक्रम) को व्यवस्था गरेको देख्नु सामान्य हो ।

दशहराको कार्यक्रममा हिन्दु, मुस्लिम, शिख, इसाई सबै सम्मिलित हुन्छन् । इदमा किराती, बुद्धिष्ट, हिन्दु, बहाई, बोन सबैले इद मुबारक भन्छन् । क्रिसमसमा क्रिश्चियनलाई ‘मेरी क्रिस्मस’ को शुभकामना दिन हिन्दु–मुस्लिम कसैले पनि कन्जुस्याइँ गर्दैनन् । नेपाली समाजको यही विशिष्टताका कारणले गर्दा धर्मनिरपेक्षताविरोधी विचारले नेपाली जनमानसको लोकप्रिय समर्थन पाउन सकेको छैन । यद्यपि हालका केही वर्षमा समाजमा धार्मिक ध्रुवीकरण बढाउने र तराईका केही जिल्लामा धार्मिक तनाव उत्पन्न गराएर हिंसामा उक्साउने प्रयास भएको घटना प्रकाशमा आएका छन् । तर प्रशासन तथा प्रबुद्ध नागरिकको सुझबुझले यस्ता नियोजित घटनालाई समयमै नियन्त्रणमा लिएको देखिन्छ । वास्तवमा कुनै पनि धर्मको चाडपर्व सबैका लागि उत्सव र खुसियालीको अवसर हुनुपर्छ । चाडपर्व व्यापार व्यवसाय बढाउने, सांस्कृतिक आदानप्रदान गर्ने र सामाजिक सद्भाव प्रगाढ गर्ने अवसर हुन् । यसलाई अनावश्यक होडबाजी, सामाजिक तनाव र अविश्वास बढाउने माध्यम बनाइनु हुँदैन ।

पंक्तिकारले आम मानिससँगको साक्षात्कारमा पाएका धारणाको निचोड राख्ने हो भने दसैं, तिहार, इद, रमजान, क्रिसमस, वैशाखी, बुद्धपूर्णिमा, छठ, महपूजा, ल्होसारलगायत सबै चाडपर्व मानव सभ्यताका सांस्कृतिक विरासत हुन् । काबा, काशी, पशुपति, स्वर्णमन्दिर, भेटिकन, लुम्बिनी वैश्विक धरोहर हुन् । राम, कृष्ण, मोहम्मद, जिसस, मोजेज, बुद्ध, नानक, कन्फ्युसियस कुनै एक समुदायको पेवा होइनन् बरु सम्पूर्ण मानव समाजको आध्यात्मिक विकास र कल्याणका लागि महानतम् योगदान दिएका व्यक्तित्व हुन् । मर्यादा पुरुषोत्तम रामको जीवनी, जिससको करुणा, बुद्धको ज्ञान, महावीरको वैराग, सन्त कवीरको सारगर्भित बचन, गुरु नानकको पवित्र वाणी र पैगम्बर मुहम्मदको आध्यात्मिक सन्देशले करोडौं मानिसलाई सत्मार्गमा डोर्‍याएको छ ।

के यिनको कल्याणकारी सन्देशलाई कुनै एउटा समुदायमा सीमित गर्न सकिन्छ ? होइन भने हामी संकीर्णताको घेरामा बाँच्ने अथवा सर्वधर्म सम्भावको भावनासहित आफ्ना साथी, छिमेकी देशवासीको हर्सोल्लासमा सम्मिलित हुने ? यो व्यक्तिगत छनोटको विषय हुन सक्छ । हामी इतिहासको यस्तो समयको साक्षी हौं, जहाँ मुस्लिम अरब देशमा भव्य हिन्दु मन्दिर निर्माण हुँदै छन् । पाकिस्तानको इस्लामाबादस्थित कायदे आजम युनिभर्सिटीले आफ्नो विद्यार्थीका लागि होली कार्यक्रमको आयोजना गर्छ । मानव जातिको भविष्य सांस्कृतिक एक्लोपन (कल्चरल आइसोलेसन) मा होइन सांस्कृतिक सम्मिश्रण (कल्चरल एसिमिलेसन) मा छ भन्ने कुराको चेतना बढ्दै छ ।

यस पंक्तिकारको बाल्यकाल र युवावस्था नेपालगन्जमा बित्यो, जहाँ सबै धर्मावलम्बी र जातजातिबीच सामाजिक सम्बन्ध बलियो र सौहार्दपूर्ण हुने गर्छ । मुस्लिमको मुहर्रम पर्वमा ताजिया राख्ने परम्परामा हिन्दुको सहभागिता मुस्लिम जत्तिकै हुन्थ्यो । हिन्दुको दशहरा मेला र तिहारको बजारमा मुस्लिमको सहभागिता उत्तिकै हुन्थ्यो । राष्ट्रिय मानवअधिकार आयोगमा कार्यरत हुँदा अन्तर्राष्ट्रिय संस्था ह्युमनिस्ट इन्टरनेसनलबाट एक डेलिगेसन नेपाल भ्रमणमा आएको थियो ।

नेपालमा धार्मिक स्वतन्त्रताका साथै कुनै पनि धर्म नमान्ने समूहको अवस्थाका बारेमा बुझ्न राजनीतिक दल, नागरिक समाज, संघसंस्थासँग भेटघाट गरेको डेलिगेसनले पंक्तिकारसँग पनि अन्तक्रिया गरेको थियो । जसमा पंक्तिकारले नेपालको संविधान मानवअधिकारको हकमा निकै प्रगतिशील रहेको तर कार्यान्वयनको पक्षमा चुनौती देखिएको र अल्पसंख्यक समूहको अधिकार हनन हुने गरेको केही घटना प्रकाशमा आएको विषय राखेको थियो । ह्युमनिस्ट इन्टरनेसनलले मानवतालाई धर्मभन्दा माथि राख्छ र कुनै पनि धर्म नमान्ने व्यक्ति र समूहका लागि काम गर्छ ।

झन्डै ५ वर्षपछि ब्रायन मास्टले अमेरिकी संसद्मा नेपालको सन्दर्भमा बोलेको कुराबाट उठेको तरंगमा केही अनलाइन पत्रिका र सोसल मिडिया प्रयोगकर्ताले पंक्तिकारको ह्युमनिस्ट इन्टरनेसनलसँग भएको छलफललाई पनि सामग्री बनाए । पंक्तिकार आफ्नो धारणामा स्पष्ट छ– नेपालको संविधानले हरेक नागरिकलाई इच्छाअनुसार धर्म मान्ने वा कुनै पनि धर्म नमान्ने समान अधिकार दिएको छ र कानुनले धर्मका आधारमा नागरिकबीच भेदभाव गर्ने छैन । धर्मनिरपेक्षताको वास्तविक अर्थ पनि यही हो ।

प्रकाशित : जेष्ठ ११, २०८१ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?