सांसद निलम्बन फुकुवाको आदेशमा प्रश्न 

कानुन सबैका लागि बराबर हुन्छ भन्ने विधिशास्त्रीय मान्यताविपरीत गुरुङका हकमा गरिएको व्यवहारले न्यायालयमाथि नै प्रश्न उठ्ने ठाउँ दिएको छ ।

चैत्र १८, २०८०

सम्पादकीय

Questions on the order to lift the suspension of MPs

विशेष अदालतबाट भ्रष्टाचार कसुरमा सजाय ठहर भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुने विरोधाभासपूर्ण आदेश सर्वोच्च अदालतले गरेको छ । कानुनअनुसार भ्रष्टाचार मुद्दा दायर हुनासाथ लाभको पदबाट निलम्बन हुनेमा अदालतबाट दोषी भइसकेका गुरुङको निलम्बन फुकुवा गर्न आदेश जारी भएको हो ।

सर्वोच्चकै नजिरसँग समेत बाझिने गरी यस्तो आदेश आएपछि न्यायिक वृत्तमा समेत आलोचना भइरहेको छ । तर्कसम्मत कानुनी आधार, नजिर र सैद्धान्तिक मान्यताबेगर यसरी तजबिजीमा आदेश जारी हुँदा सिंगो न्यायालयमाथिको जनआस्था नै धरमराउने त होइन भन्ने चिन्ता पनि सिर्जना भएको छ । 

पूर्वश्रम तथा रोजगार राज्यमन्त्री गुरुङ भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै बेला गत वर्ष मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यही मुद्दाकै कारण उनी स्वतः निलम्बनमा परेको सूचना २०७९ पुस १२ मा संघीय संसद् सचिवालयले निकालेको थियो । दुई महिनापछि विशेष अदालतले गुरुङलाई दोषी ठहर गर्‍यो । सर्वोच्च अदालतमा पुनरावेदन गरेका कारण उनको पद खारेज भएको छैन । पुनरावेदन विचाराधीन रहेकै बेला निलम्बन फुकुवाको माग गर्दै गुरुङ सर्वोच्चमा गएका थिए, जसमा न्यायाधीश मनोज शर्मा र विनोद शर्माको इजलासले न्यायिक वृत्तलाई नै अचम्मित पार्ने आदेश जारी गरेको हो । जबकि, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भए राष्ट्रसेवक (सार्वजनिक पद धारण गरेको व्यक्ति) सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने प्रावधान छ । भ्रष्टाचार मुद्दाका कारण सांसद पद निलम्बन भएपछि फुकुवाका लागि पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको निकट नजिर नै छ । 

तत्कालीन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको समाजकल्याण परिषद्को बैठकले २०६९ भदौ २० मा फनपार्क सञ्चालनका लागि भृकुटीमण्डपको जग्गा गुरुङलाई भाडामा दिएको थियो । त्यति बेला बिनाप्रतिस्पर्धा मासिक भाडा ५ लाख ५५ हजार रुपैयाँ तोकेर १० वर्षका लागि ६० रोपनी जग्गा दिइएको थियो । गुरुङले प्रतिरोपनी ९ हजार २ सय ५० रुपैयाँ भाडा तिर्ने गरी लिएकामा केही जग्गा इच्छुमती तरकारी बजारलाई ७८ हजार ५ सय ७१ रुपैयाँ भाडामा लगाएका थिए । यस प्रकरणमा मिलेमतो गरेर अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतको निष्कर्ष छ । अख्तियारले उनीहरूविरुद्ध २०७५ माघ २१ मा मुद्दा चलाएको थियो । विशेषले २०७९ फागुन २६ मा गुरुङलाई १ करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने फैसला सुनाएको थियो । विशेष अदालतले तत्कालीन समाजकल्याणमन्त्री न्यौपानेका साथै परिषद्का पदाधिकारीलाई समेत दोषी ठहर गरेको छ । 

निलम्बन फुकुवासम्बन्धी रिटको सुनुवाइ जुन ढंगबाट फटाफट अघि बढ्यो, त्यो पनि संशयपूर्ण छ । एक पटक पेसी चढेको मुद्दा सुनुवाइ नभएर सरेपछि महिनौँसम्म पालो नआउने सर्वोच्च अदालतमा गुरुङको निवेदनमाथि भने एक महिना नबित्दै ५ पटक पेसी चढेको थियो । शुक्रबार शर्माद्वयको इजलासबाट आदेश जारी भयो । कानुन सबैका लागि बराबर हुन्छ भन्ने विधिशास्त्रीय मान्यताविपरीत गुरुङका हकमा गरिएको व्यवहारले न्यायालयमाथि नै प्रश्न उठ्ने ठाउँ दिएको छ । यसले अदालतबाट हुने अरू फैसला वा आदेशमा पनि संशय गर्नुपर्ने अवस्था ल्याउँछ, जुन चिन्ताको विषय हो । न्यायालयले जनआस्था आर्जन गर्ने भनेकै प्रश्नरहित न्याय सम्पादनबाट हो । बलियो जनआस्थाले नै न्यायालयको छवि पनि गर्विलो बन्ने हो । राजनीतिक पहुँच भएकाहरूको हकमा यसरी कानुन र नजिरसमेत बेवास्ता गर्दै छुट्टै आदेश र फैसला गर्दै जाने हो भने जनविश्वास गुम्दै जान्छ भन्नेमा न्यायालय सजग बन्नुपर्छ । 

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully