कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हामीले अवलम्बन गर्नुपर्ने पर्यटन कूटनीति

तीव्र आर्थिक विकासको प्रतिस्पर्धामा रहेका छिमेकीलाई नचिढ्याइकन अघि बढाउन सकिने क्षेत्र भएकाले पर्यटन कूटनीतिमा नेपालले थप स्पष्टता र नवीनता ल्याउन आवश्यक देखिन्छ ।
सुनिता बराल

फेब्रुअरी पहिलो साता प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको प्रतिनिधिमण्डल सदस्यका रूपमा म भारतका विभिन्न स्थानको अवलोकन भ्रमण तथा उच्चस्तरीय भेटवार्तामा सहभागी थिएँ । हाम्रो भ्रमणभन्दा एक साताअघि मात्र नेपालमा भारतबाट विदेशमन्त्री एस जयशंकर र चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागकी उपमन्त्रीको भ्रमण भएको थियो ।

हामीले अवलम्बन गर्नुपर्ने पर्यटन कूटनीति

नेपालको विशिष्ट प्रकृतिको भूराजनीतिक अवस्थितिका कारण हुनुपर्छ हाम्रो छिमेक सम्बन्धमा भारतसँग कुरा गर्दा चीन र चीनसँग कुरा गर्दा भारत अन्योन्याश्रित रूपमा जोडिन आइहाल्छन् । दुवै देशले आफूलाई केन्द्रमा राखेर गरिने सुरक्षा चासो र नेपाल एकअर्काविरुद्ध प्रयोग हुने सदावहार चिन्ताको पृष्ठभूमिमा व्यक्त हुने कूटनीतिक सन्देशमा नेपालमा कूटनीतिक मामिलामै पनि देखापर्ने राजनीतिक फरक मतले पृष्ठपोषण गरिरहेको अनुभूत गर्न अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थी भइरहन पर्दैन ।

भारत भ्रमणमा भएका भेटवार्ता र काठमाडौंमा चिनियाँ नेताका सन्देश सुन्दा मलाई लाग्यो– भारत र चीन दुवै विश्व शक्तिका रूपमा प्रतिस्पर्धा गरिरहेका छिमेकी भएका कारण हामीसँग फरक स्वार्थमा आधारित अपेक्षा हुनु स्वाभाविक हो । तर, दुवै देशबाट भूराजनीतिभन्दा पर रहेर हामीले लाभ लिने सम्भावनाका क्षेत्र पनि छन् । भारत र चीनले नेपाली पर्यटन क्षेत्रलाई उच्च महत्त्व दिएका छन् । उनीहरूको दृष्टिकोण फरक हुन सक्लान् तर उनीहरूको लगावलाई हामीले कसरी उपयोग गर्ने विषय महत्त्वपूर्ण छ । भारत र चीन पर्यटकीय योगदानमा पहिलो र दोस्रो नम्बरमा रहेका देश रहेको तथ्य मनन गर्दै यसलाई व्यवस्थित रूपमा अघि बढाउने हो भने नेपालले तुलनात्मक लाभ लिन सक्ने क्षेत्र पर्यटन नै हो । अर्थात्, भू–राजनीतिक टकरावभन्दा बाहिर रहेर हामीले भारत र चीनसँग गर्नसकिने कूटनीति पर्यटन कूटनीति हुन सक्छ ।

संसदीय समितिको हाम्रो प्रतिनिधिमण्डललाई स्वागत गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारत नेपालमा पर्यटकको सबैभन्दा ठूलो स्रोत बन्न सक्ने बताएका थिए । ‘नेपालमा पर्यटनका लागि भारत सबैभन्दा ठूलो माध्यम बन्न सक्छ, नेपालमा थुप्रै पवित्र स्थल छन् जहाँ भारतीयहरू जान चाहन्छन् । नेपाल इको–टुरिजमको ठूलो केन्द्र बन्न सक्छ ।’ योगीको यस्तो भनाइले नेपालबारे भारतीय पर्यटनको मूलधारको प्रतिनिधित्व गर्छ । हाम्रो भारतसँगको पर्यटन मूल रूपमा सांस्कृतिक, धार्मिक र आध्यात्मिक हो, यसलाई थप प्रवर्द्धनमा सघाउन भारत तयार देखिन्छ ।

एक साताअघि चिनियाँ नेताबाट पनि काठमाडौंमा समान प्रकृतिको धारणा व्यक्त भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागकी उपमन्त्री सुन हायानले काठमाडौंमा नेपाली नेतासँगको अन्तरक्रियामा भनेकी थिइन्, ‘नेपालमा धेरै पर्यटक आउँछन् तर पूवार्धारमा विकास भएको छैन, एउटै पूर्वाधार र गन्तव्यमा भर पर्न मिल्दैन । नयाँनयाँ पूर्वाधार र गन्तव्य बनाउनुपर्छ ।’ हायानको प्रस्ट सन्देश थियो– नयाँ पूर्वाधार र गन्तव्य विकास गर, थप चिनियाँ पर्यटक आफैं आकर्षित हुन्छन् ।

दुई देशले महत्त्व दिएका दुई फरक खाले पर्यटन रणनीतिलाई नेपालले व्यावहारिक रूपमा अवलम्बन र उपयोग गर्ने चुनौनी अब हाम्रासामु छ । भारतीयको चासो हाम्रा धार्मिक महत्त्वका स्थानमा भारतीयको सहज पहुँच र भारतीय धार्मिक तीर्थस्थलसँग नेपाली धार्मिक पर्यटनलाई एकाकार गर्नेतर्फ देखिन्छ । पशुपतिनाथलगायत भारतीयले उच्च श्रद्धा गर्ने हाम्रा धार्मिक स्थललाई भारतीय धार्मिक पर्यटनका स्थानसँग जोड्ने र धार्मिक कूटनीति पनि प्रवर्द्धन गर्ने भारतीय मनसाय सबैजसो संवादमा सुन्ने गरिएको छ ।

चीन भने पूर्वाधारका दृष्टिले अलिअघि बढिसकेका कारण हुन सक्छ अधिकांश चिनियाँ पर्यटक, नेता वा अन्य व्यावसायिक व्यक्तिसँग कुरा गर्दा उनीहरूको गुनासो हाम्रा सडक तथा यातायात पूर्वाधारमा रहेको कमीबारे हुने गरेको छ । चिनियाँ पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का ५ मध्ये एउटा महत्त्वपूर्ण अवयव पिपुल टु पिपुल अर्थात् नागरिक तहमा सम्बन्ध विस्तार पनि हो । त्यसैले होला पर्यटन प्रवर्द्धन र सडक पूर्वाधारमा जोड दिँदा चिनियाँबाट हामी यसको विकासमा सघाउँछौं तिमीहरू सहयोग लिन तयार बन भन्ने सन्देशसमेत सँगसँगै दिने गर्छन् ।

भारतीय ‘पब्लिक डिप्लोमेसी’ को इतिहासमा संस्कृति प्रवर्द्धनको मान्यता जहिले पनि केन्द्रमा देखिन्छ । हिन्दु सनातन एवं समग्र पूर्वीय सभ्यताको केन्द्रमा भारतले आफूलाई राख्न खोजेको तथ्य त लुकेको छैन तर धार्मिक पर्यटनमा नेपाललाई समेट्ने विषयमा भने अनुदार छैन । पौराणिक ग्रन्थहरूको समानताका कारण ऋषि, महर्षिहरूले हाम्रै हिमालय क्षेत्रमा ध्यान, जप र तप गरेर कालजयी ज्ञान हासिल गरेको कुरा भारतीय जनमानसमा गहिरो गरी स्थापित छ । भारत विशाल जनसंख्या भएको देश भएकाले पनि देशलाई जोड्न प्रमुख कडीका रूपमा धर्म र संस्कृतिलाई प्रयोग गरिएको देखिन्छ ।

भारतमा आधा शताब्दीभन्दा पुराना दुई महत्त्वपूर्ण संस्था इन्डियन काउन्सिल फर कल्चरल रिलेसन्स (आईसीसीआर) तथा इन्डियन काउन्सिल फर वर्ल्ड अफेयर्स (आईसीडब्ल्यूए) सांस्कृतिक रूपमा ‘पब्लिक डिप्लोमेसी’ प्रवर्द्धनका महत्त्वपूर्ण संस्था मानिन्छन् । आईसीसीआरले भारतीय विदेश मन्त्रालयसँग मिलेर बाह्य सांस्कृतिक कूटनीतिमा काम गर्छ भने आईसीडब्ल्यूए अन्य देशसँग भारतको सम्बन्ध विस्तारका लागि अध्ययन, शोध, बहस तथा प्रकाशन/प्रशारणको माध्यमबाट थिंक

ट्यांकका रूपमा सक्रिय छ । सन् २०१७/१८ मा भारतीय विदेश मन्त्रालयले गरेको कुल खर्च झन्डै १.९ अर्ब अमेरिकी डलरमध्ये करिब ३० लाख अमेरिकी डलर ‘पब्लिक डिप्लोमेसी’ मा खर्चिएको छ । सम्भवतः नेपालको तर्फबाट भारतमा हुने अधिकांश अर्धराजनीतिक र संस्थागत भ्रमण यसैअन्तर्गत पर्छन् ।

भारतसँग हाम्रो पर्यटन प्रवर्द्धनमा सबैभन्दा सहज पक्ष भनेको मिल्दाजुल्दा भाषा, संस्कृति, भेषभूषा तथा पौराणिक र वैदिक ज्ञानमा आधारित सामाजिक मान्यता हुन् । खुला सिमानाका कारण सहजै हुने आदानप्रदान आर्थिक–सामाजिक मात्र होइन सांस्कृतिक निकटतासँग पनि सम्बन्धित छ । नेपाल र भारतमा हिन्दु र बौद्ध धर्मावलम्बीप्रतिको समान दृष्टिकोणका कारण सांस्कृतिक समानतालाई बल मिलेको छ । नेपाल आउने अधिकांश भारतीय पर्यटकको मुख्य प्रवृत्ति धार्मिक भएको अध्ययनहरूले देखाएका छन् । विशेषगरी भारतीय पर्यटक विश्वका हिन्दु धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ, स्वर्गद्वारी, पाथीभरा, कालिञ्चोक, मनकामना, बिन्ध्यवासिनी, जनकपुर, लुम्बिनीजस्ता धार्मिक स्थलको अवलोकन एवं दर्शन तथा पूजाअर्चनाको लक्ष्य राखेर नेपाल आएको पाइन्छ ।

बुद्धको जन्मस्थान नेपालको लुम्बिनी र ज्ञान प्राप्त गरेको भारतको बोधगया एवं सारनाथलाई पर्यटकीय गन्तव्यका रूपमा एकाकार गर्ने प्रस्ताव भारतले धेरैपटक गरिसकेको छ । भारतको अयोध्या र नेपालको जनकपुरबीचको साइनो पछिल्लो रामको मूर्तिमा प्राण प्रतिष्ठा गर्ने समयमा झनै बढी उजागर भयो ।

राममन्दिरको उद्घाटन गर्दा नेपालमा दीपावली हुनुले दुई देशबीचको पौराणिक समानता, जनस्तरको मान्यतागत समधारणा र सम्बन्धको बहुआयामिकता प्रस्ट हुन्छ । भारतसँग राजनीतिक तहमा हाम्रा अनेक विषय छन् । तर अन्तर्राष्ट्रिय सम्बन्धमा नागरिक तहमा हुने आदानप्रदानलाई ‘ट्र्याक–टु कूटनीति’ पनि भनिन्छ, जसले दुई देशबीचका तिक्तता मेटाउँदै समान धारणा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । र, नागरिकस्तरको सम्बन्धले दुई देशको राजनीतिक नेतृत्वमा रहेका फरक मतलाई कम गर्न मद्दत पुर्‍याउँछ । यस अर्थमा पनि भारतसँग हाम्रो पर्यटन कूटनीति वाञ्छनीय छ ।

चीन संसारमा पर्यटक निर्यात गर्ने नम्बर एक देश हो । विभिन्न शोधले चीनले पर्यटक निर्यातलाई पनि आफ्नो ‘सफ्ट पावर’ विस्तारको माध्यम बनाएको देखाएका छन् । चीनले ‘विदेशमा रहेका सबै नागरिक देशका राजदूत हुन्’ भन्ने मान्यतालाई आत्मसाथ गरेको शोधकर्ताको निष्कर्ष छ । सन् २०१५ मा चीनको नेसनल टुरिजम एडमिनिस्ट्रेसनले आधिकारिक रूपमै ‘टुरिजम डिप्लोमेसी’ शब्द प्रयोगमा ल्याएको थियो (चाइना डटकम डट सीएन, २०१५) ।

हाम्रा लागि महत्त्वपूर्ण तथ्य– चीन बौद्ध धर्मावलम्बीको बाहुल्य भएको राष्ट्र हो । नेपाल शाक्यमुनि गौतम बुद्धको जन्मस्थल भएकाले पनि धार्मिक रूपमा ठूलो संख्यामा चिनियाँ पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ । नेपाली तामाङ तथा शेर्पा समुदायको ल्होसार र चिनियाँ नयाँ वर्षसँगै पर्छ । तिब्बत र भोट क्षेत्रसँग जोडिएको नेपालको उत्तरी एवं हिमाली भेकको जनजीवनले सांस्कृतिक सम्बन्ध विस्तारित छ । हुन त पहिल्यैदेखि नै चिनियाँले नेपाल भ्रमण गर्थे तर चीनले नेपाललाई औपचारिक रूपमा सन् २००२ मा मात्र पर्यटन गन्तव्य सूचीमा समावेश गरेको हो । चीन सरकारले गन्तव्य सूचीमा राखेपछि हरेक वर्ष नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या उल्लेख्य वृद्धि हुँदै आएको छ । सन् २०१९ मा इतिहासमै सर्वाधिक पर्यटक नेपाल आएका थिए । महत्त्वपूर्ण कुरा त ‘अफसिजन’ का बेला पनि ठूलो टोलीमा चिनियाँ नागरिक नेपाल आउँछन् र संसारमा सबैभन्दा बढी खर्च गर्ने पर्यटकको सूचीमा पनि पर्छन् ।

चीनका जी हुवाङ तथा अन्य शोधकर्ताले सन् २०२१ मा प्रकाशित गरेको ‘इन पर्सुइट अफ ह्याप्पिनेस : इम्प्याक्ट अफ दि ह्याप्पिनेस लेभल अफ अ डेस्टिनेसन कन्ट्री अन चाइनिज टुरिस्ट’ शीर्षकको एक शोधपत्रमा चीनका पर्यटनले खुसीको सूचक उच्च रहेका देशलाई आफ्नो गन्तव्य छान्ने गरेको उल्लेख गरेका छन् । पर्यटन वर्ष र पर्यटन दशकको घोषणा गरे पनि नेपालले व्यवहारमा यसका लागि खासै केही नगरेको चिनियाँ धारणा देखिन्छ । तथापि चीन सरकारले १५ मार्च २०२३ पछि आफ्ना नागरिकले निर्बाध घुम्न पाउने पर्यटन गन्तव्यको सूचीमा नेपाललाई पनि सूचीकृत गरेको छ ।

पूर्वाधार विकासका दृष्टिले चीन जुन गतिमा अगाडि बढ्दै छ, त्यसका बाछिटा नेपालमा आउन थालिसकेका छन् । चीनले प्रयोग गर्ने ‘कनेक्टिभिटी’ शब्दलाई नागरिक स्तरको पर्यटन कूटनीतिमा मात्र सीमित नगरी पूर्वाधारका हिसाबले पनि उनीहरूलाई आकर्षित गर्ने कूटनीति विकास गर्न उतैबाट सहयोग लिन सक्ने कूटनीतिक खुबी विकास गर्न ढिलो भइसकेको छ ।

सामान्यतः अन्तर्राष्ट्रिय सम्बन्धको यथार्थवादी अवधारणाले दुई देशीय सम्बन्धमा आर्थिक र सैन्य सामर्थ्यलाई केन्द्रमा राख्छ । तर यस्तो सम्बन्धमा शक्तिलाई केन्द्रमा नराखी सामाजिक/सांस्कृतिक आयामलाई पनि निर्णायक बनाउन सकिने अन्तर्राष्ट्रिय सम्बन्धकै अर्को व्यवहारवादी धारको निष्कर्ष छ । पर्यटन कूटनीति त्यसकै एक अंग हो । भौगोलिक रूपमा ठूलो वा सानो भए पनि एक सार्वभौम मुलुकले शान्तिपूर्ण रूपमा आफ्ना सम्बन्ध विस्तार गर्न पर्यटन कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्बन्धको महत्त्वपूर्ण आयाम बनाउन थालेका छन् ।

तीव्र आर्थिक विकासको प्रतिस्पर्धामा रहेका छिमेकीलाई नचिढ्याइँकन अघि बढाउन सकिने क्षेत्र भएकाले पर्यटन कूटनीतिमा नेपालले थप स्पष्टता र नवीनता ल्याउन आवश्यक देखिन्छ । अन्य क्षेत्रमा औद्योगीकरणमा पछि परे पनि पर्यटनको औद्योगीकरण हाम्रो उच्च सम्भावनाको क्षेत्र हो । हाम्रो छिमेक सम्बन्धका अन्य क्षेत्रमा भएका असमझदारी र घाटाको परिपूरणका लागि पनि तुलनात्मक लाभ लिन र व्यापार घाटामा सन्तुलन दिन सक्ने निर्विवादित क्षेत्र पर्यटन नै हो ।

प्रकाशित : फाल्गुन १०, २०८० ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?