भारतमा पक्राउ परेका किसान दाजुभाइको शुक्रबार सुनुवाइ

धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सोनबर्सा पुगेका बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह दाजुभाइ १७ असारमा पक्राउ परेका थिए ।

श्रावण १२, २०८३

शिव पुरी

Hearing of the farmer brothers arrested in India to be held on Friday

What you should know

रौतहट — रोपाइँ गर्न मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइको मुद्दाको सुनुवाइ आउँदो शुक्रबार हुने भएको छ । २७ दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरौटीसम्बन्धी आवेदनमाथि १५ साउनमा भारतीय अदालतमा सुनुवाइ हुने भएको हो । 

धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सोनबर्सा पुगेका बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह दाजुभाइ १७ असारमा पक्राउ परेका थिए । सोनबर्साबाट २ बोरा युरिया र ६ बोरा डीएपी मल किनेर साइकलमा ल्याउँदै गरेका उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । मल तस्करीको आरोपमा उनीहरूलाई १८ असारमा भारतको बिहारस्थित डुमरा जेल चलान गरेको थियो । दुवैलाई धरौटीमा छुटाउन परिवारका सदस्यहरू निरन्तर डुमरा अदालत धाइरहेका छन् । 

सुरेशका छोरा अविनाश सिंहले बुवा र काकालाई रिहा गर्न माग गर्दै गत शुक्रबार अदालतमा निवेदन दर्ता गराइसकेको बताए । अदालतले उक्त निवेदनमाथि प्रारम्भिक प्रक्रिया अगाडि बढाउँदै सुनुवाइ तोकेको हो । ‘अब सायद धरौटीमा छुट्नुहुन्छ कि । अदालती प्रक्रियाले ढिला भयो,’ उनले भने ।

मुद्दाको सुनुवाइका लागि डुमराका स्थानीय कानुन व्यवसायी किरण चौधरीलाई जिम्मा दिइएको छ । चौधरीसित सिंह दाजुभाइका आफन्त सोनबर्साका प्रवीन सिंहले समन्वय गरिरहेका छन् । वकिल चौधरीलाई उद्धृत गर्दै प्रवीनले आउँदो शुक्रबार डुमरा अदालतमा बहस हुने बताए । त्यसपछि न्यायालयले दुवैलाई धरौटीमा छाड्ने/नछाड्ने आदेश गर्नेछ ।

झन्डै ३ बिघा खेतका लागि मलको खोजीमा भौंतारिएका सिंह दाजुभाइ थुनामा परेपछि यता परिवारले अहिलेसम्म पनि मल पाउन सकेको छैन । छिमेकीको सहयोगमा रोपाइँ भने गरिएको छ । अविनाशले मलका लागि बलरा–५ को वडा कार्यालयमा निवेदनसमेत दिएको बताए । 

नेपालमा हरेक वर्ष मुख्य बाली लगाउने समयमा रासायनिक मल अभाव हुने गरेको छ । स्थानीयस्तरमा पर्याप्त र समयमै मल नपाएपछि मधेशका सीमावर्ती क्षेत्रका किसान भारतीय बजारमा निर्भर हुन बाध्य छन् । तर, भारतीय भूमिबाट थोरै मात्रामा मल ल्याउँदा पनि सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको कडा व्यवहार तथा कानुनी झमेला बेहोर्नुपर्ने बाध्यता किसानहरूलाई छ । 

रास्वपा रौतहटका नेता उदय सापकोटाले वास्तविक किसानलाई भारतबाट भए पनि मल ल्याउन पहल गरिदिन गृह मन्त्रालयमा कुरा राखेको बताए । ‘सर्लाहीका किसान दाजुभाइको पीडा हामीले पनि देखेका छौं । यतिका दिनदेखि उहाँहरू जेलमै हुनुहुन्छ,’ उनले भने, ‘मलको हाहाकार साम्य पार्न आगामी समय सरकारले बेलैमा चासो देखाउनुपर्छ ।’ 

मल किन्न गएका किसान दाजुभाइ भारतीय जेलमा रहेको कान्तिपुरमा समाचार आएपछि ५ साउनमा परराष्ट्रमन्त्री शिशिर खनालले समेत चासो देखाएका थिए । मन्त्री खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत भारत सरकारसँग कूटनीतिक समन्वय गरे पनि अदालती प्रक्रियाले लम्बिएको बताए । उनले भने, ‘अदालती प्रक्रियाले रिहाइ लम्बियो । हाम्रोतर्फबाट प्रयास जारी राखेका छौं ।’ सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सिंह दाजुभाइको रिहाइका लागि भारतीय सुरक्षा अधिकारीसित दैनिकजसो संवाद भइरहेको बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully