घटना कसरी भयो र किन झडपमा परिणत भयो ? यो घटनामा प्रहरी, प्रशासनको भूमिका कस्तो रह्यो ? हामीले १० प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।
What you should know
सुनसरी — सुनसरी सदरमुकाम इनरुवादेखि २० किलोमिटर दक्षिणमा पर्ने देवानगञ्जमा आइतबार राति १० बजे दुई समूहबीच झडप भएको खबर सार्वजनिक भयो । घटनालगत्तै १० मिनेटमा इलाका प्रहरी कार्यालय देवानगञ्जको प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काको दाबी छ । त्यसपछि जिल्लाबाट थप टोली गएको हो । उक्त घटना ‘नियन्त्रण’मा लिन सुरक्षाकर्मीले बल प्रयोग गर्दा एक स्थानीयको मृत्यु भयो भने सुरक्षाकर्मीसहित २४ जना घाइते भएका छन् । यो घटना कसरी भयो र किन झडपमा परिणत भयो ? यो घटनामा प्रहरी, प्रशासनको भूमिका कस्तो रह्यो ? हामीले १० प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौँ ।
घटना कसरी घट्यो ? घटना लगत्तै प्रहरी गए, पछि सशस्त्र प्रहरी पुगे पनि झडपको स्थिति कसरी भयो ?
आइतबार राति एक समुदाय कोशी ब्यारेज डिजे बजाउँदै र नाचगान गर्दै देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज चोकतर्फ जाँदै थिए । डिजेको चर्को आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले प्रतिक्रिया जनाए । यही विषय एकैछिनमा भनाभन हुँदै विवाद भयो र झडपमा परिणत भयो ।
प्रहरी चौकी कप्तानगञ्जबाट प्रहरी टोली घटनास्थल पुगेपछि पनि विवाद साम्य भएन । त्यहाँ पुगेका एक प्रहरीले विवाद बढ्दै जाँदा मानिसको संख्या थपिँदै गएको र हिंसात्मक बन्न पुगेको बताए । दुवै समूह झडपमा उत्रेपछि ढुंगामुढा हुन थालेको र त्यही क्रममा प्रहरी निरीक्षक राकेश राईसहित ८ जना प्रहरी घाइते भए ।
स्थिति नियन्त्रणमा लिन सुरुमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि प्रहरीले हवाई फायर गर्यो । अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली प्रहार गर्यो । जसमा देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो । बिहान ७ बजेदेखि जिल्ला प्रशासनले कर्फ्यु जारी गर्यो ।
यो घटनामा सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था किन आयो ?
प्रहरीले विवाद सुरु भएकै बेला केही व्यक्ति व्यक्तिहरू चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्री बोकेर आएको र घटना हिंसात्मक बन्न पुगेको बताएको छ । विवाद झडपमा परिणत भएपछि प्रहरीमाथि आक्रमण भएको र त्यही बेला गोली प्रहार भएको देखिन्छ । सुरक्षाकर्मी नै घाइते हुन थालेपछि आफूहरूले बल प्रयोगको चरणबद्ध प्रक्रिया अपनाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
स्थिति नियन्त्रणमा नआएपछि र भीड थप आक्रामक बनेपछि सशस्त्र प्रहरीबाट गोली प्रहार भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
घटनाको ९ घन्टापछि स्थानीय प्रशासनले कर्फ्यु लगायो । कर्फ्युबाट पनि स्थिति नियन्त्रणमा नआउने भएपछि दिउँसो १ बजेदेखि सेनाको बख्तरबन्द गाडीले गस्ती सुरु गर्यो ।
गोली लागेकाहरूलाई कहाँ गोली लागेको छ ? उनीहरूको उपचार कहाँ भइरहेको छ र अवस्था कस्तो छ ?
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरीको प्रारम्भिक विवरणअनुसार गोली लागेका घाइतेमध्ये धेरैको कम्मरभन्दा माथि गली लागेको छ । प्रहरीका अनुसार जयप्रकाश मेहताको पेटमा, मिथलेश यादव र मिथलेश मेहताको बायाँ कोखामा, अमलेश मेहताको बायाँ काँधमा, अमितकुमार यादवको बायाँ हात र कोखामा, रवीन्द्र मेहताको बायाँ तिघ्रामा, अर्का अमितकुमार यादवको कम्मरमा, सुनिलकुमार मेहताको बायाँ घुँडामा र अर्का सुनिलकुमार मेहताको बायाँ कुहिनामा गोली लागेको छ । ओमप्रकाश मेहताको शरीरको कुन भागमा गोली लागेको थियो भन्ने प्रहरीले खुलाएको छैन ।
घाइतेहरूको उपचार विराटनगरस्थित न्युरो अस्पताल र विराट नर्सिङ होममा भइरहेको छ । उनीहरूमध्ये जयप्रकाश मेहता र रवीन्द्र मेहताको अवस्था गम्भीर रहेको छ भने अधिकांशको अवस्था मध्यम रहेको छ भने एक जनाको अवस्था सामान्य छ । घाइते १० मध्ये ६ जनालाई कम्मरमाथि गोली लागेको देखिन्छ भने ३ जनाको कम्मरमुनिको भागमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । घाइते अधिकांशको घुँडामाथि गोली लागेको न्युरो अस्पताल विराटनगरका सर्जन डा. सुदिप खनियाले बताए । मृतकको पेटमा गोली लागेको उनले जानकारी दिए ।
घटनापछिको अवस्था कस्तो थियो ?
घटनापछि देवानगञ्जको अवस्था अत्यन्त तनावग्रस्त बनेको थियो । झडपपछि केही पसल, तीन वटा मोटरसाइकल तथा अन्य सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो ।
यो घटनाको कति बेरपछि यस्तो भएको हो ?
कर्फ्यु जारी भएपछि पनि घटनास्थलबाट २० किलोमिटर परको इनरुवा र ९ किलोमिटरको दुरीमा पर्ने लौकहीमा प्रदर्शन भएका छन् । दिउँसो १ बजेपछि स्थिति नियन्त्रणमा लिन भन्दै नेपाली सेनाले बख्तरबन्द गाडीसहित गस्ती सुरु गरेको छ । प्रशासनले सबै पक्षलाई संयमित रहन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ ।
सुरक्षा निकायको नेतृत्व खाली भएकाले पनि समयमै निर्णय लिन सुरक्षा निकायबाट केही त्रुटि भएको हो ?
घटना हुँदा सुनसरीस्थित सशस्त्र प्रहरीको गणपति (एसपी) श्याम कार्की करिब दुई सातादेखि काठमाडौंमा थिए । सीमा क्षेत्रबाट हुने चोरी तस्करी नरोकिएको भन्दै उनलाई सोधपुछका लागि सशस्त्र प्रहरी बलको हेडक्वाटरले तानेको थियो । घटनापछि उनी सोमबार बिहानै सुनसरी आइपुगे । नेपाल प्रहरीका सुनसरीका एसपी केशवकुमार थेबे बिदामा रहेकाले डीएसपी चन्द्रबहादुर खड्काले निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए ।
घटना भएपछि बिहानैबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी उपरीक्षक नारायण चिमरिया र सुमन तिम्सिना जिल्ला प्रहरी कार्यालय पुगेर समन्वय गरिरहेका छन् । उनीहरू दुवै जनाले यसअघि सुनसरी जिल्लको कमान्ड सम्हालिसकेका छन् । घटनास्थलमा भने इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले नेतृत्व गरेका छन् । त्यस्तै, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे पनि बिदामा रहेकाले प्रदेशको सुरक्षा कमान्ड निमित्त अधिकारी मार्फत सञ्चालन भइरहेको थियो । सुरक्षा विश्लेषकहरूका अनुसार यस्तो अवस्थामा निर्णय प्रक्रिया, समन्वय, थप सुरक्षा बल परिचालन र संकट व्यवस्थापनमा ढिलाइ हुन सक्ने सम्भावना रहन्छ । यद्यपि, यही कारणले गोली चलाउनुपर्ने अवस्था सिर्जना भयो वा एक जनाको मृत्यु भयो भन्ने निष्कर्ष हालसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन । त्यसको निष्कर्ष घटनाको छानबिनपछि मात्र स्पष्ट हुने सुनसरी प्रशासनको भनाइ छ ।
घटनापछि स्थिति नियन्त्रणमा लिन प्रहरी र प्रशासनले खेलेको भूमिका कस्तो थियो?
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई ठूलो संख्यामा परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको थियो । देवानगञ्ज र हरिनगरका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरियो भने अतिरिक्त सुरक्षाकर्मी घटनास्थलमा पठाइयो । नेपाली सेनाले बख्तरबन्द गाडीसहित गस्ती सुरु गर्यो र सुरक्षा निगरानी कडा बनाइयो । घटनाको १५ घण्टापछि जिल्ला सुरक्षा समितिले आकस्मिक बैठक बस्यो । यस्तो बैठकले थप जनधनको क्षति हुन नदिन सुरक्षा रणनीति बनायो । सोमबार दिउँसो प्रशासन सर्वदलीय बैठक बसी दुवै समुदायका अगुवा र स्थानीयसँग संवाद तथा सम्झाइबुझाइ गर्दै शान्ति कायम गर्ने प्रयास भयो । साथै, सबै पक्षलाई संयमित रहन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न प्रशासनले सार्वजनिक आह्वान गर्दै आएको छ ।
यस क्षेत्र आसपासमा पहिले पनि यस्तै प्रकृतिका घटनाहरू भएका छन् ?
देवानगञ्ज–कप्तानगञ्ज क्षेत्र साम्प्रदायिक रूपमा संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ । भारतसँग खुला सीमा जोडिएको यस क्षेत्रमा विगतमा पनि फरक समुदायबीच सामान्य विवाद र कहिलेकाहीँ झडपसम्मका घटना भएका विगत छन् । २४ चैत्र २०८० मा पनि यहाँ दुई समूहबीच विवाद भएको घटना सार्वजनिक भएको थियो । यद्यपि, प्रहरीले गोली चलाउनुपर्ने अवस्था भने यसअघि निम्तिएको थिएन । सुरक्षा निकायले यस क्षेत्रलाई सीमापार आवतजावत, तस्करी, सामाजिक तथा साम्प्रदायिक संवेदनशीलताका कारण उच्च जोखिमयुक्त क्षेत्रका रूपमा लिने गरेको छ ।
यो घटनापछि प्रशासनले के गरिरहेको छ ?
घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ । समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ ।
घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा बिहानदेखि अनिश्चितकालीन कर्फ्यु जारी भएको छ ।
गृह मन्त्रालयले उक्त घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका प्रजिअ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक(एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ । थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ ।
यो घटनामा स्थानीय मुख्य दलका नेताहरूको भनाइ के छ ?
घटनापछि विभिन्न राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले फरक–फरक प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । उनले सामाजिक सद्भाव कायम राख्दै सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य तथा खाद्य प्रविधिमन्त्री तथा यही क्षेत्रकी सांसद निशा मेहताले घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेकी छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण, शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको उपचारमा आवश्यक समन्वय भइरहेको जनाएकी छन् । यस्तै, यही क्षेत्रका रास्वपाका प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन् । उनले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
