देवानगन्ज घटनापछि विभिन्न क्षेत्रको अपिल : अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाऔं

राजनीतिक दल, जनप्रतिनिधि तथा प्रशासन लगायतले सामाजिक-धार्मिक सद्भाव र पारस्परिक सहिष्णुताको अपिल गरेका हुन् ।

श्रावण ११, २०८३

कान्तिपुर संवाददाता

After the Dewanganj incident, appeals from various sectors: Let us stay away from rumors and uphold social harmony and restraint

What you should know

काठमाडौँ — सुनसरीको देवानगन्जमा दुई समूहबीच भएको झडप र त्यसक्रममा एक जनाको मृत्यु भएपछि शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि तथा प्रशासनले सबै पक्षलाई अपिल गरेका छन् ।

घटनापछि देवानगन्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ भने गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

उक्त घटनापछि शान्ति, सद्भाव र संयमता अपनाउन विभिन्न क्षेत्रमा अपिल जारी भइरहेको छ । सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै पछिल्लो समय अन्य जिल्लामा भएका घटनालाई लिएर सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने, एकअर्काको धर्म, आस्था, संस्कृति वा समुदायप्रति लक्षित गरी घृणा फैलाउने, भाषण गर्ने र अमर्यादित टीका-टिप्पणी गरी सामाजिक सद्भावमा आँच आउनसक्ने खालका हुने गरेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्लामा आपसी सद्भाव, शान्ति, सुरक्षा र अमनचयन तथा बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको सुन्दर पहिचानलाई कायम राख्ने सबैको साझा दायित्व रहेको सूचनामा उल्लेख गरिएको छ । 

‘जिल्लाभित्र विभिन्न जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका नागरिकबीच आपसी एकता, सद्भाव, सहिष्णुता र भ्रातृत्व कायम राख्न सम्पूर्ण नागरिक, धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी, संचारकर्मीलगायत सबै सरोकारवाला समक्ष हार्दिक अपिल गर्दछौं,’ प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्री मेहताको अपिल

सुनसरीको देवानगन्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेकी छन् ।

मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक समन्वय भइरहेको उनको सचिवालयले जनाएको छ । मन्त्री मेहताले संवेदनशील परिस्थितिमा कुनै पनि अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव तथा आपसी भाइचारामा असर पुग्ने गतिविधिबाट टाढा रहन सबै नागरिकसँग आग्रह गरेकी छन् । उनले सम्बन्धित निकायबाट घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गरिन् ।

गृहमन्त्रीलाई ध्यानाकर्षण

रास्वपा सचेतक प्रकाशचन्द्र परियारसहितको टोलीले गैहमन्त्री सुधन गुरुङलाई भेटी घटनाको स्वतन्त्र छानबिनका लागि ध्यानाकर्षण गराएको छ । शान्ति-सुरक्षा र अमन चयनका लागि सुरक्षा संवेदनशीलतालाई ध्यानाकर्षण गराउँदै समाजिक-धार्मिक सद्भाव र पारस्परिक सहिष्णुताको अपिल पनि टोलीले गरेको छ ।

दुवै समुदाय र पक्षका अगुवा र सरोकारवालाहरूलाई संयम, शान्ति र सामाजिक सद्भाव कायम राख्दै वार्तावाटै समाधान खोज्नुपर्ने टोलीले आग्रह गरेको छ । परियारले भनेका छन्, 'यसप्रकारको संवेदनशील घडीमा अत्यन्त संयमता, आपसी सद्भाव र सामाजिक एकता कायम राख्न सबैले प्रयास गरौं । अपुष्ट सूचना र अफवाहबाट टाढा रहँदै सत्य र कानुनी प्रक्रियामा मात्र विश्वास गरौँ ।'

घटनापछि विभिन्न राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले फरक–फरक प्रतिक्रिया दिएका छन् । कांग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । उनले सामाजिक सद्भाव कायम राख्दै सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै, सोही क्षेत्रका रास्वपाका प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले प्रहरीले ताकीताकी गोली हानेर नागरिकको हत्या गरेको आरोप लगाएका छन् । उनले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

प्रमुख विपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलेले निष्पक्ष छानबिनको माग गर्दै हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान नहुने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । सुरक्षाकर्मीले कानुनको पालना गर्दै अधिकतम संयमता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्ने उनको भनाइ छ। साथै, अफवाह र उक्साहटको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न उनले सबैमा अपिल गरेका छन्।

सुनसरीमा भएको दुई समूहबीचको झडपबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानका उपायसहित सुझाव पेश गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । आज बिहान गृहमन्त्री गुरुङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।

समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । 

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समूहबीच झडप र एक जनाको मृत्यु घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहानै देवानगन्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेशअनुसार हरिनगर, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज बजार क्षेत्रका तोकिएका चार किल्लाभित्र कुनै पनि व्यक्तिले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन्।

कान्तिपुर

Link copied successfully