नेपालका लागि जापानी राजदूत माएदा तोरुले नागढुंगा–सिस्नेखोला सुरुङमार्गले स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताए ।
काठमाडौँ — नेपालका लागि जापानी राजदूत माएदा तोरुले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडीका रूपमा चित्रण गरेका छन् ।
सोमबार उद्घाटन समारोहमा उनले नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठकै वर्ष सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनुले थप विशेष महत्व राखेको बताए ।नागढुंगा सुरुङमार्गले नेपालको आर्थिक विकासको प्रवेशद्वारको रूपमा काम गर्ने र भविष्यमा दुई देशबीचको सहकार्य अझ प्रगाढ हुने उनले विश्वास व्यक्त गरे ।
काठमाडौंलाई धादिङ र पोखरातर्फ जोड्ने मुख्य नाकामा अवस्थित यो सुरुङमार्गले कठिन भौगोलिक अवस्थाका कारण हुने यातायात अवरोध र समयको बचत गर्दै वस्तु तथा सेवाको ढुवानीलाई सहज बनाउनेछ । यसबाट स्थानीय समुदायको जीवनस्तरमा सुधार आउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने राजदुत तोरुको भनाइ छ ।
वर्षायाममा हुने पहिरो र जमिनको मुभमेन्टका बाबजुद जापानी विज्ञको अनुभव र नेपाली प्राविधिक तथा श्रमिकहरूको अथक परिश्रमले आयोजना सफल भएको उल्लेख गरे । जापानले निर्माण गरेका करिब १५ हजारभन्दा बढी सुरुङमार्गको प्राविधिक ज्ञान यस आयोजनामा प्रयोग गरिएको र यसबाट नेपाली इन्जिनियरहरूले प्राविधिक सीप र सुरक्षा मापदण्डका विषयमा महत्वपूर्ण अनुभव हासिल गरेको विश्वास जापान सरकारले लिएको उनको भनाइ छ ।
नेपालको लोकतान्त्रिक प्रक्रिया र विकासको लक्ष्यप्रति ऐक्यबद्धता जनाउँदै राजदुत तोरुले नेपालको स्थिरता र समृद्धिका लागि जापानको निरन्तर सहयोग रहने प्रतिबद्धता पनि जनाए ।
