देवानगन्ज घटनामा मन्त्री मेहताद्वारा शान्ति र संयमताको अपिल

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संवेदनशील परिस्थितिमा कुनै पनि अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव तथा आपसी भाइचारामा असर पुग्ने गतिविधिबाट टाढा रहन सबै नागरिकसँग आग्रह गरेकी छन् ।

श्रावण ११, २०८३

कान्तिपुर संवाददाता

In the Dewanganj incident, Minister Mehta appeals for peace and restraint

काठमाडौँ — सुनसरीको देवानगन्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेकी छन् ।

मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक समन्वय भइरहेको उनको सचिवालयले जनाएको छ । 

मन्त्री मेहताले संवेदनशील परिस्थितिमा कुनै पनि अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव तथा आपसी भाइचारामा असर पुग्ने गतिविधिबाट टाढा रहन सबै नागरिकसँग आग्रह गरेकी छन् । उनले सम्बन्धित निकायबाट घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गरिन् ।

देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो । केही सर्वसाधारण तथा सुरक्षाकर्मी घाइते भएका छन् । घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगन्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

कान्तिपुर

Link copied successfully