सेती प्रादेशिक अस्पतालका अनुसार डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि चार जना विशेषज्ञ चिकित्सकको निगरानीमा राखिएको छ।
कैलाली — विभिन्न माग राख्दै पाँच दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ।
सेती प्रादेशिक अस्पतालका अनुसार डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि चार जना विशेषज्ञ चिकित्सकको निगरानीमा राखिएको छ। उनलाई शनिबारदेखि आईसीयूमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको रक्तचाप ९० वाई ६० मा झरेको र ब्लड सुगरको मात्रा ४२ एमजी मात्रै रहेको छ । जसका कारण उनमा हाइपोग्लाइसेमियाको अवस्था देखाएको अस्पतालले जनाएको छ।
त्यसैगरी, पिसाबमा किटोनको मात्र देखिनुका साथै रगतमा एसिडोसिससमेत देखिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनलाई चक्कर लाग्ने, मांसपेशी बाउँडिने र कमजोरीका कारण बोल्नसमेत कठिनाइ भइरहेको छ।
अस्पतालका अनुसार डा. केसीले अनशन जारी राख्दै ग्लुकोज बढाउने औषधि तथा स्लाइन लिन अस्वीकार गरिरहेका छन्। उनको उपचारका लागि चिकित्सकहरूको नेतृत्वमा चार सदस्यीय टोली खटिएको छ भने स्वास्थ्य अवस्थाको २४ सै घण्टा निरन्तर निगरानी भइरहेको अस्पतालले जनाएको छ।
लामो समयदेखि मधुमेहको समस्या रहेको र उमेरका कारण डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
डा. केसीका माग सम्बोधन गर्न सरकारी पक्ष र डा. केसी पक्षबीच २ दिनदेखि वार्ता जारी छ ।
