डा. गोविन्द केसीसँग ११ घण्टा चलेको वार्ता निष्कर्षहीन, पुनः छलफल हुने

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा भएको उक्त वार्तामा केसीका पाँचवटा मागमध्ये तीनवटामा तत्काल सम्बोधन गर्ने सहमति भएको छ। तर, दुईवटा मुख्य मागमा दुवै पक्षबीच कुरा मिल्न नसकेपछि वार्ता लम्बिएको हो।

श्रावण ११, २०८३

रञ्जना बिसी

Eleven-hour talks with Dr. Govinda KC end without conclusion, discussions to resume

What you should know

कैलाली — धनगढीमा पाँच दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आइतबार भएको वार्ता निष्कर्षविहीन भएको छ।

डा. केसीका माग सम्बोधन गर्न धनगढी पुगेको सरकारी टोली र केसीका प्रतिनिधिबीच आइतबार दिउँसो १२ बजेदेखि राति ११ बजेसम्म छलफल भएको थियो। तर, दुवै पक्षबीच सहमति जुट्न नसक्दा ११ घण्टा लामो वार्तामा ठोस सहमति जुट्न सकेन।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा भएको उक्त वार्तामा केसीका पाँचवटा मागमध्ये तीनवटामा तत्काल सम्बोधन गर्ने सहमति भएको छ। तर, दुईवटा मुख्य मागमा दुवै पक्षबीच कुरा मिल्न नसकेपछि वार्ता लम्बिएको हो।

डा. केसीका सहयोगी अमृत जैसीका अनुसार गेटास्थित दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्ति बदर गर्ने र निजी मेडिकल कलेजहरूको सिट निर्धारण कसरी गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।

डा. जैसीले भने, 'पदाधिकारी खारेजीको विषयमा कानुनी आधारहरू खोजिँदैछन्। उनीहरूलाई कारबाही गर्ने, पदमुक्त गर्ने वा राजीनामा दिन लगाउने भन्नेमा छलफल भइरहेको छ। सम्भवतः आजको वार्ताबाट निष्कर्ष निस्कनेछ।'

सरकारी टोली डा. केसीका मागप्रति सकारात्मक देखिए पनि स्थानीय जनप्रतिनिधिहरूबीच मतभेद देखिएको छ। कैलाली क्षेत्र नम्बर ५ का सांसद आनन्दबहादुर चन्द वार्तामा केही लचक देखिए पनि क्षेत्र नम्बर २ का सांसद केपी खनालले पदाधिकारी नियुक्ति प्रक्रिया पुर्‍याएर गरिएकाले त्यसलाई खारेज गर्न नहुने अडान राखेका छन्।

यद्यपि, यी सांसदहरू प्रत्यक्ष वार्तामा सहभागी छैनन्। उनीहरूसँग सांसद पुकार बमले समन्वय गरिरहेका छन्। आइतबारको वार्ता निष्कर्षविनै टुङ्गिएपछि आज (सोमबार) बिहान १० बजेदेखि पुनः वार्ता सुरु हुने तय भएको छ।

अनसनको तेस्रो दिन शिक्षामन्त्री सस्मित पोखरेलले सरकार वार्ताका लागि तयार रहेको जनाएका थिए। सोही अनुसार वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा पनि आइतबार वार्ताकै लागि धनगढी पुगेका थिए।

रञ्जना

Link copied successfully