यसअघि सशस्त्र प्रहरीको आन्तरिक छानबिनका क्रममा कैफियत देखिएपछि सशस्त्र प्रहरी स्कुलकी इन्स्पेक्टर कल्पना गुरुङमाथि ठगी र आपराधिक विश्वासघातमा अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो
काठमाडौं — सशस्त्र प्रहरी स्कुल कीर्तिपुरस्थित लेखा अधिकृत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानका क्रममा उनीसहित एमडी एड्भेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लिलाबहादुर लामा तामाङलाई २० असारमा पक्राउ गरेको थियो । त्यसक्रममा सरकारी वकिलको पत्रपछि भ्रष्टाचार निवारण ऐनअनुसार अनुसन्धान गर्न आरोपीहरूलाई अख्तियारमा समेत पेस गरिएको हो ।
‘सोही बमोजिम अख्तियारले हिरासतमा राख्नलाई अनुमति माग गरेकामा १० दिन म्याद थप भएको छ,’ विशेष अदालतका सूचना अधिकारीले विज्ञप्तिमा भनेका छन्, ‘दुवै जनालाई हिरासतमा राख्न पठाइएको छ ।’
यसअघि सशस्त्र प्रहरीको आन्तरिक छानबिनका क्रममा कैफियत देखिएपछि ठगी र आपराधिक विश्वासघातमा अनुसन्धान गर्न प्रहरीलाई पत्राचार भएको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा ५ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको देखिएको अधिकृतहरूको भनाइ छ ।
प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसूरमा समेत छानबिन गरिरहेको छ ।
