प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार अग्रवाल पनि सहभागी, डा. केसीको तर्फबाट डा. अमृत जैसी र पवन थापा वार्तामा सहभागी
काठमाडौँ — डा. गोविन्द केसीको अनशन अन्त्य गराउने प्रयासस्वरूप सरकार र डा. केसी पक्षबीच धनगढीमा औपचारिक वार्ता सुरु भएको छ। यसअघि शिक्षा सचिव चूडामणि पौडेलले डा. केसीसँग अनौपचारिक छलफल थालेका थिए।
सरकारको वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा तथा शिक्षा सचिव चूडामणि पौडेल सहभागी छन्। डा. केसीको तर्फबाट डा. अमृत जैसी र पवन थापा वार्तामा सहभागी भएका छन्।
सरकारले वार्तामार्फत डा. केसीका मागमा सहमति खोज्ने प्रयास गरिरहेको जनाएको छ। यसअघि शिक्षा सचिव पौडेल धनगढी पुगेर डा. केसीसँग प्रारम्भिक संवाद गरेका थिए।
सरकारी टाेलीले केसीलाई सेती प्रार्देशिक अस्पतालमा भेटेपछि त्यहीँ नै मेडिकल सुपरिटेन्डेन्टकाे कार्यकक्षमा वार्ता थालिएको डा. जैसीले बताए ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारसम्बन्धी विगतका सम्झौता कार्यान्वयन तथा आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको आरोप लगाउँदै डा. गोविन्द केसीले बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह सुरु गरेका हुन्।
