डा. गोविन्द केसीको अनशनसँगै शिक्षामन्त्री र सांसदहरूका विगतका समर्थन पोस्टहरू सामाजिक सञ्जालमा पुनः भाइरल भएसँगै उनीहरूको भूमिकामाथि प्रश्न उठेको छ ।
What you should know
काठमाडौँ — एक समय डा. गोविन्द केसीको आन्दोलनमा खुलेर साथ दिएका र सामाजिक सञ्जालमार्फत समर्थन जनाएका धेरै राजनीतिक नेता अहिले सांसद र मन्त्रीको जिम्मेवारीमा छन् । डा. केसी पछिल्लो पटक अनशनमा बसेसँगै ती नेताहरूले विगतमा लेखेका समर्थनका स्ट्याटस र पोस्टहरू फेरि सामाजिक सञ्जालमा भाइरल हुन थालेका छन् ।पुराना अभिव्यक्तिहरू पुनः सार्वजनिक भएपछि उनीहरूको अहिलेको भूमिकामाथि पनि टिप्पणी र प्रश्न उठ्न थालेका छन् ।
चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै डा. गोविन्द केसीले बिहीबार कैलालीको धनगढीमा २४औँ पटक अनशनमा बसेसँगै विशेष गरी शिक्षामन्त्री सस्मित पोखरेल र रास्वपाका सांसदहरूले विगतमा उनकै समर्थनमा व्यक्त गरेका अभिव्यक्तिहरू सामाजिक सञ्जालमा पुनः चर्चाको विषय बनेका हुन् ।
विगतमा डा. केसीको मागमा खुला ऐक्यबद्धता जनाउँदै तत्कालीन सरकारमाथि प्रहार गर्नेहरू अहिले आफैँ सत्ताको बागडोर समात्न पुगेका छन् ।यस अवस्थामा अब उनीहरूले डा. केसीका मागलाई कसरी सम्बोधन गर्छन् ? भनेर आमनागरिक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चासो र प्रश्न उठाउन थालेका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा (२०७७ असोज) डा. केसी १९औँ पटक अनशनमा बस्दा अहिलेका शिक्षामन्त्री सस्मित पोखरेल र रास्वपा सांसद डा. तोसिमा कार्कीलगायतका नेताहरूले उनको पक्षमा निरन्तर आवाज उठाएका थिए । ३ जुलाई २०१८ मा पोखरेलले डा. केसीसँगको तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा ह्यासट्याग #IamWithDrKC र #MafiaVsKC प्रयोग गरेर लेखेका थिए, 'नेताहरूले बारम्बार झुटो आश्वासन दिँदै भोट माग्छन्, जनताहरू फेरि तिनैलाई भोट हाल्छन् ।तर जब डा. गोविन्द केसी जनताको मौलिक अधिकारका लागि माफियाहरूविरुद्ध बारम्बार लडेर जनताका निम्ति सत्याग्रहमा बस्छन्, तिनै जनता भन्छन्' अब त अत्ति भो।कति बस्या अनशन ? पागल बुढा । अनशन बसेर केही हुन्न ।लोकप्रिय बन्न गर्या । माफियाहरुविरुद्धको लडाइँ सहज हुँदैन, उनीहरूले सरकारलाई नै च्यापेर बसेका हुन्छन् । त्यसैले म छाती फुलाएर भन्छु डा. केसी जति लड्छन्, जो-जोसँग लड्छन्, म सधैं उनको साथमा हुन्छु । जनताको साथले नै जित्ने हो यो लडाइँ । चाहे जेसुकै होस्, अन्त्यमा सत्यकै जित हुन्छ ।'
सोही समय पोखरेलले फेसबुकमा पोस्ट गरेका अन्य सामग्रीहरू हेर्दा उनी डा. केसीको पक्षमा खुलेरै लागेको देखिन्छ । ३ जुलाई २०१८ मै उनले डा. केसीको भनाइ उद्धृत गर्दै सत्तासीन नेताहरूप्रति प्रहार गरेका थिए, 'ओली, प्रचण्ड, गिरिराजमणि पोखरेल, तिमीहरू जनताका नेता हौ कि माफियाका नेता ?-डाक्टर गोविन्द केसी ।'
त्यस्तै, रास्वपा सांसद डा. तोसिमा कार्कीले १७ जुलाई २०१८ मा अस्पतालको बेडमा उपचाररत डा. केसीसँग लिइएको सेल्फी सेयर गर्दै उनलाई 'योद्धा', 'प्रचारक' र 'क्रान्तिकारी'को संज्ञा दिएकी थिइन् ।कवितात्मक शैलीमा ह्यासट्याग #WeAreWithDrKC राख्दै उनले लेखेकी थिइन्, 'योद्धा, प्रचारक, क्रान्तिकारी...नेपालमा चिकित्सा शिक्षाको इतिहासमा नयाँ युग सुरु गर्ने बाटोमा, उहाँ कमजोर हुनुहुन्न ! उहाँ हार मान्नु हुने छैन ! उहाँ हार मान्नु हुने छैन !! उहाँ युद्धलाई आधा जितेको अवस्थामा छोडेर जानु हुने छैन !! हामी ३ करोड नेपाली उहाँको शक्ति हौं !!'
विगतमा डा. केसीको आन्दोलनमा प्रत्यक्ष ऐक्यबद्धता जनाएकी सांसद डा. तोसिमा कार्कीले अहिले अनशन तोडेर प्रधानमन्त्रीसँग वार्ता गर्न अपिल गरेकी छन् । कार्कीले सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै वर्तमान सरकार जनताको सेवक भएकाले विगतका सरकारलाई जस्तो ज्यानको बाजी राखेर खबरदारी गरिरहनु नपर्ने बताएकी छन् । उनले डा. केसीका जायज मागहरू तत्काल सम्बोधन गर्न आफूले शिक्षामन्त्री र प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराइसकेको समेत जानकारी दिएकी छन् ।
'सर, तपाईं जस्तो निष्ठावान् सत्याग्रही मानिसले आफ्नो ज्यानको बाजी राखेर यो सरकारलाई खबरदारी गर्न आमरण अनशन बस्नै पर्दैन, यो सरकार तपाईंकै हो,' कार्कीले लेखेकी छन्, 'तपाईं सिँधै आएर प्रधानमन्त्रीसँग छलफल गर्न सक्नुहुन्छ, सिँधै शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई सुझाव दिन सक्नुहुन्छ ।'
यसैबीच, शिक्षामन्त्री सस्मित पोखरेलले डा. केसीसँग अनौपचारिक रूपमा संवाद र परामर्शको प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् ।शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले डा. केसीको अनशन र मागप्रति सरकार गम्भीर रहेको बताएका हुन् ।
'डा. केसीका मागबारे छलफल भइरहेको छ । म आफैँ डा. केसीको फ्यान र समर्थक हुँ । उहाँकै कारण देशमा चिकित्सा शिक्षा ऐन बन्यो, अस्वाभाविक शुल्क नियन्त्रण भयो र पारदर्शी छात्रवृत्ति तोकियो ।अब पनि सरकारले डा. केसीसँग निरन्तर सल्लाह गर्छ,' मन्त्री पोखरेलले भने, 'गरिबहरूको पहुँचमा चिकित्सा शिक्षा आयोग पुगेको छ ।सहिद दशरथ चन्द विश्वविद्यालयमा यसै वर्षदेखि चिकित्सा शिक्षाको पढाइ सुरु हुँदैछ ।'
रास्वपाका अर्का सांसद पुकार बमले पनि डा. केसीको आन्दोलनलाई समर्थन गरेका थिए । उनले त सन् २०२० मा आफु डा. केसीबाट प्रभावित भएरै अनशन बसेको बताएका थिए । त्यस्तै बमले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-१ बाट उम्मेदवारी दिँदा डा. केसीले समर्थन गरेका थिए ।
रास्वपाका अर्का सांसद रञ्जु दर्शनाका पनि पुराना पोस्टहरू सञ्जालमा पुन: चर्चामा छन् ।दर्शनाले पनि डा. केसीको आन्दोलनलाई समर्थन गरेकी थिइन् । दर्शनाले बिहीबार मात्रै स्ट्याटस लेखेर सरकारलाई शीघ्र वार्ता सुरु गर्न अनुरोध गरेकी छिन् । 'डा. गोविन्द केसीले आमरण अनशन सुरु गर्नु भएको कुरा थाहा पाएँ । अनशनको समय लम्बिँदै जाने र उहाँको स्वास्थ्यमा समस्या आउने समयसम्म नपर्खि, वार्ता शीघ्र सुरु गर्न नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु,' उनले लेखेकी छन्, 'डा. केसी कै अनवरत सत्याग्रहका कारण चिकित्सा शिक्षा विकेन्द्रीकरणमा पुग्न थालेको कुरा हामी सबैलाई पुनः स्मरण हुनु पर्दछ ।'
त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहले पनि डा. केसीको पक्षमा स्ट्याटस लेखेको भन्दै केही स्क्रिन सटहरू सामाजिक सञ्जालमा सेयर गरिएका छन् । फैलिरहेको तस्बिरमा उपचाररत डा. केसीको फोटो सेयर गर्दै, 'लक्ष्मीप्रसाद देवकोटालाई जस्तै गरेर सक्काउने भए डा. केसीलाई ? आई एम विथ डा. केसी' लेखिएको देखिन्छ । तर वालेन्द्र शाहको आधिकारिक प्रोफाइल तथा पेजमा अध्ययन गर्दा उक्त मितिमा त्यस्तो कुनै पोस्ट फेला पर्दैन ।
