सशस्त्र प्रहरीद्वारा सीमावर्ती ६ नाकामा बीआईटी परिचालन

साउन १० गतेदेखि मुलुकका सीमावर्ती मुख्य नाका झापाको काकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको डन्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा बीआईटी परिचालन गरिएको हो ।

श्रावण १०, २०८३

मनोज पौडेल

Armed Police deploy BIT at six border checkpoints

What you should know

कपिलवस्तु — सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि सशस्त्र प्रहरीद्वारा सीमाका ६ ठाउँमा बोर्डर इन्टरएक्सन टिम (बीआईटी परिचालन गरिएको छ ।

साउन १० गतेदेखि मुलुकका सीमावर्ती मुख्य नाका झापाको काकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको डन्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा बीआईटी परिचालन गरिएको हो । प्रत्येक ठाउँमा सशस्त्र प्रहरी नायव निरीक्षकको कमान्डमा १४ जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरी २८ नम्बर गण, कपिलवस्तुका प्रमुख उपरिक्षक गोपाल अधिकारीले बताए । उक्त टोली त्यही क्षेत्रमा रहेका सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा तैनाथ रही सादा पोसाकमा (सफारी सुट) सीमाका मुख्य नाकामा परिचालन हुनेछन् । 

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार रूपन्देहीको डन्डामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्ममा पुगी टोली परिचालनको शुभारम्भ गरेका हुन् । साथै टोलीलाई आवश्यक निर्देशनसमेत दिएका थिए । उक्त टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र ज्येष्ठ नागरिकको सहजीकरण गर्ने छ । त्यस्तै मानव बेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागूऔषध, वन्यजन्तुका आखेटोपहार ओसारपसारमा निगरानी, नियन्त्रण तथा चेकजाँचमा कडाइका साथ काम गर्नेछ । 

टोलीले सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय र अन्य सुरक्षा निकायसँग समन्वय गरी सीमावर्ती क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रण लगायतमा सहयोग र समन्वय गरेर काम गर्ने बताइएको छ । मुख्य सीमा नाकाहरूमा परिचालन हुने उक्त टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरीसहित बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सादा पोसाकमा रहने छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully