सर्लाहीमा ७ लाख ५० हजार घुससहित दुई कर्मचारी पक्राउ

बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको सूचनाका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

श्रावण ९, २०८३

कान्तिपुर संवाददाता

Two employees arrested in Sarlahi with a bribe of 750,000

काठमाडौँ —  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा ७ लाख ५० हजार रुपैयाँ घुससहित दुई सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

अख्तियारका अनुसार भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीकी डिभिजन प्रमुख सि.डि.हा. जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तहका तुलाकान्त चौधरीलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको सूचना एवं उजुरीका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरूलाई सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखको क्वार्टरबाट  हिजो गते नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार उनीहरूको साथबाट घुसबापत लिइएको ७ लाख ५० हजार रुपैयाँ, स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ र तीन थान मोबाइल बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

कान्तिपुर

Link copied successfully