मुगुमा पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

पहिरोका कारण पुलु बजारका थप आठ घर पनि जोखिममा परेका छन्।

श्रावण ९, २०८३

ज्योति कटुवाल

Three-year-old boy dies after house buried by landslide in Mugu, parents injured

सुर्खेत — मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान गएको पहिरोमा घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु भएको छ। घटनामा उनका आमाबुबा सामान्य घाइते भएका छन्। पहिरोका कारण पुलु बजारका थप आठ घर पनि जोखिममा परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ४ बजे पुलु बजारमाथिबाट ढुंगासहितको पहिरो खस्दा स्थानीय पेमा लामाको घर पूर्ण रूपमा पुरिएको थियो। उक्त घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल पहिरोमा परेका थिए।

पहिरोले पेमा लामाको घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ। साथै, पुलु बजारका थप आठ घर जोखिममा परेपछि त्यहाँ बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरी प्रमुख डीएसपी रवीराज थपलियाले बताए। अधिकांश प्रभावित परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् भने केहीलाई पुलु स्वास्थ्य चौकीमा राखिएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully