उक्त निर्णय तत्काल खारेज गर्न र सांसदका लागि विनियोजन गरिएको रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
What you should know
काठमाडौँ — प्रतिनिधिसभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ले विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा सहभागीहरूले राज्यकोषको दुरुपयोग गरी विलासिता बढाउन लागिएको भन्दै सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् । प्रदर्शनका क्रममा अभियानकी सदस्य सुप्रिया नेपालीले मुलुकको दुर्गम क्षेत्रमा सामान्य औषधोपचारको समेत अभाव रहेका बेला सांसदहरूका लागि स्वकीय सचिवको सङ्ख्या बढाउनु नीतिगत रूपमा गलत भएको बताइन् । कर्णाली र सुदूरपश्चिम जस्ता क्षेत्रमा १० रुपैयाँको सिटामोल पाउन गाह्रो भइरहेको अवस्थामा जनताले तिरेको करबाट स्वकीय सचिवका नाममा सुविधा थप्नु न्यायोचित नहुने उनको तर्क छ ।
सांसदहरूले सामाजिक सञ्जालमार्फत स्वकीय सचिवका लागि विज्ञापन आह्वान गरेको विषयप्रति लक्षित गर्दै उनले लोकसेवा आयोगको तयारी गरिरहेका युवाहरूको भावनामा चोट पुगेको उल्लेख गरिन् ।
सरकारले सांसदहरूलाई अतिरिक्त सुविधा उपलब्ध गराएर राज्यमाथि थप आर्थिक भार सिर्जना गरेको भन्दै अभियानले उक्त निर्णयको विरोध गरेको हो । सरकारको यो कदम सुशासनको सिद्धान्त र जेन–जी आन्दोलनको मूल मर्म एवं भावनाविपरित रहेको उनीहरुको भनाइ छ । अभियानले उक्त निर्णय तत्काल खारेज गर्न माग गर्दै सांसदका लागि विनियोजन गरिएको सो रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
