मोटरसाइकलमा सांसद बब्लुकाे 'स्टन्ट', ट्राफिकले तिरायो जरिवाना

सांसद गुप्ताले बाल्यकालमा खेलेको ठाउँमा पुग्दा रमाइलो गरेको प्रतिक्रिया दिएका छन् । रमाइलोमै आफूले ट्राफिक नियम उल्लंघन गरेको महसुस भएको पनि उनको भनाइ छ ।

श्रावण ८, २०८३

विनय आजाद

MP Bablu's 'stunt' on a motorcycle, fined by traffic police

सिरहा — राष्ट्रिय स्वतन्त्र पार्टीका सिरहा क्षेत्र नम्बर १ का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।सांसद गुप्तालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गरेको हो ।

गुप्ताले गुडिरहेको बुलेट मोटरसाइकलमा उभिएर भिडियो खिच्दै स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमा प्रश्न उठेपछि उनलाई लापरबाही शीर्षकमा पाँच सय जरिवाना तिराएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले गुप्ता र उनी सवार रहेको मोटरसाइकलका चालकलाई आगामी दिनमा यस्तो गलती नगर्न सचेत पनि गराएको छ ।

सांसद गुप्ताले बाल्यकालमा खेलेको ठाउँमा पुग्दा रमाइलो गरेको प्रतिक्रिया दिएका छन् । रमाइलोमै आफूले ट्राफिक नियम उल्लंघन गरेको महसुस भएको पनि उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, 'बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए । त्यही खुसी र रमाइलोको क्षणमा मजाक-मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लंघन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully