हिरासतमा राख्न ५ दिन म्याद लिएलगत्तै छाडिए निहारिका राजपुत र बिनु यादव 

शुक्रबार सार्वजनिक शान्तिविरुद्धको कसूरमा हिरासतमा राख्न ५ दिनको अनुमति प्रमुख जिल्ला अधिकारीले दिएका थिए । तर, न्याय माग्दा पक्राउ गरिएको भन्दै विरोध भएपछि उनीहरुलाई शुक्रबार अपराह्न छाडिएको छ ।

श्रावण ८, २०८३

गौरव पोखरेल

Niharika Rajput and Binu Yadav released immediately after being remanded for five days in custody

काठमाडौँ — न्याय माग्दै सिंहदरबारमा धर्ना दिँदा पक्राउ परेका निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले हाजिर जमानतमा छाडेको छ । सिंहदरबार गेटमा धर्ना दिएका कारण प्रहरीले उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखेको थियो । 

शुक्रबार सार्वजनिक शान्तिविरुद्धको कसूरमा हिरासतमा राख्न ५ दिनको अनुमति प्रमुख जिल्ला अधिकारीले दिएका थिए । तर, न्याय माग्दा पक्राउ गरिएको भन्दै विरोध भएपछि उनीहरुलाई शुक्रबार अपराह्न छाडिएको छ । 

दुवै जनालाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले पुष्टि गरे । उनले भने, ‘उहाँहरुलाई हिरासतमा राख्न म्याद थप भएको थियो, तर अहिले छुटिसक्नुभएको छ ।’ 

उनीहरु गृहमन्त्री सुधन गुरुङलाई भेट्न पाउनुपर्ने माग गर्दै सडकमा धर्ना बसेका थिए । तर, प्रहरीले सिंहदरबार अगाडि सडकमा धर्ना बसेर सार्वजनिक शान्तिमा असर पुर्‍याएको आरोप लगाएको थियो । 

निहारिकाले आफूमाथि बलात्कार भएको भन्दै लामो समयदेखि न्याय मागिरहेकी छन् । जिल्ला अदालत धनुषाले आरोपितलाई सफाइ दिएपछि उनी न्यायको ढोका ढकढकाउन फेरि उच्च अदालत पुगेकी थिइन् । त्यसक्रममा आरोपित शिवराज श्रेष्ठ र निहारिकाको डीएनए जाँच गर्दा मिलेको पनि थियो । पछि उनीहरूलाई दबाबपूर्वक मिलापत्र गराइयो । त्यसैले आफूमाथि अन्याय भएको भन्दै उनले प्रदर्शन जारी राखेकी छन् । बिनु पनि हिंसापीडित हुन् ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully